ब्ल्याक होलभित्रको उज्यालो ! | SATURDAYकलम | काव्यालय-Kavyalaya

ब्ल्याक होलभित्रको उज्यालो !

यहाँ सबै कहाँ जानलाई हिँडिरहेका होलान् ? यी सबैलाई के को खोज होला ? म सोचिरहेछु अनि हिँडिरहेछु । तपाईंले पक्कै सोच्नुभयो होला म चाहिँ के को खोजीमा हिँडिरहेको छु ?

म यी रित्ता मान्छेहरूको भिडमा भरिएर हिँडिरहेछु । म त पाएर हिँडिरहेछु । मिल्ने भए म तपाईंलाई देखाउँथेँँ मेरो शरीरभित्र अनि बाहिर रहेका हर एक अंग प्राप्ति नै प्राप्तिले भरिएको छ । मेरो रगतमा प्राप्ति बगिरहेको छ । मानिलिऊँ, म यस जगतकै एक सम्पूर्ण मानिस हुँ । आधा आधा मानिसले भरिएको जगतको एकमात्र सम्पूर्ण मानिस ।

आज मलाई मात्र मेरो कुरा गर्न मन छ । मेरो जिन्दगी, मेरो खुशी, मेरो आँसु, मेरो पीडा । मात्र मेरो कुरा गर्दा पनि ऊ कहाँ कहाँबाट टुप्लुक्क आइपुग्छे । मात्र म मा ऊ कहाँ नीर छे ? तपाईं खोज्नु होला । म जुन प्राप्तिले भरिएको छु ऊ  त्यही प्राप्ति हो ।

तपाईंहरूमा जिज्ञासा होला, हो को ऊ अनि म को हुँ उसको ? के छ प्रयोग उसको, मेरो जीवनमा हुनुको ? अनि किन छ ? कसरी ऊ मेरो जीवनको प्राप्ति हो ? यदि ऊ मेरो जीवनको प्राप्ति हो भने म उसको जीवनको के हुँ?

म उसलाई प्रेम गर्छु, अनि ऊ ?

ऊ मलाई प्रयोग गर्छे !

रुन, हाँस्न, पागल हुन, सम्हालिन अनि ममाथि फ्याँक्छे आफैलाई । अनि म भुलिदिन्छु कि ऊबाहेक पनि दुनियाँ छ। म भुलिदिन्छु कि मैले सम्झिनु पर्ने कुराहरू पनि छन्, म भुलिदिन्छु कि म केही भुलिरहेछु । म सास नलिइकन उसको अँगालोमा बेरिरहन सक्छु । धड्कन रोकेर उसलाई हेरिरहन सक्छु ।

ऊ बाहेकको म रित्तिएको भाँडा हुँ । म एक चलिरहेको सजीव भाँडै हुँ, ऊ पोखिन्छे म मा । म भरिन्छु पोखिएकी उसैलाइ समेटेर । म भरिन्छु उसको रित्तोपनले, उसको प्रेमले, उसका आँसुहरूले ।

जब उसको र मेरो शरीर घर्सण हुन्छ तब लाग्छ उसको हर एक अंगमा भएका दुखहरू मेरो अंगमा सरुन् । ऊ हाँसोस्, मुस्कुराइदेओस् । अनि भनोस्, अहो ! म दुःखमुक्त भएँ हेर त ?

अनि त्यसपछि ? त्यसपछि ऊ सायद मलाई भन्नेछे अब तिम्रो केही काम छैन मेरो जिन्दगीमा । जे थियो, बस् यहीसम्म थियो, तिमी आफ्नो बाटो जान सक्छौ । म कुन बाटोलाई आफ्नो ठाँनुला ?? म यो रित्तोपना लिएर कहाँ जाउँला ? कोसँग मलाई भरिदिने गुहार लगाउँला ?

आज पो ऊ मसँग छे । ऊ मलाई चुम्छे गाला, ओठ, निधार उसले देख्न सकेको हरेक चिज । ऊ मेरा हरेक अंग सुम्सुम्याउँछे, हरेक अंग प्रयोग गर्छे आफ्नो मनपरी । म उसका आँखाभरि दुःख देख्छु । यस्तो लाग्छ ऊ सब्बै दुःख ममा घोप्ट्याउन चाहन्छे । म थापिरहन्छु उसका दुःखहरू आफैलाई पोल्टो बनाएर । ऊ ममाथि मनोमानी गरेर सम्पूर्ण पुरुष सत्तामाथि मनोमानी गरिरहेको सोचिरहिछ । ऊ मलाई सोधिरहन्छे म कहिले अघाउँछु होला ? मेरा आँसु कहिले सुक्लान् ? म जवाफ दिन सक्दिनँ ।

रुनुको एउटा खराब विशेषता के हो भने एकचोटी रोएर न आँसु निखारिन्छ न दुःख । कति रुनु कति बगाउन खोज्नु आफैलाइ आँसुमा ? आखिर जहाँको त्यहीँ हुनु छ । ऊ त्यहीँ छे । म त्यहीँ छु । भरियाले चौतारीमा भारी बिसाउनुजस्तै एकैछिनको बिसाइ हो रुवाइ, फेरि भारी बोकेर गन्तव्य पुग्नु नै छ ।

मभित्र एउटा जिजीविषा बाँकि छ । म चाहन्छु कि ऊ रोइरहोस्, ऊ जिन्दगीभरि दुःखी भइरहोस्, अनि म उसलाई सम्हालिरहूँ ।

यदि आफ्नो प्रेम गर्ने मान्छेको दुःख चाहनुहुन्छ भने तपाईं कसरी उसलाई प्रेम गर्नु हुन्छ ? यी सवालहरू मलाई कोपर्न आइरहन्छन् । यी सवालहरू आइरहेको देखेँ । म सायद बाटो मोडिदिऊँ ? कहिँ त जाऊँ ? केही त गरूँ ? कि म यो सवालबाट बचूँ । जवाफ दिनबाट बचूँ । ऊ खुशी होलि भनेर म डराइरहेको छैन, म त खुशी भएपछि ऊ मलाई प्रयोग पनि नगर्ली भन्नेमा डराइरहेछु ।

तपाईं प्रेममा केसम्म बन्नु भएको छ ?

ऊ घरीघरी मलाई लास बन्न लगाउँछे, उसको बा’को लास । उसलाई अन्तिम रात उसको बा’सँग निदाउनु थियो रे । उसलाई लाग्थ्यो रे उसका बा’ले ऊ सानोमाजस्तै उसको खुट्टा आफ्नो खुट्टाको बिचमा राखेर तातो बनाइदिनेछन् । उसको बा’को चिसिएको शरीरले त्यसो गर्नसक्ने सामर्थ्य राख्थ्यो होला र? म उसको लागि मजनु र रांझा होइन, उसको बा’को लास भएको छु । तपाईं मलाई भाग्यमानी मान्नुस् ऊ त्यो लासमा दागबत्ती दिन चाहदिनँ ।

तपाईंलाई लाग्ला यो मनुवा कति पागल ? तर ऊ बेलाबेला मलाई जिउँदो सपना पनि देखाउँछे । ऊ भन्छे तिमी र म बिहे गरुँला जब म ठिक हुँला । म हाम्रा साना छोराछोरीको नाम पनि राख्न भ्याँउछु । ऊ मलाई कसम ख्वाउँछे “कस्सम खाऊ तिमी हाम्रो बच्चा 50 वर्ष भएपछि मर्छौ ।” ऊ यसरी भन्छे लाग्छ मर्नु र मार्नु त ऊ दिनभरि गरिरहन्छे । यी जीवित सपना देख्दा मलाई ऊकहाँ फर्केर जाउँजाउँ लाग्छ । उसले देखाइरहने सपनाले मलाई बाँच्ने आश्वासन दिइरहन्छ, मर्नबाट जोगाइरहेछ ।

आजकल त मलाई उसका पीडादायक छुवाइहरूको लत बसेको छ । एउटा छुट्न नहुने लत, नशाकोजस्तै, उसले दिने पीडाहरूको लत बसेको छ । ऊ मलाई कोपरिरहोस् घाउहरू दिओस्, चोटहरू दिओस् । ऊ जिन्दगीभरि नै मलाई यसैगरी छोइरहोस् । उसको अंगको घसर्ण मेरो ज्यानभरि, उसका आँसुको थोपा थोपाका स्वादहरू, उसको ओठको मिठास, उसका दाँतका टोकाइ, आहा ! यदि उसको सुखको प्राप्ति मेरा यी प्राप्तिहरूको अन्त्य हो भने उसले कहिल्यै सुख नपाओस् । हो, म उसको दुःख चाहन्छु तर उसको दुःखले मेरो दुःख कम गर्दैन; बढाउँछ । ऊ दुःखी हुनु र सुखी हुनु बिचको फरक ऊ मसँग हुनु र नहुनुको बिचको फरक हो । यदि हुनु र नहुनु बिचको फरक बुझ्न चाहनुहुन्छ भने एकपटक (वा पटकपटक) भएर नहुनेहरूलाई सोध्नुहोला ।

घरीघरी पीडाहरू दुखाइको सिमाना कटेर पारि पुगेर जिस्काउँछन्- “ल सहेर देखा मलाई ! लाग्छ म आफ्नो अंगअगं काटेर उसलाई दिऊँ । हात दिऊँ । खुट्टा दिऊँ । ऊ बसेर कोपरोस्, खाओस्, लुछीलुछी खाओस् ,मिठ्ठो मानेर खाओस् । म बसेर हेरिरहूँ उसले खाइरहेको । म सन्तुष्टि लिइरहूँ उसको सन्तुष्टि हेरेर । म अहिले पनि उसको सन्तुष्टि सम्झिएर तृप्त भइरहेछु । जिन्दगीमा मैले चाहेको तृप्ति उसको तृप्ति न हो ।

म दुःख छोइरहेछु, दुःख पिइररेछु, दुःख खाइरहेछु, दुःख दिइरहेछु, दुःख लिइरहेछु, दुःख बेचिरहेछु, दुःख किनिरहेछु । तपाईंलाई थाहा छ पीडा पनि कति मीठो हुन्छ ? आउनुस् मेरो जिन्दगी बाँचेर हेर्नुस् ।

 

Facebook Comments

You may also like

error: Content is protected !!