मनको इच्छापत्र

मनको इच्छापत्र

पैतालाको डोब जस्तै सँगै सँगै हिड्ने मन
छाँया जस्तै पछि पछि लाग्ने मन
–कतै छाडेर आउन पाए
–कतै बन्धकी राखेर भाग्न पाए
मन विहीन तन
आहा! कति आनन्द होला
आहा! कति हाइसन्चो होला
म प्रायः सोच्ने गर्छु
मन त बरु ढुङ्गाकै भए जाति
मन त बरु मुढाकै भए जाति

मन कहिले खोलाजस्तै सललल बग्छ
मन कहिले झरनाजस्तै छङ्छङ् खस्छ
मन कहिले हिमालजस्तै बादलको घुम्टोभित्र लुक्छ
मन कहिले वायुपंखी घोडाजस्तै बिनालगाम कुद्छ

सघन अन्धकारभित्र मन
–बिनाकारण डुबिरहन्छ
आँसुको बाढले मन
–बिनाकारण भिजिरहन्छ
समयका सहस्र वाणले मन
–अकारण घोचिरहन्छ
मानसिक अवसादले मन
–निरन्तर ग्रस्त पारिरहन्छ
मायाको झुठो भ्रम पालेर मन
–कहिल्यै निको नहुने रोग बेसाइरहन्छ

मन कहिले आत्महत्याका—
कायरतापूर्ण सोचाइमा बल्झिरहेको हुन्छ
मन कहिले शंका उपशंकाका—
भुमरी भित्र नाचिरहेको हुन्छ
मन कहिले विभत्स दृश्यहरुमा—
अनायासै अल्झिरहेको हुन्छ

स्वाभिमानमा धक्का लागे पनि
चुपचाप सहेर बसिदिन्छ मन
खै ! निर्दोषताका सबुत प्रमाणमा
मनले च्यातेर आफुलाई देखाउन सकेको ?

बिना अपराध आरोपहरु
चुपचाप सहिरहन्छ मन
खै ! निश्चलताको क्षितिजभरिको रेखा
मनले नापेर देखाउन सकेको ?

कहिले यो मन ।
त्यसै त्यसै साउनको भेल जस्तै उर्लिरहन्छ
कहिले यो मन ।
पीडाको अनन्त सागरमा हेलिरहन्छ
कहिले यो मन ।
कच्चा बाँधजस्तै छिनछिनमा भत्किरहन्छ
कहिले यो मन
आफ्नै छाँयासँग पनि क्षण प्रतिक्षण तर्सिरहन्छ

कहिलै ओभानो भएन मन
–सधैँ चिसो चिसो भइरहने
कहिल्यै भरिन सकेन मन
–सधैँ रित्तो रित्तो भइरहने
कहिल्यै उजेलिन सकेन मन
–सधैँ धमिलो धमिलो भइरहने
कहिल्यै निको हुन सकेन मन
–सधैँ घाउहहरू चहर्‍याइरहने

अमिलो अमिलो मन बोकेर
धमिलो धमिलो मन बोकेर
चिसो चिसो मन बोकेर
घायल घायल मन बोकेर

अचेल म सुन्ने गर्छु
इच्छापत्र मनको
“म अमन अमन हुन चाहन्छु
म बेमन बेमन हुन चाहन्छु !”

स्वदेशको माया

मुटुभित्र आफ्नो देश बोकेर परदेशमा
राइफलहरुमा अनुवाद भइरहेको छु
तोपहरुमा अनुवाद भइरहेको छु

अपरिचयको यस दुर्गम मरुप्रदेशमा
निरन्तर—
स्वदेश सलबलाइरहेको छ मुटुभरि
माटो टलपलाइरहेको छ मनभरि

आस्थाको अनन्त मन्दिरजस्तो
मन्दिरको अनन्त आस्थाजस्तो
बुद्ध र सगरमाथाको देश
सपनाको जीवन्तलहर बनेर
बल्झि पनि रहेको छ मुटुभरि

अहिले मेरो घायल काँध होइन
घायल मुटुलाई—
आमाको कोमल स्पर्श पनि छैन
प्रियसीको कोमल बन्धन पनि छैन
उफ ! सन्तानको निश्चल मुस्कान पनि छैन

साँच्चै आहत मन बोकेर
परदेशमा—
ए मेरो स्वभूमि !
मलाई तिम्रो अनन्त तिर्खा लाग्छ
ए मेरो जन्मभूमि !
मलाई तिम्रो अनन्त माया लाग्छ !!
ए मेरो जन्मभूमि !
मलाई तिम्रो अनन्त माया लाग्छ !!!

मात्र आरुका बोटहरु
मात्र लहरे पीपलका बोटहरु

एउटा गह्रौँ दिन काखी च्यापेर
म, सम्झन लागिरहेछु
-हिजोका दिनहरु
-तिमीसँगका क्षणहरु
झ्यालबाटको एकोहोरो हेराइमा
-भिन्न भिन्न अनुहारका सुन्दर झलकहरु
-भिन्न भिन्न अनुहारका सुन्दर झलकहरु

म खोजिरहेछु हरेक अनुहारमा
-गुमाएका दिनहरु
-मैले हराएका क्षणहरु
म नियालीरहेछु हरेक आँखाहरुमा
-आफ्नै भाँच्चिएका प्रतिबिम्बहरु
-आफ्नै टुक्रिएका विश्वासहरु

अहो !
-कति साँगुरिँदै साँगुरिँदै गइरहेछन्
मेरा सम्भावना फाँटहरु

अहो !
-कति मास्सिँदै मास्सिँदै गइरहेछन्
मेरा प्रयत्नका आकाशहरु

हिजोसम्म गुलाबी घामको स्पर्शले
-पुलकित भएका फूलहरु पनि
-आज ओइलिरहेछन्
हिजोसम्म वसन्तको ताजा आगमनले
-प्रफुल्लित भएका पातहरु पनि
-आज झरिरहेछन्

बाह्रमासे फूलका बोटहरु छैनन् मेरो बगैँचामा
सदाबहार धुपीका बोटहरु छैनन् मेरो आँगनमा
-मात्र आरुका बोटहरु छन्
-मात्र लहरे पीपलका बोटहरु छन्
-जो आफै पनि रित्ता रित्ता छन्
-जो आफै पनि नांगा नांगा छन् !

भर्खरै मात्र साहित्यकार उषा शेरचनको उपन्यास “आधि” बजारमा आएको छ।

Facebook Comments

You may also like

error: Content is protected !!