लुङ्ता

इपिलग

लह्प्साङ (पुजास्थल)को टुप्पोबाट पाँचवटा लुङ्ताका रंगीबिरङ्गी ध्वजाहरु टाँगेपछि उसको शरीरले गति छाड्यो । आकाशबाट फुसफुस झर्दै गरेको न्यानो हिउँमा उसका दुईवटै घुडाहरु बजारिए । दक्षिणतिरबाट उच्च वेगमा चिसो हावाको सिरेटो चलेको थियो । त्यसले एकप्रकारको सुरिलो ध्वनी उत्पन्न गरेको थियो, लुङ्ताका ध्वजाहरु बेतोडले हावामा फरफराइरहेका थिए ।

उसको उधेश्य अझै पूरा भएको थिएन । बिस्तारै उसले ताजा हिउँहरुले ढाकिएका सातवटा विभिन्न आकारका बाटुला ढुङ्गाहरु बटुल्यो अनि क्रमशः तिनलाई एकपछि अर्को गर्दै खप्टयाएर केर्न (ढुङ्गे स्तूप/ पाषाणचिती) निर्माण गर्यो । लुङ्ताको एउटा तोरण लह्प्साङको टुप्पोदेखि तन्काएर ढुङ्गे स्तुपको अन्तिम ढुङ्गामुनि अठयाइँदियो । त्योभन्दा माथिको ढुङ्गामा दुई फन्का पुग्नेगरी आफ्नो घाँटीबाट बोधीचित्तको माला झिकेर बेरिदियो । अनि बिस्तारै लह्प्साङको फेदमा आड लागेर दुई हातले नमस्कार गर्दै एकपटक अन्नपूर्ण हिमालतिर अनि अर्कोपटक आकाशतिर हेर्दै अन्तिम पटक (उसको) दिवङ्ग्त आत्मको चिरशान्तिको कामना गर्यो । सेप्टेम्बरदेखि नै हिमालमा हिउँको लहर चलेर आउँथ्यो । मध्य दिनमै चिसो स्याँठसँग बत्तिएर आउने कुहिरो हिउँ ग्लेसियरले बनेका रुखा बगरहरुमा गएर फिजिन्थे । त्यसले एउटा अदृश्य निम्त्याउँथ्यो ।

Source: Pinterest

Source: Pinterest

ऊबिस्तारै ढुङ्गाहरुको आड समाएर उठ्यो । अनि आफ्ना आँखाहरुलाई चिम्स्याउँदै उसले निर्माण गरेजस्ता अनेकौं ढुङ्गे स्तुपहरुमा घोत्लियो । ती प्रत्येकमा कोहीमा खादा त कोहीमा लुङ्ता र जुङ्ताहरु सजाइएको थियो । चिसो स्याँठको गति झन चर्किँदै थियो । उसले लामो सास फेर्यो, ओठबाट एक मुस्लो न्यानो बाफ निस्किएर चिसो स्याँठमा मिसियो । उसको नाकको टुप्पोबाट एक थोपा पातलो सिँगान न्यानो हिउँमा तप्कियो । उसले हातहरु चलाउन खोज्यो तर हातमा कुनै संवेदना थिएन, उसले बिस्तारै औंलाहरु चलाउन खोज्यो औंलाहरु रक्तसञ्चारविहीन जस्ता भएका थिए । त्यसपछि ऊ थचक्क हिउँमा बस्यो । विन्ड चिटरको जिपर खोल्यो अनि हातहरुलाई पेट र साप्राको बिचमा बेस्मारी च्याप्यो । आँखाहरु बिस्तारै धमिलिँदै गए । कुहिरोको तुफानले एकैछिनमा सबै अदृश्य तुल्याइदियो । अन्नपूर्ण आधार शिबिरमा चलमलाउने पदयात्री, गाइड अनि भरियाका टाउकाहरु पनि उसका लोलाएका आँखाहरुसँगै मलिन मलिन हुँदै गएका थिए । एकैछिनमा उसको मस्तिष्क वरिपरि घण्टाहरुको आवाज गुन्जिएजस्तो भयो, हमिङ्ग बोलको लामो ध्वनी तरङ्ग उसको पैतालादेखि तालुसम्म पुग्यो । एकपटक चिसो सिरेटोको सुस्केरा उसको कान छेवैबाट बत्तियो, अनि त्यसपछिको लामो मौनतामै ऊ शुन्यमा बिलायो । अर्थात् ऊ मर्यो ।

कथांश

“ऊ त्यो केटीको लास बोकेर छुमुर्ङ गएदेखि नै बिरामीजस्तो देखिन्थ्यो । हामी फर्किने बेलामा पनि उसको शरीरमा कुनै स्फुर्ती थिएन, शरीर एकाएक तातेको थियो । बिचबाटोमै उसका पाइलाहरु गल्न थालेपछि बेम्बोबाट दोभान हुँदै देउरालीसम्म हामीले उसलाई खच्चडमा बोकाएर ल्याएका थियौ ।” ऊसँगै माछापुच्छ्रे बेस-क्याम्पको मिलिनियम होटलमा काम गर्ने किचन हेल्पर केटो रुन्चे रुन्चे हुँदै आफ्नो साहुलाई भन्दै थियो ।

उनीहरु सबै एउटै गाउँका थिए, अर्को भरिया केटोपनि, तिनैजना । दामली उमेरका तामाङ केटाहरू । सानोमा उनीहरुको लाहुरे बन्ने ठूलो सपना थियो । हरेक बिहान र साँझ डोकाभरि बालुवाका बोरा बोकेर धादिङको उकालो चढथे तिनिहरु तर दुर्भाग्य उनीहरु मध्य कोहीपनि लाहुरे बन्न सकेनन् । यत्तिकैमा दिनहरु बिते, पोखराको होटलका एकजना मालिकले राम्रो काम मिलाइदिने भनेर पोखरा ल्याए । अनि केही समय लेकसाइडमा काम गरेपछि तिनै जनालाई अन्नपूर्ण पदयात्रा मार्ग अन्तर्गत माछापुच्छ्रे बेस-क्याम्पमा सिफ्ट गरिदिए ।

बिचरा त्यो किचन हेल्पर केटोपनि रुनमात्रै सकेको थिएन, त्यसदिन होटेलमा गेस्टहरु कोहिपनि थिएनन् । रातीदेखि नै मौसम बिग्रिएको थियो । मध्यरातमा हिउँका कठोर पाप्राहरु (आइस) चड्किरहेका थिए । एकाबिहानै अन्नपूर्ण बेस-क्याम्पमा एभिलेन्स (हिमपहिरो) गएको खबर आयो । चार जना विदेशीसहित दुईजना गाइड र एकजना नेपाली पदयात्री हिमपहिरोमा परे । एकैछिनमा ती सबैको प्राणपखेरु उडेको खबरपनि आयो । मौसम बिग्रेकाले हेलिकप्टर आउन सक्ने स्थिती भएन, लासहरुलाई तुरुन्त छुमुर्ङसम्म झार्नु भन्ने आदेश आएपछि लास बोक्न खाली होटेलका ती तिनै जना सहित पल्लो होटेलका दुई भरिया अन्नपूर्ण बेश क्याम्पतिर लागेका थिए। अनि पहिलो पटक त्यो किचन हेल्पर केटो किचन छाडेर भरिया बन्न तम्सिएको थियो ।

अर्को भरिया केटोले पनि आफ्नो कुरा साहुको अगाडि छर्लङ्ग पार्यो-
“शायद गाह्रोले गर्दा उसको ज्वरो फुट्यो, निमोनियापनि हुन सक्छ । ऊ हाइ लागेर शिथिलजस्तो देखिन्थ्यो । बाटोमा जाँदै गर्दा ऊ एक शब्दपनि बोलेन । केवल एकोहोरो हिँडिरह्यो । उसको दिमाग र शरीरको तालमेल पटक्कै मिलेको थिएन । हामीहरुले पनि आ-आफ्नो डोकोमा लासहरु बाँधेर राखेका थियौ । हामी बिचबिचमा रोकिन्थ्यौ र ढुङ्गाहरुको आड लगाउथ्यौँ । ती मृत लासहरुलाई बोकेर ओरालो झर्दा हाम्रा खुट्टा लगलग काँपेका हुन्थे । हामी बेलाबेलामा लौरीको सहायताले आफैलाई टेको दिन्थ्यौ र लामो सुस्केरा काढ्थ्यौ । देउराली र दोभानको बिच बाटोमा उसले एकफेर मात्र आफ्नो डोको बिसायो । हामी माथिबाट ओराला सिँढीका खुट्किलाहरु ओर्लँदै थियौँ । हामी झर्न नपाउँदै उसले पाँचवटा ढुङ्गाहरु चिनेर सानो ढुङ्गे स्तूप बनायो, डोकोबाट लामो लुङ्ताको डोरो झिकेर छेवैको लालिगुराँसको फेदमा बेर्यो अनि अर्को झरना छेउको ढुङ्गे मन्दिरको टुप्पोमा बाँध्यो अनि नबोलिकिन ऊ सरासर डोको बोकेर हिँड्यो । भारी बोक्न लागेको यत्रो तीन वर्षसम्म कहिल्यै उसलाई त्यस्तो हामीले देखेका थिएनौँ । त्यो दिनभर हिउँ परिरह्यो । हामी फुसफुसाउँदो हिउँमा हिँडिरहेका थियौँ, उसले टेकेका पैतालाका डोबहरु आइस बनेर जमिसकेका थिए । बिहान सात बजे लास बोकेर हिँडेका हामीहरु बेलुका पाँच बजे सिनुवा पुग्दा ऊ छुमुर्ङका उकाला सिँढीहरु चढिरहेको थियो । हामी बेलुका साढे सात बजे मात्र छुमुर्ङ पुग्दा पहिल्यै अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)का कर्मचारीसहित केही प्रहरीहरु लासको मुचुल्का उठाउँदै थिए । उसले बोकेर ल्याएकी त्यो केटी नेपाली पदयात्री थिई । उसको नर्थ फेसको ट्रयाकबाट ऊ पढ्ने काठमाण्डौँ कलेजको विद्यार्थी परिचयपत्र फेला पर्यो । त्यो केटी सोलो ट्रेकमा निस्किएकी थिई सायद । अनि त्यहि केटीलाई हामीले चार दिन अघि सामान बोक्न छुमुर्ङ झर्दा देखेका थियौँ । त्यतिबेलासम्म हामी सबैले आ–आफ्ना डोकोमा सामानहरु मिलाइसकेका थियौँ । उसको भागमा एउटा ग्यासको सिलिन्डर, एक कार्टुन टोमेटो केचप अनि एक कार्टुन सोया सस परेको थियो । ऊ बल्ल नाम्लोको बरियो मिलाउँदै थियो । त्यति बेला नै त्यो केटी इलुइजम होटेलको बरण्डामा निस्किएर हट लेमन विथ जिन्जर पिउँदै थिई ।”

Art by Albert Edelfelt

Art by Albert Edelfelt

 

प्रोलग

उसले सबै सामान मिलाएर डोकोमा नाम्लोको बरियो घुसार्यो । हरेकपल्ट सामान बोक्न जाँदा सामानको रसिद लानुपर्ने जिम्मा उसको थियो । ऊ होटेल इलुइजमको डाइनिङ रुमतिर तेर्सिन खोज्दा उसका आँखा बरण्डामा हट लेमन विथ जिन्जर पिउँदै बिहानको शुद्ध आकाशमा माछापुच्छ्रेको मनोमोहक दृश्यमा हराइरहेकी केटीका आँखामा ठोकिए । हिउँजस्तै सेतो र कोमल छाला भएकी त्यति राम्री केटी उसले कहिल्यै देखेको थिएन । उसले हठात् त्यो केटीको आँखाबाट नजर हटाइहाल्यो र लुरुलुरु काउन्टरतिर तेर्सियो । काउन्टरमा डोल्मा रसिदहरु तयार गर्दै थिइन् । डाइनिङ रुमको पारदर्शी सिसाबाट उसले एकपल्ट फेरि बरण्डामा उभिएकी केटीतिर हेर्यो । उसले आफ्नो लामो कपाल तालुमा गुजुल्टो पारेकी थिई, त्यसलाई जतनसाथ स्कार्फले लपेटेकी थिई । टाउकोमा सन ग्लास सिउरिएकी, नर्थ फेसको पातलो डाउन ज्याकेट, नर्थ फेसकै ट्र्याक र ठुूला गोट्टी भएका गम बुट लगाएकी । उसका नाडीहरुमा रंगीचंगी रिबनजस्ता धागाहरु बाँधिएका थिए । उसले अन्तिमपटक त्यो केटीको अनुहारमा हेर्यो । बल्ल उसले त्यो केटीको नाकमुनि देब्रेपट्टी सानो कोठीको अड्कल पायो । ऊ धेरै पटक झुक्किएको थियो, कहिलेकाहीँ नेपालीजस्ता लाग्ने पदयात्रीहरु विदेशी पर्यटक हुन्थे त कहिले विदेशी पर्यटकजस्ता लाग्ने पदयात्रीहरु नेपाली । यसपटक पनि ऊ दोधारमा पर्यो । उसले रसिदलाई ज्याकेटको गोजीमा राखेपछि सरासर डोकोतिर लाग्यो । उसका भरिया साथीहरू सिनुवा तर्ने पुलमाथिको अन्तिम चौतारीमा टेको लगाउँदै थिए । उसले पनि हत्तपत्त डोको मिलायो । होटेलको पिँढीको आड लगाएर बिस्तारै डोकोलाई आफूतिर तान्यो । डोको कोल्टिन हम्मे हम्मे पर्यो ।

“पख्नुस् पख्नुस् ! म हेल्प गरुँ ?” बरण्डामा उभिएकी केटी काँचको कपलाई हल्कासँग भुइँमा राखेर छिटोछिटो ऊतिर आई । उसलाई बिस्तारै पछाडिपट्टी बाट घचेटिदिई। उसले दाहिने खुट्टाको घुडामा हातले बल गर्दै बिस्तारै उठ्यो । उसले संकेत गर्न नपाउँदै त्यो केटीले उसको हातमा निगालोको लौरो थमाइदिई । ऊ बेस्सरी लजायो, गालाहरु राता राता भए । उसले अष्पट बोलिमा थ्यान्क यु भन्यो । केटी कतिबेला काउन्टरमा पुगेकी थिई उसले पत्तै पाएन । ऊ होसियारीसाथ फराकिला सिँढीका खुट्किलाहरु झर्न थाल्यो । दुई तीन होटेल झर्न नपाउँदै उसको पछिपछि त्यहि केटी हस्याङ्फस्याङ गर्दै आइरहेकी थिई । उसले ठूलो रुकस्याक बोकेकी थिई । “तपाईं त कस्तो मान्छे मैले त्यत्रो हेल्प गरेँ झन् अनि मलाई कुर्नु पर्दैन ?” ऊ आफै पहिला बोली । “अनि कहाँ पुग्ने नि तपाईं ? कत्ति ठूलो भारी है ? म भएको भए त मर्थेँ होला ।” ऊ ठूलो आवाज निकालेर हाँसी । ऊ झन् निस्तब्ध भयो, तर उसलाई केटी नेपाली नै हो भन्ने कुरामा एकिन भयो । म त त्यही माछापुच्छ्रे बेस-क्याम्प सम्म मात्रै हो । हजुर त एबिसीसम्मै होला है ?” उसले पनि लजाउँदै लजाउँदै भन्यो । “अँ नि । कस्तो जान्देको !” केटी अल्लि जिस्किएको पाराले बोली । उसलाई पनि बिस्तारै खुल्न सहज भयो । अनि कताबाट सिधै झिनुडाँडाबाट उक्लिनु भएको कि घोडेपानी, टाडापानी, किम्रुङ हुँदै छुम्रुङ निस्किनु भएको ?” उसले पूरापूरा खुलेरै केटीसँग बात मार्न थाल्यो । कुरैकुरामा उनीहरुले छुम्रुङ्को ओरालो काटे । झोलुङ्गे पुलमा केटीले उसको एउटा फोटो खिचिदिई । पुलभन्दा माथि चौतारीमा गएर दुबैले बिसाए । एक तर्को पसिना उसको निधार, नाकको डाँडी हुँदै नाकको टुप्पोबाट भुइँमा खस्यो । अनि उसको शरीरबाट पनि एक प्रकारको अमिलो गन्ध आयो । उसलाई अल्लि असहज महसुस भयो । तर केटीको ध्यान अन्तै थियो । केटीले झोलाबाट दुईवटा डेरी मिल्क चकलेट झिकी एउटा उसलाई दिई, उसले अफ्ठ्यारो मानेझैं गर्यो । ऊ आफैले उसलाई कर लगाई । “तिमी र म अब साथी, बेस्ट फ्रेन्ड बुझ्यौ ? अब हामी नछुटिइकिन हिँड्ने ल ?” उनीहरु बिस्तारै नजिकिँदै गए । एक-अर्कालाई तिमी भन्न थाले । थप परिचय गर्दै उनीहरुले तल्लो सिनुवा काटे ।

कथांश

त्यो केटी काठमाण्डौँ कि रैथाने नेवारकी छोरी थिई । पहिल्यैदेखि ठमेलमा उनीहरुको क्युरियो/हेन्डिक्राफ्ट पसल थियो । सानैदेखि पर्यटकहरुको माहोलमा हुर्केकी हुनाले उसलाई पनि तिनीहरुकाझैं खुल्ला र स्वतन्त्र रुपमा विचरण गर्न मन थियो । प्लस टु सकेपछि उसले पहिले तिलिचो र अर्को वर्ष लामटाङ क्षेत्रमा ट्रेक गरी । उसलाई केवल एकल यात्रा गर्नु थियो, त्यसैले घरबाट अनुमति लिएर ऊ सुटुक्क पोखरा उडी ।

गफैगफमा उनीहरु उपल्लो सिनुवा उक्लिए । उसका अरु भरिया साथीहरु खाना खाइवरी हिँड्ने तरखरमा थिए, ऊ बल्ल टुप्लुक्क पुग्दै थियो । केटी सँगसँगै आएको देखेपछि भरिया साथीहरुले आँखाको सन्को लगाउन थाले । केटीले होटेलको पेटिमा आफ्नो रुक्स्याक अड्याएर वासरुम छिरी, त्यहि मौकामा उसले साथिहरुलाई सबै कुरा बतायो । उनीहरुले पनि उसलाई हौसाए । गेस्ट नेपाली नै भएपनि राम्रो छ, बरु उसको केही सामान सकेदेखि बोक्दे राम्रो टिप्स आउँछ ।” तीमध्ये एउटाले सम्झायो । “तर पट्ट्याउन सकिस् भने तेरो भाग्य बन्यो ।” अर्को एउटाले छ्ड्के हान्यो । तीमध्येको सबैभन्दा सिनियर भरियाले उसलाई सम्झाउँदै भन्यो- “तर यो केटीको तालमा त, तँ आज दोभान पुग्दैनस् केटा । सायद हामीहरु आज त्यतै बस्छौँ । तँ सकेसम्म बेलैमा पुगेस् । बरु भोलि बिहान त्यो केटीलाई कुरेरै माथि देउराली उक्लेलास् ।” अरु भरियाहरु आफ्नो आफ्नो डोको बोकेर बाटो लागे । उसले पनि आफ्नो डोको राम्रोसँग अड्यायो । वासरुमबाट निस्किएपछि उसले लन्च अफर गरी, उसले आफ्नो लागि बिहानदेखी नै खाना अर्डर भएको बतायो । ऊ डाइनिङ टेबलमा बसेर खाना खान लाग्यो केटीले बाहिर टुलमा बसेर चिज म्याक्रोर्नी खाई । हिँड्ने बेला उसले होटेलको गारोमा अड्याएको ट्राइल म्याप हेरी । “म त आज बेम्बो बस्ने, बिस्तारै जाऔँ है ? अब कति घण्टामा पुगिएला ?” केटीले प्रश्न गरी ।  “हामी त दुई घण्टामै पुग्छौँ, तिमीलाई अल्लि गाह्रो पर्ला तर तीनदेखि चार घण्टामा त जति बिस्तारै गएपनि पुगिन्छ । हामी त आज दोभान बस्नु पर्छ । हाम्रो जक्सन नै त्यहि हो । अब बेम्बोबाट म एक्लै दुई घण्टा उक्लनुपर्छ ।” उसले जिस्किएको पारामा भन्यो । नडराऊ, अब म तिम्रो पिछा छाड्दिनँ, कहाँसम्म सँगै लाने ?” ऊपनि जिस्किदिई । उनीहरु लालिगुराँसको जङ्गल हुँदै हिँडे । केटी अघिअघि पालैपालो दुईवटा स्टिकहरुलाई बडो फुर्तीसाथ चलाइरहेकी थिई । 

बिचबिचमा उनीहरु थकाइ मार्थे । उसले टि-शर्ट माथि तानेर अनुहारको पसिना पुछ्थ्यो । केटी फोटो खिच्न मै तल्लिन हुन्थी । एक ठाउँमा बिसाउँदा केटीले ऊसँग सेल्फी खिची ऊ नर्भस भयो, केटीले उसका दुइटै गाला चिम्टिएर तन्काउँदै भनी स्माइल प्लिज ! थोरै भिरको डिलडिल हिँडेपछि उनीहरु बाँस र निगालोको बाटो हुँदै गए ।  “अब बेम्बो आइसक्यो ।” उसले भन्यो । उनीहरुले त्यहीँ बिसाए । त्यो केटीले केही ढुङ्गाहरु बटुली अनि बिस्तारै तिनलाई चिनेर ढुङ्गेस्तुप बनाई । उसले रुचिपूर्ण सबै कुराहरू हेर्यो । उसले पहिलेपनि कैयौंपटक देउरालीको भिरालो ढुङ्गेचौर अनि माछापुच्छ्रे बेस-क्याम्पदेखि अन्नपूर्ण बेस-क्याम्पको बिच बाटोमा यस्ता ढुङ्गेस्तुपहरु देखेको थियो । एकअर्काको देखासिकी गरेर मान्छेहरु यस्तो बनाउँछन्, उसलाई लाग्थ्यो । तर ढुङ्गेस्तुपको विशेष अर्थ उसलाई थाहा थिएन । केटीले उसलाई तीनका बारेमा पनि बताई ।

Craine Stone

Craine Stone

ऊ बज्राचार्य परिवारकी रहिछ । “हाम्रो परिवारमा हिन्दु र बौद्ध दुइटै धर्मको समिश्रण छ । मलाई बुवाले भन्नुभएको यस्ता ढुङ्गेस्तुपहरु आगामी जन्मको लागि बनाइन्छ । अनि कतै कतै मरिसकेको आफन्तको सम्झनामा पनि बनाइन्छ। यसलाई अङ्ग्रेजीमा स्टोन केर्न भन्छ, बुझ्यौ ? हामीले कसैले बनाएको केर्नहरु चलाउन वा भत्काउन हुँदैन ।” केटीले प्रष्ट पारिदिई । उसले बुझेझैं गर्यो अनि मुसुक्क मुस्कुरायो । उसले झोलाबाट लामो डोरीसहितको रंगीचंगी ध्वजाहरु निकाली । उसले बेस-क्याम्पमा धेरै पटक पर्यटकको अनुरोधमा यस्ता ध्वजाहरु टाँगेको थियो । त्यहाँ वरपरपनि अल्लि पुराना रङ्ग खुइलिएजस्ता ध्वजाहरु फर्फराइरहेका थिए । उसले लालीगुराँसको फेदबाट लामो डोरी, बाटो क्रस हुनेगरी अर्को रुखमा बाँधी । “यसलाई लुङ्ता भन्छ । लुङ्ता भनेको विन्ड हर्स याने वायुपंखी घोडा । यो लुङ्ता र जुङ्ता दुई प्रकारको हुन्छ । यसमा भएका विभिन्न रङहरुले जमिन, आकाश, जल, वायु र पाताल जनाउँछ । अनि सेता ध्वजाहरुले शान्ति र प्रेम । त्यहि भएर मलाई लुङ्ताहरु प्रिय लाग्छन् ।”उसले फेरि बुझेझैं टाउको हल्लायो । “म मरेपछि पनि यस्तै ढुङ्गेस्तुप बनाएर लुङ्ता टाँग्ने मान्छे बनाउनु छ । अनि बल्ल मेरो आत्माले शान्ति पाउँछ । नत्र म भुत बनेर पूरै संसार तर्साउँछु ।” ऊ आँखा ठूलठूला पार्दै जिस्किएर हाँसी । गफगफमै उनीहरु बेम्बो पुगे ।

केटीका पैतालाहरु पोलेका थिए । उसले थकानपनि महसुस गरेकी थिई । ऊ बेम्बो नै बस्ने भई । हिँड्नु अघि केटीले बेम्बोको होटेल अगाडि राखेको एन्टिक शपबाट उसको लागि एउटा क्याप किनिदिई अनि आफ्नो लागि बोधीचित्तको लामो माला किनेर घाँटीमा बेरी । तुवाँलोले ढाक्लाझैं थियो । बिस्तारै तुसारोका बुँदहरु तप्किन थाले । उसले प्लास्टिकले डोको छोप्यो । अनि मन्द मुस्कुराउँदै छुट्टियो । दुई तिन खुड्किला उक्लन नपाउँदै केटी तलबाट चिच्याई- “सुन न…भोलि बिहान म छिट्टै, सबेरै निस्किन्छु । मलाई दोभानमा पर्ख है । सँगै जानुपर्छ ।” त्यो केटीले साझपख नुहाई जतिबेला चिसोको घनत्व बढ्दै गएको थियो । ऊजस्ता अनेकौं पदयात्री, गाइड र पोर्टरहरु डाइनिङ रुमको कोइले हिटर अघि ज्यान सेकाउँदै थिए । उसले आफ्ना चिसा मोजाहरु र ट्र्याक हिटरमाथिको डोरीमा सुकाई । अनि आफ्नो मोबाइलको स्कृन्मा जुम गरी गरी त्यो भरिया केटाको तस्बिर हेर्न थाली । पहिलोपटक त्यो केटीलाई अनौठो काउकुती लाग्यो । उसलाई त्यो यात्राभरि सुरक्षित गराइदिने केटाप्रति उसलाई टिठ पनि लाग्यो ।

उता त्यो केटोपनि दोभान पुग्न पाँच बज्यो । टाढैबाट आउँदै गरेको उसलाई देखेर अरु भरिया केटाहरुले ताली पिट्न थाले । बेलुका उनीहरुले चामलको रौसी पिए, भटमासको सितनसित । अबेलासम्म उसले त्यो केटीको वर्णन गर्यो । अनि रातभर उसैलाई सम्झियो, एक झिमिकपनि निदाउन सकेन । पहिलोपटक उसलाई पनि कोही नजिक भएको अनुभूत भयो ।

भोलिपल्ट सबेरै भरिया केटाहरू डोको मिलाउन थाले । ऊ केटीलाई कुर्ने नै भएपछि उनीहरु आफ्नो बाटो लागे । लगभग साढे दुई घण्टा उसको लागि दुई दिन बराबर लाग्न थाल्यो । उसले त्यो बिचमा हजार पटक घडी हेर्यो होला । आखिर नौ बजे आसपास अल्लि पर त्यो केटीको अस्पष्ट आकृति देखियो । उसलाई थाहा थिएन, के कुराले उसलाई एक क्षणमा बत्ताएर केटीसम्म उडायो । ऊ थकित थिई । “तान न के ट्वाल्ल परिरा’ ?” उसले सिँढीमुनिबाटै भनी । पहिलोपटक केटीको हातको न्यानो महसुस गर्यो । उसले झोला बोकिदियो । होटेल अगाडि पुगेपछि केटीले आफ्नो कपाल मिलाई, उसले आफ्नो डोको मिलायो । उनीहरु त्यहाँबाट निस्किए । दोभानबाट हिमालयसम्म उनीहरु जिस्किँदै पुगे । बीचमा केटीले तिन ठाउँमा ढुङ्गेस्तुपहरु बनाई । खच्चडहरुका लिदी कुल्चँदै उनीहरु हिमालय पुगे । हिमालय पुगेपछि केटीले उसलाई हट जिन्जर अफर गरी । उसले नाइँ भन्दै टाउको हल्लायो । टेबलमाथि राखेको सर्बत पानी घुट्क्यायो । केटीले कर लगाई छाडी र उसले मान्नै पर्यो ।

मध्यान्ह सुरु हुँदै थियो । मौसम बिग्रेलाजस्तो छ भनी गाइडहरु चिन्तित थिए । कुहिरो बेतोड गतिमा अग्ला भिरहरु चढ्दै थियो । चिसो र सिरेटो एकैसाथ बढेको थियो ।

उनीहरु त्यहाबाट पनि निस्किए । उसले आउने स्थानहरु बारे केटीलाई बतायो । त्यति बेलासम्म उनीहरुले २५६० मिटर चढिसकेका थिए । उसले उचाईमा जाँदा देखिने समस्याबारे अनि त्यसका प्राथमिक उपचारबारे केटीलाइ बतायो । बि.एस्सि नर्सिङ पढदै गरेकी त्यो केटी, थाहा नपाएझैं उसको कुरा सुनिरही । साच्चै, त्यो केटोको हरेक कुराले ऊ तानिएकी थिई । दुइतीन घण्टाको हिँडाइपछि उनीहरु देउराली पुगे । दिउँसोको दुई बजेतिर । दिन अँध्यारो हुँदै थियो । हिउँ पर्न सक्ने सम्भावना प्रबल थियो । केटीले ज्याकेटको टोपीले कान छोपी, उसले गल्बन्दी बेर्यो । उनीहरु दुईजनाले नै नुडल्स खाए । अब ढिलोमा तीनदेखि चार घण्टामा ऊ माछापुच्छ्रे बेस-क्याम्प पुग्ने कुरा उसले बतायो । त्यहाँबाट एक डेढ घण्टामै (एबिसी) पुग्ने थाहा भएपछि केटी निकै खुसी भई । बाटोमा उनीहरुले धेरै कुराहरू गरे । परिवारका, जीवनका लक्ष्यका, खुसीका आदि आदि । दुई दिनमै उनीहरु वर्षौँ संगत गरेका साथीहरु जस्ता भए ।

खुसीमा मान्छेहरु समय बितेको पत्तो पाउँदैनन् । तीन घन्टाको यात्रा उनीहरुको लागि तीन मिनेट जति पनि भएन । साढे चार नबज्दै उनीहरु माछापुच्छ्रे बेस-क्याम्प पुगे । केटोको होटेल आइपुग्यो । उसले भारी बिसायो । सामानहरु सबै मिलायो । उसले केटीलाई त्यहीँ बस्न अनुरोध गर्यो । भोलिबिहानै एक घण्टामा माथि पुग्ने जानकारी गरायो । केटीले शर्त राखी, बिहानै दुबैजना सँगै अन्नपूर्ण बेस क्याम्प जाने भए मात्रै ऊ बस्ने भई । केटो होटेलको कामदार थियो जान नमिल्ने बतायो । “मलाई सूर्योदय निकै मन पर्छ त्यहिमाथि घामको पहिलो किरण म जसरी पनि अन्नपूर्ण हिमालमा हेर्न चाहन्छु । त्यतिको लागि त यत्रो यात्रा गरेको । बिहानै एक्लै हिँड्नु मेरो बसको कुरा छैन । केटीले भनी। उसले पनि रोकेन । मौसम झन्झन् बिग्रँदै थियो ।हिमालको मौसमको भर हुँदैन । त्यसो भए आउँदै गरेको ग्रुपसँग गइहाल ।” उसले केटीलाई भन्यो । जानुअघि केटीले भोलि लन्च गर्न आउने बताई । आफ्नो घाँटीको माला निकालेर उसको घाँटीमा लगाइदिई । “अब ढुक्क होऊ । भोलि लन्च गरेर फर्कँदा म माला फिर्ता लैजान्छु ।” ऊ मुस्कुराई । आउँदै गरेको ग्रुप आइपुग्यो । उसले हात हल्लाएर बाइ भनी अनि ग्रुपमा मिसिई । उसले पनि बाइ भन्यो । केटीले अल्लि पर पुगेपछि उसलाई बोलाई । आफ्नो नजिक आउन इशारा गरी, ऊ गयो । कान नजिकै फुसफुसाउँदै उसले भनी, “सकभर भोलिपनि केही बहानामा सामान लिन तल छुमुर्ङ झर्ने मेसो मिलाऊ है ?” त्यसपछि ऊ अगाडिको ग्रुपलाई भेट्टाउन छिटोछिटो हिँडी । तुवाँलोले पुरै नढाकेसम्म उसले केटीतिर हेरिरह्यो।

रातभरी आकाश गडगडायो, हिउँ चड्किन थाले, बेतोडले आँधी बेहेरी चल्यो । एकाबिहानै अन्नपूर्ण आधार शिविरमा ठूलो एभिलेन्स (हिमपहिरो) गयो । होटेलमा भरिया चाहियो भनेर खबर आउनासाथ ऊ एक श्वासमै बेस-क्याम्प पुग्यो । आँखाहरु सबर्त्र डुलायो पुरै खोज्यो केटी कतैपनी फेला परिनँ । होटेल, टेन्ट, हेलिप्याड ऊ सर्वत्र भुन्भुनियो केटीको सुइँको पनि सुनिएन । ऊ मानिसहरु जम्मा भएतिर गयो, उठाउँदै गरेको एउटा शबबाट रंगीचंगी डोरि बाटिएको एउटा हात तुर्लुङ झुण्डियो । उसलाई टेकेको पुरै जमिन भासिएझैं लाग्यो । रिंगटा लागेझैं उसको शरीर लर्बरायो । उसले केही देखेन, हिउँभन्दा पनि चिसियो उसको मुटु । बेतोडले रगत उसको टाउकोदेखि पैतालोसम्म दौडियो, त्योभन्दा पनि बेतोडले लह्प्साङको टुप्पोमा बाधिएका लुङ्ताहरु फर्फराइरहेका थिए ।

From Carolyn Anne Anderson's Blog

From Carolyn Anne Anderson’s Blog

Facebook Comments

You may also like

error: Content is protected !!