एम एफ हुसैनले के सोचेर हिन्दु देवीहरूको नग्न चित्र बनाए?

“ये जाना कि कुछ नहीं जाना हाय,
वो भी एक उम्र में हुआ मालूम “

धेरै वर्षअघि बीबीसीसँग कुराकानी गर्दा मकबूल फिदा हुसैनले यो शेर सुनाएका थिए । सहि अर्थमा भन्ने हो भने यो उनको जिन्दगीको दर्शन पनि थियो । एउटा पुरानो यहुदी कथन छ – ईश्वरको वास तपसिलमा हुन्छ । ईश्वरको बारेमा यो सत्य होस न होस् । हुसैनको कलाको सत्य यही हो । हुसैनको पुरै जिन्दगीलाई एक नजर लगायो भने जुन चिजले तुरुन्तै ध्यान तान्छ, त्यो कुनै विराट सत्य होइन । बरु ती साना, नगन्य र निरीह चिज हुन् , जसलाई इतिहासले किनार लगाइदिएको छ तर हुसैन ती सब्बै चिज एउटा स्कुले बालकले जसरी आफ्नो खल्तीभरि भरेर हिँडछन् ।

एकपटक रुसी लेखक व्लादीमिर नोबोकाफले एउटा महान कलाकारको लक्षणबारे बोल्दा भनेका थिए कि त्यो  व्यक्ति जस्तो हो जो नवौं तलाबाट खस्दै गर्दा अचानक दोस्रो तल्लाको एक पसलको बोर्ड देखेर सोच्दछ “अरे ! यसमा त लेखिएको हिज्जे नै गलत छ ”  यही व्यक्ति थिए एम एफ हुसैन

MF Hussain with his paintings from India Today

MF Hussain with his paintings from India Today


ओ माई गड एम एफ हुसैन !

कामना प्रसाद प्रसिद्ध लेखिका हुन् र ठूलो उर्दुपुजक पनि । उनले हुसैनलाई नजिकबाट जान्ने मौका पाएकी थिइन् । मैले उनलाई सोधेँ कि, “तपाईंको र हुसैनको पहिलो भेट कहाँ भएको थियो ?” “सडकमा” उनको जवाफ थियो । 

उनले भनिन्,
“मैले भारती नगरको चौबाटोमा एकजना मान्छे आफ्नो कालो कारलाई पछाडिबाट धकेलिरहेको देखेँ । उनी एक्लै थिए र कार स्टार्ट भइरहेको थिएन । उनलाई मद्दतको आवश्यकता होला भन्ने सोचेर मैले आफ्नो गाडी उनको छेउमै रोकेँ । उनी तुरुन्तै आएर मेरो छेउको सिटमा बसे, जब म उनीतर्फ फर्किएँ मेरो मुखबाट अचानक निस्कियो – ओ माई गड ! यू आर एम एफ हुसैन !” “हजुर” उनले भने । त्यसपछि उनीसँग एयरपोर्टमा भेट भयो, त्यसपछि त  उनीसँग मित्रता भइहाल्यो । सायद उनलाई लाग्यो कि ममा उर्दु शेर औ शायरीमा आफ्नै शैली र अन्दाज छ । उनलाई पनि शेर पढ्ने बहुतै सौख थियो । हरेक विषयमा तुरुन्तै शेर भन्थे  । उनलाई उर्दुका पुराना उस्तादहरू कण्ठै थिए । 

सायद हुसैन आफ्नो समयका सबैभन्दा महंगा चित्रकार थिए । र, हुसैन आफ्नो समयका सबैभन्दा महँगा चित्रकार थिए र पनि उनका उदार हृदयका असिमित किस्साहरू चर्चित छन् ।

Painting by MF Hussain | Source: ArchitecturalDigest

Painting by MF Hussain | Source: ArchitecturalDigest


भिजेको क्यानभासमा दौडिने घोडा

सुनीता कुमार एक प्रसिद्ध चित्रकार हुन् र एक जमानामा मदर टेरेसाको प्रवक्ता समेत रहिसकेकी छिन् । उनका पति नरेश कुमार भारतीय डेविस कप टिमका कप्तान रहिसकेका छन् ।

सुनीता भन्छिन्,
“हुसैनसँग मेरो पहिलो भेट दिल्लीको एउटा पार्टीमा भएको थियो । मैले उनलाई अर्को दिन हुने राष्टिय टेनिस प्रतियोगिताको फाइनल खेल हेर्न बोलाइहालेँ, उनले माल एड्सर्नले जित्ने बाजी थापिहाले।”


“मैले विजय अमृतराजले जित्ने बाजी राखेँ, शर्तमा हार्नेले जित्नेलाई आफूले बनाएको चित्र दिने तय भयो । विजयले खेल जिते । तर मसँग  बाजीको पेन्टिङबारे हुसैनलाई सम्झाउने हिम्मत नै भएन । हामी ओब्रोय होटलमा बसेका थियौँ । जब हामी बाहिर जान लागेका थियौँ रिशेप्सनिस्टले हामीलाई बोलाएर भने “हजुरको लागि साहेबले एउटा प्याकेट छोड्नु भएको छ ।” मैले सोचेँ खेल देखाएकोमा कुनै थ्याङक्यु नोट होला ।”

सुनीताले आगाडि भनिन्
“जब मैले प्याकेट खोलेँ, तब म आश्चर्यचकित भएँ । त्यसमा हुसैनले पेन्ट गरेको घोडाको पेन्टिङ थियो जसको रङ त्यो बेलासम्म चिसो नै थियो, किनकि तेल रङ चाँडै सुक्दैन । हुसैनले रातभर बसेर त्यो पेन्टिङ बनाएर मलाई उपहार दिएका थिए ।”


चर्चित कला समिक्षक प्रयाग शुक्ललाई पनि हुसैनको निकटकतम  मानिन्छ ।

प्रयाग भन्छन् 
स्वामीनाथनको सिफारिसमा हुसैनले आफ्ना केही पेन्टिङ भारत भवनलाई ६ महिनालाई दिन तयार भए, मलाई ती पेन्टिङ हुसैनबाट लिएर भोपाल पठाउने जिम्मेवारी दिइएको थियो ।”

“मैले हुसैनको छोरा शमशादलाई उनी आउने बित्तिकै मलाई खबर गर्न भनेको थिएँ । शमशादको फोन आउने बित्तिकै म उनकोमा पुगेँ । उनले म आउनुको कारण सोधे । जब मैले कारण बताएँ हुसैनले भने ‘मैले पहिले नै पेन्टिङ लैजान भनेको थिएँ , तिमीले किन लिएर गएनौ ?’

मैले भनेँ, “मैले यो पेन्टिङ पाएँ भनेर लेखेर तपाईंलाई दिन पनि चाहन्थेँ र तपाईंको उपस्थितिमै पेन्टिङ लैजान चाहन्थेँ ।”

हुसैनले “लेख्नु-सेख्नु पर्दैन, पेन्टिङ भारत भवन जाँदैछ । मेरो लागि यति नै काफी छ । बरु भन पेन्टिङ चाहिँ कसरी लैजान्छौ ?” भने ।

त्यो समय इरोज सिनेमाको आगाडि केही ट्याम्पु रोकिएका हुन्थे  । मैले अलिकति पनि समय खेर नफाली ट्याम्पु बोलाएँ र पेन्टिङ त्यसमा राखेर कराथ साहेबको पन्डारा रोडमा रहेको घरमा पुर्याएँ   ।

Dancing Horses by MF Hussain | Source: rvcj.com

Dancing Horses by MF Hussain | Source: rvcj.com


फेरि खुट्टामा जुत्ता किन लाउने ?

हुसैनले सन् १९६३ पछि जुत्ता लगाउन छाडी दिएका थिए । यसको पछाडि पनि एउटा कथा छ, जसबारे उनले बिबिसीसँगको कुराकानीमा  सुनाएका थिए ।

उनले भने, “ मुक्तिबोध हिन्दीका चर्चित कवि थिए र मेरो मित्र पनि थिए । जसको मैले एउटा चित्र पनि बनाएको थिए । जब उनको निधन भयो म उनको पार्थिव शरीरसँगै घाट गएको थिएँ । मैले त्यसै समय चप्पल फुकालिदिएको थिएँ किनकि म जमिनको तापलाई महसुस गर्न चाहन्थेँ । मेरो मस्तिष्कमा एउटा अर्को कुरा आएको थियो –  चिहानको । यसको अर्को कथा छ । जब मेरी आमाको निधन भएको थियो म जम्मा डेढ वर्षको मात्र थिएँ । मेरो पिताजी भन्नुहुन्थ्यो कि मेरो खुट्टा आमाको जस्तै देखिन्छन् । तब  मैले सोचेँ त्यसो भए  ती खुट्टामा जुत्ता किन लगाउनु ?


एक किसिमको आवारापन

स्वभावले हुसैन उच्छृंखल एवं लापरवाह व्यक्ति थिए । उनलाई सन्की भने भन्न मिल्दैन तर उनको स्वभावमा एक किसिमको आवारापन भने पक्कै थियो ।

कामना प्रसाद भन्छिन्, “उनको अन्दाजमै एक प्रकारको आवारापन थियो । घरबाट दिल्ली जान हिँडेका मान्छे एयरपोर्ट पुगेर कलकत्ताको  टिकट काट्नु यो कुनै ठूलो कुरा हुन्थेन उनको लागि । उनमा बच्चाहरूमा जस्तो उत्सुकता थियो । उनमा हरेको थोक जान्ने चाहना थियो ।”

“मेरो घरबाट एयरपोर्ट हिँडेका उनी कतिपट फर्केर घर नै आइपुग्थे” सुनीता कुमारले भनिन् ।

 “एक पटक एयरपोर्ट जाँदाजाँदै उनले बिचबाटोमा डारइभरलाई रोकाए र भने म यही मैदानमा सुत्न चाहन्छु । उनले आफ्नो झोला निकाले र त्यसैमा शिर राखेर सुते । मलाई मेरो ड्राइभरले फोन गरेर भने कि एक तर्फ मर्सडीज रोकिएको छ र अर्को तर्फ खुल्ला मैदानमा हुसैन सुतेका छन् । यस्तै अन्दाजको घटना एस के मिश्रासँग पनि भएको थियो ।”

मिश्रा प्रधानमन्त्री चन्द्रशेखरका प्रधान सचिब पनि रहेका थिए  । कुरा त्यसबेलाको हो जब उनी इण्डियन टुरिजम डेभलपमेन्ट कर्पोरेसनका प्रबन्ध निर्देशक थिए । उनीहरूले साइप्रसमा एउटा होटेल खोलेका थिए । जहाँ हुसैनको चित्रको प्रदर्शनी राखिएको थियो र त्यहाँका राष्ट्रपतिलाई मुख्य अतिथिका रुपमा आमन्त्रित गरिएको थियो ।

एस के मिश्रा सम्झन्छन्, 
“प्रदर्शनीको दिन आइसकेको थियो तर हुसैनको कतै अत्तो पत्तो थिएन । अचानक थाहा भयो साँझ उनी आउँदै छन् । जब म एयरपोर्ट पुगेँ, देखेँ कि हुसैन त विना पेन्टिङ आइरहेका छन् । मैले सोधेँ, पेन्टिङ खै ? उनले भने अर्को फ्लाइटमा आउँदै छ । मैले भनेँ, अन्तिम फ्लाइट यही हो ।

हिँड खाना खान जाऊँ  हुसैनले भने । मैले उनीसँग खाना खादिनँ भनिदिएँ  । म धेरै रिसाएको थिएँ । मैले भने तपाईंले मसँग म पेन्टिङ बिना आउँदै छु भनेको भए बरु म बहाना बनाइदिन्थेँ कि हुसैनलाई हर्ट अट्याक आयो । अब म राष्ट्रपतिको आगाडि कसरी मुख देखाउनु ?

 

अर्को दिन बिहानै हुसैन फेरि मेरो कोठामा आए र भने हिँड्नोस त्यो हलमा जाऊँ जहाँ मेरो प्रदर्शनी चलिरहेको छ । मैले भनेँ मेरो समय किन बर्बाद गदै छौ ? तरपनि म उनले भनेकै कारण त्यहाँ पुगेँ । जब त्यहाँ पुगेर देखेँ कि त्यहाँ त हुसैनका तेह्र वटा पेन्टिङ झुन्डिएका छन् । ती पेन्टिङका रङ्ग यति ताजा थियो कि लगभग चुहिनै लागेका थिए । हुसैनले रातभर जागराम बसेर ती पेन्टिङ बनाएका थिए ।”

The thing of a beauty is a joy forever 2007 by MF Hussain | Source: Dawn

The thing of a beauty is a joy forever 2007 by MF Hussain | Source: Dawn


हजरत निजामुदिनमा एक जमानामा जकी मियाँको चिया पसल हुने गर्दथ्यो ।

मियाँ हरेक बिहान दुधबाट तरो निकालेर अलग्गै प्लेटमा राख्थे, के थाहा कतिबेला सौखिन हुसैन आइपुग्ने हुन् भनेर । खाने पिउने अनौठा ठाउँहरूले उनलाई सानैदेखि आकर्षित गर्थे । उनको अर्को सौख थियो  माटोको भाँडोमा कराहीबाट बिस्तारै हालिएको दुधको बास्नाको आनन्द लिने ।

कामना प्रसाद भन्छिन् “हामी बिहारका हौँ । हाम्रोमा छठ पर्व मनाइन्छ । छठमा हाम्रोमा ठेकुवा बनाइन्छ । जसलाई बनाउन पिठो, घ्यु र गुड(सख्खर)को प्रयोग गरिन्छ, त्यो उनलाई निकै मन पर्थ्यो । त्यसको उनी सधैँ फर्माइस गर्थे । त्यसको नाम सधै बिर्सिन्थे र भन्थे मलाई “बिहारी डोनट ” खुवाउनु होस् । उनी अक्सर हाम्रो घर आउँथे र चिया बनाउन भन्थे । र आफ्नो घरमा फोन गरेर सोध्थे, रातीको रोटी बचेको छ ? अनि उनी त्यो बासी रोटी चियामा चोपेर खान्थे ।”


कला सार्वभौमिक हुन्छ

धेरै कमलाई मात्र थाहा छ कि राम मनोहर लोहिया पनि हुसैनका घनिष्ठ मित्र थिए । एकपटक तिनले हुसैनलाई जामा मस्जिदको नजिक रहेको करिम होटलमा लगे । लोहियालाई त्यहाँको मुग्लई खान मन पर्थ्यो । त्यहाँ लोहियाले हुसैनलाई भने, “ यो जो तिमी बिरला र टाटाहरूको बैठक कोठामा झुन्डिनेवाला तस्बिरबाट घेरिएका छौ, त्यसबाट बाहिर निस्क । रामायणलाई पेन्ट गर ।”

लोहियाको यो कुराले हुसैनलाई तिखो तिरले जसरी घोच्यो र वर्षौंसम्म दुखिरह्यो । उनले लोहियाको मृत्यु पश्च्यात बदरी विशालको मोती भवनलाई रामायणका करिब डेढसय पेन्टिङले भरिदिए ।

सन् २००५मा हिन्दु कट्टरपन्थीहरूले उनको पेन्टिङको विरुद्धमा तोडफोड गरे । उनीहरूको धम्कीहरूको कारण हुसैनले भारत छोडे जसपश्चात उनी कहिल्यै भारत फर्किएनन् । एकपटक बिबिसीले उनीसँग प्रश्न गरेको थियो – “तपाईंले के सोचेर हिन्दु देवीहरूको नंग्न पेन्टिङ गर्नु भयो ? ”

उनको जवाफ थियो – “यसको जवाफ अजन्ता र महाबलीपुरमका मन्दिरहरूमा छ । यसमा सर्वोच्च आदलतले जुन ऐतिहासिक फैसला सुनाएको छ, त्यो पढ्नोस् । म, मात्र कलाको लागि जवाफदेही छु र कला सार्वभौमिक हुन्छ । नटराजको जुन रुप छ त्यो मात्र भारतको लागि होइन, पुरै विश्वका लागि हो । महाभारत केवल सन्त साधुको लागि मात्र लेखिएको होइन । त्यसमा पुरै संसारको हकअधिकार छ । ”

Saraswati by MF Hussain | Source: Scribd

Saraswati by MF Hussain | Source: Scribd



  यो आलेख बिबिसीका लागि रेहान फजलले लेखेका हुन् भने नेपालीमा  रसिक राजले अनुवाद गरेका हुन् ।
 
क्यानभासको अघिल्लो पोस्ट पढ्नुहोस्ः एउटा सुन्दर इच्छा, मृत्युको ! 
https://kavyalaya.com/the-starry-night-analysis/ 



 

Facebook Comments

You may also like

error: Content is protected !!