मनको डायरीबाट

प्यारो भाइ,

बन्धनयुक्त सरकारी चाकरी (नोकरी)बाट उन्मुक्ति लिएर स्वतन्त्ररूपले सिर्जना गर्ने अठोटले तपाईंको व्यक्तित्वको विशेषता फुकाल्छ । हाम्रो आफ्नै अस्तित्वको निम्ति हामीले धेरैथोक गर्नु छ । अब तपाईंले निर्धक्क केही गर्न सक्नुहुन्छ भन्ने आशा र विश्वासले मलाई यो गीत लेख्न लगायो ।

तपाईंले सरकारी चाकारी (नोकरी)बाट लिनुभएको मुक्ति हाम्रो संगीत र कलाको निम्ति एउटा महान त्याग हो । चाहे यी कुराहरू आजको समाजले बुझोस् या नबुझोस्, व्यक्तिगत परिपूर्णता नै खोज्नु भने मात्र उक्त नोकरी तपाईंलाई असुहाउँदो थिएन । तर व्यक्तिगत परिपूर्णता र व्यावहारिक उपलब्धीहरू मात्र हाम्रा सबैथोक होइनन् । त्यसदेखि परतिर पनि केही छ । म त सम्झन्छु, अब हामीले धेरै काम गर्न सक्छौँ हाम्रो जातिको लागि । भाइ, बन्धनमुक्त भइसक्नुभयो, अब अघि आएर केही कन्ट्रिब्युसन हुनुपर्छ । जातित्वलाई ब्यूँझाइदिने गीतहरू अब ठूलो स्वरले गाउनुपर्छ, होइन र भाइ ?

तपाईंको व्यक्तिगत र व्यावहारिक जीवनमा अब आउने दिनहरू कस्ता होलान् भविष्यलाई नै छाडिदिउ। “अम्बर गुरुङ र उसको परिवार भोकै मर्दैन । मर्नु नै पर्‍यो भने उसलाई हामीले मारेको हुनेछ, हामीले उसलाई बाँच्न नदिएको हुनेछ ।”

(अगमसिंह गिरी, २१/७/१९६६)

यो मार्मिक चिठी गिरी दाइले मैले पश्चिम बंगाल सरकारको लोक मनोरञ्जन शाखाबाट राजीनामा दिएपछि लेखेका थिए, जसमा उनले भर्खरै लेखेको मार्मिक गीत पनि संकलित थियो “सुन है सुन नेपाली, हामीलाई डाक्छ हिमाली/आँसुको बिन्ती पोखेर रगतको मायाँ सँगाली ।”

दार्जिलिङमा लोक मनोरञ्जन शाखा खोलिनु हामीले हाम्रा संगीत तथा संस्कृतिका लागि एउटा गतिलो उपलब्धी ठानेका थियौँ । तर त्यो हाम्रो स्वतन्त्रतालाई कुठाराघात गर्ने धराप सावित भयो । त्यसैले न मलाई, न शुभचिन्तक गिरी दाइलाई मैले उक्त ठाउँमा जागिर खाएको मनपरेको थियो । संगीतलाई मैले मनोरञ्जन तथा प्रचारप्रसार मात्र ठानेर आफ्नो सिर्जन स्वतन्त्रता हनन हुने खालको कुनै पनि त्यस्तो सम्झौता कहिल्यै गरिनँ । त्यसैले, व्यावहारिक कठिनाइको वास्तै नगरी मैले राजीनामा दिएको थिएँ । फलतः म दार्जिलिङमा धेरै दिनसम्म टिकिरहन सकिनँ ।

त्यसको ठीक दुई वर्षअघि बुबा रिटायर्ड भएर कालिम्पोङमा स्थापित हुन खोजिरहनुभएको थियो । त्यसैले, म पनि दार्जिलिङदेखि बिदाबारी भई कालिम्पोङतिर लागेँ । त्यसको वर्ष दिनपछि नै क्यान्सर रोगले आमाको देहान्त भयो र मेरो चाहिँ कष्टपूर्ण दिनहरूको सुरुवात भइसकेको थियो । म साह्रै एक्लो भएको थिएँ । दिनभरि एक्लै धुमधुम्ती घरमा बसिरहन मलाई असह्य हुन थालिसकेको थियो । यतिसम्म कि, संगीत पनि मलाई नीरस लाग्न थालिसकेको थियो । त्यसैले, कुनै पार्क वा निर्जन स्थलमा गएर समय बिताउँदै दिन ढलेपछि मात्रै घर फर्किन्थेँ । त्यस्ता स्थलमा झरेका तथा झर्दै गरेका पातहरू हेर्दा लाग्थ्यो, ती पातहरू मेरा झरेका र झर्दै गरेका मनका त्यस्ता सपनाहरू हुन् जो फेरि फर्कने छैनन् ।

जागिर छाडेकोमा केही आत्मग्लानि पनि हुने गर्थ्यो । त्यस्ता नीरस दिनहरूमा आफू एक्लै उदास भएर कत्ति दिनसम्म बाँच्न सकिन्छ भन्ने त्रास पनि मनमा पलाउँथ्यो । मलाई के थाहा, ती दिनहरू मेरो मनको डायरीमा कहिल्यै नमेटिने गरी अंकित हुनेछन् र त्यसको प्रतिक्रिया मेरा सिर्जनाहरूमा पर्नेछ । मलाई के थाहा, मैले भोगेको ती कहालीलाग्दा दिनहरू एउटा लामो कालो रातझैँ हुन्, जसको अन्त्य अवश्यम्भावी छ र त्यो अन्त्यपछि फेरि एउटा बिहानी आउनेछ । हुन पनि भयो यस्तै नै ।

संयोगवश, त्यहीबेला मैले एउटा संगीत स्कुलमा संगीत शिक्षकको नियुक्ति पाएँ । त्यसपछि म त्यस्ता पार्क र निर्जन स्थानहरूमा जान छाडिदिएँ, भनौँ न, जानै पाइनँ अथवा समय नै मिलेन । आज लाग्छ, ती दिक्दारीका उदास र निराश दिनहरू त मलाई मेरो जीवनका बाटाहरूमा मैले नबुझेका कुराहरू सिकाउन आएका रहेछन् र खोलाजस्तो बग्दै-बग्दै कुनै अनन्त सागरमा पुग्ने रहेछन् ।

आज बेलाबखत साथीभाइहरू भन्छन् “तपाईंका गीतहरू सुन्दा हामी अर्कै संसारमा पुग्छौँ ।” म भन्ने गर्छु “मैले पनि ती संगीतहरू अर्कै संसारमा पुगेर रचेको हुँ । राम्रो लाग्यो ?” जीवन कुरूप देखिए पनि सुन्दर हुन्छ ।

(संगीतज्ञ गुरुङ ‘कहाँ गए ती दिनहरू’ पुस्तकका लेखक हुन् ।)

(श्रोत: कान्तिपुर)

Facebook Comments

You may also like

error: Content is protected !!