आऊ जाऊँ चिहानतिर

आऊ जाऊँ चिहानतिर

कति जानु प्रेमिकाको घरतिर ?
चिया पसलतिर ?
पुस्तकालयतिर ?
आऊ आज जाऊँ चिहानतिर
एक अद्भूत शून्यतातिर

केही प्रश्न छन् मनमा
जो साच्चिकै चिहानलाई गर्नु छ ।

जस्तो कि
कति युग भयो होला ?
क्रमशः आफ्नो छाती चिरेर
निदाएका मानिसहरुलाई
भित्र… निक्कै भित्र
प्रेमले लुकाउन थालेको !


कति जति असल मान्छेहरु
कति जति जाली-फटाहहरु
कति प्रेमी त, कति धोकेबाजहरु
कति गर्भहरु, कति गर्वहरु,
कति कविहरु
कति सिन्दुरहरु, कति विधुवाहरु
र कति वर्गमिटर जति राष्ट्रियताहरु, मानवताहरु
होलान् छातीभित्र?

धेरै बर्षदेखि मनमा
एक छत्र राज गरेको मानिसलाई
सानो भुल गरेको निहुँमा
हमेशाको लागि मिल्कायो भने
यदि कसैले
मनबाट चिहानतिर

चिहान, के तिमी फर्काउँछौ –
त्यो मानिसलाई त्यै मनसम्मै ?

अनि कि
तिम्रो छातीभित्र
ननिदाएका मानिसहरु लुक्न
पाउँछन् कि नाइँ ?

हेर न –
संसार यति साँघुरो भइसकेको छ कि –
डराएको बेला लुक्नलाई
मानिसलाई कुनै ठाउँ नै बाकी छैन।

अनि अर्को कुरा नि –
हरेक आमाले ठिक यसरी नै
आफ्नो सन्तानलाई छातीभित्र
प्रेमले लुकाउने गर्छिन्
जस्तो कि तिमीले
चिहान, के तिमी पनि आमा हौँ ?

अँ साच्ची,
मैले नबुझेको अर्को कुरा
किन तिमी सधैँ
एक्लै, उदास, मौन हुन्छौ, बस्छौ ?
के तिमी प्रेमी हौ ?

यी प्रश्नहरुको उत्तर
त्यतिखेर दिनु –
जतिखेर म ननिदाएर फेरि
एकफेर आउँछु ।

कारणवश: यदि निदाएर आएँ भने
उत्तरको साटो
प्रेमले मलाई तिम्रो छातीभित्र
लुकाइदिनु ।

मित्रहरु,
आऊ, फर्कौँ अब आ-आफ्ना घरतिर ।

र भोलिदेखि पुन: सुचारु गरौँ जान –
प्रेमिकाको घरतिर
चिया पसलतिर
पुस्तकालयतिर !

Dead Mother by Egon Schiele

Dead Mother by Egon Schiele

मौन प्रश्न

भर्खरै सफल भएको छ बाध्यता
मृत्युको हागाँमा झुन्डाउन-
एक सुस्केरा जिन्दगी !

उसरी नै सफल भएको छ एक जोडी आँखा
परेलीमा झुन्डाउन-
केही थोपा पीडा !

के ऊ यसरी आफुलाई झुन्डाउन सक्ला –
अस्तित्वको लहरामा ?
ऊ, अर्थात देशप्रेमी!
उसलाई भत्काउँदा
छातीमा भेटिनु पर्थ्यो-
पुर्खाहरुका गौरवशाली छातीहरु,
हातमा हुनुपर्थ्यो-
आमाहरुका न्याना र प्रेरणादायी हातहरु,
र बनिसकेको हुनुपर्ने थियो मस्तिष्कमा-
भविष्य हिड्ने बाटाहरु,
अँह, तर त्यस्तो केही भेटिएन!

बरु उसभित्र त भेटिए
इतिहासका भग्नावशेष खण्डहरहरु
जसभित्र जतनका साथ
राखिएका छन्-
देशले गुमाएका भूगोल र मदन भण्डारीहरु
प्रतिबन्ध लगाइएका गीत र कविताहरु
बलात्कृत निर्मला र न्यायहरु

जहिल्यै उसको छातीमा निर्धक्क ठडिएको हुन्थ्यो-
नहोचिने स्वाभिमानको सगरमाथा,
जहिल्यै उसको जिगरमा बलिरहेको हुन्थ्यो-
ननिभ्ने हिम्मतको दियो,
तर आज त्यो स्वाभिमानको सगरमाथा ढलेको छ,
र थिचिएर मरेका छन्
सपनाका कलिला दुबोहरु !
भर्खरै निभेको छ-
हिम्मतको एउटै दियो
र अन्धकारमय भएका छन्
उस भित्रका हजारौँ/लाखौँ आशले छाएका झुपडीहरु!

ऊ, अर्थात “जिन्दगी” नामको चराले
छाडेर गएको रुख र गुँड!
ऊ, अर्थात बगैँचाभन्दा करोडौँ माईल टाढा
कुनै भिरमा –
फुल्न नचाहेरै फुलिरहेको
फूलको सुगन्ध !

अर्थात बाँच्ने नाममा मरिरहेको
र मर्ने नाममा बाँचिरहेको
अत्यन्तै सिकिस्त बूढो बिरामी !

कदापी उसभित्र दन्किएको छैन-
क्रान्तिको मुस्लो,
उन्मुक्त छैन-
पिंजडा भित्रको स्वतन्त्रता,
हाँस्नु वर्जित झैँ छ,
बाँच्नु व्यर्थ झैँ छ,
प्रश्न उठ्ने छ
जरुर उठ्नु पर्छ
के ऊ अब आफुलाई झुन्डाउँला?

जरुर झुन्डिने छ एकदिन देशप्रेमी-
मृत्युको हाँगामा,
तर झुन्डिने छैन उसभित्रको देशप्रेम !

Red Suicide Rope from FreePik.com

Red Suicide Rope from FreePik.com

रगतको कविता

कविलाई कसैले सुनाई दिएको थियो-
वर्षौंँ पहिले
तुईनबाट खसेको
तर हिजो साँझ मात्र काठमाडौँ आइपुगेको
एक टुक्रा देउडा गीत,
कर्णाली भुलेर
बिहानैदेखि ठमेल बजारका
डान्सबारमा घन्किएको छ !

एउटी अबला नारीको
सिउँदोबाट सिन्दूर
घाँटीबाट मङ्गलसुत्र र पोते
नाडीबाट चुरा
खुट्टाबाट पाउजु
वक्षस्थलबाट स्तन
र टाङमुनिबाट योनी राखेर
सिंहदरबार भित्र/बाहिर
हाट बजार लागेको छ !

झन्डामा/हिमालमा/गुराँसमा
रुँदैरुँदै स्वाभिमान लेखिरहेछ –
त्यो गिद्ध त्यतै बाट आएको हो,
जताबाट घाइते परेवाहरु आएका थिए ।
हो साच्चै, मेरो देश डुबेको हो,
किनकी, देश बनाउनेहरु त्यतैबाट आएका हुन्
जताबाट एक अबला नारी नाङ्गै आएकी थिई !

यो सुनेर
कविको कलम यो हतसम्म धारिएको छ,
सजिलै रेटन सक्छ-
भ्रष्टाचारी घाँटीहरू !
एकै प्रहारमा टुक्राटुक्रा पार्न सक्छ-
बलात्कारी लिङ्गहरु !

सिंहदरबार पुग्ने बित्तिकै
कविले अन्तिम पटक लेख्ने छ-
रगतको कविता
र अन्त्य गर्ने छ
तेस्रो विश्वयुद्ध !

Image Source: May Pictures

Image Source: May Pictures

Facebook Comments

You may also like

error: Content is protected !!