आफ्ना दुई हातलाई एकअर्कामा सारङ्गी रेटेजस्तो र्याँई-र्याँई गर्दै नाचिरहेछन् टिकटकभरि केटाकेटी। भन्छन्, सैँयाले हेरेपछि उनीहरू पानी पानी भए। नेपालमा भिमसेनपनि बेला-बेला पानी पानी हुने गरेका छन्। भिमसेन धेर पानी पानी भए देशमा आपत आउने कुरा पनि जानमानसमा प्रख्यात छ। तर, ‘को हो त्यो सैँया जसको नजरले भिमसेन पानी पानी हुन्छन्?’ भन्ने चाहिँ खोजकै विषय रहेको छ।
म/हामी पहिला के थियौँ? के अस्तित्व थियो? बादल, आकाश, धर्ती, ढुङ्गा, वायु, जीव या अरू केही? तर, जब सैँयाले म/हामीलाई हेर्नुभयो। आफ्नो अस्तित्वबाट पग्लिएर “में/हम पानी पानी हो गई/गए”।
अनेक बहानामा अनेक तरिकाले विभिन्न सैँयाले हाम्रो अस्तित्व नै निमिट्यान्न पार्ने गरी हामीलाई हेर्नुभयो। बालुवाटार सैँयाले बारम्बार शितल निवास हेर्यो। शितल निवास बारम्बार पानी पानी हो गई! र जसो-जसो सैँयाको मर्जी उसै उसै पग्लिन थाल्यो। “विघटन गरौँ” भनेर हेर्यो- पानी पानी! “नगरौँ” भनेर हेर्यो- पानी पानी! “राजीनामा दिन्छु” भन्दा, पानि पानी! “दिन्नँ” भन्दा पनि, पानी पानी! “चुनाव गरौँ, मन्त्रालय बाडौँ” अनेकथरी भन्दै अनेक तरिकाले सैँयाले हेर्नुभयो। देश पानी पानी भयो। महामारी सैँयाले पनि त, मायाले हेरेर घाटभरि जीवन पानी पानी हुँदा रोकथाममा उठेनन्/उपचारमा खटेनन्/खोपको लागि जुटेनन्, मईमत्त भएका सैँयाहरू। उनीहरूलाई त हेर्नु छ, बस्! पानी पानी बनाउनु छ देश! र भर्नु छ स्विस बैंङ्कका ठूला ठूला ट्याङ्करहरू…
केही अस्पताल सैँया… यी सैँयाले पनि आफ्ना धेरै बिरामीलाई पानी पानी बनाए। बिरामीका आफन्तलाई त झन आच्छु आच्छु! मनलागे मात्र बिरामीलाई हेर्दिने। मन नलागे त मरुन् बिरामी तर मरिकाट्टे नहेर्दिने! यसरी अस्पताल सैँयाजी बडो जालिम भएदिए। उपचारमा पनि लापरवाही गर्दिने। प्रतिउत्तरमा हेर्दियो “पानी-पानी”। उपचारपछि लाखौँको बिल थमाउँदै मुस्कुराएर हेर्दियो। बिरामीहरू ‘पानी पानी हो गए।’ सरकारले मेडिकल माफियालाई हेर्यो। मेडिकल माफियाले पनि सरकारलाई हेर्यो। दुवै सैँया मिलेर फेरि जनस्वास्थ्यलाई कुन्नि कस्तो नजरले हेर्दिए, सर्वसाधारणहरू ऐया, ऐया गर्दै पानी पानी हो गए।
विरोधमा कुनै के.सी या बेसी उठेर हेरे। सरकार सैँया पनि पानी पानी भइहाल्ने। कि त मायालुलाई गिरफ्तार गरिहाल्ने, कि नत्र मायालुको सबै शर्तमा मञ्जुर भइहाल्ने। फकाइहाल्ने। तर, लागु नगर्ने। उही पुरानै सनम, रीति उपनाम पाएकी बेथिति, विकृतिको यादमा नोस्टाल्जिक भइदिहाल्ने। फेरि किचलो, फेरि विरोध। फेरि आन्दोलन। सरकार सैँया हेर्ने, रमिते आँखा तन्काएर हेरी मात्र रहने। अनि? यता, देश पानी पानी! फेरि……
अब सैँया सामाजिक अभियन्ता… समाजसेवी सैँयाहरू पनि कम देखिएनन्। पुरै पगाले यिनिहरूले पनि। निथ्रुक्कै पारेर छोडे। यसरी हेरिदिए कि यिनिहरूले, उफ्! के भन्नु? सबैलाई सस्तोमा हरिश्चन्द्र जो बन्नुछ। राहतको नाममा- एउटा केरा थमाएर, एक किलो चामलको पोका भिराएर, दशौँतिरबाट बिसौँ फोटो लिएर, सामाजिक सञ्जालमा पोस्ट्याएर। अब नामै त सामाजिक अभियन्ता, सामाजिक सञ्जाललाई खुराक नपुर्याएर पनि त भएन! राहतको सामानले पनि सञ्जाले दर्शक सैयाँहरूको अनपेक्षित हेराइको घुइँचो देखेर लाज मान्यो, मुन्टो झुकायो। राहतको नजर झुक्दा समाजसेवा सैँयालाई ठूलै आहत पर्यो, पानी पानी भइगयो र विरक्तिएर यो संसारबाटै सन्यास लियो।
झनै माननीय सैँयाहरूले भुकम्पमा त्रिपाल, कोरोना कहरमा अक्सिजन लुकाएको थाह पाएर यता दधिचि मुनि र राजा बली पनि पानी पानी भइहाले। अझ राहत भन्दै राहतको सामानभन्दा बढी खर्च देखाउँदै राहत बाँड्नेहरूले त पुरै भिजाए। हेलिकप्टरबाट केही चाउचाउका कार्टुन खसालेर चाउचाउजस्तै महान सहयोग गरे। मानवजाति नै धन्य भइगयो। यो सब देखिरहेको म र मजस्ता पानी पानी भयौँ। यस्ता माननीय समाजसेवी सैँयाहरूहरूले त झन् यसरी हेर्दिए कि, ओहो! के भनौँ?
सैँया मानवहरूले प्रकृति बारम्बार दोहन गरेपछि, त्यसमाथि सरकार सैँयाले चुरे बेचेर देशको ऋण तिर्छु भनेपछि, प्रकृति यसरी पानी पानी भइन् कि, त्यो त झन् के भन्नपर्छ र? सबैलाई थाहै छ, प्रकृति पानी पानी भएकी। अनि त, वातावरण र मानवजाति नडुब्ने कुरै भएन। प्रकृति पानी पानी हुन थालेको देख्दा पवनले सम्म आफूलाई संयम राखिराख्न सकेन। पवनमा समेत डढेलो मिसियो, सास फेर्नै गाह्रो बनायो। आँखै नदेख्ने गरी दिन कालो कार्बन बेहोसी लिएर आयो। पवन सैँयाको मदहोस कार्बन नजरले दिनदहाडै मान्छेहरू भकाभक बेहोसिन थाले। सायद दिनपनि पानी पानी भएकैले होला।
यसरी, सम्पूर्ण प्रकृति पानी पानी भइदिएपछि, पहिरोले थिच्नै थियो, बाढिले बगाउनै थियो। सैँयाले पानी पानी हुनेगरी निचोरेपछि ९९ प्रतिशत फेमिनिस्ट भएको देशमा प्रकृतिले पनि आफ्नो काउब्वाई रूप देखाउने उग्र निधो गरी। प्रकृति स्वयं अब अन्डरकभर सैँया बनी, कातिल मुस्कान मुस्काइदिएर हेरिरही। अनि मानव र तिनको अहम् पानी पानी नहुने कुरै भएन।
सैँया रुकुम हत्याकाण्डले मानवतालाई यसरी हेर्यो। मानवता…
आरक्षणको विरोध गरे, केही सैँयाका प्रजाति बुरुक बुरुक उफ्रे। पीडितलाई नै औँला ठड्याए। जातिवादले गिजोलेको दिमागले आफू सधैँ माथि हुनुपर्छ सोचिरहेँ, जसो गरेपनि जे गरेपनि आफू सधैँ माथि होइन्छ सोचिरहेँ। अरूलाई सधैँ तल राखेर थिचिरहे, चेप्ट्याइरहे। र होचोको मुखमा घोचो भन्ने नारा फलाक्दै रहे। तर, जब समानता सैँयाले हरेक घरका झ्याल झ्यालबाट मुस्कुराएर हेरिदियो थिच्दै मिच्दै आइरहेको समाज एक्कासि पानी पानी भइगयो र उँधै उँधो बग्न पनि थालिहाल्यो!
तिमीले कोठा पाइनौ र मैले कोटा पाइनँ भन्दै बहसमा उत्रिए, केही बुद्धिजीवि सैँयाहरू। ती र तिनका अहम् भरिएको चेतले वर्षौँदेखि त्यो कोठा नपाइरहेकाहरूलाई यसरी हेरिरहेको छ कि वर्षौँदेखि उनीहरू पानी पानी भइरहेकाछन्। तर, पानी पानी भइरहेर पनि ती कोठा नपाउने, छानो नपाउने, ओत नपाउनेहरू बडो धैर्यले पर्खिरहेछन् दुवैले ओढ्न मिल्ने एउटै घाम।
यी तवर तवरका नजरले हेर्ने सैँयैसैँयाहरूको लस्करमा अब हामी पनि बनौँ एउटा वेग्लै सैँया र हेरौँ यसरी, कुर्सीमा बसिरहेका ती प्रत्येक अहंकारीलाई कि हेरेरै बनाइदिऔँ यस्तो पानी पानी कि जसले बगाइदेओस् सम्पूर्ण मन्त्रालय र जनतासँग जोडिएका हरेक कार्यालयबाट कुहिएको सिस्टम!
सैँयाने देखा ऐसे
में पानी पानी हो गई