म अर्थात् औपन्यासिक पात्र | SATURDAYकलम | काव्यालय-Kavyalaya

म अर्थात् औपन्यासिक पात्र

बन्द कोठा । के कोठा भन्नु ? चार भित्ताको झ्यालखाना ! झ्यालखाना भने पनि यही, आरामकोठा भने पनि यही । थकाइ लाग्यो, पल्टिन पर्यो यस अवस्थामा आरामकोठा । अवस्था अनुसार कहिले झ्यालखाना कहिले आरामकोठा । मैले मेरो कोठालाई बान्ताकोठा र चुरोटेकोठाको पनि संज्ञा दिएको छु । म यही कोठामा आफूलाई सडिरहेको पाउँछु ।

कोठाको बीचमा कुर्ची छ । कुर्ची नजिकै टेबल छ । टेबलमा केही थान किताबहरू छन् । किताब मिलाएर राखिएका छन् । टेबुलको बीचमा एस्ट्रे छ, ५५५ नामक चुरोटको एक बट्टा छ । ढोकाको दाहिने साइडमा डबल बेडको पलङ छ ।

म कुर्चीमा बसिरहेको छु आफूमा शून्य अनुभूति गर्दै । कोठा हेर्दा पूर्ण देखिन्छ । पूर्ण यस अर्थमा देखिन्छ कि कुनै कलाप्रेमी आयो भने एकैछिन ऊ भित्तातिरै नजर राख्न बाध्य हुन्छ । पेन्टिङका साथै रकस्टार, फिल्मस्टारका फोटाहरूले भित्तो सुसज्जित छन् ।

कोठा जति सुसज्जित छ त्यो भन्दा बढी कुरुप छ मन । झ्याल खुलै छ। बाहिरबाट चिसो हावा आइरहेको छ । तर त्यो चिसो हावाले मलाई झन् अप्ठ्यारो पारिरहेको छ । मलाई चिसो हावाले भतभति पोलिरहेको छ । आकाश बादलविहीन छ निलो । यस्तो लाग्छ कि आकाशका सम्पूर्ण बादलहरू मेरो मनमा आएर बसेका छन् । मलाई एकोहोरो बनाइरहेका छन् । मलाई अशान्त बनाउन ती बादलहरू कस्सिएर लागिरहेका प्रतीत हुन्छन् ।

झ्यालबाट बाहिर चिहाउँछु । मानिसहरू हाँस्दै हिँडिरहेका छन् । मलाई ती हाँसिरहेका मान्छे देख्दा रिस उठ्छ । आखिर किन हाँस्छन् मान्छेहरू ? यो दुनियाँमा के छ र यसरी हाँस्नलाई ? उनीहरूलाई अस्तित्वको बोध हुँदैन होला । सायद उनीहरू सोचको गहिराइमा पुग्दैन होलान् । सोचबाट न अस्तित्वको बोध हुने हो ।

बाटोमा एक पुरुष र महिला हिँडिरहेका छन् । पुरुषको काँधमा दुई वर्ष जतिको बच्चा देखिन्छ । दुवै महिला-पुरुष निकै खुशीसाथ हिँडिरहेका छन् । उक्त तस्बिरले मेरो अन्तरात्मा बिझाउँछ, अन्तरात्माले मलाई झकझकाउँछ । मलाई असह्य पीडा हुन्छ अनि म चुरोट सल्काउँछु । सल्काएपछि बेस्सरी तान्छु । यसरी तान्छु कि मानौँ, मभित्र भएको सम्पूर्ण पीडाहरू बाहिरिन खोज्दैछन् । 

कोठाभरि धुवाँ रुमलिएको छ । धुवाँले मलाई आफ्नो अस्तित्वबोध गराउन खोजिरहेछ । के मेरो अस्तित्व यही धुँवा हो त ? तर मलाई भने धुवाँ फोक्सोमा जमेको पीडाजस्तो लाग्छ । जति जोडले मैले तान्थेँ त्यति नै धुवाँरूपी पीडा बाहिर आउँछ ।

अब परिचयतिर जाऊँ है त ! मेरो परिचय के दिऊँ ? एउटा ૪० पुगेको अविवाहित जागिरे ! मलाई दिनकै देख्नेहरूले एउटा विकृत पात्रको रुपमा देख्दा हुन् । मेरा साथीहरू सबैको बिहे भएको थियो । तर मैले ૪० वर्षसम्म पनि बिहेको तरखर गरेको थिइनँ । यो अर्थमा गरेको थिइनँ कि मैले कुनै केटी पाएको थिइनँ । केटी त कति आए कति ! यसको वर्णन पछि गर्नेछु ।

जब म अफिस जानका लागि घरको मूलगेटबाट निस्किन्छु तब टोलका आइमाईहरू मलाई हेरिरहन्छन् । यस्तो लाग्छ कि तिनीहरू मलाई मनोरञ्जनको कुनै साधन मान्छन् । अथवा म गइसकेपछि मेरो कुरा काट्न उनीहरू व्यस्त हुन्छन् । कहिलेकाहीँ सोच्दा हुन् कि यो मान्छे नपुंसक, नामर्द रहेछ । हाम्रो समाजमा यो उमेरसम्म बिहे नगर्दा यसो सोच्नु स्वाभाविकै हो । तर के, बिहे गर्दैमा मर्द भइन्छ ?

उसोभए मेरो घरबेटी आन्टीकी जेठी बुहारीले मलाई त्यो डर्टी नजर किन दिन्छिन् ? के मैले मेरो जीवनमा आएका राधिका, मोनिका, सरस्वती, मधु लगायतकाहरूलाई खुशी तुल्याएको थिइनँ र ? के मैले उनीहरूलाई शारीरिक र मानसिक दुवै रुपमा सुख प्रदान गरेको थिइनँ र ? अहिले सम्बन्ध छैन त्यो कुरा छुट्टै हो । तर जबसम्म थियो तबसम्म उनीहरूलाई चरम सुख दिएकै थिएँ ।

टोले आइमाईका हेराइबाट नै मैले उनीहरूको मनमा के चलिरहेको छ भन्ने कुरा सजिलै थाहा पाउँछु । उसो त मैले साइकोलोजी पढेको होइन ।

अफिसमा मलाई राम्रो कर्मचारीकै रुपमा लिन्छन् । जड्याहा,चुरोटे भएपनि । तर बिहे नगर्नु नै मेरो ठूलो कमजोरी बनेको छ । अफिसमा अनि घर छिमेकमा यही विषयमा कुरा भइरहेको मलाई आभास हुन्छ । कहिलेकहिले त यस्तो लाग्छ कि म कुनै औपन्यासिक पात्र हुँ । विकृत मनोदशाले भरिपूर्ण भएको पात्र । म काँतर छु । काँतरै भएपनि मैले बलात्कार गरेको छु । उसो त बहादुरहरूले बलात्कार गर्दैनन् ।

रक्सीले निस्लोट भएको बेलामा मैले बोसकी १८ वर्षीया छोरीलाई रातभर बलात्कार गरेँ । उसका अंगहरू मासु लुछेजस्तै लुछेँ । मोरीको शरीर पनि त क्या गजबको थियो नि । १८ वर्षमै त्यो शरीर कहाँ सबैको हुन्छ ? तब न मैले मौकामा चौका हानेँ । उसले पनि त मलाई आफ्नो शरीर देखाएर उक्साउँथी त !

उसो त हामीबीच सहमतिमा पनि यौनसम्पर्क भएको थियो । के मैले बलात्कार नै गर्नुपर्थ्यो ? मलाई बलात्कार गर्न कसले उक्सायो ? लिबिडोले ? मेरो विकृत मनोदशाले ?

जीवनमा स्त्रीले रंग ल्याउँथे भने म आज शून्यतामा डुब्ने थिइनँ । १८ वर्षीया केटीदेखि अफिसमा कार्यालय सहयोगी ૪० वर्षीया मधुसँग पनि संसर्ग गरियो । बिचरी खुरुखुरु आफ्नो कुर्ता खोलेर मलाई आफ्नो यौनांगको दर्शन गराउँथी । म भोको बाघझैं उसमाथि झम्टिन जान्थेँ । उसका शरीरभरि नङ्ग्राका दागहरू थुप्रो थिएँ । ती सबै दागहरू बुढो बाघले सिकार गर्दा भएका थिए ।

अब मोनिकातिर जाऊँ । मोनिका साक्षात स्वर्गकी देवी थिई । उसो त ऊ पारपाचुके भइसकेकी स्त्री थिई । पारपारचुके भएपनि उ पारपाचुके भएजस्ती देखिँदैनथी । ऊसँगको सम्बन्ध पनि गजबै थियो । उसको सुगठित शरीर जति झम्टेपनि जस्ताको तस्तै रहन्थ्यो । मलाई बिहे गरम् गरम् भनेर निकै सम्झाउँथी तर मैले टेर पुच्छर लगाइनँ ।

ऊसँग कुनै कुराको कमी थिएन । ढाईतले घरमा इटालीयन मार्बल लगाइएको थियो । लिभिङ्ग रुम, किचन, बेडरुम साराले स्वर्ग पनि तुच्छ छ जस्तो अनुभूत गराउँथे । आखिर मैले मोनिकामा के खोजेँ ? मैले के पाउन सकिनँ उसमा ? सम्पत्ति, आकर्षक व्यक्तित्व , यौवन सबैथोक थियो । रह्यो अब डिभोर्सीको संज्ञा ! आखिर डिभोर्सले के नै फरक पार्थ्यो र ? के मैले तमाम स्त्रीहरूसँग उठबस गरेको थिइनँ ? पारपाचुके हुँदैमा उसको यौवनलाई नकार्न सकिँदैन थियो । सायद आफ्नो कुनै अस्तित्व नभएरै हो कि मैले उसको अस्तित्व बोध गर्न नसकेको !

त्यो रात उसले मलाई हामी कैले बिहे गर्ने भनेर सोधेकी थिई । उसको प्रश्न जायज नै थियो । म चाहिँ उसलाई एक लात हान्दै आधा रातमा उसको घरबाट निस्किएको थिएँ । उसका पनि त सपना थिए होला । उसका सपना मेरा लागि तुच्छ भए । उसले सपना देख्नु स्वाभाविकै थियो । हर नारीजस्तै घर बरु सानै होस् तर सुखी परिवार होस् भन्ने उसको मनमा पनि थियो होला ।

फेरि मन एकतमासको हुन्छ । चुरोट सल्काउँछु । चुरोटको धुवाँले लहरे खोकी ल्याउँछ । खोकीले मेरो चुरोट तान्ने इच्छालाई भने मार्न सकेको छैन । खोकी लाग्दै गर्छ, म धुवाँ तान्दै गर्छु । खोकी लाग्दैमा मैले चुरोट तान्न छोड्ने कुरा हुँदैन । यो मेरो अभिमानसँग पनि जोडिएको छ । कहिलेकहिले त यस्तो लाग्छ कि जीवनको अन्तिम घडीमा पनि यसरी नै चुरोट तान्न सक्छु ।

कोठा चुरोटको धुवाँले भरिएको छ । डुङडुङ गह्नाउने धुवाँ । म धुवाँमा आफ्नो अस्तित्व खोजिरहेको छु । धुवाँमा मैले आफ्ना पापहरू देख्छु । ती पापहरू पखाल्न धुवाँ आवश्यक छ । अनि अर्को चुरोट सल्काई पाप पखाल्नतिर लाग्छु । जसरी पापीहरू पाप पखाल्नकै लागि दिनहुँ मन्दिर धाउँछन् ।

कहिलेकहिले त एकै बसाइँमा एक बट्टा चुरोट पनि सकाएको छु । एउटा सल्काउँछु, सोच्छु, निष्कर्षमा पुग्न सक्दिनँ । फेरि अर्को सल्काउँछु । यसरी चुरोटको बट्टा सकिन्छ । ती चुरोटका ठुटाहरूले मलाई हेरिरहन्छन् । कति लाचार छन् ती ठुटाहरू । सिङ्गो हुन्जेल ओठले चुमिन्छन् । जब सकिँदै जान्छन् तब झोँसिन्छन् र एस्ट्रेमा फ्याँकिन्छन् । यी ठुटाहरूले मलाई मेरा प्रियसीकै याद दिलाए । के मैले चुरोटका ठुटाहरूझैं प्रियसीहरूलाई पनि फ्याँकिनँ त ? के ती प्रियसीहरू पनि चुरोटका ठुटाहरू भन्दा फरक छन् र ?

कहिलेकहिले त लाग्छ कि म चुसेर फ्याँकिएको खोया हुँ जो बिच सडकमा छु । मेरो आसपासबाट गाडीहरू गुडिरहन्छन् । म आफूमाथि गाडी कतिबेला गुड्ला भनी आस गर्दै बसिरहेको छु । म आफूलाई गहिरो निंदमा भएको पाउँछु । आफ्नै गालामा चड्कन हान्छु । आफू जागै रहेको आभास हुन्छ । कास् ! यो सब सपनाजस्तै भइदिए कति जाती हुन्थ्यो होला ? यो कस्तो निरर्थक, निस्सार जीवन हो ? आखिर शून्यताको सुरुवात कहाँबाट भयो ? मैले केही भेउ पाउन सकेको छैन । सायद जीवनभर पाउन पनि सक्दिनँ होला । सायद यस्तै जीवन जिउनका लागि मेरो जन्म भएको हो ।

जीवनमा अनेकन प्रियसीहरूसँग उठबस भए पनि म आफूलाई सधैँ काँतर सम्झिन्छु । तर के म साँच्चै काँतर हुँ त ? के मभित्रको पुरुष त्यति कमजोर छ ? कहिलेकाहीँ मभित्रको पुरुष जगमगाउन मैले रक्सीको सहारा लिन्छु । मैले बेसमार रक्सी पिउँछु र पिएपछि आफूलाई बाघ नै ठान्छु । तब न मलाइ मेरो अस्तित्वबोध हुन्छ । तर भोलिपल्ट भने ह्याङओभरले ग्रसित । र पुनः मेरो अस्तित्व भिजेको मुसोजस्तै ! लाचार, सारहीन !

के म यस्तै जीवन जिउन जन्मिएको हुँ ? के ममा कुनै सार नै छैन त ? के एकान्तमै सोचेर बस्नु नै मेरो जीवनको ध्येय हो ? बिना चुरोट न सोच्नै सक्छु, बिना रक्सी न त आँखा नै जुधाउँछु कसैसँग ! मातको समय जुन साहस भरिएर आउँछ मात उत्रिसक्दा त्यो कहाँ विलाएर जान्छ ? मेरो अस्तित्वबोध फगत एउटा मृगतृष्णाजस्तो ! कहिलेकहिले त अति नै विरक्त लाग्छ, आफ्नो अस्तित्वदेखि । आफ्नो हुनुसँग टिठ लागेर आउँछ । न त जीवनमा राम्रोसँग बाँच्न सकियो न त मर्न नै । के यही दोसाँधभित्रकै हो त जीवन ? सायद यसैलाई नै जीवन भन्छन् होला । मेरो लागि त यही नै जीवन हो । हुनसक्छ मेरो जीवनबारेमा यही अवधारणा पछिसम्म रहनेछ । मेरो जीवन बिलकुल सारहीन, महत्ताहीन …

 

Facebook Comments

You may also like

error: Content is protected !!