अमृतालाई पत्र

प्रिय अमृता,

एक असहनशील र अवरोही महिलाको परिभाषामा म तिमीलाई कहिल्यै बाँध्न सक्दिनँ । तिम्रो गृहस्थीको प्रत्येक क्रियाकलापमा भावनात्मक संसर्गको अभिव्यक्ति थियो । तिमीले आफ्नो वैवाहिक सम्बन्धको खुड्किला टेक्दा आफूलाई एउटा आत्मपरिवर्तनसँग गाँसेकी थियौ । मान्यताहरु छुट्याएकी थियौ । र नवयात्राको तयारी गरेकी थियौ । तर तिम्रो स्वच्छन्दताहरु मासिएका थिएनन् । ती जीर्ण थिएनन्, तिनको आवाज कमजोर थिएन ।

जब तिमी नाच सिकाउँथ्यौ, तिम्रो शिल्पको सौन्दर्यबाट तिम्रो स्वभावको परिचय प्रष्फुटित हुन्थ्यो । तिम्रा आँखा कति सजग थिए । मानौँ, अविचलित भनिदिन्थे, ‘खुला आकाशअगाडि मपनि पंक्षी भएर उडिदिन सक्छु ।’ तिमीले विवाहपछि आफ्नो केही खुशी र महत्वाकांक्षाहरुको त्याग गरेकी थियौ । तिमीलाई विश्वास थियो, वैवाहिक सम्बन्धको सन्दुकमा विनय भइदिन स्वयंबाट केही घटाउनै पर्छ । केही लुकाउनै पर्छ । तिमी असन्तुष्ट थिइनौ, कसैलाई कोमलतासँग रिझाउनु, आफ्नो विचार बोल्नु, कोहीमाथि निर्भर हुनु जस्तो कुरामा । जीवनको त्यस चरणलाई तिमीले स्वागत गर्‍यौ र आफूलाई प्रचलन अनुरुपको स्वरुप र प्रेमप्रतिको सम्झौतामा खटायौ । तिमीजस्तो यहाँ हजारौं अमृताहरु छन् जो सधैँ निद्रा सकिनुभन्दा अगाडि आफ्ना जिम्मेवारी समात्न उठ्छन् ।

म सोच्छु, हाम्रो समकक्षता कहाँ छ ? सङ्कुचित मानसिकता लिएर हिंसाको सानो रुपलाई आफ्नो शक्तिको प्रमाण बनाउनुमा वा अपमानले ग्लानी नहुन परम्परागत र लैङ्गिक भेदले तोकिदिएको स्थानमा आफूलाई समेट्नुमा ?

हाम्रो रुढीवादी समाजमा पूर्णतया मिसिनु भनेको आफ्नो वैचारिक तर्क र परिवर्तनका धारणाहरुलाई अवहेलना गर्नु हो । यद्यपी समाज आनम्य पनि छ । जसरी एउटा समूहका मानिसहरुले कुनै नयाँ नियमको परिचालन गर्न सक्छन्, त्यसरी नै अर्को समुहले त्यस शासनप्रति विरोध जनाउन सक्छन् । प्रतिरोधको चट्टानमा आज हजारौं असिनाहरुको बज्रपात भइरहेको छ, जुन समाजिक अन्याय र शोषणको प्रतिक बनेको छ ।

म नचाहँदै पनि हताश हुन्छु अमृता, परम्परा र संस्कृति जोगाउने बहानामा महिलाहरुलाई सौम्यता र शुद्धता मात्रको पछ्यौरी भिराएको देखेर । प्राविधिक युगमा महिलालाई वस्तुकरण र दर्जिकरणको नाममा दबाएको देखेर । यस्तै असमान श्रृङ्खलाबीच कति महिला जन्मिए होलान्, जसले आफ्नो जन्मजात निर्देशनहरुलाई प्रतिरोध गरेर आफ्नो नारी हृदयमा आत्मसम्मान र वीरताको तरङ्गहरु भेट्टाएका छन् ? कतिलाई सिकाइएको छ सन्नाटा चिरेर गर्जने पाठ ? कतिले सिकेका छन् सिमित रेखामा आफूलाई आत्मसमर्पण गर्न ? महिलाकै सहमतिविना कसरी छुट्याउन सकिन्छ तिनको धर्म र त्यहीँ किन विस्तार गर्न सके पुरुषहरुले आफ्नो अहंकारलाई ?

कति सजिलो छ मनको व्यथालाई `छोरीको कर्म´ भनेर पलायन भइदिन ! किनकि पूर्वजहरुले सिकाएको सहनशीलताको शिक्षाले क्रान्तिको झिनो स्वर मात्र निकालेको छ ।

जसरी पितृसत्ताको आधारभूत संरचना, सिद्धान्त र मान्यताहरुले हरेक घर र क्षेत्रमा आफ्नो प्रभाव कायम गर्न कैयौं वर्ष लगाएको थियो, त्यसरी नै एउटा महिलाको आवाजले भिन्नभिन्न पृष्ठभूमिका, जातजाति, धर्म र वर्गका महिलाहरुलाई ऊर्जाशील अस्तित्वको सानो ज्योतिले थोरै भएपनि एकत्रित पार्न सक्छ । तिनलाई निर्मित प्रणालीसँग असहमति जनाउन थोरै योग्य बनाउन सक्छ । तिमी निश्चित थिएनौ कि कानुनले तिमीप्रतिको व्यवहारलाई उचित सजाय दिनेछ । तर `न्याय माग्न सक्छु´ भन्ने प्रतिज्ञा र गलत कर्मलाई पर्दाबाहिर ल्याउन सक्नु झनै पहलकदमी हो । पहिले कानुन, मान्यता, रिवाज इत्यादि पुरुषप्रधानको नियन्त्रित प्रबन्धक थिए, जसलाई हामीजस्तै प्रताडित र सचेत मानिसहरुले चेतना र योगदानको उपयोग गरि सबैको अनुचित बनाउँदै गए । कसैलाई त्रास, धम्की, डर, अपमान, पूर्वाग्रह र अन्धविश्वासले दबाएर शोषण गर्नभन्दा त्यस अत्याचारलाई निवारण गर्न, त्यस जन्जिरलाई नष्ट गर्न र अरुलाई भ्रमबाट उन्मुक्त गर्न निकै धिरता र क्षमता चाहिन्छ ।

अमृता, तिम्रो पाजली संरचित मानसिकताबाट आत्मचेतनासम्मको थियो । आफ्नो निराशा र क्रोधलाई अस्तव्यस्त कोठामा व्यक्त गर्नुदेखि रातको समयमा निर्भिकताकसाथ आफ्ना कुराहरु स्पष्ट व्यक्त गर्नुसम्मका कृत्य निकै आदरणीय र प्रभावकारी थियो । हाम्रो सेरोफेरोमा पनि त्यस्ता नारीहरु छन् जो सचेत छन्, दृढ छन् । तर तिनको पहलहरुलाई न्युनीकरण गर्ने जनमतमा नारी आफै बढी दोषी र लाञ्छित देखिन्छन् । घरेलु हिंसालाई समस्या मान्ने, समाजमा आदर्श दम्पति जोडी देखाउने इच्छा, कथित महिला चरित्र अपनाउने जोर र कटाक्ष दृष्टिको भूमिकाले स्त्री जातिलाई हानिकारक सम्बन्धको बन्धक बनाइदिन्छ । यसरी संस्कृतिको ढोंग ओढेर अधिकारको हनन गर्ने प्रवृत्तिमा नयाँ नारीवादी आयामले लैङ्गिक विभेदलाई उठाउँदै पराकाष्ठामा पुर्याउनु यो युगको आवश्यकता हो ।

तिम्रो कथा अब सुरु हुन्छ । मानौँ, कुनै राजमार्गमा एउटा गाडी गुडिरहेको छ । त्यस गाडीभित्र एक दम्पती छन् । गाडी कुदाउँदै, श्रीमान एउटा भविष्य देखिरहेको हुन्छ । ऊ जिम्मेवारीहरु सम्हाल्ने छ, ऊ आफ्नो घरलाई सुखमय बनाउने छ, आफ्नो आम्दानी बढाउने छ, आफ्नो परिवारलाई सुरक्षित राख्ने छ, इत्यादी । त्यसैको छेउमा श्रीमती हुनेछे जसलाई आफ्नो पतिको बाटोमा पाइलाहरुको नक्कल गर्दै हिड्नुपर्ने छ । तर त्यस सडकको अन्तराल बाहेक उसलाई एउटा साँघुरो गल्लीको यात्रा पनि पार गर्नु छ । उसलाई मुटुभरिको काँडा उखेल्दै खुला आकाश भेट्टाउनु छ, उसको निजत्वमा लागेका घाउहरु पुछ्नु छ । र उसको जिजीविषाको इन्द्रेणी बनाउनु छ ।

तिमीले भनेको जस्तै त्यो एक थप्पडले कैयौं आवरणलाई डगमगाइदियो र तिमीलाई एउटा वास्तविकताले प्रहार गर्यो । त्यो आवरणको नाम `प्रतिबद्धता´ थियो । वैवाहिक सम्बन्धलाई सुमधुर र परिपक्व बनाउने लहरमा, तिम्रो हागाँपनि बाहिर निकै मौलाएको देखिन्थ्यो । तर त्यो थप्पडपछि मात्र गलत धारणा र असमझदारीले पछ्याइरह्यो । त्यस सार्वजनिक हिंसालाई सबैले सामान्य ठानेर पचाइदिए । जसरी पचाइन्छ यहाँ आवर्तन भइरहने यौन दुर्व्यवहार र शारीरिक हिंसाको घटनाहरु ! जहाँ पिडित मानसिक असरबाट सम्पूर्ण पराङ्मुख भइदिन्छन् ।

बिहान सधैँ खोल्ने गरेको पर्दालाई यथावत् छोडिदिनु तिम्रो उल्झनको पहिलो बिम्ब थियो । हामी सबै एउटा कायरतासँग जेलिई रहेकाछौँ अमृता । हामीले विद्यालय र कार्यस्थलमा अवसरहरु त पायौँ तर हाम्रो मौलिक इतिहास, भाषाको विशिष्टता र संघर्षको सम्मान समाजमा उजागर हुन बाँकी नै छ । हामी त्यहीँ पुग्यौँ जहाँ पहिला पुरुष थिए, त्यही सिक्यौँ जे तिनले सिके । हाम्रो विचारशीलताको कोमल अभिव्यक्तिमा हामी कृतज्ञ छौँ र मातृभावको करुणा हाम्रो यथार्थ पनि हो । यस कुराको विपरीत हाम्रो इतिहासमा केवल दमन र उत्पिडनको गाथा समावेश भयो । नारी पात्रलाई अपूर्ण र कमजोर देखाउने र पुरुष पात्रलाई सधैँ मान्य, उत्कृष्ट र त्रुटीहिन बनाउने प्रचलन बढ्न थाल्यो । तसर्थ, एउटा प्रेमिल र आदर्श सम्बन्धमा पुरुषले हात उठाउनु, बल प्रयोग गर्नु, निर्णयको समस्त स्वामित्व स्वयंले लिनु इत्यादी उसले आफ्नो प्रेमलाई महत्त्वपूर्ण ठानेको मानिन थाल्यो । महिलाको इमानदारी सधैँ यस्तो व्यवहारहरुलाई स्वीकार गर्नुमा निर्भर भएको चित्रण गरियो ।

यस्तै कुप्रथा र सस्तो लोकप्रियताको प्रतिकार गर्दै तिमीले उग्र र अवाञ्छित घटनाले ल्याउने भावनात्मक विकारलाई हामी सामु छरपष्ट पारिदियौ । हामीले दैनिक सुनिरहेको, देखिरहेको, भोगिरहेको र भोगाइरहेको यस विभेद र असमान तर सामान्य बनाइएको व्यवहारलाई एकपटक फेरि छानबिन गर्न सिक्नु जरुरी छ । आफ्नो चेतनालाई सामान्य घटनाहरुप्रति पनि दूरदर्शी बनाएर काम गर्नु र अधिकारको सही उपयोग गर्नु पनि तिम्रो यो निर्भिक कदमको सन्देश बुझेकी छु मैले ।

यसरी जोकोहीले नकारात्मक गतिविधिलाई पितृसत्ता र लैङ्गिक भेदद्वरा स्थापित नियम र संस्कारहरुको आड लिएर व्याख्या गर्नुभन्दा त्यहाँ रहेको खोटलाई सुधारेर संवेदना र मानवतालाई प्रवल बनाउने बाटो खोज्नु उपयुक्त होला । हामीसँग कसैको अस्तित्वलाई नियन्त्रण गर्ने कुनै आधार वा हतियार छैन । न हाम्रो सम्मानित जीवन बाँच्ने अधिकारलाई कसैले खोस्न नै सक्छ । तिमीले भनेको जस्तै `जिस चिजको जुड्कर रख्ना पडें, वो टुटा हुवा ही है ना ?´ कुनैपनि मान्यता वा नियम आफ्नो व्यक्तिगत स्वतन्त्रताभन्दा महत्त्वपूर्ण हुँदैन ।

~तिमी जस्तै कोही !

Amrita | Taapasee Pannu | Character of Thappad Movie

Amrita | Taapasee Pannu | Character of Thappad Movie

Facebook Comments

You may also like

error: Content is protected !!