आएको थियो ऊ
आएको थियो ऊ
एकपटक आएको थियो ऊ
अझै याद छ मलाई
सुटुक्कै ऊ आएको
विना कुनै स्वीकृति नै
जनाउ घण्टी नबज्दै
तर कुन्नि हतारमा रहेछ क्यारे
जलाउन दीपावली स्वागतमा
बिछ्याउन रेड कार्पेट
अनि गलामा सत्कारको माला उन्न नपाउँदै
बिलिन भइदिएको थियो क्षणभरमै
यी उत्तेजित र हतोत्साहित आँखाहरुबाट
ऊ जाँदा ऊ गएको बाटोलाई
पछ्याएका थिए निकैबेर
यी आशावादी प्रतीक्षारत नयनले,
हातमा दियो जलिसकेको थियो
अनि मनमा तरङ्ग,
धिपधिप गरिरहेको उज्यालोको
सा….नो
एक टुक्रा छायाँमा
दुरुस्तै थिए टिलपिल टिलपिल आँसु,
अनि बिचलित मन, मनभित्र उम्लिरहेको ज्वारभाटा,
एकछिनका लागि जोडजोडले बजेको घण्टीको पराकम्पन
दियोमा तेल सकिँदै थियो
हराउँदै थियो उज्यालोको चमकता
नभन्दै त्यो कालरात्री, त्यो अन्धकार
छरपस्ट फिजियो, यत्रतत्र, सर्वत्र
छिप्पिँदै गयो रात,
शित झर्दै गयो रातभरि,
पठाइदिएँ रातको निद्रापनि,
धितो बस्न औडाहा र बेचैनीका लागि
किनभने,
चाहन्नँ थिएँ म कतै निद्रा आओस्
र निद्रासँगै सपनीमा ऊ
अनि लालायित यो मन,
नैराश्यको पहाडबाट
घर्ल्याम्म धकेलियोस्
तल आएर बजारियोस्
टुटोस् अनि फुटोस्
सपना हराएको रात
त्यो रात
सपना हराएको रात
निकै न्यास्रो एक्लो अनि निराशापनले ढाकेको
छिन छिनमा झसङ्ग
ढोका ढकढक्याए जस्तो
बोलाए जस्तो
अनि भित्रै पसेजस्तो
अनि एकैछिनमा विलिन
न छेउमा, न यो कुनामा, न त्यो कुनामा
बारबार यस्तै भइरह्यो,
दोहोरिरह्यो त्यो अन्धकार,
एक्लो रात अनि मेरा प्रतीक्षारत दुई आँखा
निकै सतायो त्यो रात सपनाले
जेलमा परेको थियो कि ओझेलमा
तर आएन अँह, आएन त्यो रात
सायद
बिरक्त लागिसकेको थियो होला त्यसलाईपनि
मेरो एक्लो अनि हतोत्साहित जीवनदेखि
औडाहा लागिसकेको थियो होला
मेरो भावुकता अनि यो संवेदनशीलतादेखि
सहनै गाह्रो भएर त होला
त्यो दिन
न त आयो आफू, न खबर पठायो
रिसाएर गयो कि दुख मानेर गयो
त्यो रातदेखि ऊ कहिल्यै आएन
न कतै देखा नै पर्यो
त्यो रातदेखि
मेरो सपना हरायो !
विवशता
आँखा चिम्लिन नपाउँदै
देखिने संसार
जहाँ तिमी हुन्छौ म हुन्छु,
अनि त्यो परिवेश ?
खाली खाली हुन्छ त्यो बस्ती
खुल्ला हुन्छ त्यो आकाश
सिर्सिर बतासका झोकाहरु
कतै लाग्दैन तन मन अनि वदनमा
पुरै खाली
सुगन्ध फैलिएको हुन्छ चारै तिर
रङ्गिन हुन्छ खोला बगर चौतारी अनि भञ्ज्याङ
माया र आभासको मण्डलमा
नाच्दै एउटा भुमरी
मलाईसँगै तिमीलाई निल्छ घुटुक्क एकै सासमा
भित्र अनि भित्र… भित्र… भित्र…
अनि बल्ल सुरु हुन्छ यात्रा एउटा यस्तो;
परिबन्धित लक्ष्मणरेखा चारैतिर
चौघेरामा हामी, तिमी अनि म
एक अर्काको आधार
न कोही तिमीलाई सम्हाल्ने
न कोही मलाई साथ दिने
बस हामी विवश हुन्छौँ
स्वीकार्न एक-अर्काको कमी कम्जोरी अनि अवस्था !