LOCK DOWN READING DIARY

यहाँ बिसन्चो हुन को चाहन्छ ?
मृत्यु कसलाई चाहिएको छ ?

सबैलाई बाँच्नु छ । सास फेर्नु छ ।
म गाउँमा छु । सास फेरिरहेको छु । शहरमा केही भइहाल्यो भने, भागेर आउने ठाउँ यहीँ नै त हो । म आउँदा कहिले रिसाउँदैन मेरो गाउँ । नआइज पनि भन्दैन । म नहुँदा पो गुनासो गर्छ कि ?

डरको सिमाभित्र बसेर, गाउँ हाँसेजस्तो गर्छ । तर म बुझ्छु उसको डर । गाउँलाई, गाउँ सुरक्षित राख्नु छ । गाउँलेलाई, गाउँ सान्त्वना दिन्छ । गाउँ, स्वस्थ जीवन चाहन्छ । गाउँको चाहना यत्ति हो ।

शहर सन्चै होला । शहरमा बस्नेहरू पनि सन्चै होलान् । आशा गर्छु । प्रार्थना गर्छु । यहाँ बसेर यत्ति नै त गर्न सक्छु । गाउँ हृष्टपुस्ट नै थियो- केहीदिन अघिसम्म । अहिले ज्यादै डराएको छ । कोरोनाको त्रास जसोतसो झेलेकै थियो । फेरि केहीदिन अघिमात्र थपियो–

‘बे अफ बेङ्गाल’बाट आएको त्यो भयानक हुरी-बर्सात ।’

Rainstorm

Rainstorm

गाउँ बिरामी भएको छ । गाउँको पेट दुखेको छ । टाउको दुखेको छ । बेस्सरी दुखेको छ । भाइरसले होइन । हावाहुरीसँगै आएको बर्सातले ।

बाली लडाइदिएको छ । आकाश छुन चाहने मकैका बोटहरू, धर्तीमा लम्पसार छन् । मकैजस्तै किसानहरू पनि लडेका छन् । बर्षौदेखि लडिरहेका छन् । सरकार उठाउन आउँदैन । आफै उठ्छन् । फेरि लड्छन् । फेरि आफै उठ्छन् ।

समाचार पढ्छु– सलहको एउटा ठूलो झुण्ड भारतमा आइपुगेको छ । देशमा फेरि अर्को दुख थपिनेवाला छ- भोकमरी !

Rainstorm and Starvation

Rainstorm and Starvation

उफ्, यी दु:खहरू !
केहीदिन समाचार पढ्न छोड्दिन्छु । तर पनि दु:खहरू त कहाँ हराउँछन् र ?

२०२०लाई कसले सराप्यो ?

कहिलेकाहीँ यस्तो पनि सोच्न पुग्छु । हामी मान्छेहरू जीवाणु बनिसकेका छौँ । यिनै जीवाणुहरूलाई मार्न, सृष्टिले मेटासिड छर्किँदै छे ।

°°°

काठमाण्डौँलाई खुब सम्झिरहेको छु । काठमाण्डौँले दिएका साथीहरू, साथहरू पनि । ती गल्लीहरू । यसपालि जकारान्डा फुलेको प्रत्यक्ष हेर्न नपाएकोमा दु:ख लागेको छ ।

सम्झिरहेको छु-
पशुपतिको त्यो डाँडाको बेन्चलाई…
त्यहाँका बाँदरहरूलाई…
ती खुड्किलाहरूलाई…
ती चिताहरूलाई…
ती मृत-दृश्यहरू…
ती जिउँदा महसुसहरूलाई…
ती प्रेमिल स्पर्शहरूलाई… !!!

यादहरू हुन् । याद आइरहन्छन् ।

बिर्सिनेहरूले बिर्सिदिन्छन्, सम्झिनेहरूलाई
सम्झिनेहरू सम्झिरहन्छन्, बिर्सिनेहरूलाई

बकबक धेरै भयो । म यहाँ आफ्नो बकबक गर्न आएको होइन । माफ गर्नुहोला- वास्तवमा म यहाँ बकवास गर्न आएको हुँ ।

बकवास यसरी सुरु हुन्छ–

बन्द कोठाभित्र बसेर के के गर्न सक्छ मान्छे ?
– पढ्न सक्छ
– फिल्म हेर्न सक्छ
– गीत सुन्न सक्छ
– लेख्न सक्छ
– चित्र कोर्न सक्छ
– सुत्न सक्छ
– सोच्न सक्छ
– कराउन सक्छ
– ऐनाअघि उभिन सक्छ
– झ्याल बाहिर हेर्न सक्छ
– पागल जस्तो एकोहोरो हुनपनि सक्छ !

आफूलाई व्यस्त राख्न के के गर्न सक्छ मान्छे ?
– माथिका सबै । जस्ताको त्यस्तै । डिट्टु ।

तपाईं के के गरिरहनु भएको छ- मलाई थाहा छैन । म भने यहि गरिरहेछु । यस्तै गरिरहेछु । यस्तै भइरहेछु । फेसबुक बन्द गरेको छु । त्यसका कारणहरू छन् । केही भन्ने कारणहरू छन्, र केही, भन्न सक्दिनँ । केही सुक्ष्म कारणहरू छन् । केही कारणहरू बृहत छन् । [ मभित्रको ‘म’ को आधारमा ]

भन्ने कारणहरू-
* दिग्दारी
* उच्चतम प्रयोगले समयको बर्बादी
* नक्कली चेहेराहरू/समाचारहरू
* पढ्न बानी हराउँदै गएको पछुतो
* भौतिक मोहको स्व:बोध
* आदि इत्यादि !!!

नभन्ने कारणहरू-
* नभन्ने कारणहरू कसरी भन्नु ?
* आफै अनुमान लगाउनुहोस् !
* इत्यादि …

कोही ‘सोसल डिस्टेन्सिङ’ सँगसँगै ‘सोसल मिडिया डिस्टेन्सिङ’लाई पनि राम्ररी मेनटेन गरिरहेको छ । त्यो ‘कोही’ म हुँ ।

समय खाली छ । प्रशस्त छ । कहिलेकाहीँ, यहि खालीपनमै पनि व्यस्त हुन्छु, सोचहरूको भुमरीमा फसेर । यादहरूको पोखरीमा पसेर ।

पढ्छु । फिल्म हेर्छु । गीत सुन्छु । सुत्छु । केही गर्दिनँ । फेरि पढ्छु । ढिलो पढ्छु । पढ्ने बानी फेरि लाग्न थालेको छ । बिस्तारै । यो बन्द समयमा, यिनै कुराहरूको बन्दी भएको छु । खुशी नै छु ।

पीडाहरूको त कुरै नगरौँ ।

चोटहरूले खोपिल्टा खोपिल्टा बनेको छ- हृदयको भूगोल । मुटु- धमिराको घर जस्तो बनेको छ । बाहिरबाट हेर्दा ठिक छ, भित्र खोक्रो भएको छ । तर म यहाँ यस्ता पिन्चे कुरा गर्न आएको होइन । त्यहि कुरा नगरौँ भन्दै त्यहि कुरा गरिरहेछु ।

कठै म !

तपाईंको असुविधाको लागि क्षमा चाहन्छु । अब कुरालाई अन्तै मोडिन्छ–

°°°

• COLORLESS TSUKURU TAZAKI And his years of pilgrimage

– HARUKI MURAKAMI

मुराकामी बिना मेरो बुकसेल्फ शुन्यता महशुस गर्छ । र म पनि । जापनिज राइटर, जो जिउँदो छ, जो म यो लेखिरहँदा खै कुन्नि कति माइल दौडिरहेको होला । उसलाई म खुब चाहन्छु । प्रेम गर्छु । उसका शब्दहरूमा जादु छ । मेरो प्रिय आत्मा (छ, एकजना) ठिकै भन्छ- मुराकामी जादुगर हो !

Colorless Tsukuru Tazaki by Haruki Murakami

Colorless Tsukuru Tazaki by Haruki Murakami

कहिलेकाहीँ आफैलाई लाग्छ, म उसको बारे एउटा सिङ्गो किताबै लेख्न सक्छु । अनि फेरि सोच्छु- लेख्नु कठिन कार्य हो ।

––किताबभित्र––

पाँच जना साथीहरूको ग्रुप छ । उनीहरू खुब मिलनसार हुन्छन् । ३ केटा, २ केटी । Tsukuru, यो ग्रुपको सदस्य हुन पाएकोमा आफूलाई भाग्यमानि ठान्छ । तर जब ऊ सोच्छ, उसका चारैजना साथीको नाममा एकएकवटा रङ्ग समावेश भएको छ- ऊ दु:खी हुन्छ । किनकि उसको नाम रङ्गबिहिन हुन्छ ।

एकदिन Tsukuruलाई, उसका चारैजना साथीले त्यो ग्रुपबाट बहिष्कार गरिदिन्छन् । उनीहरू ऊसँग भेट्न चाहँदैनन् । ऊसँग बोल्नै छोडिदिन्छन् । बिना कुनै कारण । अब उसलाई जीवन निरर्थक लाग्छ । सबैथोक सकियो झैं ! आफू केही होइन जस्तो लाग्छ । मर्ने इच्छा जाग्छ । कोसिस गर्छ पनि । तर मर्न सक्दैन ।

दिनहरू बित्छन् । वर्षहरू बित्छन् । उसको जिन्दगीमा यो घटना गडेर बसेको हुन्छ । आखिर किन निकाले उसका साथीहरूले आफ्नो ग्रुपबाट उसलाई ? ऊ अग्रसर सोच्ने गर्छ- कारण के थियो ?

उसलाई उत्तर चाहिएको हुन्छ । १८ वर्षपछि ऊ निस्किन्छ, उसका ती पुराना चार साथीहरुलाई भेट्न । उसलाई ग्रुपबाट बहिष्कार गर्नुको कारणहरू खोज्न…

“रङ्गहीन हुनु भनेको पनि रङ्गीन हुनु हो !”

°°°

• THE BRIDGES OF MADISON COUNTY

– ROBERT JAMES WALLER

प्रेम के हो ?
यसको निश्चित जवाफ छैन । हरेक मान्छेसँग आ-आफ्नै उत्तर छन् । हरेक मान्छे आफ्नो अनुभवको आधारमा यसको जवाफ दिन्छ । तर प्रेम अनुभवले तौलिने कुरा होइन । न कि कुनै भौतिक वस्तु हो । यो त सिर्फ एक महसुस हो । जो सिर्फ हुन्छ । बस्, महसुस हुन्छ ।

The Bridges of Madison County by Robert James Waller

The Bridges of Madison County by Robert James Waller

प्रिय मान्छेले पढ् भनेर दिएको किताब पनि गुलियो हुने । किताब खुब मीठो छ ।

––किताबभित्र––

एकदिन Francesa Johnason, एक विवाहित महिला, आफ्नो फार्ममा काम गरिरहेकी हुन्छे । यत्तिकैमा एउटा अन्जान व्यक्ति आएर उसलाई ‘रोजमन पुल’ जाने बाटो सोध्छ । उसको नाम Robert Kincaid हुन्छ । ऊ ‘नेसनल जियोग्राफीक म्यागजिन’ को फोटोग्राफर हुन्छ ।

ऊ त्यस ठाउँमा बिलकुलै अन्जान भएकाले, Francesa आफै उसलाई त्यो पुलसम्म पुर्याउन जान्छिन् । उनीहरू बीच थुप्रै कुराहरू हुन्छन् । केहीदिनको भेटघाट र बोलचाल पछि उनीहरु एकअर्काको प्रेममा पर्छन् । प्रेमले उनीहरुलाई कहाँसम्म पुर्याउँछ ? प्रेम प्राप्ति होइन । प्रेमको कुनै अवधि हुँदैन । यो जतिखेर, जोसँग, जति समयको लागि पनि हुन सक्छ ।

“चाहे तिमी जति नै जीवन बाँच, यो अनिश्चित ब्रह्माण्डमा, यस्तो खाले निश्चितता सिर्फ एकपटक मात्र आउँछ ।”

कस्तो खाले ? त्यो अनिश्चित ब्रह्माण्डमा आएको निश्चितता के हो ? कस्तो छ ?
सब किताबमा छ ।

°°°

• THE VEGETARIAN
– HAN KANG

मासु खानु हुँदैन ?
कहिलेकाहीँ सम्झाउनेहरू भेटिन्छन् । म ङिच्च दाँत देखाएर, किच्च हाँसिदिन्छु । सम्झेजस्तो गरिदिन्छु । सम्झिन्नँ । आखिर मन त मनै हो । मासुको सौखिन भनौँ या दिवाना । मेरो मन दुबै हो ।

The Vegetarian by Han Kang

The Vegetarian by Han Kang

मासुको मोह धेरै नै भयो भनेर, कतिपटक खान्नँ भनेर बसेको पनि हुँ । घरमा मासु आयो । पाक्यो । सबैले खाए । मैले खाइनँ । साग, आलु भुटेर भातसँग खाएँ । फेरि मनमा कतै, कहाँबाट मासु-मोह पलाइहाल्थ्यो, जमिनमा उम्रिने घाँसजस्तो । अनि दशैँ पनि त आइहाल्थ्यो- त्यसपछि फेरि उही । पुरानो नन-भेज आत्मा ।

यो किताब मलाई एउटी भेज-आत्माले सिफारिस गरेकी हो । ऊ पनि मलाई कहिलेकाहीँ भन्थी, ‘मासु नखाऊ । म जस्तै भेज बन !’ म किच्च हाँस्दै ‘हुन्छ’ भन्थेँ । अँ हो, ङिच्च दाँत देखाएरै हाँस्थेँ । केटो अब भेज बन्छ- लागि परिहाल्थेँ । पूरा कोसिस गर्थेँ । जोडतोडले । तर मासु अघि भएपछि, फेरि उही ।

आदत हुन् । आदतहरू साह्रै जिद्दी हुन्छन् ।

सोचेको थिएँ, यो किताब ऊजस्तै स्वीट भेज-पकवान हो । आलुको मीठो परिकार हो । तर मेरो सोच गलत भयो । यो किताब त- शुद्ध शाहाकारी खानलाई, शुद्ध शाहाकारी होटेलमा पसेको पुजारीको प्लेटमा मासुको टुक्रा भेटिँदा, पुजारीले दिने रियाक्सन जस्तो भयङ्कर लाग्यो ।

––किताबभित्र––

“मर्नु किन त्यति नराम्रो कुरा हो ?”

यो किताबको पहिलो चरण, प्रोटागोनिस्ट Yeong-hye को कथा, उनका पति Cheong ले न्यारेट गर्दै सुरु भएको छ ।

Yeong-hye एक साधारण गृहणी हुन्छिन् । उनको जिन्दगीमा सबै राम्रै चलिरहेको हुन्छ । तर एकदिन अचानक उनले मासु नखाने निर्णय लिन्छिन् ।

किन लिन्छिन् ? कारण के हुन्छ ? उसको यो निर्णयले उसको जिन्दगीमा कस्तो असर पर्छ ? पारिवारिक सम्बन्धमा कस्तो असर गर्छ ? यी सब प्रश्नहरूको उत्तर, यस पुस्तकभित्र छन् । पढ्नुहोस् ।

म यत्ति भन्छु- यो पुस्तक एक सुन्दर सँगसँगै अराजक मौन-कविता हो । जसमा विद्रोही बिम्बहरू आन्दोलन गरिरहेका छन् ।

°°°

• THE TIME TRAVELLER’S WIFE

– AUDREY NIFFENEGGER

यो ब्रह्माण्डको सबैभन्दा रहस्यमयी कुराहरूको लिस्टको टुप्पोमा म ‘समय’लाई राख्छु । के समयलाई बदल्न सम्भव छ ? या समय त्यति शक्तिशाली राक्षस हो जसलाई पराजित गर्ने कसैले सामर्थ्य राख्दैन ?

The Time Traveller's Wife by Audrey Niffengger

The Time Traveller’s Wife by Audrey Niffengger

टाइम-ट्राभल ?
के संसारको कुनै कुनामा यस्तो साधन लुकेको छ, जसले समयलाई वर्तमानबाट भविष्य र भूतमा परिवर्तित गर्न सक्छ ? यदि भविष्य भूतमा निर्धारित हुन्छ भने, भूत पनि त भविष्यबाट प्रभावित भएको हुन सक्दैन र ?

म यतिबेला जर्मन सिरिज ‘डार्क’को अँध्यारो पटकथा सम्झिरहेको छु ।

––किताबभित्र––

यो एक अजीव प्रेम कथा हो । यसमा एक मुख्य पात्र Henry टाइम ट्राभल गर्ने हुन्छ ।

एकदिन उसले, आफू काम गर्ने लाइब्रेरीमा Clareलाई भेट्छ । तर उसले Clare लाई चिन्दैन । Clare ले उसलाई चिन्छे । ऊ २० वर्षकी हुन्छे । Henry, २८ वर्षको हुन्छ ।

ट्राइम ट्राभल गर्ने भएकै कारण Henry कहिले बुढो हुन्छ, कहिले जवान त कहिले बच्चा । यसले गर्दा उनीहरू बीच समस्याहरू आइरहन्छन् ।
किताब फरक छ । सुन्दर छ । प्रेमिल छ । मीठो छ ।

°°°

• BREASTS AND EGGS

– MIEKO KAWAKAMI

सुरुमै मलाई यो किताबको नामले आकर्षित गर्यो । ब्रेस्ट यान्ड यग्स । स्तन र अण्डाहरू । यदि तपाईलाई यो किताबको नाम अशिष्ट लाग्यो भने, यो बुझ्नुहोस् तपाईलाई अझै धेरै ज्ञानको खाँचो छ । या कि तपाईं गलत समयमा जन्मिनु भयो । या तपाईं गलत मान्छेलाई पढिरहनु भएको छ ।

Breasts and Eggs by Mieko Kawakami

Breasts and Eggs by Mieko Kawakami

थप आकर्षण: आवरणमा लेखिएको छ–

“इट टुक माइ ब्रेथ अवे…”

                        – हारुकी मुराकामी

यत्ति भएपछि पढ्नलाई निहुँ पुग्यो मलाई । कावकामी, मैले पढेको दोस्रा जापानिज राइटर हुन् । यो किताबले उनी खुब चर्चित भइन् । एकचोटि नारीवादीहरूले यो किताब पढ्नुहोस् । कथित-नारीवादीहरूले पनि पढे हुन्छ । ज्ञान मिल्छ ।

––किताबभित्र––

” के तिमी गरिब छौ ?
“यदि कोही कति गरिब छ भनेर जान्न चाहन्छौ भने, उसलाई सोध उसको घरमा कतिवटा झ्याल छन् । त्यसले सबथोक भन्छ ।”

किताब यसरी सुरु भएको छ । सुरु पन्नाले नै तान्छ तपाईंलाई । किताब २ भागमा विभाजित छ ।
Natsuko, टोकियोमा बस्ने उसकी दिदी Makikoलाई भेट्न जान्छे । Makiko, उसलाई भेट्न आफ्नी किशोरी-छोरी Midorikoका साथ आउँछे । Midoriko आफ्नी आमा Makikoसँग बोल्न छोडेकी हुन्छे ।

किताबका बीचबीचमा Midorikoले लेखेका डायरी पानाहरू पढ्न पाइनेछ । जहाँ उसले आफ्नो शरिरमा भइरहेको परिवर्तन बारे लेखेकी हुन्छे । आफ्नी आमासँग नबोल्नुको कारण लेखेकी हुन्छे ।

यो किताबले, जापानमा समकालीन नारीहरूको अवस्था कस्तो छ भन्ने बारे, तीन पात्रहरूको आँखाबाट चित्रण गरेको छ । नारीवादी विषय, अनौठो सर्रियल लेखाइ र पात्रहरूको न्यायिक प्रस्तुतिले किताबलाई उत्कृष्ट बनाएको छ ।

[ आइ थ्याङ्क दि म्यान, हू प्रोभाइडेड मी दिस ! ]

°°°

• THE SUBTLE ART OF NOT GIVING A FU*K

– MARK MANSON

मलाई काल्पनिक चित्रहरू मन पर्छ । कल्पना गरेर लेखेका कुराहरू झन् मन पर्छ । कहिलेकाहीँ त लाग्छ, म आफू कसैको फिक्सनलाइज्ड-जिन्दगी बाँचिरहेको छु । मेरो जिन्दगी अरु कसैले लेखेको हो । म बस्, उसको कथाको एक पात्र मात्र हुँ ।

म नन:फिक्सन खासै पढ्दिनँ । पढ्न सक्दिनँ । तर यो किताब पढ्दा मलाई कतैपनि अल्छि लागेन । खुब रमाइलो गरि पढेँ । यो किताब आफ्नै जस्तो लाग्यो । आफू नै जस्तो लाग्यो ।

The Subtle Art of Not Giving a Fuck ! by Mark Manson

The Subtle Art of Not Giving a Fuck ! by Mark Manson

––किताबभित्र––

किताबको सुरु पन्नामै एउटा खुब मीठो प्रसङ्ग छ । जहाँ कसरी जड्याहा, जुवाडे Charles Bukowski, ५० वर्षको उमेरमा मात्र प्रख्यात कवि बन्न पुगे ? रक्सी र संभोग उसको जिन्दगीका आवश्यकता थिए । र कसरी उनी त्यति ख्यातिका बाबजुद पनि, एक हरूवा थिए ?

उनले कहिलेपनि सफलतालाई त्यति प्राथमिकता दिएनन् । हारलाई स्वीकार गरे । जसले गर्दा, उनी आफैमा सफल भए ।

“सकारात्मक अनुभवको निम्ति धेरै इच्छा राख्नु आफैमा एउटा नकारात्मक अनुभव हो । र त्यसैगरी नकारात्मक अनुभवलाई स्वीकार्नु आफैमा एउटा सकारात्मक अनुभव हो । यो एक विरोधाभास हो ।”

यो किताबको मुख्य भाव नै- केही कुरालाई वास्ता नदिनु हो । जे भए पनि, जस्तो भए पनि । हामी धेरै वाहियात कुराहरूलाई ध्यान दिइरहेका छौँ । वास्ता गरिरहेका छौँ । जसको कुनै मतलब नै छैन । जसले गर्दा हाम्रा खुशी हुने कारणहरू तुहिँदै गइरहेका छन् ।

किताबमा, कसरी यी बेतुकका कुराहरूकाई वास्ता नगर्न सकिन्छ भनेर थुप्रै ‘Subtleties’ हरू पनि उल्लेख गरिएको छ ।

यो किताब मोटिभेस्नल-स्पिकर होइन । बरू यो किताब त मिल्ने साथी हो । जोसँग बसेर मैले रात रातभर रक्सी पिएँ । उसले मलाई जिन्दगीबारे पुराण सुनाइरह्यो । बीचबीचमा छाडा बोल्दै मलाई हप्कायो । मलाई कत्तिपनि बोर लागेन । रिस उठेन ।

***

किताब पढौँ !
जिन्दगी बाचौँ !

ह्याभ अ नाइस रिड, डियर रिडिङ सोल्स !

Facebook Comments

You may also like

error: Content is protected !!