इतिहासमा नलेखिएको चिठी | SATURDAYकलम | Kavyalaya - काव्यालय

इतिहासमा नलेखिएको चिठी

उपत्यकाको मध्यबिन्दु विपरीत, एउटा बग्गी निरन्तर दक्षिणतर्फ प्रस्थान भइरहेको छ । बिस्तारै रातको प्रत्येक चरणमा परिवेश झनै दिव्यहीन हुँदैछ । एकल मुद्रामा घर्षणको आवाज र छेउका घरहरूमा सकिन थालेको मैनबत्तीको आयु – सृजनको अनुभूतिहरूमा यी ठोकिन आइपुग्छन् । बग्गीको झ्यालको पर्दा खुलेको छ । ऊ चाहन्थ्यो त पर्दा तानेर निरव अन्धकारसँग साक्षात हुन सक्थ्यो । ऊ चन्द्रमाको सुक्ष्म ओजलाई अवाञ्छित गर्न सक्थ्यो । तर ऊ गाम्भीर्यका साथ त्यहीँ निश्चल बसिरह्यो । बग्गी कुदिरह्यो र उसको सोचाइ श्रृङ्खलाविहीन पुगिरह्यो, अकृत्याको सामु ।

तीन वर्षअघि राज्यले शहीद घोषणा गरिदिएको अकृत्याको सामु ।

ऊ सोच्छ, यो शहरभन्दा, शहीदको नामावलीभन्दा, चिहानभन्दा अकृत्या उसको स्मृतिमा सबैभन्दा बढि तैनाथ छे । ऊ त्यस नामलाई ध्वनिद्वारा बिउँझाउन खोज्छ । तर ती काँपिरहेको अधरमै बिलाउँछ । अनि, आफ्नो छातीको समीप, ऊ त्यस नामलाई सुरक्षित राख्छ । शब्दहरूको कर्षभन्दा टाढा…..।

जुनेली प्रकाशमा यथोचित रहेका नव आवरण, नव ढङ्गका कार्यालय, नव प्रतिमा र पुराना भवनहरूलाई ऊ निहाल्न थाल्छ । अकृत्याको समयलाई उछेल्दै, उसको पदचिह्नलाई मेट्दै, उसको झझल्कोलाई बिर्सँदै ‘शहर’, व्यवस्था र आवश्यकतासँग मौलाउँदै वा बूढो हुँदैछ । अकृत्यालाई तीन वर्षअघि पन्छाइरहेको छ । तर यी बोधसँग उसको मानसिकता असहमत भइदिन्छन् । उसलाई लाग्छ, अकृत्या यहीँ छे, यो गल्लीको अन्तिम कुनामा, गृहालयको भित्ता पछाडि, सखीसँग घर फर्किरहेकी, कतै बसेर शहर निदाएको हेरिरहेकी छे ।

अकृत्याजस्तो योद्धाको तलवारको आडमा फर्फराइरहेको सभ्यता, सुनौलो भइरहेको बिहानी र सम्पन्न भइरहेको हरेक दिन ।

 ऊ महसुस गर्छ, उसको कोसिसबाट कुनै तत्व छुटेर गइरहेको छ र ऊ मात्र अदृश्य यात्रा गरिरहेको छ । त्यो शुन्यतालाई भर्न ऊसँग कुनै जिजीविषा छैन । यी अपरिहार्य भोगाइ हुन् ।

अस्थायी बासगृह अघि बग्गी रोकिन्छ । बगैँचा, द्वार र कोठासम्म सबै शान्त देखिन्छ । ऊ सरासर आफ्नो कोठामा जान्छ । ओछ्यानमा आफूलाई बिसाउँछ । ऊ निकै बेरसम्म निदाउने विफल प्रयास गरिरहन्छ । उसको आँखा उल्लुका जस्ता अन्धकारमा केही सापेक्ष खोज्न थाल्छन् । उसलाई लाग्छ, ऊ कुरिरहेछ मात्र कुरिरहेछ कि उसको खिरिलो छातीमा कुनै न्यानोपन पसिदियोस्, उसको कलाकारको जस्तो हात कसैले थामिदियोस् । उसलाई तिर्सना लाग्छ मानव ध्वनि र मानव सम्बन्धको । ऊ आफ्नै शरीरसँग विवश हुन्छ। उसलाई आफ्नै सचेतताले हतप्रभ बनाइदिन्छ।

 बिस्तारै यी आभास पनि सेलाउँदै जान्छ । जो मृत्युको गर्भमा पसिसक्यो, तिनको यहाँ के प्रयोजन ? खरानीबाट के कोही पुनर्निर्माण हुन सक्छ ? कतैबाट मसिनो धुन भित्तालाई चिर्दै आइपुग्छ । सृजनलाई लाग्छ, संगीतको अन्तिम अन्तरा धिमा गतिमा गुञ्जिरहेको छ । उसका आँखा प्लावित हुन थाल्छ । ऊ आफ्नो परेली कसिदिन्छ।

 प्रभातको किरण सृजनको अनुहारमा टलपल गरिरहेको छ । भित्री झ्यालको सिसाबाट ऊ बगैँचामा खेलिरहेका दुई बालमाथि दृष्टिपात गरिरहेको छ । आफ्नो निर्णयमाथि दृढ हुने कोशिश गर्दै ऊ शारीरिक मोहोडालाई केही कायम बनाउँछ । ऊ सम्झन्छ, तीन दिनदेखि शहरमा सङ्कल्पहीन हिँड्नु, अकृत्याको पत्र पाउनु र बस् लामो अन्तरालपछि पर्खाइको अन्त्य ।

ती बच्चा जो बगैँचामा उन्मुक्त खेलिरहेका छन्, ती बच्चा जो कर्तव्यबाट अनभिज्ञ पातपतिङ्गरमा रमाइरहेका छन् । ऊ चाहन्छ कि ती उसको नजिक आऊन्, उसलाई आश्वस्त पारून्, उनीहरूसँग सामेल गराऊन् । फलतः ऊ कहीँ पूर्ण आनन्दित होस् । पीयूष पनि अब त किशोर भइसकेको थियो । ऊ पीयूषमा केही या त सायद कोही नै पनि, खोजेझैं गर्छ । 

खैर,
खुला द्वारबाट कसैको पदचाप सुनिन्छ । द्वारछेउ उभिएको कलाकार अर्थात् उसको मित्र शीतल आवाजमा बोल्छ, “यात्राको बन्दोबस्त भइसक्यो। हामी तिमीलाई नै कुरिरहेका थियौँ ।”

कलाकार मित्र वृक्षको समान निश्चल त्यहीँ उभिरहन्छ । सृजनको कण्ठ रुग्ण हुन थाल्छ । हातलाई मुठ्ठी बनाउँदै र आँखामा स्फूर्ति एकत्रित गर्दै ऊ बोल्छ, “म अब यहीँ बस्छु । यही मेरो ठेगाना हो ।”

आफ्नो बोलीको प्रभाव ऊ कलाकारको भावाकृतिमा ठम्याउन खोज्छ । सुरुवातमा कलाकारको अनुहारमा भय सञ्चित हुन्छ तर लगत्तै त्यसमा स्नेहाश्रुको झलक मिसिन्छ । कलाकार सृजनको नजिक आउँछ र उसको देब्रे काँधलाई समात्दै अङ्कमाल गर्छ । दुवै पुरुषका आँसुमा आत्मीयता र विछोड मिसिन्छ ।

कलाकार सम्हालिँदै बोल्छ, “म यात्राको हरेक स्थललाई आफ्नो उमेरको केही टुक्रा दिनेछु । तीमध्ये एक टुक्रा बाँड्न म तिमीसम्म फेरि आउने छु ।”

 दुवै एकअर्काको आडमा केही क्षण कटाउँछन् । कलाकार बिदा माग्छ । सृजन ऊ गएको दिशातर्फ एकछिन नजरले पछ्याउँछ । बाहिरबाट घोडामा सवार भइरहेको बाँकी टोलीको आवाज सुनिन्छ । तर उसलाई बिदाइको कार्यप्रति वितृष्णा छ । त्यसैले, सवारी अघि बढेको सङ्केत नपाएसम्म ऊ त्यहीँ तैनाथ रहन्छ । आफ्नो कोटको खल्तीबाट पट्याएको पत्र झिक्छ । ऊ एकपटक कोठालाई निहाल्छ । उसलाई सबै सामान्य लाग्न थाल्छ । ऊ दराज खोल्छ र एउटा कलात्मक सन्दुकभित्र त्यस पत्रलाई राखिदिन्छ ।

बगैँचामा क्रिडामग्न बच्चाहरूद्वारा उसको एकाग्रता भंग हुन्छ । उसको पैताला सुस्तरी कोठाको संघार नाघेर खुला जमिनतर्फ लम्कन थाल्छन् ।

 ***

प्रिय सृजन,

तत्काल, रात सतर्क हुँदै श्वास फेरिरहेको छ । युद्धको भिषण वास्तविकताले निन्द्रालाई हस्तक्षेप गरिदिएको छ ।

राज्यको आदेशमा भोलि हामीले यथाशीघ्र आफ्नो प्राणलाई युद्धभूमिमा होमिदिनु पर्नेछ । `भोलि´ मेरो निमित्त सबैभन्दा बढी सन्दिग्ध शब्द हो । त्यसैले, म विगतप्रति कृतज्ञ छु ।

 तिमीले भनेका थियौ, म शान्तिको प्रतिक हुँ । म बिनापूर्वसंकेत बार्दलीमा आइपुगेकी थिएँ । मेरो पैतालाबाट पाउजुको छनक सुनिँदैन । मेरा नाडीमा चुराहरू ठोक्किँदैनन् । तिमीले भनेका थियौ, मेरो नजर तिक्ष्ण छ, तिनमा उद्भाव झल्मलाउँदैन । मेरो मौनतासँग तिम्रो सुसेलीको परिचय भएको थियो । यो एकान्तमा म फेरि तिम्रो उपस्थितिको आभा बिउँझाउन चाहन्छु । म फेरि तिनै सम्बन्धमा आश्रित हृदयमा उद्भावनाहरू खेलाउन चाहन्छु । नत्र यी मौनता, तुफान बनिदिन सक्छन् । यी मौनता, अँठ्याउने छाया बनिदिन सक्छन् ।

तिम्रो लागि मेरा प्रश्नको लहर कहिल्यै समाप्त भएनन् । तिमीप्रतिको उत्सुकता प्रतिक्षण बढिरह्यो । सायद, यस कारण कि हामी एकदम विपरीत दिशातर्फ लागेका छौँ – के तिमी साच्चै आफ्नो संगीतको अन्तराबीच कतै समाहित हुन सक्थ्यौ ? के तिमी कुनै कथाको विशेष पात्र जस्तै थियौ ? के तिमीलाई ज्ञात छ कि तिम्रा कति प्वाँखहरू गलित भइसके ? के तिमी सामान्य दिनचर्याको सुखानुभूतिमा हराइरहेका छैनौ ? जहाँ जहाँ मेरो सरुवा हुन्थ्यो, म त्यहाँ तिमीलाई भेट्ने कामना गर्थेँ । बस्तीको भिडमा, संग्रहालयमा, मन्दिरमा, जंगलमा, संगीतगृहमा तर तिमीसम्म पुग्ने मसँग कुनै सुत्र थिएन । तिमी जता पनि भेटिन सक्थ्यौ । तर, तिमी कतै भेटिएनौ । मलाई थाहा छ, सुनको चरीलाई पिंजरामा थुनिदिनु जीवनविरुद्धको अपराध हो । तर, तिम्रो झलक पाउने आकांक्षालाई भने, मैले दबाउन सकिनँ ।

 सृजन, तिमी यथार्थ र भ्रमबीचको मसिनो धर्सा हौ । तिमीलाई प्रेम गर्छु भन्नु पनि व्यङ्ग्य जस्तो लाग्छ । प्रेम- मेरो निम्ति आरुको रुखमा दुई परेवा मिलेर सजाएको गुँड जस्तो थियो । हामीले त एकअर्कालाई स्पर्शसम्म गर्न पायौँ । रात केही क्षण साक्षी बसिरह्यो, त्यसपछि बिहान केवल खालीपन.. तिमी बसेनौ । 

 जब त्यस बिहान तिमी फर्कियौ, मैले सेनामा आवेदन पठाएँ ।

 आफ्नो अस्तित्व र भाग्यलाई आफ्नै हातमा लिनको निम्ति मैले पहिलोपटक तरबार उठाएकी थिइनँ । मलाई ज्ञात छैन हजुरबुबाले किन मलाई उहाँको दिक्षाको सामर्थ्य ठान्नुभयो । उहाँका नातिहरू मभन्दा निकै कर्मशील र परिश्रमी थिए । जसका अघि म सधैँ नतमस्तक रहन्थेँ । उनका सहायता पाउनु नै म पर्याप्त ठान्दथेँ । मेरो शारीरिक संगठन पनि कमजोर नै थियो। त्यस बखत मसँग भविष्यका लागि कुनै प्रयोजन थिएन । म केवल घर, गोठ र बारीका गतिविधिमा सिमित थिए । सायद, यी नै प्रमुख कारणहरु थिए जसले मेरो हजुरबुबालाई मेरा अघिल्तिर बाँसको तलवार तेर्साएर मलाई, “सिक्छौ ?” भन्न प्रेरित गर्यो । मैले सहजै त्यस तलवारमा आफ्नो प्रतिबद्धता जोडिदिएँ । मेरो बाल्यकालको त्यस आकस्मिक घटनालाई कहिलेकाहीँ म मस्तिष्कभरि फिजाएर केलाउन बस्छु । त्यसबेला मभित्र कस्तो अन्तर्ज्ञान थियो ? कुन रुमानी ख्याल थियो ? कस्तो तरङ्ग थियो ? कस्ता शुभेच्छाहरु थिए ?

यद्यपि मैले मेरो मार्ग भेट्टाएकी थिइनँ । म मात्र हजुरबुबाको अनुसरण गर्थेँ । उनको समयतालिकामा अभ्यास गर्नु, पाठ सिक्नु, निष्ठावान रहनु, सुत्नु, उठ्नु इत्यादीमै म आवद्ध रहिरहेँ । ती प्रशिक्षणका दिनहरूमा मेरो बेग्लै संसार संरचित भएका थिए । हजुरबुबा र म गुरु-शिष्यझैं तलवारको शास्त्रमा समायुक्त थियौँ । उहाँ अस्त्रशास्त्रमा पारङ्गत भइसक्नु भएको थियो । तर बुढ्यौलीले गर्दा उहाँको कमजोरी प्रष्ट हुँदै गइरहेको थियो । आफ्नो थकान र तेजोहरणलाई जतिसुकै लुकाउने प्रयत्न गरे तापनि ती कहिलेकाहीँ निकै प्रदर्शित भइदिन्थे । मेरो शिक्षाको ६ वर्षपछि उहाँ ओछ्यानमै बाँधिनु भयो । त्यस ग्रस्त अवस्थामा उहाँलाई देख्दा म निकै आतंकित हुन्थेँ । अभ्यास छुटेपछि, एक प्रकारको टाढापन हामीबीच झ्याम्मिएको थियो । जब उनको छाला इन्द्रिय संवेदनाबाट छुत भएझैं लाग्थ्यो, जब उनको अनुहार संसारिक विषयबाट हटिरहेझैं लाग्थ्यो, म विचलित हुन्थेँ । मैले सधैँ प्रगाढ देखेको कुनै वस्तुको अवस्था यति शिथिल देख्दा, मलाई उनको त्यस दृश्यलाई स्वीकार गर्न निकै कठिन भइरह्यो । म सदैव उनलाई आदर्श मान्थेँ र त्यही सम्मानलाई जोगाउँदै मैले घर छोडिदिएँ । तर, म भ्रममा थिइनँ । केही महिनापछि नै उनको मृत्युको खबर शहरमा आइसकेको थियो । कहिलेकाहीँ ग्लानी लाग्छ, उनलाई मैले बिदाइ गर्न पाइनँ ।

शहरमा मैले एउटा सामन्तको छोरालाई अस्त्रशास्त्र चालनको ज्ञान दिने रोजगार पाएँ । तिमीले सायद त्यस सामन्तको छोरो पियुषलाई बिर्सिएका छैनौ । तीन वर्षीय शिक्षाको सहमतिमा म त्यहीँ आश्रित रहिरहेँ । जब त्यस संगीत समारोहमा पहिलोपटक तिमीले अन्धकारमा मलाई देख्यौ, त्यस बखत म त्यस घरको छत्रछायाँमा पाहुना भएर दिन काट्दै थिएँ । मेरो रोजगारको अवधि समाप्त भइसकेको थियो । मसँग कुनै पनि नवकार्यलाई आत्मसात गर्ने किमार्थ सौर्य थिएन । तिमीजस्तै म पनि स्वच्छन्द थिएँ ।

तिम्रो धुन किन यति विघ्न व्यक्तिगत हुन्छन् ? किन त्यसमा कुनै आग्रह छैन ? जब तिमी मञ्चमा विणासँग प्रकट भयौ, तिमी केही पलमै हामीबाट निकै टाढा पुगिसकेका थियौ । तिमी माधुर्य लयमा परिवर्तित भएर परिवेशमा तथा परिवेशभन्दा पर कतै मैले ग्रहण गर्ने नसक्ने रसतर्फ बढिरहेका थियौ । मेरो सारा शरीर तरङ्गित भइरहेको थियो । मेरो मस्तिष्क विस्मयमा, मात्र तिमीलाई कतै अर्थ्याउन एकचित्त भइरहेको थियो । त्यस धुनमा मानौँ, तिमीले आफ्नो सारा लिला प्रस्फूटित गरिरहेका छौ । तर, ती सामान्य प्रसंगहरू थिएनन् । त्यसमा केही रहस्यको तत्व थियो जोसँग खेलिरहँदा तिमी स्वयं पनि रहस्यमय बन्दै गइरहेका थियौ । यति आत्मिक थिए ती धुन कि त्यसबाट पूर्ण प्रेरणा लिन आफ्नो सार्थकतालाई कतै भूलिदिनु पर्थ्यो, आफूबाट केही अंशलाई त्याग गरिदिनु पर्थ्यो । ती उद्धर्षणभरि समय, हामी आफ्नै मौलिकता अनुरुप ग्रहण गरिरहेका थियौँ । तिमी जे अनुभव गरिरहेका थियौ, त्यो मेरोभन्दा वा सभामा उपस्थित अन्य जनको भन्दा बेग्लै थियो । गीतामा कृष्णले भनेझैं `प्रत्येक व्यक्तिले मलाई जुन प्रकारले पुज्ने छ, त्यसै प्रकारमा उसले मलाई पाउने छ ।´ मलाई त्यस बखत समुन्द्रको किरानामा एक्लै हिँडिरहेको क्षण सम्झना भएको थियो । तिमीलाई सायद प्राकृतिक वा दैविक मादकताले सम्मोहित गरिरहेको थियो ।

कता कता म भयवित पनि थिएँ, आखिर ती नौला अनुभव हुन् । आफ्नो प्रस्तुतिपश्चात जब तिमीले आफ्नो आँखा पूर्ण उघार्यौ, तिम्रो नजरले हामी कसैलाई पनि सञ्चित गरेका थिएनन् । त्यस बखत तिम्रा आँखामा आँसुको धार चहकिएको थियो । त्यसै क्षण म तिमीप्रति आकर्षणको पराकाष्ठामा पुगेकी थिएँ । ती आँसुले लिप्त अनुहारमा मैले कैयौं महत्त्वपूर्ण आभासहरू भेट्टाएकी छु । मलाई विश्वास थियो, तिमी देवत्वको सामु समर्पित भइरहेका थियौ । ती पललाई कुनै पनि शब्दले व्याख्या गर्न सकिँदैन । मलाई इर्ष्या लाग्छ तिम्रो त्यसै शैलीको, तिम्रो चरित्र र तिम्रो नैराश्यको । त्यो १ महिनामा तिमीले रंगीन बनाइदिएको मेरो १८ वर्षिय गुलाफी उमेरको । त्यसैले तिमीबाट म कहिल्यै पलायन हुनै सकिनँ । तिमी मलाई भेट्थ्यौ त देख्ने थियौ, कसरी मेरो अनुहारमा तिम्रो निशान अझ भेटिन्छ, कसरी म तिम्रो प्रसङ्गमा सङ्कोच मान्छु र सायद यो पनि देख्ने थियौ  कि कसरी म तिमीप्रतिको तिर्सना सँगालिरहेकी छु । 

म हेरक बिहान, आफूलाई एक बिरानो यायावरलाई मसम्म पुर्‍याउने कामना गरिरहेकी भेट्टाउँछु ।

कहिलेकाहीँ लाग्छ, म मा तिक्तता भरिएको छ, अक्षम्य पाप मेरो हातबाट सर्दै तलवारको कण कणमा मिसिन्छन् र तिनले बलिदान माग्छन्, सधैँ उस्तै प्राणको, उही तातो रगतको । तिम्रो निर्णयको घोर प्रतिक्षा अझै मभित्र टाँसिएको छ । म कहिल्यै पनि ती विणाझैं आफ्नो छातीलाई फैलाएर तिम्रो निख्खर संगीतमा अर्पण हुन सक्दिनँ । मेरो अहंकार तिम्रो  सृजनशिलताभन्दा निर्दयी छ । सामान्य जीवनस्तरबाट च्युत मेरा दिनहरू, जहाँ जोखिमको आहट सबै दिशाबाट सुनिन्छ, त्यहाँ म तिमीलाई कुनै पुरानो किताबभित्र छुटेको प्रेमपत्रझैं सम्झन्छु, जसलाई मैले कहिल्यै पूर्ण पढ्न नै पाइनँ ।

आजको निरस रातजस्तै भोलि अगम सूर्य उदाउने छ । हामी यहाँबाट जानेछौँ र यस कोठामा, जहाँ म आफ्नो हृदयलाई निचोर्न खोजिरहेकी छु, शब्दकोषलाई निखार्ने गरी आफ्नो भावलाई प्रस्फुटित गर्न खोजिरहेकी छु- मात्र यो आभास गराउन कि म तत्काल जिउँदो छु, र मैले तिमीलाई प्रेमजस्तै केहीमा सम्हालेकी छु, तिमीलाई सुरक्षित राखेकी छु । सृजन, तिम्रो विणाको माझबाट निस्किने इश्वरीय कम्पनलाई, मौनताभित्रको उत्पतिलाई के म अन्तिम श्वासमा महसुस गर्न सक्छु ?

योद्धाको परिणति युद्ध सकिसकेपछि तय हुन्छ । ऊ विजय भएर पनि हारिदिन सक्छ, ऊ हारेर पनि विजयी भइदिन सक्छ । उसको उद्देश्य सुरक्षा दिनु हो, सङ्कटको निवारण गर्नु हो । मेरो शक्ति मेरो राज्यप्रतिको दायित्वमा निहित छ । मैले यहाँको नागरिकको अधिकार र पहिचानको संरक्षण गर्ने अठोट गरिसकेकी छु ।

मैनबत्ती निर्वाणमा पुग्न लागेको छ । बाहिरको सरसराहटमा म हाँगाबाट छुटिगएको पातप्रति यसै उदास भइदिन्छु । इतिहास बनाउन इतिहासबाट कति व्यक्तिको नाम मेटाउनु पर्छ ? कति भूगोल समेटेपछि, कस्तो आर्थिक स्थायीत्वपछि, कति बस्ती धवस्त भएपछि, कति नैतिकता निकृष्ट भएपछि त्यसलाई गरिमामय बनाउन सकिन्छ ? सायद, म जस्तोको जिन्दगीपनि त्यहीँ परिमार्जित हुनेछ ।

सृजन, यस युद्धको युगौंपछि मानिसहरू संगीतको कलासँग विस्मृत भए भनेपनि, म विश्वस्त छु, तिम्रो विणावाट स्वर गुञ्जित भइरहेने छ, तिमी स्वर भएर गुञ्जिरहने छ ।

 योद्धा
अकृत्या

                                                                                    

Facebook Comments

You may also like

error: Content is protected !!