संसारलाई चिठी

प्रिय संसार,
तिम्रो डाह खोक्रो शरीर माथि न हो । केही छैन शुन्य छ, प्राण मात्र त हो । जीवन जिउने रहर छैन । केही बाँकी छ त, ती हुन नदेखिने खरानी र छातिभित्र जलेका गन्ध आउने रहरहरू । थाकिसकेँ तिम्रा मुकुटधारीहरूसँग लडेर हरेक युद्धका हार तिम्रो समाजको लागि साक्षी छाडेर म आफ्नो मृत्युको प्रमाण बनाउन चाहन्छु । मैले आज एउटा विकल्पलाई रोजेँ; संसार त्याग्ने ।

खाली म एउटा यस्तो लाश हुँ जुन बाँचिरहेछ, एकान्त कोठाको कुनामा भविष्यभन्दा धेरै विगतका घाउ कोट्याउँदै, अब त घाउपनि पाकिसकेछ । कुनै पनि मलम त्यस्तो बनेन जसले मेरा घाउहरू निको पारुन् । म अध्याँरोमा जीवन देखिरहेछु । मलाई मन पर्दैन ती किरणहरु जसले मलाई जीवनको बाटो देखाओस् । मेरा हरेक आँसुका थोपाहरु संगालेको डिब्बा, बस् तिम्रो त्यो दैवलाई चढाइदिनु जसले शून्यमा पनि आशा देखाए; झुटो आशा !

के तिमीले महसुस गरेका छौ र ? भिडमा पनि एक्लोपन ! आफ्नाहरू बिच पनि पराईपन । म, मेरो वरिपरिका प्रत्येक त्यो चिजलाई घृणा गर्छु । बस्, पुग्यो केही बुझ्नु छैन मानवजातिबाट । यिनीहरु धेरै जटिल छन्, मेरा बेबकुफ मगजका सामुन्ने । आखिर के गर्नुपर्थ्यो तिमीहरुलाई मैले ? जसकारण बदलामा तिमीहरुले मलाई माया, स्नेह र विश्वास गर्ने थियौ ।

म दुखी, थकित, असहाय, रनभुल्ल, पागल, उदास छु । माफ गर्नुहोला, मैले यदि एउटा मात्र विशेषण प्रयोग गरेर आफ्ना पीडाहरु वर्णन गरेमा, मेरो आत्मालाई यतिले मात्र न्याय कदापि हुने छैन । मैले कुन शब्द प्रयोग गरेँ ? शब्दहरू धेरै भ्रामक छन् ! केही नबुझिने ! मैले पो तिम्रो संसारलाई कहिले बुझेँ र ! म धेरै मौखिक बन्दै थिएँ सायद, नबोलेपनि धेरै बोल्ने, नसुने पनि धेरै सुन्ने ।

के मैले लामो जीवनको सपना देखेँ ? एउटा यस्तो जीवन जुन रंगले भरिपुर्ण छ ? प्रशस्तै उदारताले भरिपुर्ण ? हो, मैले देखेँ । त्यस्तो जीवन जहाँ सबैको माया होस्, सबै मेरा लागि हाँसुन; मेरा महानता देखेर । ठूला सभाले मेरो भाषण सुनुन्, प्रत्येक भाषणमा मेरा प्रश्न हुन्, मात्र प्रश्नहरु । कहिलेकाहीँ मपनि भाषण तयार गर्छु, श्रोता आफै मात्रै हुँदा । एक्लै, सिर्फ मेरो लागि । मलाई आफ्नो आवाज मनपर्छ । मेरा प्रश्नहरुलाई म माया गर्छु । चाहे त्यो जे सुकै होस् ।

मैले आफूलाई प्रश्न गरेँ “के म सास फेर्दैमा बाँच्छु होला त?” “के हरेक दिन घाम उदाएको अस्ताएको हेर्दैमा जीवन जीउने छु?” मैले सोधेँ ।

म यस्तो संसारको कल्पना गर्दै छु, जहाँ राक्षसहरुको मात्र बास होस् र मैले त्यसको नेतृत्व गर्न सकुँ । हरेकले मेरो क्रुरता देखेर शिर निहुर्याउन, जतिबेला म शिर ठाडो पारेर हिँडिरहेको हुनेछु । मलाई विश्वास छ; मेरो भाषणले सबैलाई हँसायो होला । तर तिम्रो प्रत्येक हाँसोले मेरा सपनालाई जलाइरहेछ । मेरा खुशी नष्ट भएका छन् । मेरा सपना मरेका छन् ।मलाई यो पनि थाह छैन अब सपना कसरी देख्नुपर्छ । कसैलाई माफ गर्नको लागि बिर्सिनु पर्ने रहेछ, बिर्सिनको लागि फेरि सम्झनु पर्ने रहेछ ।

तिमीले मलाई किन यस्तो गर्यौ ? मैले तिमीलाई विश्वास गरेँ । माँया गरेँ । म तिमीसँग हुँदा आत्मबलले भरिपूर्ण हुन्थेँ । मैले तिमीलाई पटक पटक भनेको थिएँ “एक्लोपना देखि म डराउँछु, तिमीसँग हुँदा मात्र म निडर हुन्छु”। तर मेरा हरेक विश्वासलाई तिमीले तोड्यौ । तिमीले मलाई धोका दियौ । तिमीले मभन्दा अगाडि आफूलाई रोज्यौ । म आफ्नो जीवन छिट्टै मेट्दै छु, मेरा असफलताले गर्दा नै सायद तिमीले मलाई छाड्यौ । निभेको आगोलाई कसैले फू… फू… गरी फुकिबस्दैन । बलेको आगो नै ताप्ने हुन् सबैले ।

हो, म कायर हो ।
म जिउने नाममा यो बनावटी संसारको जञ्जालमा अल्झन सक्दिनँ, चाहन्नँ पनि ।

म शान्ति/मुक्ति चाहन्छु मेरा मन भित्रका प्रश्नहरुले मलाई मर्नभन्दा बढी जिउन पीडा दिँदै छन् । सायद, यसैलाई मानसिक चिन्ताको (डिप्रेसन)रोग भनिन्छ । अब मर्नुभन्दा पीडा त जीवन जीउनमा छ । त्यसैले मैले रोजेँ, यो अस्थायी समस्याको लागि स्थायी समाधान । मसँग अरू कुनै विकल्प नै कहाँ छ, आफ्नो हत्या बाहेक ?

अलबिदा !

– संसारले ठहर्याएको
उही
डिप्रेस्ड कायर !

suicide painting

suicide painting

Facebook Comments

You may also like

error: Content is protected !!