कविशिरोमणिका तीन कविता | VINTAGEखोज | काव्यालय - Kavyalaya

कविशिरोमणिका तीन कविता

लेखनाथ पौड्याल (वि.स. १९४१ – २०२२) नेपाली साहित्यका छन्दोबद्ध कवि तथा नेपाली साहित्यको परिष्कारवादी धाराका थालनीकर्ता थिए । उनी ‘हलन्त बहिष्कार आन्दोलन’का समर्थक पनि थिए । उनलाई नेपाली साहित्यमा आधुनिक युगको जन्मदाता, आध्यात्मिक पुनर्जागरण ल्याउने तथा आध्यात्मिक मानवतावादी कविका रूपमा चिनिन्छ । वि.स. २००८ साल असार २९ गते पौड्याललाई राजा त्रिभुवनले कविशिरोमणिको पद र मासिक दुई सय रूपियाँ आजीवन भत्ता प्रदान गरेका थिए।

कवि शिरोमणि लेखनाथ पौड्यालको कवितायात्राको प्रारम्भ वि.सं. १९६१ सालमा प्रकाशित ‘कविता कल्पद्रुम’मा सङ्ग्रहित उनका दुई कविताबाट भएको पाइन्छ। १९६९मा प्रकाशित ‘लालित्य’ भित्र सङ्ग्रहित कविताले उनको प्रतिभालाई नेपाली समाजले अझ राम्ररी बुझ्ने र जान्ने मौका प्रदान गर्‍यो। यसपछि १९७० मा प्रकाशित उनको ‘शोक प्रवाह’ शीर्षकको शोक काव्य, १९७३ मा प्रकाशित ‘ऋतु विचार’ खण्डकाव्य र १९७३ मा नै प्रकाशित ‘बुद्धि विनोद’ शीर्षकको अर्को खण्डकाव्यले नेपाली कविता साहित्यलाई नै युगान्तकारी मोड दिन पुग्यो । नेपाली समाजमा उनको ख्याति दिन प्रतिदिन बढ्दै जान थाल्यो। उनी नेपाली कविता साहित्यको आधुनिक कालका प्रवर्तक मानिन थाले।

यसैबीच १९७६ साल जेठ २६ गते उनका बुबा दुर्गादत्त पौड्यालको निधन हुनपुग्यो । यसले उनको सम्हालिँदै गएको मनलाई फेरि अर्को झड्का दियो। उनले आफूलाई आफैँले बुझाए। यसै साल अर्थात् वि.सं. १९७६ सालमा नै उनको ‘सत्य-कलि संवाद’ शीर्षकको अर्को कृति प्रकाशित भयो। यो कृतिले पनि नेपाली कविता साहित्यको क्षेत्रमा व्यापक चर्चा पायो। साहित्य सिर्जनामा नै उनी निमग्न हुन थाले। उनले अनेकौं फुटकर कविताहरू रचना गरे। पुस्तकहरू लेखे। यसमध्ये ‘पिजराको सुगा’, ‘कालमहिमा’, ‘सत्य-सन्देश’, ‘जीवन-चङ्गा’, ‘गौँथलीको चिरिबिरि’ आदि कविता अविस्मरणीय बनेका छन्। त्यस्तै उनको प्रकाशित कृतिमध्ये ‘गीताञ्जली’ -१९८६), लक्ष्मीपूजा -नाटक-१९९४), ‘त्याग र उदयको युगल प्रकाशन’ -स्तुतिकाव्य-२००२,) ‘अमर ज्योतिको सत्य स्मृति’, -शोक काव्य-२००८), तरुण तपसी -नव्य काव्य -२०१०), ‘मेरो राम’ -खण्डकाव्य-२०११), अभिज्ञान शाकुन्तल-नाटक-२०१५), ‘भतर्हरि निर्वेद’ -नाटक-२०२०) र ‘गङ्गा गौरी’ महाकाव्य आदि अमर र अमूल्य कृति मानिन्छन्। राणाकालीन युगमा खुलेर साहित्य लेख्न पाइँदैनथ्यो। राम्रा सृजना पनि आगोमा झोस्नुपर्थ्यो या त स्रष्टाले चिसो खोरमा सुत्न जानुपर्थ्यो। त्यसैले, पौड्यालले जति लेखे धेरै लेखे। यसै प्रसङ्गमा उनी आफै भन्थे “मेरो समयमा त म एक्लो जस्तै थिएँ। त्यति बेला लेख्नु त पापै सम्झिइन्थ्यो। तर मैले त्यस्तो समयमा पनि लेखेँ नि !”

वि सं २०११ सालमा नेपाली शिक्षा परिषद्को आयोजनामा, पौड्यालकै शुभजन्मोत्सवको उपलक्ष्यमा, उनलाई रथमा राखेर उनको शोभायात्रासहित नागरिक, अभिनन्दन गरिएको थियो। यो काम गर्ने प्रमुख हस्ती थिए गोपाल पाण्डे असीम। साथै यस कार्यमा छाता ओढाउने काम चाहिँ महाकवि लक्ष्मीप्रसाद देवकोटाले गरेका थिए। त्यसैबेला देवकोटा र समले पौडयाललाई रथारोहण गराएका थिए। त्यस दिन पौडयालका हातमा जनअभिनन्दनपत्रका साथमा पाँच हजार रूपियाँको थैली पनि राखिएको थियो। त्यस घटनाको खुसीयालीमा पौड्याल रोएका थिए।

पौड्याललाई रथारोहण गराइएको विषयमा उत्तम कुँवरले लेखेका छन्, “२०११ पुस २० गतेको मध्य दिनमा जिउँदा कविलाई रथमा राखेर हजारौँ जनताले तँ छाड र म छाड गर्दै ठमेल सल्लाघारीदेखि टुँडिखेलको ऐतिहासिक खरीको बोटसम्म ल्याए। शिरोमणिका आँखामा आँसु थियो, जनता हर्षोल्लासमा चुर्लुम्म डुबेका थिए। नेपालको निम्ति मात्र होइन सारा विश्वकै निम्ति यो साँच्चै नै ठूलो ऐतिहासिक घटना थियो।”

पौडयालका मनपर्ने लेखक कालिदास थिए। उनका मनपर्ने अर्का स्रष्टा मैथीलिशरण गुप्ता थिए। साथै नेपाली भाषासाहित्यमा पौड्यालका मन पर्ने स्रष्टा लक्ष्मीप्रसाद देवकोटा र माधव घिमिरे थिए। लेखनाथलाई सबैभन्दा पहिला कविसम्राटको उपाधि लेख्ने पनि देवकोटा नै थिए। वास्तवमा पौड्याल आधुनिक नेपाली भाषासाहित्यका कविहरूका पनि कवि थिए । कवि शिरोमणि लेखनाथले त्यसबेलाको गोरखा भाषा प्रकाशिनी समितिनेपाल साहित्य परिषद् (अहिलेको प्रज्ञा प्रतिष्ठान)को सदस्यको रूपमा पनि आफ्नो सेवा अर्पण गरेका थिए। महाकवि देवकोटाका जोडले पौडयाल नेपाल एकेडेमीको पनि सदस्य भए। एकेडेमीमा पौडयाललाई नपढेको भनेर पढ्दै नपढेका राजा महेन्द्रले ल्याउन खोजेका थिएनन भन्ने भनाई छ; तर देवकोटाले राजालाई सन्देश पठाए “ती ऋषिकल्प प्राज्ञ नभएको ठाउँमा मैले खुट्टा टेक्न मिल्दैन।” त्यसपछि पौडयाल पनि सदस्यमा मनोनित भए । त्यस्तो सम्बन्ध रहेकोले , देवकोटाको अन्तिम स्थितिमा उनले “बरु कालले मलाई लगेर तिमीलाई छोडेको भए नेपाली साहित्यलाई धेरै सेवा पुग्ने थियो” भनेका थिए।

२०२० सालपछि उनको देब्रे आँखालाई मोतीविन्दुले ढपक्कै छोपेको थियो; त्यसैले उनी एउटा आँखामात्र देख्थे । २०२२ सालमा उनी तीर्थ गर्न बनारस लागे। तर भारतको रक्सौलमा पुगेपछि उनी थला परे। त्यसपछि उनलाई रातारात नारायणगढको नारायणीनदीमा ल्याइपुर्‍याइयो । अन्ततः २०२२ सालको शिवरात्री अर्थात् फागुन ७ गते,  ८२ वर्षको उमेरमा चितवनको भरतपुरस्थित देवघाटमा कविशिरोमणि लेखनाथ पौड्याल दिवंगत भए । उनलाई मरणोपरान्त वि सं २०२६मा प्रज्ञा प्रतिष्ठानले त्रिभुवन पुरस्कारद्वारा सम्मान गरिएको छ। उनको स्मृतिमा सरकारले हुलाक टिकट पनि प्रकाशित गरेको छ।

मौलिक कृति

ऋतु विचार (खण्डकाव्य) – १९७३
वुद्धिविनोद (कविताकृति) – १९७३
सत्यकलि संवाद (कविताकृति) – १९७६
सत्यस्मृति – २००९
मेरो राम – २०११
त्याग र उदयको सन्देश – २००१
गीताञ्जली (कविताकृति) – १९८६
तरुण तपसी (नव्यकाव्य) – २०१०
लक्ष्मीपूजा (नाटक) – १९९४
गौरी-गौरव (नाटक)
लालित्य (कविता सङ्ग्रह भाग १, २)
भाग २-२०२५ -गीतासागर – श्रीमद्भगवत गीताको भावसार
भर्तृहरि निर्वेद (राममणि आ.दी.का साथमा) वि.सं.१९७४
पञ्चतन्त्र (नेपाली अनुवाद)

काव्यालयले आफ्नो नियमति बुधबारीय अङ्कमा अग्रज कविहरूको तीन कविताहरू प्रकाशित गर्दै आएकोमा यस अङ्कमा कवि शिरोमणि लेखनाथ पौड्यालका कविताहरू सहित उपस्थित भएको छ । प्रस्तुत छ, कवि शिरोमणि लेखनाथ पौड्यालका तीन कविताहरू :

पिँजराको सुगा

बालक बबुरो द्विज शुकनामा, हुँ म परेको छू पिँजरामा ।
मकन हरे ! शिव शान्ति र चैन, सपनाबीच पनि रतिभर छैन ।।

मेरा बान्धव बाबु र आमा, बस्छन् वनका एक कुनामा ।
कोसित पोखू मनको ताप; गर्दै पिँजराबाट विलाप ॥

आँसु बगाई कहिले रून्छु, कहिले मुर्दातुल्य म हुन्छु ।
कहिले पागलसरि उफ्रन्छु, केवल वनका- सुख सम्झन्छु ।

फलफुल खाई नित्य रमाई, वनमा फिर्ने बबुरालाई ।
विधिले पार्यो पिँजराभित्र, कर्म हरे ! शिव ! हुन्छ विचित्र ।।

कति फिर्दो हूँ कति उड्दो हूँ, कति कति देशान्तर डुल्दो हुँ ।
देव ! हरे ! किन बालकलाई, बन्धन पायो व्यर्थ भुलाई ॥

शीतल पानी, कुञ्जनिवास, भोजन मीठो फलको खास ।
त्यो सब हुन गो आज विनाश, बाँकि छ एकै मनको त्रास ॥

हरिया वनको शीतल छाया. वान्धवसँगको मोह र माया ।
खेल्नू डुल्न फलफुल खाई, सपनामय भो हाय ! मलाई ॥

वृद्ध महातुर बाबा जननी, आँसु खसाली दीन बनी ।
नित्य बैदा हुन हाय ! विधाता, तोडिदियौ किन त्यो दृढ नाता॥

वरिपरि बैरीहरू छन सारा छैन कतैतिर कोहि सहारा ।
के गरूँ कसरी उम्की जाऊँ कोसित मनको दर्द बिसाऊँ ॥

यो सब गगनै भरमा खास. जसका हन्थे भोग-विलास ।
उसको अब हा ! जीवन पात्र, केवल सानो पिँजरा मात्र ॥

पिँजरा फोडू भनिकन चुच्चो, बलसँग धस्ता भो सब बुच्चो ।
बेसरी कुँजिए पक्ष र पाउ, कसरी अब हा ! काल बिताऊँ ॥

कहिले ठण्डी कहिले धूप, कहिले बकबक कहिले चूप ।
बालकहरूको मन अनुसार, हुन्छ निरन्तर भाग्य-विचार ॥

भाग्यतमाशा जब सम्झन्छु, अनि पछि सिल्लीतुल्य म हुन्छ ।
आँसु बहन्छन् छाती चिरिन्छ, चित्त निरन्तर रोइरहन्छ ॥

उठ्तछ मनमा घोर तरङ्ग, सबतिर हेरी हुन्छ भरङ्ग ।
प्राण नजाने काल नआई, के गरूँ कसरी बाँचू हाई ॥

खानु छ खाली तौली धान, त्यो पनि आधा पेट छ जान ।
हेर्दछु भाँडो पानी छैन, भोगिरहेछु यस्तै चैन ॥

शुष्क छ घाँटी बन्धन चर्को, बोल्नै पर्ने झर्को अर्को ।
बोलि नबोले लट्ठि उजाई, हुन्छ तयारी पिट्नालाई ॥

यौटा भन्दछ यो हो पाजी, अर्को भन्दछ यो छ विराजी ।
भन्दछ तेस्रो ‘आत्माराम, पढोपढ़ो जी ! राखो नाम’ ॥

यो कस्तो हो ? कसरी आयो ? बसिकन पिँजराबिच के खायो । .
यो सब बुझ्ने कोही छैन, हाय ! यसैले मन रहँदैन ॥

जीवन भी बन्धनभित्र, बोल्नैपर्ने बोलि विचित्र ।
तैपनि चारा आधा मात्र, देव ! रहेछौ करूणापात्र ॥

देव ! दिएथ्यो तिमिले एक, मीठो बोल्ने शक्ति विवेक ।
पाइरहेछु सोहीद्वारा, बन्धन, गाली. धम्की सारा ॥

मकन दिलाई संकट जेल, मानिस गर्ने कौतुक खेल ।
यो कस्तो हो पापाचार, दीनदयालो ! लाऊ पार ॥

गुणको वैरी मानुषजाति, शुष्क गराई गुणिको छाती ।
प्राण पखेरू नलिएसम्म, खुश किन हुन्थ्यो ? हाय ! अचम्म ॥

पृथिवी तलमा यौटासम्म, मानिस बाँकी रहँदासम्म ।
तुच्छ सुगाको जन्म नदेऊ, दीन दयालो ! बिन्ती लेऊ ॥

सत्यसन्देश

कालो मन्दाकिनीको जल, जलनिधिका मोतिको ज्योति कालो
कालो सौदामिनीको चहक सब शरच्चन्द्रको कान्ति कालो।

कैलाश श्रेणि कालो झलमल गर्ने शु्र्यको बिम्ब कालो
यो सारा सृष्टि कालो मनबिच छ भने दम्भ दुर्भाव कालो।।

दोषी माता पिताका वचन गुरुजनादेश नि:शेष दोषी
सत्यात्मा मित्र दोषी गृह परिजनको चाल देखिन्छ दोषी।

पत्नीको प्रेम दोषी अमृतमय मीठा वेदका वाक्य दोषी
यो सारा सृष्टि दोषी विधिवश छ भने आफ्नो दृष्टि दोषी।।

थोत्रो पाटी उज्यालो, मलिन तृणकुटी, कन्दरा झन् उज्यालो
भिक्षा भारी उज्यालो, अझ वन वनको साग सिस्नु उज्यालो।

फयाङ्लो गुन्द्री उज्यालो, वर पर घुम्दा जीर्ण कन्था उज्यालो
तृष्णाको तृच्छ जालो मनबीच नभए जो मिल्यो सो उज्यालो।।

भर्दाभर्दै हजारौँ विषय-सुख-घडा देह लम्तन्न पर्दा
झर्दा सम्पुर्ण सेखी, तुजुक पवनले निस्कने जोड गर्दा्

सर्दा आपस्त डर्दै पर पर धमिलो नाचको अन्त्य पर्दा
गिरदामा साथ जाने कुन-कुन चीज हुन्? सम्झ ती काम गर्दा।।

जस्तो मानी धनीका नगिच हर घडी तृपत जोडेर हात
छाती खोलेर गर्छौ हृदय बुझि सदा नम्रता साथ बात।

दु:खीका साथ उस्तै कीनयसित सदा मर्म सम्झेर बोल
गर्नै पर्दैन फेरि व्रत, जप, तपले स्वर्गको मोल तोल।।

मत्ता हात्ती हलुङ्गो, वितत जलधिका ह्वेल माछो हलुङ्गो
जङ्गी बेडा हलुङ्गो, विकट कटकटे रेलगाडी हलुङ्गो।

शैलश्रेणी हलुङ्गो, पृथुतम पृथिवी गोल सारा हलुङ्गो
यो ब्रह्माणडै हलुङ्गो, जब सब मनको तिर्सना लाग्छ टुङ्गो।।

जीवन-चङ्गा

कछुवाले अङ्गसरी खुम्च्याई बाह्य वृत्तिका तार।
भित्र अलिकति हेर्दा अर्कै रसिलो चमत्कार।।१।।

दुर्गम भै उर्लेकी तलतिर समतुल्य मोहकी गङ्गा।
फरफर गर्छ उपर यो जीवनमय पातलो चङ्गा।।२।।

ममतासहित अहन्ता ग्रन्थि परेका बडा रम्य।
सुखदु:खका कका छन् खूब मिलेका दुवै टम्म।।३।।

मनमय घुम्छ लटाइ पनफन फन्का पलापला मारी।
अतिशय दुर्लभ तर त्यो रसिक लटाई लिने चमत्कारी।।४।।

सङ्कल्पको छ धागो छुटी रहेको लगातार।
गर्दछ जसका भरमा जीवन-चङ्गा विचित्र संचार।।५।।

त्यो मसिना धागामा खिरिलोपन ल्याउने ताजा।
घसिएको बहुत सफा विवेक, बुद्धिको माजा।।६।।

चङ्गाको मुखचाहिँ प्रवित्तिमय रङ्गले लाल।
अलिअलि कालो आशा-पुच्छर, उसको छ चलबले चाल।।७।।

वैषम्य भै ककामा अलिकति गतिमा घुस्यो भने दोष।
ग्वाँख मिलाउनलाई संयम, सुविचार, शान्ति, सन्तोष।।८।।

यस्तो अद्भुत चङ्गा तयार पारी बडो चमत्कारी।
नभमा कौतुक गर्ने कुन होला धीर अविकारी?।।९।।

जतिजति गडेर हेर्छु यस चङ्गाको विचित्र संचार।
उतिउति शून्य गगनमा विलिन हुन्छु न देखदा पार।।१०।।

कहिले नीलो दहमा सफारी माछो सरी भरी।
लीला गर्छ गगनमा चक्कर लाखौं थरी मारी।।११।।

कहिले प्रेम हावामा सररर अक्कासिँदै जान्छ।
कहिले फरक्क फरकी तम तल कौंठी पनी खान्छ।।१२।।

कहिले भुजङ्ग जस्तै सुलुलुलु बग्दै बटारिन्छ।
कहिले विधिवश बिचमा अरूअरूसँग बेसी लठारिन्छ।।१३।।

कहिले पुगेर माथि सोझै बहँदै शनै: शनै: सल्ल।
निश्चल टक्कर मारी अडिन्छ बउडाइ-बोहरी-तुल्य।।१४।।

जलचर नभचर सबका सुन्दर लाखौं थरी चाल।
देखिन्छन् यही हाम्रो जीवन-चङ्गा विषे सदाकाल।।१५।।

अक्काशिएर ज्यादा माथि जाँदा हराउने भय छ।
तल गङ्गा-लहरीले लपक्क पार्ने विछट्ट सशय छ।।१६।।

शीतल सरसर बहने बीच गगनको सफा हावा।
जति पायो उति यसले खान्छ गजब चालले कावा।।१७।।

कहिलेदेखि उडेथ्यो? अब उड्ने हो कति बेर।
आखिर चङ्गा ठहर्यो चुँडिनालाई छ के बेर?।।१८।।

जति दिन यो उड्ने हो उति दिन उडन्यै छ बीचमा नअडी।
तर त्यो देखिनुपरने अद्भुत चङ्गा उडाउने लहडी।।१९।।

जय जगदीश्वर ! देखेँ विश्वव्यापी प्रकाश त्यो खास।
सूक्ष्म लटाई भित्रै रहेछ प्रभुको निवास वा भास।।२०।।

[ नोट : राजु झल्लु प्रसादको सङ्कलन ]

Facebook Comments

You may also like

error: Content is protected !!