लकडउन र अनलाइन कक्षा | प्रवास | काव्यालय-Kavyalaya

लकडाउन र अनलाइन कक्षा 

यो २१औं शताब्दीमा हामी सबैको जीवन हरेक कुरा सजीलैसँग चल्दै थियो । अहिले हामी देशको जुनसूकै कुनामा बसेको भएपनि जीवन यापन गर्नलाई पहिलेभन्दा अहिले धेरै सजिलो थियो । सबै मानिसहरू सहजको जीवन नै खोज्ने गर्छन् र सहज नै रोज्छन् ।

 

एकपटक सोचनुस् न हाम्रो जीवन कस्तो थियो कोभिड र लकडाउन हनु अगाडि । लकडाउनले गर्दा अहिले सबैको जीवनमा केही बदलाव आएको छ । म आफूले पनि सोचेकै थिइनँ कि मेरो कलेजको सेमेस्टरको सबै गृहकार्यहरू कोठादेखि नै गरौँला भनेर। 

 

कोभिड १९ सुरु हनुअघि सबै राम्रै चलिरहेको थियो । म आफ्नो परिवारसँगै अमेरिकाको टेक्सासमा बसेपनि पढाइ कलेजमा बस्दै क्यानससमा गर्दै थिएँ । मेरो जुनियर इएरको दोस्रो समेस्टर सुरु भएको थियो । हल्का हल्का करोनाको कुरा सुनिँदै थियो तर पहिले त हाँसो-ठट्टा नै भयो सबै मान्छेलाई कोरोना, अमेरिकामा पनि । जब स्प्रिङ ब्रेक सुरु भयो त्यो बेलादेखि अलि खतरा नै हो कि कोरोना, झैं लाग्न थाल्यो सबैजनालाई । म पनि स्प्रिङ ब्रेकमा कोलोराडो जाने योजना गरेको मान्छे थिएँ । जब स्प्रिङ ब्रेक हुन दुई दिन बाँकी थियो, कलेजले एउटा निर्णय ईमेल बाट हुत्यायो । भनिएको थियो- कक्षाहरू स्प्रिङ ब्रेकको तीन हप्तापछि सुरु हुनेछ र त्यो बेलासम्म अनलाइन पढाइ हुन्छ । अनि त्यही बेला भनेको थियो कि कलेजबाहिर गइयो भने फर्केर आउन पाइने छैन । तबदेखि नै कोरोना गम्भिर हो झैं लाग्न थाल्यो । 

 

आफ्नो योजना रद्द गरी म कलेज कोठामै बसेँ अरु विदेशी विद्यार्थी साथीहरूसँगै । सबै जसो विद्यार्थी आफ्नो आफ्नो घर गैसकेका थिए । त्यसको एक हप्तापछि बैठकमा हामी कलेजमा भएका सबै विद्यार्थीलाई पनि जतिसक्दो छिटो आफ्नो घर जान आदेश दियो । मेरो त टेक्सासमा परिवार हुनुहुन्थ्यो, जसो तसो सब कुरा तयार गरेर त्यही दिन साँझ नै डराउँदै प्लेन चढेर टेक्सास परिवारसम्म आएँ । तर कति विद्यार्थीहरूको देश नै लकडाउनमा थियो । उनीहरू परिवार र आफ्नो सरकारलाई सम्पर्क गरेर जान सक्ने जति त घर गए । तर कतिलाई भने आफ्नै घर फर्किनुपनि कति ठूलो समस्या बनिदियो । अहिले पनि कति त कलेजको कोठामा कलेजकै साह्यतामा बसेका छन् भने कति त कलेज आसपास नै कोही चिनेकाहरूलाई मनाएर या त आफन्तकहाँ बस्न बाध्य छन्, घर फर्कन नपाएर । 

 

हाम्रा कक्षाहरू पनि अनलाइन गर्दा नै सकियो यसपालीको सेमेस्टर । कक्षामा गएर पढेजस्तो त के हुन्थ्यो तैपनि अनलाइनदेखि नै शिक्षकहरूले सेमेस्टरको पढाइ पूरा गराउनु भयो । मैले धेरै नेपाली साथीहरूलाई सोधेर बुझ्दा त्यस्तो गाह्रो त थिएन तर धेरैको योजना बर्बाद भयो ।

 

अमेरिका जहाँ हर कुना कुनामा सबै कुराको व्यवस्था भएको देशमा त अनलाइन पढाइ गर्न गाह्रो भयो भने हाम्रो देश नेपालमा गाह्रो हुनु स्वाभाविक नै हो । अमेरिकामा लाइन जाँदैन, सबै ठाउँमा वाइफाई छ काम गरेर खाने मान्छेको जीवन चलिरहेको नै छ दुःख सुख गर्दै । तर हाम्रो नेपालमा कति विद्यार्थीको पढाइ, परीक्षा सब ठप्प भएको छ । विद्यार्थी नै भविष्य हुन् भनेर पहिल्यैदेखि तयारी गर्न पर्ने, अब त केही होला की ! यता बसेर कुरा काट्दै यो यस्तो त्यो तेस्तो नभनौँ पनि लाग्छ अनि फेरि देश र हाम्रो नेपालीको मायाले बोल्न लेख्न मन लाग्छ । कति समाचार पढेको छु कि कतै विद्यालय कतै शिक्षक नै भएनन् नेपालमा भनेर ।  पोहोर साल मात्र सुनेको विद्यालयको छानो चुहेर छाता ओढेर पढ्दै विद्यार्थी भन्ने । कतिसँग त्यही छातापनि नहोला दुर्गमतिर र ओढ्दा हुन् अझैपनि कर्कलापातको घुम ! अनि यस्तो अवस्था कति ठाउँमा होला देशभरि र अनलाइन कक्षा कसरी होला सम्भव होला सबै विद्यार्थीको लागि ? केही सिमितले मात्रै पढेर त नहोला । 

 

कति ठाउँमा त अझै बत्तीसमेत पुगेको छैन । वाइफाईको कुरा त टाढा भयो, फोन पनि लाग्दैन कति ठाउँमा राम्रोसँग अनि कसरी अनलाइन कक्षा सम्भव होला हाम्रो नेपाली विद्यार्थीको लागि ? मलाई अझैपनि हिजो जस्तो लाग्छ जब माओवादीको आन्दोलनले मेरो विद्यालय बन्द भएर हामी रूखमुनि सानो समूहमा गाउँमा लुकेर पढेको । देशमा वाइफाई मात्र हैन आफ्नै प्लेन हुनेहरू पनि छन् । अनि फेरि आफ्नो साँझ बिहानहात-मुख जोर्नसमेत गाह्रो हुने पनि धेरै छन् । हुनेहरूले त गर्लान् वाइफाईबाट पढाइ, तर अरु सबै के नपढी बस्नु ? सरकारले त नसक्नेहरूका लागि यस्तो महामारीको समयमा समाधानको विकल्प खोज्नुपर्ने होइन र ? जे जस्तो भए पनि विद्यार्थीको भविष्य नबिग्रियोस् । 

 

भन्ने नै हो भने यो समयले हामी सबैलाई केही न केही सिकाएको छ । परिवार, आफन्त, पढाइ, जागीर, अनि देशको माया के हो भन्ने बुझाएको छ, सिकाएको छ। आफ्नो स्वस्थ्य कति महत्त्वपूर्ण छ भन्ने कुरा हामी सबैले बुझ्नुपर्छ । आफू छौँ त सब छ । जति जे जस्तो भएपनि हामी हरेक कुरादेखि केही सिक्नु पर्न हुन्छ । यो लकडाउनको समयमा हाम्रो देशमा मात्र नभई विश्वभरि नै धेरै घटनाहरू घटे । हम्रो देशमा कैयौंले भोकमरीका कारण त कैयौंले औषधी नपाएर ज्यान गुमाउनु पर्यो । कैयौंले मानसिक, आर्थिक, सामाजिक, विभिन्न कारणवश परिस्थितिसँग जुध्न नसकेर आत्महत्यासमेत गरेका छन् भने यसै समयमा बलात्कार, हत्या, जातीय विवादहरूको बढ्ने क्रमपनि ज्यादै छ । अरु धेरै किसिमका हिंसाका घटनाहरू, चोरी, डकैतिसमेत बढिरहेको पाइएको छ । यी घटना घट्नुले हामीलाई कस्तो शिक्षाको आवश्यक्ता रहेछ भन्नेपनि बुझाइरहेको छ । ठूलो देश या सानो देश, धनी देश या गरीब देश सबै संसार नै डरमा बाँच्ने अवस्था गरायो कोरोनाले । सिक्न खोज्ने हो भने हामीलाई यो समयले साच्चै धेरै कुरा सिकायो र धेरै कुरा सिक्ने एउटा मौका पनि दियो । 

 

मरेर लानु केही छैन मिलेर हाँसेर जिन्दगी काट्नु पर्छ । आफ्नो अनि आफू नजिकको सबैलाई माया गर्नुस एउटा जन्दगीमा राम्रो काम गर्दै काटेको राम्रो । मिलेर सबै कुराको समाधान गरौँ र पहिले जे जस्तो भए पनि अब चाहिँ आउने पुस्ता अनि हाम्रो भविष्यको लागि सरकार र नागरिकले राम्रो बाटोमा लाग्नु र  राम्रो काम गर्नु पर्छ । महामारीको छानोमुनि भोलिको दिनमा कुनै मानिसले भोकले, शोकले या रोगले मर्नु नपरोस् । र विद्यार्थीलाई भोलिको देशका कर्णधार भन्छौँ भने, भोलि यस्तै अवस्था आउँदा अनलाइन शिक्षा अहिलेको जस्तो विवाद र मुस्किलको विषय नबनोस् । अनि मात्रै नेपालीले चाहेको देश बन्नेछ हाम्रो नेपाल ।



️ [ दाङ, नेपालका लेखक धिरज अधिकारी हाल अस्टीन, टेक्सासमा अध्ययनरत हुनुहुन्छ ! ]



 

Facebook Comments

You may also like

error: Content is protected !!