लकडाउन डायरी

तपाईंलाई केही कुरा (आदेश वा उपदेश नभएर प्रेमले)

यतिखेर देशमा लकडाउन छ । चौथो हप्ता चलिरहेको छ । मान्छेहरु घरभित्रै हुलिएका छन । अति आवश्यक बाहेकका सबै व्यापार, कल-कारखाना, खेल, कला र सेवासुविधाहरु बन्द छन् । सडक सुनसान छ । बजार चुपचाप छ । शहर शहर जस्तो छैन । गाउँ गाउँ जस्तो छैन । जताततै कोरोना कोरोना मात्र छ । यत्रतत्र डर छ, भय छ, भ्रम छ, छटपटाहट छ, निन्द्रा हराएको छ, सुकुन छैन, चैन छैन, अझ बाँच्ने ग्यारेन्टी छैन ।

झट्ट हेर्दा यो अवस्था एकातिरबाट चिन्ताको हो, अर्कोतिरबाट चिन्तनको हो । यतिखेर तपाईं चिन्तामा समय व्यतित गरिरहनु भएको छ वा चिन्तनमा ? त्यो म भन्न सक्दिनँ तर यदि चिन्तामा हुनुहुन्छ भने पक्कै तपाईं सामाजिक सञ्जालको व्यापक प्रयोग गरिरहनु भएको छ । साथीहरुसँग उनै व्यर्थका गफगाफ, उनै आउने हावादार समाचार, उनै साथीहरुका पुराना वा कोठाभित्रका फोटा वा सामुहिक परिवारका फोटा, यो पढदै छु, यो खाँदै छु, हाम्रो पहिलो भेट कहाँ भएको थियो ? जस्ता अर्थहिन प्रश्न, टिकटकका कलाहिन कला, यस्तै यस्तैमा तपाईं बढिजसो घोत्लिनु भएको पक्का छ । यसको म पटक्कै विरोधी होइन । तपाईं आफ्नो चाहना वा समय वा जीवनप्रति पूरापूरा स्वतन्त्र हुनुहुन्छ । तर यसैलाई पनि सिर्जनात्मक बनाउन सकिन्छ, मानसिक र शारीरिक रुपमा स्वस्थ र स्फुर्त रहन सकिन्छ भन्ने मात्र हो । सामाजिक सञ्जाल चलाऔँ तर सामाजिक हुने गरी । समय व्यतित गर्ने बहानामा हामी जसरी पनि व्यतित नगरौँ । साथीहरुसँग बकम्फुसे कुरा गरेर, अनावश्यक पोष्ट गरेर समय सजिलै कट्छ तर प्राप्ति के ? सिकाई के ? हुन त सबै क्रियाबाट प्राप्त गर्नै पर्छ वा सिक्नै पर्छ भन्ने पनि छैन तर केही न केही सकरात्मक त हुनुपर्यो ।

यो समय परिवारलाई हो । कति भयो तपाईंले विभिन्न कारणवशः वा बाध्यतावशः परिवारसँग लामो समय व्यतित नगरेको ? एकसाथ बसेर आजसम्म बिताएको जीवनका बारे साझा गर्न, एकसाथ खाना खान, एकसाथ हाँस्न, एकसाथ बसेर रमाइलो गर्न, एल्बम निकालेर बच्पनका तस्बिर हेर्दै तीसँग जोडिएका रमाइला नरमाइला किस्साहरु सुन्दै सुनाउँदै अबेरसम्म बसेको कति भयो ? परिवारका कोही सदस्यसँग यदि तपाईंको खटपट छ भने यही उत्तम अवसर हुनसक्छ — सम्बन्ध सुधार्न । आफ्नो प्यासन ईन्जिनियर होइन, लेखक हो भनेर परिवारलाई बुझाउने भाषा यही हुनसक्छ । म यो केटा/केटीलाई प्रेम गर्छु यसैलाई जीवन साथी बनाउन चाहन्छु र चाहनुका कारण यी यी हुन भनेर परिवारले लिएको वा लिनसक्ने गलत निर्णय सच्चिने गतिलो सुत्र पनि यही समय हुनसक्छ ।

यो समय झन विशेषतः आफूलाई हो । सपना निर्धारित गरिसक्नु भएकाहरुले, झाक्नुहोस् आफूमा — के म सही मार्गमा छु ? लक्ष्यप्रति म कति र कुन हदसम्म पागल छु ? आजको दिनसम्म म कति नजिक पुगेँ ? वा कति टाढा छु ? मैले अब चाल्नुपर्ने कदम कस्तो हुनुपर्छ ? कस्तो हुनु हुँदैन ? समय अझै दिनुपर्ने हो कि ? एकाग्रतामा कमि ? किन कमि ? त्यो कुन चिज हो ? त्यसबाट मुक्त कसरी हुने ? मिहेनतमा कमि ? कुन पाटोमा म अलि पछि परेँ ? सपना निर्धारित नगरिसक्नु भएकोहरुले, हेर्नुहोस् वरपर, जस्तै; खेत, गरा वा माटो जसको सपना हुन्छ राम्रो बाली उमार्ने, मुलको सपना हुन्छ पानीलाई समुन्द्र पुर्याउने, अण्ड र शुक्रकीटको सपना हुन्छ शिशु जन्माउने, घरको सपना हुन्छ सुरक्षा दिइरहने । यसरी हरेकका सपनाहरु छन् । तपाईंले पनि कुनै न कुनै सपना लिनै पर्छ र पर्ने हुन्छ । तपाईंलाई जे मनपर्छ, जस्तो मनपर्छ त्यो बन्नु वा त्यसको पछिपछि दौडनु नै सपना हो । भव्य सोच्नुहोस् । समय चाहे जति प्राप्य छ यतिखेर ।

यो समय कतिलाई जेल जस्तो भइरहेको होला । हो, सत्य यो जेल नै हो । किनकि प्रकृतिले सजाय दिएको छ मानवलाई यो भनेर कि — तैँले हदभन्दा बढि मानव केन्द्रित प्रपञ्चहरु बनाउँदै गइस्, दिनहुँ चाहनाहरु बढाउँदै गइस्, तिनै असिमित चाहना प्राप्तिका लागि प्रकृतिमाथि हमला वा शोषण गरेर अन्य जिव-जन्तुहरुको अस्तित्व धर्मसंकटमा पारिस्, प्रदुषण गरेर, जथाभावी बसेर र मनपरी गरेर बस्न नालायक बनाइस् । त्यसो हुनाले केही समय तँ भित्रै बस्, आफ्नो कामकार्य बारे मन्थन गर्, गल्तिको कबुल गर् । र बल्ल बाहिर आाइज । त्यसैले यो समय प्रकृतिलाई पनि हो ।

हामीले तस्बिर खिचेर सामाजिक संजाल रङ्गाउन जान्यौँ तर सोच्न जानेनौँ । यो समय नितान्तः मन्थनको हो । मज्जैले मन्थौँ । यदि तपाईंले चाहनु भयो भने मात्र है ! नत्र जसरी पनि समय गुर्जान सक्नुहुने नै छ । भएकै पनि छ !

अब थोरै आफ्ना कुरा (यो भाग नपढ्न पनि तपाईं उत्तिकै स्वतन्त्र हुनुहुन्छ !)

आजभोलि म गाउँमा छु । अर्थात जन्मघर दैेलेख छु । परिवारसँग छु (दिदि चाहिँ काठमाडौँ हुनुहुन्छ) । यहाँ शहरमा जति लकडाउनको प्रभाव छैन । गाउँले जीवन उस्तै छ । गाउँ उस्तै छ । गाउँलेहरु कोरोनाका बारे उति जानकार नभएपनि यसले सित्तैमा ज्यान लिनसक्छ, यसको उपचार छैन, एक ठाँउदेखि अर्को ठाउँ नजाने बनाएको छ सरकारले, विदेशबाट फर्केर आएकाहरुसँग टाढा बस्ने र आज यति मरे उति मरे, आँगनको एक छेउको थाङग्रामा टङ्गाइएको रेडियो दिनहुँ नथाकी झनझन चर्किँदै फलाकिरहने यिनै घटना, परिघटना भने काम गर्दै मज्जैले सुनिरहेका हुन्छन् । खै, बुझ्छन बुझ्दैनन् ? तर मरिने डरले निन्द्रा खोसेको भने पक्का छ ।

एक हुल केटाकेटीहरु कहिले डन्डि-बियो खेलिरहेको हेर्छु, कहिले लुकी-खेल खेलिरहेकोे हेर्छु, सधैँ ।

उनीहरु बियो डन्डिमा लाग्दा कोरोना मर्यो भनेर जोडजोडले कुर्लिछन् । सब लुकेपछि खोज्नेले भेटाउँदा कोरोना आसपास भनेर फुर्किन्छ । यसरी केटाकेटी कै भाषा परिवर्तित भएको छ । मनपसन्द भएको छ । सोच्छु — कोरोनाले कसरी मन जित्यो होला यिनी केटाकेटीहरुको ? विश्व हैरान भइरहेको अवस्थामा !

मलाई शहरको लत कतिसम्म बसेछ भने, गाउँ आएको केही दिन औडाहामै बिताएँ । कँहा जाने ? कोसँग बोल्ने ? के गर्ने ? के नगर्ने ? घरका मान्छेसँग पनि राम्ररी बोलिनँ । गाउँले कोही आए भने वा भेटेँ भने तर्किएर हिँड्न खोज्थेँ । रुममै बसिरहन्थेँ । पुस्तक पढिरहन्थेँ । एक दुईवटा कविता लेखेको थिएँ । सुन्ने मान्छे को ? कहाँ खोजु ? हे भगवान ! म कहाँ आइपुगेँ— जहाँ कविता सुन्ने मान्छे छैन ।

तर एक बिहान आँखा खुल्लै राखेर खाटमा पल्टिरहेको थिएँ । ढोकापनि खुल्लै थियो । पारि जङ्गल देखेँ, जँहा म कैयौंपल्ट गोठालो गएको छु । जङ्गल उस्तै छ आजसम्म तर म किन छैन ? उठेँ । धारामा ब्रस गर्दै थिएँ, भाइ (ठुलो बुबाको छोरा)लाई देखेँ । कतै जाँदै थियो सायद, हतारमा देखिन्थ्यो । ऊ गएको बाटो हेरेँ । अरे ! यो त म सानोमा स्कुल जाने बाटो पो हो, जो उस्तै छ तर म किन छैन ? खाना खाएर हातमुख चुठ्दै थिएँ, बहिनी (ठुलो बुबाकै छोरी) घाँसको भारी बोकेर आई । ऊ पसिनाले लत्पतिएकि थिई । डोको राखेर ऊ धारातिर लागी । तर म हेरिरहेँ त्यस डोकोलाई । डोको उस्तै छ तर म किन छैन ? त्यस दिन भरि मैले धेरैथोक हेरेँ, जस्तै; खेत, घर नजिकैको मेलो, घर अगाडि-पछाडिका खोला, काफलका, तिजुका, बेडुल्लाका, खर्चेका र अम्बाका रुखहरु, गोठालो आएको, गएको । गहुँ फलेका गराहरु, परपर पुगेँ, वरवर आएँ, तलतल झरेँ, माथिमाथि उक्लेँ अबेरसम्म टोलाइरहेँ, हेरिरहेँ बस् हेरिरहेँ क्षितीजलाई …..

त्यस दिन यो निक्र्योल निकालेर म फर्किएँ घर कि गाउँ र गाउँलेहरुलाई मेरो कविता सुन्ने फुर्सद नै कहाँ रहेछ र ? उनीहरुले आफ्नै कविताहरु सुन्ने फुर्सदिलो मान्छे भेटाएका रहेनछन् । म अचेल उनीहरुका कविताहरु सुन्दै, टिप्दै दिन काटिरहेको छु ।

यतिखेरसम्म मेरा गफमा भुल्नु भएकोमा क्षमाप्रार्थी छु । सबैमा हयाप्पी लक डाउन पनि !
यति लेखेर म सकिन्छु । धन्यवाद !

Facebook Comments

You may also like

error: Content is protected !!