निरंकुश प्रेमी

निरंकुश प्रेमी

भो प्रिय !
दूर नै रहनु मदेखि,
मलाई तिमीसँग डर लाग्छ…

तिमी फूललाई प्रेम गर्छु भन्छौ,
चटक्क चुँडेर चुल्ठोमा सिउरिन्छौ !
तिमी पंक्षीलाई प्रेम गर्छु भन्छौ,
टपक्क टिपेर पिंजडामा कैद गरिदिन्छौ !

र अब
तिमी मलाई प्रेम गर्छु भन्दैछौ ?

‘मालिक्याइँ’ले प्रेमको कात्रो ओढेको
बडा कुरुप लाग्छ,
बेसोमती लाग्छ
भद्दा र अश्लील लाग्छ मलाई !

मालिकहरू प्रेमी कसरी हुन सक्छन् ?
प्रेमीहरू मालिक कसरी हुन सक्छन् ?
प्रेम र मालिकको अन्तर्सम्बन्ध के छ ?

अँह,
प्रेमले कसैलाई अधिनमा लिनै सक्तैन
नदी गई सागरमा मिल्नु पो प्रेम !
के नदीले सागरलाई कब्जा गरेको
कहिल्यै सुनेको छौ तिमीले ?

तिमी कसैको मालिक हुन सक्लाऊ
तर प्रेमी ?
अँह !
असंभव !
म कसरी सम्झाऊँ तिमीलाई ?
प्रेम र शासन अलग हुन् भनेर…

तानासाह कदापि प्रेमी हुँदैन
प्रेमी कदापि तानासाह हुँदैन
निरङ्कुशता कदापि प्रेम हुन सक्दैन

प्रीय,
तिम्रो तथाकथित प्रेममा
अधिनायकवादको चर्को गन्ध छ !

यदि तिमी प्रेमी हुन्थ्यौ भने
फूल देखेर आनन्दित हुन्थ्यौ
सँगै रहने यत्न गर्थ्यौ
फूलसँगै फुल्थ्यौ
फूलसँगै झर्थ्यौ
फूलको हत्या, किञ्चित मनमा आउने थिएन

यदि तिमी प्रेमी हुन्थ्यौ भने
पंक्षी देखेर आह्लादित हुन्थ्यौ
उसको गीतमा जीवनको सार भेट्थ्यौ
र उपासक बन्थ्यौ
न कि उसलाई कैदी बनाई कारागारमा हाल्थ्यौ

प्रीय,
कदाचित, तिम्रो सामिप्यमा रहेँ भने
मैले पनि स्वअस्तित्व गुमाउनेछु
फूल र पंक्षीहरूले झैं…

कसैको अस्तित्व मेटाउनु प्रेम हो भने
फेरि दुश्मनी के हो त ?
तिम्रो अन्तस्करणको प्रेम-परिभाषा गलत छ
जन्माउनु, हुर्काउनु पो प्रेम
हत्या कसरी प्रेम हुनसक्छ ?
प्रेम त सह-अस्तित्वको नियममा निहित हुन्छ
होइन र ???

प्रेमी हुनु जीवनको सबैभन्दा श्रेष्ठ कार्य हो
तिमीबाट असंभव छ ।
भो प्रिय !
तिम्रो निरङ्कुश प्रेमलाई म बदर गर्छु
दूर नै रहनु मदेखि,
मलाई तिमीसँग डर लाग्छ…
अलविदा !

Flower inside the Cage

Flower inside the Cage

भ्रुणहत्या

मेरी प्रीय अजन्मा छोरी,
मलाई माफ गरिदिनु
म तिम्रो भ्रुणहत्या गर्दैछु
म तिम्रो हत्याको अभियुक्त
म तिम्रो पिता !

ठिक यतिखेर
अपरेशन थिएटरको बाहिर
म हत्केलाले भित्तो समातेर रुँदैछु

अपरेशन थियटरभित्र
तिमी, तिम्री प्यारी आमाको पाठेघरभित्र
आँखा बन्द गरी
मस्त निदाइरहेकी छ्यौ सायद

तर…
कुशल डाक्टर र नर्सहरू
तिम्रीआमाको पाठेघरमा
औजार चलाउँदैछन्
तिम्रो भ्रुणहत्या निमित्त
मेरो र तिम्री आमाको विनम्र अनुरोधमा !

मेरी प्रीय अजन्मा छोरी,
ती औजारले चिमोट्दा
तिमी सायद छट्पटाउँदै छ्यौ
भर्खरै विकसित भएका
तिम्रा कोमल मेरुदण्ड
निर्दोष आँखाहरू
मृदुल ओठहरू
अनि संवेदनशील मुटु
र सुकोमल हातपाउहरू
छल्ली-छल्ली गर्दैछन्
छिया-छिया पार्दैछन्
र मिल्काउँदैछन् डस्टबिनमा
तिम्रो उदाउँदो अस्तित्वलाई

मेरी प्रीय अजन्मा छोरी
म तिम्रो भ्रुणहत्या यसर्थमा गर्दैछु कि-
यो देशमा कुनै छोरीले जन्म लिनु नपरोस्

कदाचित जन्मियौ भने,
कामदमित ब्वाँसोका झुण्डहरूले तिम्रो बलात्कार गर्लान्
भोका स्यालहरूले तिम्रो चोक्टा लुछ्लान्
कथित प्रेमी, छद्मभेषी दैत्यहरूले एसिड अट्याक गर्लान्
स्वयँ पति बनी राक्षसहरूले तिमीलाई ज्युँदै जलाउलान्
तिम्रो फूलजस्तो सुकोमल शरिर खुकुरीले काटिकन
टुक्रा-टुक्रा पारी जमिनमा गाडिदेलान्

मेरी प्रीय अजन्मा छोरी
म कसरी सहन सकुँला ती विभत्स प्रहरहरू ?
म पिता हुँ
म त,
संस्कारले भिडाएको कठोरता उधारो लिएर पनि
रक्ताश्रु पिइदिउँला छातिमा पत्थर राखी
सहुँला जसोतसो
तर तिम्री आमा…????
कसरी सहलिन् ती बर्बर यातनाहरू ?
कसरी सम्हाल्लिन् आफूलाई ?
हरदिन भइरहने यस्ता घटनाक्रमले
ठूलो आघात दिएको छ

अत:
तिमीलाई नजन्माउने निर्णयमा पुगेको छु
तिम्रो भ्रुणहत्या गर्ने निर्णय गरेको छु
मेरी प्रीय अजन्मा छोरी,
मलाई माफ गरिदिनु
म तिम्रो भ्रुणहत्या गर्दैछु
म तिम्रो पिता
तिम्रो हत्याको अभियुक्त !

Saatchi Art

Saatchi Art

कुरुक्षेत्र

मेरा देशका युवाहरू, महाभारतका भीष्म हुन्
जसले प्रतिज्ञा नै गरेका छन्, राजनीति छुँदै-छुन्न भनेर !

तर वर्तमान स्थितिमा मेरो देशलाई अर्जुनको खाँचो छ
जसले गाण्डीव उठाओस् र एउटा कुरुक्षेत्रको युद्ध गरोस् !

म अर्जुनको खोजीमा छु, भीष्महरू त देशका लागि श्राप हुन् !
जो आफ्नो प्रीय हस्तिनापुरमा आगो लाग्दापनि मौन रहन्छन् !

छ कोही अर्जुन यहाँ ? कोही छ ? एक कदम आगे आऊ ।
उठाऊ गाण्डीव र निशाना लगाऊ, हर एक बेथितिहरूलाई !

नपुंसक नबन, आफ्नो अस्तित्वको खातिर एउटा युद्ध लड
यो जन्मलाई खेर जान नदेऊ अर्जुन ! आऊ कुरुक्षेत्र लड !

यहाँ विपक्षीमा आफ्नाहरू नै उभिएका छन् तिमीसँग लड्न
यो धर्मयुद्ध हो अर्जुन ! जो अब तिमीले लड्नै पर्नेछ, हरहालमा !

विजयी भव:

Geethopadesham Bhagvad Gita by Dileep (Fine Art America)

Geethopadesham Bhagvad Gita by Dileep (Fine Art America)

Facebook Comments

You may also like

error: Content is protected !!