बाँचेको कथा, नबाँचेको जीवन

एउटा साझा मानविय उत्तेजनाले भीडको निर्माण गर्छ ।

The Crowd, Steemit

The Crowd, Steemit


जस्तै केही व्यक्ति निकै आक्रोशित छन् भने आपसमा भेला हुन्छन् भीड बन्छ दंगा सुरू हुन्छ । मानिस उल्लासमा छन् उत्सव मनाउन भेला भए, भीड बन्यो । भीड प्राय: उत्साहित नै रहने गर्छ, भीडको आधारभूत तहको निर्माणमा साझा भावना उत्साह अझै उचित शब्दको प्रयोग गर्दा उत्तेजना नै होला । डोपोमिनको खेल हो नत्र अमेरिकामा बसेर बटन ट्रिगर गर्दा अफ्गानिस्तानको स्वतन्त्र आकाशमा उडिरहेका मानव निर्मित पन्छीहरू बहुलाउनु पर्ने कुनै कारण छैन । 

भीड हो, भीडमा थुप्रै अनुहारहरू हुन्छन् तर भीडको आफ्नो कुनै अनुहार हुँदैन; जब कोही भीडलाई अनुहार दिन खोज्छ इतिहासले उसलाई हिटलरको समूहमा मिसाउँछ । भीड हो, भीडमा थुप्रै आदर्श हुन्छन्, तर भीडको आफ्नो कुनै आदर्श हुँदैन; जब कोही भीडलाई आदर्श प्रदान गर्न खोज्छ त्यहाँ फाँसीवादको सुरुवात हुन्छ र थाहा छैन त्यो व्यक्ति मुसोलिनिको कतिऔं अवतार प्रतित हुन्छ । भीड हो, भीडमा थुप्रै वादहरू हुन्छन्, भीडको आफ्नो कुनै वाद हुँदैन; जब कोही भीडलाई वाद भिराउन खोज्छ त्यहाँ आतंकवादको उदय हुन्छ र भीडभित्रका ओसामा र अमेरिका आपसमा शक्ति संघर्ष गरिरहन्छन् ।

समय समयको कुरा हो, समयसँगै मानवीय आवेग, संवेग, विचार, व्यवहार, उत्सुक्ता, जिज्ञासा सबै परिवर्तन हुँदै आउँछ त्यही प्रक्रिया अनुरूप व्यक्तिले आफूलाई सान्दर्भिक बनाउन आत्म-चिन्तनद्वारा निर्देशित आत्म-नियन्त्रणको आवश्यकता छ नत्र ऊ भीड बाहिरको एउटा अंकमा सिमित हुन जान्छ । एउटा भीड उभिएको छ, उसको लागि जसले भीडको कहिल्यै सम्मान गरेन । सम्मान नगर्नु अपमान गर्नु पनि त होइन  तर हो, वास्ता नगर्नु चाहिँ पक्कै हो; भीडको लोभ नभएर होइन, भीडमा हराउने डरले !

भीडको अवधारणाले सबैलाई आफूभित्र समाहित गर्न आदेश दिन्छ । ऊ त्यही भीडको एक पात्र । त्यही भीडले तानिएको एक पात्र । त्यही भीडमा मिसिएको एक पात्र । त्यही भीडबाट उछिट्टिएको एक पात्र । त्यही भिडसँग लडिरहेको एक पात्र । त्यही भीडबाट सम्मानित एक पात्र । पात्रहरूको भीडमा अर्को एउटा पात्र । संक्षिप्तमा यति मात्र हो उसको परिचय; एउटा भीडको परिचय ! मानिसहरू भन्छन् उसको नामले उसको परिचय स्थापित नगरे पनि उसको मानसिकता, उसको समग्र वैचारिक पृष्ठभूमि चित्रित गर्छ । 

निश्चयपनि उसले अन्तिममा दिएको मनोलोग दमदार थियो । त्यसले प्रशंसा पाउनु उचित थियो जसलाई भीड एकट्ठा हुनुले पनि स्पष्ट गर्थ्यो । एक प्रकारले बिहान सूर्य उदाउनु र साँझ अस्ताउनु आफैमा महान कार्य हो, सम्पूर्ण कार्य हो । चाहने हो भने व्यक्ति त्यसैका निम्ति भेला भएर सम्मान व्यक्त गरिदिन सक्छन् तर थाहा छैन कति करोडौं वर्षदेखि यसरी प्रत्येक दिन उदाउने अस्ताउने गरिरहेको सूर्यको यो दैनिकीप्रति, मानिसहरूको चाख रहने कुरा नै भएन । यो वर्षको त्यो दिन थियो जब ग्रहण लाग्छ र त्यसैलाई हेर्न भीड लाग्छ । यो ‘पफोमेन्स’ ग्रहण नै थियो, जसले ग्रहणलाई नराम्रो भनेर चित्रण गरेको छ तिनीहरूको अबोधपनसँग सहानुभूति राख्नु नै उचित हुनेछ ।

The Labour by MK Goyal, Saatchi Art

The Labour by MK Goyal, Saatchi Art


ग्रहण, वर्षका केही सिमित रोजिएका दिन विशेष संयोग वा प्रकृतिको कलात्मक आर्किटेक्चरको कारणले घट्ने एउटा सुन्दर अवस्मरणिय घटना हो । आजको यो ग्रहणको आर्किटेक्चर ‘तारलाविस्की’ थियो । नागरिकता, पासपोर्ट, ड्राइभिंग लाइसेन्स लगायत सरकारी कागजतहरूमा उसको अनुहार खोज्यो भने पक्कै पनि यो नाम भेटिँदैन । त्यहाँ त उसको नाम ‘तारकेश्वरनाथ पाण्डेय’ छ । तर आफूलाई यसरी कलाक्षेत्रमा भित्र्याएपछि आफूभित्र नयाँ ऊर्जाको सञ्चार गर्न उसले यसरी नाम नै परिवर्तन गरिदियो । तारकेश्वरनाथको ‘तार’सँग स्तानिसलाविस्की को ‘लाविस्की’ जोडेर बनेको हो तारलाविस्कि । 

अभिनयको सुरूवात त निकै हजार वर्ष अगाडि भएको हुनुपर्छ जब मानिसमा चेतनाको विकास हुन सुरू गर्यो । खैर, त्यो इतिहास सभ्यताको विकासक्रमसँग सम्बन्धित विषय हो । यसकारण कि अभिनयको सुरूवात जहिले गरिएको भएपनि यसले सैद्धान्तिकरण गरेर यो क्षेत्रमा नयाँ आयाम थप्ने काम केही दशकअघि मात्र सम्पन्न भएको हो, ‘कोन्सतानतिन स्तानिस्लाविस्की’ लाई यो क्रान्तिकारी कदमको श्रेय जान्छ । 

भीडलाई विभिन्न अनुहारहरूको समूह नमानेर एउटा सिङ्गो व्यक्ति ठान्ने हो भने समाजका अरू सग्ला व्यक्तिहरूझैं यो ‘भीड’ नाम गरेको व्यक्ति पनि निरन्तर आफ्नो अनुहार अर्थात् पहिचान खोज्ने संघर्ष गरिरहेको हुन्छ र यस्तो बेला जो कोहीभित्र आफूलाई देख्नु, आफूले देखेको प्रत्येक अनुहार आफ्नै ठान्नु स्वभाविक पनि हो । समाजवादको मान्यतामा जोड दिने बौद्धिक, अर्ध बौद्धिकको भीडले उसको ‘तारलाविस्की’ नाम लाई सोभियत रूसको समाजवाद प्रतिको आस्थाका रूपमा लिए । भीडले उसलाई आफ्नो नेताको रूपमा हेर्न थाल्यो यद्यपि समाजवादप्रति उसले भने आफ्नो धारणा बनाइसकेको थिएन । बनाइहालेको भएपनि कम्तिमा व्यक्त गरिसकेको थिएन । त्यसो गर्दा भीडमा मिसिइने खत्रा थियो, भीडको अनुहारमा हराउने डर थियो ।

Labour Day by Roy Dalgarno, Penrith Regional Gallery

Labour Day by Roy Dalgarno, Penrith Regional Gallery

आफ्नो अनुहारसँग डराउनेहरू भीडको अनुहारभित्र आफूलाई लुकाउने प्रयास गर्छन् । यो सत्य पनि हो र अत्यन्तै सुन्दर वास्तविकता पनि; कि त्यो रूसि साहित्य तर्फको उसको मोह नै थियो जसले गर्दा ऊ यहाँसम्म आइपुग्यो । रूसी समाजवादमा आस्था राख्नु रूसी अक्टोबर क्रान्तिको समर्थनमा बोल्नु वा अहिलेको समाजवादको नाममा भइरहेको सरकारी पूंजीवाद (जो कता कता ‘डिक्टेटरशिप’ पनि प्रतित हुन्छ) को आलोचना गर्नु फरक कुरा थियो जुन उसलाई रूसी साहित्य र साहित्यकार पुशकिन, दोस्तोवेस्की, चेकव, गोगोल, टोल्सटोय, नाबोकोभ, बुल्गाकोभ, बेला अखमादुलिन सँगसँगै स्तानिस्लाविस्की, चाइकोभस्कीजस्ता संगितकारले दिने त्यो अलौकिक अनुभव निकै फरक र सही अर्थमा सुन्दर र केही हदसम्म अब्सट्राक्ट छ तारकोवस्कीका सिनेमा जस्तो । ऊ आफूलाई पनि तारकोवस्कीसँगै ‘जोन’भित्र प्रवेश गरिरहेको पाउँछ । 

“अहिले शासन व्यवस्था जसरी आफ्नै सिद्धान्तदेखि विमुख भएर गलत ट्रयाकमा हिँड्न पुगेको छ, त्यसबेला यसरी भुइँमान्छेको आवाज सुनेपछि सरकार पक्कै पनि लज्जीत महसुस गर्ने छ ।”

उसलाई सदैव यही कुरामा अचम्म लाग्ने गर्छ कि कसरी मानिसहरू उसको कामको गलत व्याख्या गरेर उसको मूल्यांकन गर्न थाल्छन् । त्यही त, ऊ चाहँदैन कि उसको कामले कसैले पनि लज्जित महसुस गरोस् । ऊ आफ्नो कलालाई कुनै पनि व्यवस्थाको प्रतिक्रियाका रूपमा स्थापित गर्न चाहँदैन । ऊ पात्रहरू यसकारण बन्छ किनभने पात्रसँग उसको सहानुभूति छ ऊ पात्रभित्र आफूलाई पाउँछ यो उसको निजात्मक संवेदनाको परिणाम हो । 

एउटा क्रुर नैतिक भ्रष्ट ठेकदार छ जो आफूभित्र काम गर्ने मजदूरलाई पशुको नजरले हेर्छ र यो स्वभाविक छ ऊ पशु मन पराउँदैन । यहाँ जसको कथा देखाइएको छ यसमा ऊ पनि एउटा मजदूर हो, अरूभन्दा केही फरक; फरक यसकारण कि ऊ जति नै गरिब भए पनि चाकडी वा सेवा गर्न उसलाई स्वीकार्य छैन । उसका लागि पैसाको कारोबारभन्दा बढी त्यहाँ केही छैन, यो पेशा पनि ऊ आफैले स्वीकारेको हो र यसमा ऊ आफ्नो इच्छा अनुसार नै काम गर्न चाहन्छ । व्यवस्थाले थमाइदिएको दलाली र दोग्लापन उसलाई कतै स्वीकार्य छैन । सो अनुसार बुझ्दा, ऊभित्रको बाघी अझै मरिसकेको छैन नत्र यो व्यवस्थाले फैलाएको लोभ जालोमा फसेर कति यो अघि नतमस्तक भइदिएका छन्; यो व्यवस्थाको दलाली मानसिकताको पिरामिडअघि कतिले पराजित भएर घुँडा टेकिदिएका छन्; यो व्यवस्थाको उपभोक्तिय वृत्तबाट उम्किने चेष्टा गर्दा गर्दै कति डाइनोसर भइदिएका छन्; ऊ बाघी छ त्यसैले अझै मनुष्य बनिरहन सकेको छ । ऊ मनुष्य छ, त्यसैले ऊ जिउँदो बनिरहन सकेको छ । 

तर यो व्यवस्थालाई उसको श्वास पनि खट्किन्छ, उसको श्वास पनि गन्हाउँछ किनभने ऊ व्यवस्थाले भने जसरी व्यवस्थित भइदिन चाहँदैन । ऊ आफ्ना मूल्य मान्यता आफै तय गर्छ जहाँ व्यवस्थाले आफ्नो महत्व स्थापित गर्न सक्दैन । व्यवस्थाका चाकडहरू यो देखेर निकै डराउँछन् । डर, यसकारण कि आफ्नो मुर्दापनको हत्या गरेर कतै उनीहरूको मृत बाघी जीवित भइदियो भने ? तर त्यो हुन थाहा छैन अझै कति हजार वर्ष लाग्ने छ, हाम्रो चेतना अझै शिशु नै छ । 

“तारलाविस्की जी, अब ५० वर्षपछि पनि यो नाटक यत्तिकै सान्दर्भिक र जीवित रहने छ । बधाई सम्पूर्ण टिमलाई ।
एउटा पत्रकार निकै उत्साहित देखिन्थ्यो । यस्तो उत्साह मानौँ उसले भर्खरै कुनै यौनकथा पढेको होस् । 

“५० वर्षपछि पनि सान्दर्भिक हुनुको अर्थ ५० वर्षसम्म र त्यसपछि पनि मजदूर वर्गको अवस्था यस्तै रहनु हो, त्यसमा उत्साहित हुनु पर्ने कारण देख्दिनँ म त ।”

यो जवाफ प्रेमकान्तले दिएको थियो । प्रेमकान्त र तारलाविस्की प्राय: सबै नाटकमा साथ काम गर्ने गर्छन् । लेखन, निर्देशन, निर्माण र नाटक मञ्चन हुनुभन्दा अघिको सब कार्य ऊ अर्थात प्रेमकान्त हेर्छ भने अभिनयको जिम्मा तारलाविस्कीको छ; मञ्चमा उभिएर कथालाई साझा गर्ने काम । यो पाखण्डको भीडमा उसको एक मात्र मित्र । 

“सिनेमा जस्तो अत्याधुनिक कलालाई लत्याएर आफ्नो सान्दर्भिकता प्रमाणित गर्न नाटकजस्तो पुरानो विधिलाई अपनाउनु उनको नाम तारलाविस्की जत्ति नै हास्यस्पद थियो र अझ बढी हास्यस्पद छ उनले गरको नाटक ‘अत्याधुनिक आहुति’ । भुइँमान्छेको नाम प्रयोग गरेर आफ्नो सान्दर्भिकता दर्शाउन खोजिरहँदा ‘तार्लोन’ बौ ‘तारलाविस्की’ बनेका कथित प्रगतिशील कलाकार महोदयले बिर्सि नै सकेछन् आजको समयमा भुइँमान्छेको अवस्था उनले चित्रण गरे जस्तो छैन । उनिहरू अचेल निकै समुन्नत र सम्माननीय जीवन बाँच्छन् । यसरी सरकारको छविलाई बिगारेर मानवीय संवेदना बटुल्न खोज्नु, यो कस्तो कलाकारिता हो ? यदि यस्तै नाटक र नाटककारहरूको उपादेयिता बढेको हो भने, माफ गर्नुहोस् नाटकलाई कला भन्न छाड्नु पर्छ । अब त यो केवल ध्यानाकर्षण र लोकप्रियता (?) लोकप्रियता पनि कसरी भन्ने, नाटक हेर्छ नै कसले, सस्तो माध्यम जो भइदिएको छ । “

“यस्तो त आलोचना कसरी हुन सक्छ? सिधा सिधा प्रतिशोध साँध्न लेखेको भनेर भन्नु नि । पढ्नेले पनि त्यहीअनुसार ग्रहण गर्दा हुन् । आफ्नो पूर्वाग्रहको स्पष्टिकरण दिन आफ्नो कुण्ठा पोखेर आफ्नै इज्जत किन फाल्नु, किनभने यसले मलाई त कुनै असर गर्ने होइन यस प्रकारका छद्म बौद्धिकहरूको बेतुके आक्रमण त निकै देखि/सहिसकेको छु । “

यसो भन्नु तारलाविस्कीले आफूलाई सन्तुष्ट पार्नु मात्र हो वा केही समय सो विषयबाट आफ्नो मस्तिष्कलाई टाढा राख्ने एउटा माध्यम थियो । यो त उसलाई पनि थाहा थियो कि सधैँ सधैँ नचाहेरै यस्ता कुराहरूले उसलाई सुक्ष्म रूपमा भित्र कतै असर गरिरहेकै हुन्छ । कहिलेकाहीँ आफ्नो यही अति संवेदनशील मनोविज्ञानको आचरणले ऊ निराश भइदिन्छ । र त्यो ‘कहिलेकाहीँ’ अचेल ‘प्राय: सधैँ’ भइदिएको छ । ठिक विपरित प्रेमकान्तलाई भने यस्ता कुराले (जसलाई आलोचना समालोचना जे भनेर बजारमा बेचिन्छ) कुनै असर गर्दैनन् । यतिसम्म कि ऊ यस्ता फजुल कुराहरूमाथि टिप्पणी दिएर आफ्ना शब्द र मस्तिष्कको केही सोच्ने समय खेर फाल्न चाहँदैन । त्यसै पनि ऊ शब्द चयनको कुरामा होस् वा अन्य कुनै प्रसंगमा सधैँ सचेत नै रहन्छ । सत्य हो उसका धेरै कार्यहरू धेरैलाई अर्थपूर्ण लाग्दैनन् तर उसलाई थाहा हुन्छ ऊ के र किन गर्दैछ । 

प्रेमकान्त केही बोल्दैन । सायद उसलाई यसमा पनि प्रतिक्रिया जनाउने कुनै इच्छा छैन । तर तारलाविस्की ! तारलाविस्की निकै संवेदनशिल छ ।  कुरा बुझ्न सकेसम्म अघि केही समयलाई त्यो पत्रिकामा छापिएको आलोचनाबाट मस्तिष्कलाई पन्छाएपनि धेरै बेरसम्म धान्न सक्दैन र सम्भवत: उसको मस्तिष्कले लगातार त्यस आलोचनालाई बारम्बार केलाउने नाममा खेलाइरहेको हुँदो हो र धारणा निर्माणगर्ने प्रयास गर्दो हो । 

तारलाविस्की मात्र होइन मस्तिष्कको यस्तो व्यवहार ती सबै प्राणीमा लागू हुन्छ जो आफूलाई अरू भन्दा ‘विशेष छु’ ठान्छन् वा अरूभन्दा विशेष रही बस्न मन पराउँछन् कम्तिमा पनि केही सिमितक्षेत्रमा । तर जब कोही उनको विशेषतामाथि औंला उठाउन थाल्छ तब मानव मस्तिष्कको यो मस्तिष्किय हरकत सुरू हुन्छ । अहिलेसम्म तारलाविस्कीको मस्तिष्क, त्यो आलोचना ‘आलोचना’ नै थियो जो ठिक थियो भन्ने धारणासम्म पुगिसकेको होला । अथवा ती सधैँका अनपढ, अनपढ-गवाँर नै रहन्छन् भन्ने उग्र विचारले ग्रसित पनि हुन सक्छ । हुन सक्छ अहिले उसको हृदयमा असंख्य असंख्य छालहरू उम्लिरहेका हुन् जसले पुन: उसलाई कुनै ठोस विचारसम्म पुगेर निर्णय गर्न दिँदैनन् । प्रेमकान्त भने आकाशजस्तै स्थिर छ, फैलिएको छ । बादल लागेको आकाश, आकाश नै रहन्छ । त्यो हाम्रो लागि बादलले ढाकिएको आकाश मात्र हो हामी बादलभन्दा पर देख्न सक्दैनौँ । हाम्रो चेतनाले भ्याउँदैन । हाम्रो दृष्टिकोण नै संकुचित छ । आकाश, आकाश आफूमा ‘आकाश’ नै रहन्छ । 

“कुनै पनि कुराको कति आलोचना, व्याख्या, विश्लेषण, कटाक्ष, व्यंग्य अथवा मूल्यांकन गर्न कति योग्य हुनु पर्छ भनेर कतै किटान गरेर नियम बनाइएको छैन । किनभने यो आफ्नो नैतिक धरातलमा उभिएर आफ्नो चेतनाले निर्माण गरिने मापदण्ड हो जुन स्वयंका निम्ति मात्र लागू हुन सक्छ । र वास्तवमा आलोचना भनेर गरिने कुरा कम मात्र तर्कसंगत हुन्छन् । सामान्यत: यिनको ध्येय अरूलाई कन्भिन्स गराउने नै हो । कुनै पनि तत्वको तहसम्म नपुगी निर्क्योल निकाल्नु सजिलो छ । अझ सजिलो छ सबैले प्रस्तुत गरिरहेको तर्क वा न्यारेटिभमा आफ्नो एक शब्द ‘हो’ थपेर त्यसलाई मान्यता प्रदान गर्नु । 

“त्यस राजनितिक सामाजिक आन्दोलन जसको तिमी पनि एउटा मुख्य हिस्सा रह्यौ जहाँबाट नागरिकको चेतनाको सत्रमा उल्लेखनीय वृद्धि भयो, नागरिक आफ्ना अधिकार आफ्नो स्वाभिमानको रक्षा गर्न स्वयं नै अघि सर्न थाले, सबैभन्दा सबल पक्ष नागरिक राजनीतिप्रति जागरूक देखिए । तर फेरि पनि वैयक्तिक रूपमा मानिसभित्र कलात्मक चेतको विकास अझै हुन सकेको छैन । कलालाई हेरेर रमाउनु फरक कुरा हो र त्यस बारे अध्ययन गरेर एउटा वैचारिक संवेदनात्मक चेतको विकास गर्नु फरक । अहिलेको समस्या पनि त्यही भयो कि हाम्रो राजनितिक प्रणाली यति सक्रिय भइदियो जसले गर्दा मानिसक राजनीतिक सोच उसमाथि हावी भइरहेछ । अचेल म स्वयं पनि हरेक कुरामा राजनीतिको चश्मा भिरेर हिँड्छु । हामी अचेल सामाजिक, प्राविधिक, मनोवैज्ञानिक, वैचारिक, कलात्मक भाषाबाट विचार विमर्शभन्दा पनि राजनैतिक रूपमा नै व्याख्या गरिएको सुन्न मन पराउँछौं ।
तिम्रो नाटकको आलोचना भनेर छापिएको लेख तथापि त्यो मैले निर्माण गरेको नाटक थियो तर तिमीलाई राजनीतिक रूपमा प्रहार गर्न त्यसो गरियो । पोहोर साल वातावरण प्रदुषण नियन्त्रण गर्न भनी गरिएको सजगताको कार्यक्रमलाई, अराजक बेरोजगार युवाहरूले पूंजीवादीहरूको आडमा गरेको तमाशा भनेर कसरी बेवास्ता गरियो, देखेकै थियौ । यो सिमितक्षेत्रमा लागू हुँदैन ठूलो क्यान्भासभित्र प्रयोग गर्न सके यो तिम्रो मात्र समस्या होइन । “

फेरि पनि प्रेमकान्तले के भन्छ त्यसको अर्थ धेरैले नबुझ्न सक्छन् । ऊ के कुरा गर्दै हुन्छ वा ऊ कसलाई भनिरहेको हुन्छ खास कोही पहिल्याउन बुझ्न सक्दैन, कोही बुझेरै पनि बेवास्ता गरिदिन्छन् । तर उसले भने जस्तै, समस्या केही हदसम्म गम्भिर नै हो किनभने यही सिलसिलामा केही समयपश्चात् नै मानविय चेतना वा सोच्ने सामर्थ्य सिमित भएर बसिदिन सक्छ । हाम्रा विद्यालय, विश्वविद्यालयका पुस्तकहरूमा यो मानसिकता झल्किन थालिसकेको छ । कला र कलाको स्तरमा ह्रास आउनु स्वाभविक नै हो यसरी र के होला यदि कलालाई कुनै राजनैतिक विचारको व्याख्या, समर्थन वा प्रचारका लागि प्रयोग गर्न थालियो भने ? यसरी त मानवीय संवेदनात्मक पक्ष झनै कमजोर हुने देखिन्छ । 

दुई दिनदेखि तारलाविस्की नाटक घरमा देखिएन । नाटक हेर्न आएका व्यक्तिलाई निराशासहित फर्काउनु बाहेक प्रेमकान्तसँग अर्को कुनै उपाय थिएन । र यसपटक ऊ आफै चिन्तित थियो कि तारलाविस्की कहाँ गयो भनेर, बिराम भएको भए खबर अवश्य गर्ने थियो । हो, ऊ संवेदनशील छ उसलाई कुनै पनि कुराले छिटो छुन्छ । अनि यसरी कुनै कुराबाट यसअघिपनि नभागेको होइन; जस्तो केही समय अघि फिल्मक्षेत्र छोडेर नाटक खेल्न आइपुगेको थियो ऊ । त्यहाँ पनि यस्तै केही कारण नै थियो, कतै यसपटक पनि त…. प्रेमकान्तभित्र यो शंका कता कता छ । ऊ, मात्र यो कुरा स्वीकार गर्न चाहँदैन कि कोही, जो उसको नजिकको मित्र हो यति गैर जिम्मेवार हुन सक्छ कि नाटकको शो गर्दा गर्दै छोडेर विलय भइदिओस् । 

अन्तत: भयो पनि त्यस्तै । हराएको पाँच दिनपश्चात् तारलाविस्की एउटा सुकुम्बासी मजदूर बस्तीमा भेटियो । 

“म थकिसकेको छु नक्कल गर्दा गर्दा । नक्कललाई कलाको नाम दिएर अरूलाई ढाँट्न सजिलो छ, आफूलाई कसरी ढाँट्नु ? “

प्रेमकान्त फेरि पनि केही बोल्दैन । 

“प्रत्येक व्यक्ति यहाँ अटेन्सन खोज्छ । म विश्वास गर्न चाहन्छु कि हामी कलाकार आफ्नो अस्तित्व प्रमाणित गर्न चाहन्छौँ । म अब साँच्चै नै मजदूर भएर बाँच्न चाहन्छु । सत्य हो, मैले मजदूरको नक्कल गरेँ उसका भावनालाई आफ्नो बनाउन चाहेँ, प्रशंसा कमाउन चाहेँ । म मजदूर नभएर मजदूरको नाटक गरेर सहानुभूति बटुल्न चाहेँ मैले समस्त मजदूर वर्गको उपहास गरेको छु । म अब मजदूर भएर नै आफ्नो अस्तित्व रच्न चाहन्छु । ”

Human Labour by Mahnoor Rao, Pixels

Human Labour by Mahnoor Rao, Pixels

 

Facebook Comments

You may also like

Leave a Comment

error: Content is protected !!