थुनिएको बर्थ डे

तपाईंसँग भएको क्यालकुलेटरमा आजको समयबाट १७ वर्ष घटाएपछि जे आउँछ, अहिले हामी त्यहाँ छौँ । ‘ऊ’ दु:ख पाउन ग्रह-पृथ्वीमा भर्खरै पहिलो स्पर्श राख्न सफल भएको छ । तर, खै कुन्नि किन हो ‘ऊ’ यो जितसँग सहमत देखिँदैन, उसको रुवाइको मात्रा बढेको बढ्यै छ । र, यो कुनै खुसीको रुवाइ भने होइन । विछोडपनि उसले झेलेको छ, र त्यही विछोडको इफेक्ट {असर} मा उसबाट रुवाइ क्रियट {उत्पन्न} भएको हो भन्ने बहुमत सबै मनुवाहरुको छ । बहुमतको कुरा ‘ऊ’बाट रोकिँदैन ।

गर्भ-गृहबाट विछोडिदिएपछि ग्रह-पृथ्वीसँग ऊ सहमति गर्न थाल्छ । व्यक्तिगत सहमति, नितान्त । यसको परिणाममा ऊ आकार लिन थाल्छ । उसको पिण्ड उकालो लाग्न थाल्छ । यसै काल बिचमा बेला न कुबेला ग्रह-पृथ्वीसँग भएको सहमति भंगभंग हुन खोज्दा उसको पिण्डमा गतिह्रास हुन खोज्छ । यसबेला उसको पहिलो घर गर्भ-गृहको मालिकमा चैनलाई बैचैनले, मुस्कानलाई त्रासले, आशालाई चिन्ताले मेटाउन खोज्छ । विभिन्न कर्म\ कार्य गरेपश्चात ग्रह-पृथ्वीसँगको सहमतिमा देखिन आएको असहमति हुने क्रममा साबुनको फिँज देखा पर्न थाल्छ । पातलिन थाल्छ । त्यही पातलोपनले बेचैनी\ त्रास\ चिन्तालाई समेत पातलो बनाउँछ ।

समय १७ वर्षलाई फेरि तपाईंको क्यालकुलेटरबाट हटाइदिनुस् । जे आउँछ, अहिले हामी त्यही छौँ । वर्तमानमा छौँ । यताबाट उता हेर्नुस त ! त्यहाँ एक जना खासै उचाइ लिन सफल नभएको केटो तर, उचाई ५ फिट २ इन्छ छ, देखिन्छ । उसको १७ वर्षिय विगतको शुभारम्भ कालबाट भर्खरै फिर्ती आएका छौँ, हामी । अब उसको ‘मन एण्ड दिमाग’मा छिरौँ!

मन एण्ड दिमाग भित्र

आज,
उसले १७औं वसन्त पार गरेको काल । ऊ ओछ्यानबाट हटेदेखि नै उसलाई पठाइएका कामनाहरुमा जवाफहरु दिन भुलिएको छ । आजको बिहानी उसको लागि जवाफहरू दिने काल बन्यो । एक वर्ष पहिले ठीक यसै प्रात:कालमा साथी-संगीहरुलाई साथमा लिएर ‘ऊ’ उत्सव साझा गर्न व्यस्त थियो कुनै प्रिय ठाउँमा, त्यसबेला । ऊ एक्लो थिएन । तर, आज एक्लै ऊ मोबाइललाई साथ लिएर उत्सव साझा गरिरहेछ । यस वर्षको उसको जन्मोत्सवको रंग\ उमंगमा समेत लकडाउन लाग्यो । र, थुनियो घरमै । केवल मोबाइलले उत्सव साझा गरिरह्यो ।

मन

म पहिले जस्तै त छु । तर, खै किन हो यो मान्छेलाई चाहिँ नयाँ हुनु भनेर कामना गरिरहेका ! यो मान्छे पनि पहिले अझ हिजो जस्तै त छ । रंग, उचाइ, मोटाइ, पिण्ड । सबै सबै । हुन त गत साल यति खेरै पनि त “नयाँ हुनु है” भन्ने कामना आएका थिए । खै त, यो मान्छे नयाँ भएको ? “खुसी हुनु है सधैं !” – खालका थुप्रै कामना पठाएइका थिए यो मान्छेलाई । तर, विद्यालयमा परीक्षा बिग्रेपछि, घरबाट भनेजति व्यक्तिगत खर्च नदिएपछि खै किन हो त्यो कामना बिर्सेको ? अझ यसरी कामनाहरू यो मान्छेले पूरा नगरेको लिस्ट तयार पार्ने भए निकै लामो हुन्छ । मसँग कुनै प्रष्ट ज्ञान छैन, आखिर कामनाहरु पूरा हुँदैनन् भने कामनाहरुको के काम ? कामनाहरु पूरा हुन्न भने दोष कसको; पठाउने या पाउनेको?

यस पटकपनि थुप्रै कामनाहरु पठाएका छन् यो मान्छेलाई । हेरौँ कतै यो वर्ष\पटक पो पूरा हुन्छ कि ! मलाई त यस्तो लाग्छ, मानिसको जन्मदिन, जन्मदिन हैन बरु कामनाहरुको हो असार, जहाँ भेल\ बाढी खोलामा आउन्जेल वर्षा हुन्छ । अब यो म ‘मन’को नितान्त आत्माबोध हो है ! लु यसमा खण्डन गर्न चाहिँ पाउनुहुन्न है तपाईंले !

दिमाग

आज बिहान, हैन हैन हिजोपनि हैन यो महिना प्रारम्भ हुनसाथ ममा यो मनुवाले लास्टै {खास; धेरै} प्रेसर दियो । बर्थ डे सेलिब्रेसन हुन सक्ला या नसक्ला ! क-कसले कस्तो कामना गर्लान् ! गिफ्ट्स् केके देलान् ! यी यस्तै कुराहरु यो मनुवाबाट बारबार निस्किरहन्थ्यो । र, मलाई बारबार पिसिरहन्थ्यो, गाउँमा जाँतोमा पिसेको कोदोजस्तै । पूरै धुलो\पिठो बनाइन्जेल । मलाई कम्ता {खास; धेरै} गाह्रो भएको थियो । हेर्नुस्, मलाई जति गाह्रो भयो त्यसको एक छेउपनि ‘मन’लाई भएन । हुन त मनुवाले मलाई हेप्ने गर्छन् । अरुहरुलाई\दोस्रो व्यक्तिलाई “मनदेखि माया गर्छु” भन्छन् । “मनमा माया धेरै छ” भन्छन् । हेर्नु भो नि, मलाई हेपेको ! कोही मनुवा त मेरो पक्षमा पनि लाग्नु नि ! भनुन् नि कसैले “दिमागमा तिम्रो माया धेरै राख्छु” । अब अरु मनुवाले/विशेष यो मनुवाले त मलाई वेवास्ता गरे गरे\गर्यो गर्यो, तपाईंले चाहिँ उप्रान्त नगर्नुस् है त ! ममाथि दया गरे तपाईं नर्क अवश्य नजानु होला ! नत्र भन्न सकिन्न ।

“आजकल ममा प्रेसर अलि घटेको छ । बर्थ डे सकिएपछि यो मनुवा किताबहरु खानमा व्यस्त छ । गीतहरु पिउन व्यस्त छ । र, इन्टरनेटको जुस निल्नमा नै व्यस्त छ । म पनि यो मनुवाले यस्तै खाओस्\ पिओस्\ निलोस् भन्न चाहन्छु, प्रेसर त कम हुन्छ । तर, कहिलेकाहीँ प्रेसरमा भएको पनि अवश्य मलाई मन पर्छ । त्यो हो जन्मोत्सवको बेला । मलाई त्यसबेला प्रेसरमा भएको बेला पनि हाँस्न मन लाग्छ । किनकी यो मनुवा -मलाई क-कसले विस गर्यो- भनेर इन्टरनेटमा खोजी खोजी प्रतिक्रिया दिन्छ । फेरि, साथीहरू बर्थ डे पार्टीमा को-को आए\ आएनन् भनेर पनि आँखा घुमाउँछ, कसैलाई देखेन भने फोनमा स्वाङ गर्दै भन्छ, “नआए त म कहिलेपनि बोल्दिनँ ।” यी यस्तै चटकमा म त्यो दिन व्यस्त हुन्छु । र, स्व-हाँसो क्रियट गर्छु ।”

मैले गत वर्ष डायरीमा यस दिन लेखेको थिएँ यसरी । तर, यो वर्ष म झन् आफै प्रेसरमा परिरहेछु । आज बिहानैदेखि परिरा’छु । कारण आज यो मनुवाको बर्थ डे सेलिब्रेसन गत वर्षको जस्तो भएन । देश लकडाउनमा परेको बेला बर्थ डे सेलिब्रेसनपनि मनमै लक भयो ।

सोचेको पूरा नभए पछि नै गिदी खलबलिन्छ । आज हामी दुवैको गिदी खलबलियो । के गर्ने ! समय हाम्रो हुँदैन । फेरि यो लकडाउन भएको बेला यसलाई उल्लंघन गरेर घरमा भोजको आयोजना पनि गर्न भएन ! सरकार महोदयको आज्ञा पालन गर्नै पर्यो । आज हामी मन र दिमाग हात सफासँग धोएर घरमा बसिरहेका छौँ । तपाईं नधुने ? अस्ति बजारमा बिना मास्क घुम्ने\डुल्ने ? अब हामी चाहिँ यतै बसेर अर्को वर्ष यो मनुवा\मान्छेको जन्मोत्सव भव्य मनाउने आशा गर्दै हात धुन जाँदैछौं । तपाईं पनि जानुस् । माक्स लगाउनुस् ।

मन एण्ड दिमाग बाहिर

स्वागत छ यहाँलाई पुन: । हामी त्यो केटोको मन र दिमागमा पनि पसिसक्यौँ ! एक पाउ जिन्दगी भर्खर काट्दै छ त्यो केटोले । हेर्दै जाऔँ कति पाउ जिन्दगी काट्छ । कतै १ के.जी. जिन्दगी नै बिताउँछ कि त ! तर, त्यो अवस्थामा आफू पुग्न त, नोबेल कोरोना भाइरसको घाँटी च्वाँट्ट छिनाउनु पर्छ हामीले । त्यतिले मात्र पुग्दैन, अरु धेरै किटाणुमाथि पनि विजयी हुन पर्छ । त्यसैले, अघि मन र दिमागले भनेको कुरा उम्… हात धुने के, कस्तो बिर्सनु भएको ! हो, जाऔँ । अँ सुन्नु त, यस पाली जन्मोत्सव भव्य रुपमा मनाउन नपाए पनि अर्को वर्ष मनाउन पर्छ है ।

[यो केवल फिक्सन हो, कसैको जीवनमा मेल खान गएमा मज्जा हुनेछ ।]

Carl Jung Psychology from Pinterest

Carl Jung Psychology from Pinterest

Facebook Comments

You may also like

error: Content is protected !!