टेबलमा छरिएका किताब र बेडमा लास्ट बेन्चर स्टुडेन्ट जस्तै आवारा लेटिरहेको ब्ल्यांकेट तिर इशारा गर्दै ममी आफ्नो मस्ट पपुलर डायलग बोल्नुहुन्छ प्रत्येक पटक मेरो रुम छिर्दा –
“हेर कोठाको बिजोग ! घर हो कि यो सुंगुरको खोर हो ? मान्छे नै नभएजस्तो हुन्छ यसको कोठा, छिर्नै नपरोस् जस्तो !”
हो, म त यस्तै छु। मलाई तनक्क पारेर मिलाइएको ओछ्यान मन पर्दैन, टेबलमा किताबहरु हात बाँधेर बसेको देख्दा मलाई उदास लाग्छ। बेडमा खुल्लै लेटिरहेको ब्ल्यांकेटमा म जीवन देख्छु, त्यो पट्टिएर भित्तातिर थन्कियो भने मलाई त्यो शव जस्तै लाग्छ। टेबलमा खातबाट छुट्टै तेर्सिएको किताब, अझ भनुँ, उछिट्टिएर सिरानी नीर आइपुगेको किताब मलाई जिउँदा लाग्छन्। ममीको सिनिक्क पारिएको कोठा मलाई मव्न्छे भएर पनि जीवन नभएको अनकण्टार चिहान बस्ती जस्तै लाग्छ। कसरी बस्नु ती मुर्कुटाजस्ता लय नभएका, लचक नभएका वस्तुहरुले घेरिएर? धन्न, झ्यालको पर्दामा अलि अलि लय बोकेको मुजा देखिन्छ, थोरै जीवन देखिन्छ। नत्र सबै तन्याक्क-तुनुक्क, अरट्ठ, मुर्दा जस्ता ! कोठा थोरै अस्तव्यस्त नै होस्, लागोस्, त्यहाँ कुनै जीवन जिउनमा अभ्यस्त होस्।
जब तपाईं आफ्नो कपबाट चिया/कफी सुरुप्प पार्नुहुन्छ तब देख्नुहुन्छ कपको भित्री भित्ता अघिजस्तो सफेद हुँदैन। त्यहाँ दाग बसेको हुन्छ चिया/कफीको। हो, त्यो दाग जीवनको दाग हो। कपमा चिया छ, चियाको दाग छैन, मतलब त्यो चिया कसैले पिएको छैन, त्यो चिया पिउन त्यहाँ मान्छे छैन, त्यहाँ जीवन छैन। कपमा कफी छ, कफीको दाग पनि छ, मतलब त्यो कसैले पिउँदै गरेको चिया हो, त्यो चिया पिउने कोही जिउँदै गरेको मान्छे हो, त्यहाँ जीवन छ। फरक आफै छुट्याउनुहोस्।
कहिलेकाही मलाई बडो वैराग्य लागेर आउँछ, धेरै एकान्त पनि जीवनको लागि हानिकारक छ। कसैलाई देखुँ देखुँ लाग्छ, कसैलाई भेटुँ भेटुँ लाग्छ र गएर उभिदिन्छु ऐना अगाडी। नियाल्न थाल्छु ऐना भित्रको आकृतिलाई। आकृतिको आँखा, निधार, कान, नाक, ओठ, गाला, चिउँडो! चिउँडोको खतमा आँखा ठोक्किनासाथ मनभित्र हलचल जस्तो मच्चिन्छ। होहल्ला जस्तो सुनिन्छ। बिस्तारै त्यो हल्लाले तस्वीर बनाउँछ। देख्छु बालापनका साथीहरु, देख्छु आफैलाई। हाम्रा उट्पट्याङहरु। म साइकल दौडाउँदै छु, साइकल दौडाउने अरुपनि छन्। साइकल सँगसँगै पैदल कुद्नेहरु पनि छन्। सँगै कुदिरहेकाछम्, हाँसीरहेकाछम्, खेलिरहेकाछम्। हामी साइकल दौडाइरहेकाछम्। आहा! क्या मस्ती छ। एकैछिनमा सबैभन्दा अगाडि पुगेर एउटाले उद्घोष गरिदिन्छ “म फस्ट!” । अब खेल साच्चैको खेल बन्छ। रेस चल्छ। अब दौडिनु मात्रै छैन, उछिन्नु छ एक-अर्कालाई। आफ्ना अगाडि र पछाडीकालाई हेर्दै दौडाइरहेछम्। म बीचमा छु। सबसे अगाडी निस्किनु छ। सतर्क हुन्छु। भएभरको बल लगाउँछु, बेस्कन पाइडल घुमाउँछु। थाक्न दिन्नँ ज्यानलाई। पैदलेहरु पनि सँगसँगै कुदिरहेका छन्। कोही कसका नाम चिच्याइरहेछन् कोही कसका। सुन्छु, हुटिङमा आफ्नो नाम पनि छ।

IMageSource: Cycling from PinImg
हुटिङले जित्ने हुटहुटी अझै बढेर आउँछ। जोस्सिन्छु। एउटालाई उछिन्छु। झन् जोस्सिन्छु। अर्कोलाई पनि उछिन्छु। म अगाडि पुग्छु। पछाडी फर्केर विजय उद्घोष गर्छु। तर एक्कासी साइकल र ज्यान एकसाथ पछारिन्छ, बजारिन्छ चिउँडो साइकलको ह्याडलमा ! कोही चिच्याउँछ- “रगत! रगत!” झसँग ! झल्यास्स ! चिउँडो हेर्छु, सहि सलामत छ। ऐना भित्र कि केटि गिज्याउँछे मलाई। म पनि गिज्याइदिन्छु। जिब्रो निकाल्छु, आँखा झिम्क्याउँछु, अनेक अनेक मुख बनाइ बनाइ जिस्क्याइदिन्छु। ऊ लजाएको देख्छु। एक्कासी सम्झिन्छु, अघिसम्म यतै भौँतारिरहेको वैराग्य खोइ? म त यहाँ जीवन नै जीवन देखिरहेछु। वैराग्यले निल्नै लागेको जीवन आज चिउँडोमुनिको खतले बचाइदिएको छ। खतहरु जीवनलाई, बचपनलाई झैँ प्रेमले बोकेर मुस्काइरहेका त हुन्छन् नि। हेर्नुस्, मलाई त यस्तै लाग्छ। थोरै अस्तव्यस्तता, थोरै दाग, थोरै खत, थोरै पीडा भएन भने जीवन कहाँ जीवन हुन्छ? सर्लक्क मिलेको कहाँ हुन्छ जीवन? जीवनमा त हलचल हुन्छ, उथलपुथल हुन्छ, उतारचढाव हुन्छ। यो मुटु नै हेर्नुस् न, उठबस गरिरहन्छ। यसले उठबस गर्न छोडे, निभ्दैन र जीवन? अनि यी चुलबुले श्वासहरुलाई! कति डुलिराख्नुपर्छ यिनलाई? छिनमै भित्र, छिनमै बाहिर! यी श्वासहरुले यी चुलबुले हर्कत नगर्ने हो भने ढल्दैन र जीवन?
ती नदिहरु देख्नुभएको छैन? एकछिन बस्दैनन्। ती हाम्रै जीवन बोकेर त कुदिरहेका छन् नि! भन्नुहुन्छ होला, तालतलैया त चुपचाप छन् नि? तर याद गर्नु भो भने, ती पनि तपाइको घर छेउको ढोंगी ब्रह्मचारी भन्दा कत्ति नि बेग्लै छैनन्। “एक झोका बतासको स्पर्श मात्र पाउन पाए कति मनोरम नृत्य गर्दो हुँ तरङ्गित हुँदै !” यस्तै सोच्दै प्रतीक्षा गर्दै बसिरहेका हुन्छन् तलाउ पनि। तपाईं आफ्नो ब्रह्मचारी साथी/छिमेकीलाई कुवाँरा बसेको हेर्न चाहनुहुन्न र विवाहका लागि उक्साउनु हुन्छ भने बधाई छ, तपाइँ तलाउमा ढुङ्गा हान्नेहरुको सुचीमा पर्नुहुन्छ। अर्थात तपाइँ, जीवनवादी हुनुहुन्छ। तपाइँलाई तरङ्ग मनपर्छ, उमङ्ग मनपर्छ। र याद राख्नुस्, उमङ्ग बेढङ्गबाट प्राप्त हुन्छ। विश्वास लागेन? तपाइँ एउटा ढङ्ग समातेर बाँचीहेर्नुस्, केही समयपछि नै तपाइँ निसास्सिएको महशुस गर्नुहुनेछ। र त्यो ढङ्गबाट एकछिन बेढङ्गको यात्रामा निस्किएपछि मात्र, बल्ल तपाइँमा उमङ्ग छाउने छ। बल्ल तपाइँमा जीवन छाउने छ।
यी ऋतुहरुलाई हेर्नुस्, कहिले चिसो न चिसो, ठण्डी बतास चलाइदिन्छन्। कहिले तातो न तातो, कपाल उम्लिने घाम चर्काइदिन्छन्। कहिले बर्खा बनेर भेल उर्लाइदिन्छन्, कहिले हिउँद बनेर खडेरी मच्चाइदिन्छन्। कति बदमाश चर्तीकला यिनको? सोच्छु, वसन्त मात्र आइदिए? बतास शितल र घाम न्यानो मात्र किन भइदिँदैन? यो त सतहको सोचाइ भो। थोरै तल ओर्लिएर सोच्छु, सधैँ उस्तै फूल, उस्तै बगैँचा, उस्तै दृश्य, उस्तै हावापानी! उफ्! कल्पना मात्र गर्दापनि आँखा टट्टिएर आयो। हुस्सु लागेको आकाश, फुसफुस कपास जस्तो हिउँ झरेको दृश्य, सेताम्मे पहाडहरु, वर्षातले भिजेको धर्ती, सबै-सबैको न्यास्रो लागेर आयो। हामी यस्तै त छौँ, भएपनि किन भइदियो भन्छौँ अनि नभएपनि किन भइदिएन भन्छौँ। गुनासो, असन्तुष्टि पोखिरहन्छौँ।
“कत्ति गर्मी के? बरु जाडै आओस्!” भन्छौँ। जाडो आउँछ। खुशी हुन्छौँ। आहा! प्रकृतिले हाम्रो गुनासो सुनिदियो। तर अलि समय नबित्दै फेरि उसै रितले गुनासो गर्छौँ, उसै रितले खुशी मनाउछौँ, फेरि गुनासो, फेरि खुशी, यो रित चलिरहन्छ।अनि, यहि सन्तोष र असन्तोषको चक्रभित्रै त छ जीवन। सन्तोषै सन्तोषमा त जीवन सम्भव पनि त छैन। सबै इच्छा, आकांक्षा, चाहना, सपनाको पूर्ती हुने भए, सब कुराबाट सोचेजस्तै सन्तुष्टि मिल्ने भए, फेरि के का लागि जिउँछ र मान्छे? परम सन्तुष्टिको क्षण, जीवन समाप्तिको क्षण हो। जीवन भन्नू त जिज्ञासा हो, भोक हो, असन्तोष हो।
यो कलमपनि जीवनवादी रहेछ हेर्नुस् न, यो लेखलाई यत्तिकै, यहि अचकल्टो, अपूर्ण नै छोडेर विश्राम गर्ने जिद गर्दैछ। भन्छ- “आजै सके भोलि के लेख्नु मैले? तैले अझै बुझ्नु छ, जान्नु छ, मैले अझै लेख्नु छ” यस्तै के के भन्दै छ कलम! हेर्नुस् तपाइसँग बिदा नै नमागी यत्तिकै जानपनि सक्छु म। जीवन एक यात्रा न हो, भागदौड न हो, फेरि यस्तै संजोगले भेट हुनपनि त सक्ला। सायद म, कलमको बिर्को बन्द नगरी, डायरी यस्तै खुल्लै छोडेर जीवनको खोजीमा कतै गइहाल्न पनि सक्छु। खुल्ला डायरीको अलपत्रतामा म …

ImageSource: Bed and Books by Tilly Strauss