कपटी प्रियतमलाई चिठी

लाइब्रेरीबाट सुरु भएको हाम्रो दुश्मनी, थाहै भएन कहिले मित्रतामा बदलियो र कहिले प्रेममा बदलिएछ ! तर अफसोस्, अव्यक्त हुँदाहुँदै तिमी मलाई छोडिराखेर टाढा गयौ । कति टाढा ? भन्न नसकिनेगरी टाढा ! तिम्रो निर्गमनको वर्षौंपछि आज, तिम्रै नाममा यो पत्र लेख्दै छु । थाहा छ, ढिलो भएको हो, अति नै ढिलो र अब त औचित्यहीन पनि ! औचित्यहीन ? तर जब म श्वास फेरिरहिछु भने, अर्को एउटा निर्अर्थकता कुन आपत्ति हो र ? र आखिर हो नै भनेपनि के फरक पर्छ, र कसलाई ?

क्यामपसको लाइब्रेरीमा एउटै मात्र बाँकी बसेकी ‘अनुराधा’… बसेकी अनुराधा ? हो, बसेकी, किनभने मलाई यो उपन्यास, नाइँ नाइँ उपन्यासपनि भन्दिनँ, उपन्यासिका ! अर्थ पृथक होलान् तर किन हो खै, उपन्यास भनिरहँदा पुलिङ्गी र उपन्यासिका भनिरहँदा स्त्रीलिङ्गी भान भएर आउँछ । आकाश, विकास, प्रकाश भनेझैं उपन्यास र आशिका, विनिता, प्रतीक्षा भनेझैं उपन्यासिका ! यस्तै कुरा तिमीसँगपनि गरेथेँ तिमी खुब हाँसेका थियौ, त्यतिबेला त क्यामपसछेउको रश्मी दिदीको चियापसल थर्किने गरी ! सम्झिन्छौ ? रश्मी दिदी तिमीले अरुका कुरा उडाइदिन हाँसेको हाँसोलाई समेत उडाइदिँदै भन्नुहुन्थ्यो, ‘भाइको हाँसोले त मेरो मट्टितेल बचाइदिने भो, बसाल्न नपाउँदै चिया उम्लिन थाल्छ ! अल्लि बिस्तारो हाँस मोरा !” अहिले चाहिँ कत्तिको हाँस्छौ नि कपटी ? त्यतिबेला दिदीको चियापसलको कुना कुनाभरि गुञ्जिने हाँसो यतिबेला भने मेरो आँखाभरि, कानभरि र मनभरि गुञ्जिबस्छ ! अधर र आँखाले एकसाथ आफ्नो धर्म निभाउनु सधैँ संयोग मात्रै नहुन सक्दारहेछन् । र संयोग नै हो भनेपनि, संयोग सधैँ मिठो नहुँदोरहेछ !

कपटी, हेर न, म कहाँ पुगिछु ! अँ, म हाम्रो दुश्मनीको पल सम्झिँदै थिएँ । लाइब्रेरीको एउटा कुनामा एकलौटी राज गरेर बसेकी अनुराधाको लागि हामी खुब बाझेका थियौँ है ? म कति जिद्दी है पहिल्यैदेखि ? तर तिमी पनि त, कम कहाँ थियौ ? हाम्रो लडाइँ हेर्न पूरै क्यामपस लाइब्रेरीमा जम्मा भएको, सम्झिन्छौ ? हरेक कक्षाबाट २/२ प्रतिनिधी त कसो थिएनन् होला ? अनि, त्यो रमिताको सबसे ऐतिहासिक पल, जसबारे रमितेहरू हाम्रै साथीभएर पछिसम्म कुरा गरिरहन्थे नि, त्यो मेरो बहुलठ्ठीपनको ! तिमी रिसाएर, तर्सिएर गयौ भनेर म कति गौरव महसुस गरिरहेथेँ । सबैजना मेरो नामको जयजयकार गरिरहेथे । तिमी भने आफ्नो दाहिने नाडीमा मेरा दाँतहरूको डाम बोकेर त्यहाँबाट हरुवा साबित भएर निस्कियौँ । म कत्ति खुशी भएकी थिएँ त्यतिबेला । त्यसपछि त क्यामपसमा मसँग आँखा जुधाउन पनि कसैको हिम्मत हुन्न थियो । विशेषगरी केटाहरूको, भर्याङमा बसेर जो, केटी देख्नासाथ आँखा झिमिकझिमिक पार्न थलिहाल्थे ।

तर, यो कस्तो विरोधाभास हेर न । त्यो दिनको लडाइँमा जित्दा म जति खुशी भएकी थिएँ, त्योभन्दा लाखौं गुणा ज्यादा खुशी म त्यो दिन भएकी थिएँ जुनदिन जिन्दगीले मेरो खल्तीमा आफूभन्दा भयानक चोट खसालिदियो । त्यस दिन पनि म रुवाइकाबिच मुस्कुराएकी थिएँ । मेरा आँखामा आँसु, गलामा फुट्न नसकेको भक्कानो, काँपिरहेको ओठमा मुस्कान र थरथराइरहेको हातमा फोटो थियो, तिम्रो नाडीको । जुन नाडीमा मेरा दाँतहरूका डाम आलै देखिन्थे । मैले च्यात्न नसकेर कच्याककुचुक पारेर फ्याँक्नै लाग्दा जब पछाडि लेखिएको पाएँ- “अनुराधा मेरी हो, मेरी !” र सँगै जोडिएको एउटा रातो पान, रातो डटपेनले कोरिएको ! यो सब देखेर म स्थितिको मर्मबाट क्षणभरलाई विच्छेद भएकी थिएँ । र जब होस् आयो, मैले यो कुरा विश्वास नै गर्न सकिनँ कि तिमी गयौ । मलाई लागि नै रह्यो तिमी आउँछौ । पक्का आउँछौ । ती तिमीले तबसम्म मसँग नभनी लुकाइराखेका यावत कुराहरू भन्नलाई मात्र भएपनि आउँछौ । र मेरोपनि त जुटिसकेको थियो हिम्मत अब त । छुच्चोपनभित्र मैले लुकाएर राखेका ती प्रेमिल भावनाहरू तिम्रा सामु छताछुल्ल पोख्नका निमित्त ममा पनि तब फुटिसकेथ्यो धैर्य, पानीको फोका फुटेझैं ।

मलाई बहुलाई भन्ने सोचेका रहेछन् सबैले जब म त्यो वियोगको भयानक घडीमा हाँस्दै र रुँदै त्यो तिम्रो रक्तिम नाडीको फोटोलाई आफ्नो छातीमा टाँस्दै चिच्याउँदै रहिछु- “कपटी ! कपटी ! असाध्यै कपटी !” त्यो दिन, मलाई लागेको थियो, मैले तिम्रो अभिमानलाई जितेँ, तर तिमी कपटीले कहाँ थाहा दिएछौ र मलाई मेरो असली जित, कि मैले त्योभन्दा ज्यादा कत्ति कत्ति ठूलो; तिम्रो मनलाई पो जितेकी रहिछु । त्यो पनि नाडी टोकिदिएर होइन, बरू त्यसपछिको डायलगले ? “अनुराधा मेरी हो, मेरी !” अन्तिमसम्मै तिमीले मलाई लेस्बियन भन्न छाडेका थिएनौ । मलाई लाग्थ्यो, कतै तिमी मलाई यथार्थमै पो लेस्बियन सोच्दा हौ । तर, तिम्रो हृदयमा त्यसको मतलब भिन्नै रहेछ । त्यति मात्रै पहिला जानेकी हुन्थेँ भनेपनि सायद, उघारिसक्ने थिएँ मैले तिमीप्रतिको आफ्नो व्याकुलाको पर्दा, पागलपनको बुर्खा ! तर, प्रिय कपटी मान्छे, तिमीले न आफै केही भन्यौ न कहिल्यै मलाई मौका दियौ केही भन्ने ! कपटी, एकपटक मात्रै भएपनि, आइदेऊ न फर्केर । मेरो अविश्वासलाई सहि साबित गरिदेऊ, कि तिमी कतै गएका छैनौ, मलाई छोडेर ।

प्रिय कपटी,
मलाई किन सधैँ यस्तो लाग्छ, कि तिमी आउने छौ एकदिन त्यही लाइब्रेरीमा, र मेरो दाहिने नाडी पकडेर उस्तै गरी तिमीपनि चिच्याउने छौ- “अनुपमा मेरी हो, मेरी !” र तिम्रा शब्दहरू मेरा छातीबाट गाढिएर भित्रै मुटुसम्मै पुगेर डामिने छन् र म जल्नेछु तिम्रो मायाको आगोमा ! र मपनि देखाउने थिएँ तिमीलाई आफ्ना ती सबै नैसर्गिक स्त्रीगुणहरू ! जो आजसम्मपनि कौमार्य जिउँदो राखेरै तिम्रो प्रतीक्षा गरिरहेछन् । मभित्रकी स्त्रीलाई थाहा दिन मन लाग्दैन मलाई, कि आज म ५३औं वसन्तमा छु भनी । हो, कपटी ! तिमी मभित्रै हावी हुन थालेको आज ३ दशक बढी भइसकेछ । हेर न, मपनि थाहै नपाई कपटी भइसकिछु तिमीजस्तै ! थाहा दिन मन लाग्दैन यो मभित्रकी बूढी कुमारीलाई कि तिमीले उसलाई नचिनेरै, नभेटेरै, नछोएरै बेवारिस छोडेर गएको आजबाट ठिक ३१ साल बितिसकेको छ । के कम मपनि तिमीभन्दा ? मपनि भइदिन सक्छु कपटी र गरिरहन सक्छु कपट आफैसँग कि म उही २२ वर्षकी कलकलाउँदी अनुपमा हुँ जो आजपनि बेवारिस पर्खिरहेकी छे तिमीलाई रश्मी दिदीको चिया पसलमा ! तिमी; जो मलाई “यहीँ बसिराख दाँत तिखारेर । म नआउञ्जेल राम्री राम्री अनुराधा हेरेपनि हुन्छ !” भनिराखेर दौडिएका थियौ, बाटोपारिकी मकै आमाकहाँ ! त्यसको १० मिनेटसम्म तिमी नआएपछि, कत्रो राँकोले रन्थनिएर निस्किएकी थिएँ म सेलाएको दुवै गिलास चियालाई अलपत्र छोडिराखेर । ढोकामा पुग्दा रश्मी दिदीले सडकतिरको भिडलाई देखाउँदै भनेकी थिइन्, “के भएछ ? किन भिड जम्मा भएछ !” र म यतिसम्म कपटी भइदिएकी छु कि पलपल मेरो मथिङ्गलमा प्रतिध्वनित भइरहने त्यो आफ्नै आवेगको आवाजपनि म नसुनिदिने गर्छु- “मर्यो होला नि कुनै ! काल आएर !”

प्रिय कपटी,
देख्यौ ? म तिमीभन्दा कत्ति गुणा कपटी हुनसक्ने रहिछु ? भन न, कहिले आउँछौ मकै लिएर ? अनुपमा मेरी हो भन्न कहिले आउँछौ ? मेरो अविश्वासको ढोङलाई साँचो साबित गर्न, मलाई जिताउन कहिले आउँछौ, भन न ?

उही तिम्री अनुपमा !
तिम्री फुलिसकेकीबसेकी
अनुपमा !

Facebook Comments

You may also like

error: Content is protected !!