गुठीले मदन पुरस्कारका लागि ऐतिहासिक उपन्यास ‘रणहार’ का लागि यसका लेखक योगेश राजलाई प्रदान गर्ने निर्णय गरेको छ । गुठीमा प्राप्त २०७५ मा प्रकाशित दुई सय ५७ पुस्तकमध्ये ‘रणहार’ उत्कृष्ट दरिएको हो । यसका लागि अन्तिम छनोटमा सात पुस्तकहरु ‘एकादेशमा’, ‘ओक्कल दोक्कल पिपल पात’, ‘ज्ञ’, ‘फातसुङ’, ‘मरीचिका’, ‘विचारको लाश’ र ‘रणहार’ परेका थिए ।
त्यसैगरी यस वर्षको जगदम्बाश्री पुरस्कार वरिष्ठ साहित्यकार वैरागी काइँलालाई प्रदान गरिने भएको छ । मदन पुरस्कार गुठीको आइतबार बसेको साधारणसभाले तेस्रो आयाम साहित्यिक अभियानका प्रारम्भकर्तामध्येका एक काइँलालाई उक्त पुरस्कार दिने निर्णय गरेको हो । कवि काइँलालाई लिम्बू भाषा तथा मुन्धुम संस्कार र संस्कृतिको अध्ययन–अनुसन्धान तथा अभिलेखीकरण गरी नेपाली वाङ्गमयको समृद्धिमा उल्लेखनीय योगदान गरेबापत कदरस्वरुप २०७५ को जगदम्बा–श्री दिइएको गुठीले जनाएको छ ।
२०१२ सालमा स्थापना भएको मदन पुरस्कारबाट पहिलो पटक गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरन्जन नेपालको ‘जनरल भीमसेन थापा’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत उत्पादक’ पुस्तकलाई पुरस्कृत गरिएको थियो । जगदम्बा–श्री भने रानी जगदम्बाको निधनपछि उनको स्मृतिमा २०४५ सालबाट दिन थालिएको हो । असोज १२ मा प्रदान गरिने दुवै पुरस्कार चार–चार लाख रुपैयाँका रहेका छन् ।