प्रातः कालमा झरिगएको पात | SATURDAYकलम | Kavyalaya - काव्यालय

प्रातः कालमा झरिगएको पात

पूर्णिमा— आकाश रातो भएको छ । जून कुनै अद्भुत चित्रकार बनेको छ । आकाशलाई रङ्गाएको छ । जून आज फेरि एकपटक पूर्ण भएको छ । ताराहरू जूनको पूर्ण सामिप्य पाएर खुशीको नाच नाचिरहेका छन् । चम्किरहेका छन् ।

“तिमीलाई थाहा छ, त्यो क्षितिजपारि पनि एउटा दुनियाँ छ !”

बगरमा उत्तानो परेर— कुनै  चित्रलाई घुरेझैं— जूनलाई नियालिरहेको म, उसको आवाजले झस्किन्छु । उठ्छु । र अलिक सतर्क हुन्छु । उसलाई नियाल्छु— उसका खुट्टा बगरका बालुवासँग खेल्दैछन् । ऊ, आफ्ना खुट्टाले त्यहाँ खाल्टो बनाउँदैछे ।

“त्यो सामानन्तर दुनियाँ, यो दुनियाँको ठिक विपरीत छ !”

ऊ कहिलेकाहीँ यस्तै कुरा गर्छे । विचित्रका कुरा निकाल्छे— र धाराप्रवाह बोलिरहन्छे । कहिलेकाहीँ त ऊ मलाई, कुनै प्रवचन दिने बाबा जस्ती लाग्छ । कुनै दार्शनिकले जस्तो गफ गर्छे । उसका शब्दहरू, बिम्ब मिसिएका गहिरा कविताहरू जस्तै लाग्छन् । तर ती रत्तिभर पनि अल्छि सुनिँदैनन् । ती मधुर छन् । तीनमा रस छ ।

मलाई लाग्छ, म उसलाई घन्टौं सुनिरहन सक्छु । ‘म एक असल स्रोता हुँ’— यो मैले आफैले आफैलाई गर्ने एउटा प्रसंशा हो । उसलाई म जतिपनि सुन्न सक्छु । हाम्रो हरेक भेटमा, धेरै बोल्ने ऊ नै हुन्छे । म के भन्ने— के बोल्ने— कुनै मेसो पाउँदिनँ । म चुपचाप उसलाई सुनिरहन्छु । ऊ पनि म धेरै नबोलेकोमा कहिल्यै कुनै गुनासो गर्दिन । मलाई लाग्छ, ऊ मलाई बुझ्छे । 

“कहिलेकाहीँ सोच्छु— तिमी र म यहाँ नहुनु पर्थ्यो । त्यहाँ हुनुपर्थ्यो— त्यो दुनियाँमा !”

समुद्र शान्त देखिएजस्तो छ— तर शान्त भने छैन । छालहरू बगरसँग कब्बडी खेलिरहेका छन् । ती छालका सुसेलीहरू— कुनै शास्त्रीय संगीतजस्ता छन् । समुंद्रको अजङ्गको छातीमा, जूनको पूर्ण आकृति प्रतिबिम्बित भएको छ ।

म आफ्ना हातले खुट्टालाई बेर्छु । र आफ्नो चिउँडो घुँडामा टेकाएर— उसलाई ज्ञानी बच्चालेझैं सुन्न थाल्छु ।

“त्यो दुनियाँ— जहाँ लाखौं ताराहरू छैनन् । बरू त्यहाँ सयौं चन्द्रमाहरू छन् । जुन दुनियाँमा— अँध्यारो कहिल्यै बास खोज्दै आउँदैन । जहाँ हावामा तैरिरहेका छन्— झरेका पातहरू ! जहाँ दिन र रातले— जहाँ समयले— कुनै अस्तित्व राख्दैन । जहाँ रूखहरू गीत गाउँछन् । जहाँ चराहरू मान्छे जस्तै बातचीत गर्छन् । जहाँ हाम्रो इच्छाले हिउँ खस्छ, पानी पर्छ । जहाँ आकाशको रङ्ग निलो होइन— हरियो छ । जहाँ बादलहरू सुन्तला जस्ता छन् । र जहाँ तिमी छौ अनि म छु— त्यो हाम्रो दुनियाँ हो । हामी त्यहाँ हुनुपर्थ्यो !”

कस्तो अजिब कुरा ! अनि कति मिठो पनि ! मानौँ, ऊ मलाई कुनै प्रेम कविता सुनाइरहेकी छे— जो उसले भर्खरै मेरो लागि भनेर लखेकी हो । उसको दिमागमा अचम्म अचम्मका विचारहरू आउँछन् । जो मलाई सुनाउन, ऊ कत्तिपनि ढिलो गर्दिन । उसलाई बोल्न खुब मन पर्छ ।

“त्यहाँ हामी बिराला भएका छौँ ! तिमी ढाडे मलाई पछ्याइरहन्छौ । मसँग चल्छौ । मेरा गालाहरू चाट्छौ ।”

योभन्दा ऊ हल्का मुस्कुराउँछे । म पनि खिस्स हाँस्छु । उसका खुट्टा— अझै बालुवासँग खेलिरहेका छन् । उसले एउटा खाल्टो बनाइसकिछ । मैले उसका खुट्टालाई नियालेँ— ती साबिकभन्दा साना र सेता छन् । कलिला देखिन्छन्— कुनै बच्चाका जस्ता । मलाई पहिलोपटक उसको खुट्टासँग पनि प्रेम हुन्छ ।

“त्यहाँ कहिलेकाहीँ तिमी चरा बन्ने इच्छा गर्छौ । हामी चरा हुन्छौँ । कुन चरा थाहा छ ? —ढुकुर होइन । हामी चील बन्छौँ । र बादलहरूमा लुकामारी खेल्छौँ । तिमीलाई थाहा छ, बादलहरूलाई छुदाँ कस्तो महसुस हुन्छ ?”

म ‘थाहा छैन’को टाउको हल्लाउँछु । उसले आफ्नो बलौटे हातले मेरो गाला छुन्छे— “यी यस्तै महसुस हुन्छ !”

ऊ मुस्कुराउँछे । म आफ्नो गालामा लागेका बालुवालाई यसै छोडिदिन्छु । 

“तिमीलाई यस्तो कुरा गर्न कसरी आउँछ ?”

ऊ मतिर पुलुक्क हेर्छे । एउटा हर्ष र उदासीनताबीचको मुस्कान मुस्कराउँछे । 

“म यस्तै छु । मेरो दुनियाँ यस्तै छ— असाधारण र सिमित  । मेरो दुनियाँ, मलाई सपना देख्न सिकाउँछ  । मलाई यस्तै कुरा गर्न आउँछ— सपना देख्न । सपना बुन्न ।”

“तिम्रो दुनियाँमा म कहाँनेर छु ?”

“तिमी मेरो दुनियाँमा छैनौ— तिमी मभित्र छौ । ममा छौ ।”

मबाट फेरि शब्दहरू हराउँछन् । म चुपचाप उसलाई हेरिरहन्छु । ऊ आफ्नो दुवै खुट्टालाई खाल्टोमा राख्छे । र बालुवाले पुर्न थाल्छे ।

“जब म तिमीसँग छुटिएर घर जान्छु, मलाई यस्तै महसुस हुन्छ । मानौँ कसैले मेरो खुट्टा पुरिदिएको छ । बाँधिदिएको छ । म चल्न सक्दिनँ । म केही गर्न सक्दिनँ । म बस् आफैभित्र निसासिन्छु ।”

उसको आँखा रसाएजस्तो देखिन्छ । ऊ मबाट नजर हटाउँछे । र समुंद्रका छालहरूमा  एकोहोरिन्छे । धेरैबेरसम्म ऊ मतिर फर्किन्न । म मौन, उसको आँखालाई हेरिरहन्छु । नियालिरहन्छु— ती चञ्चल, निर्दोष, चिम्सा, कैला आँखा । आँखाहरू चुम्बक हुन् । आँखाहरूमा जादु हुन्छ । आँखाहरू सत्य बोल्छन् । आँखाहरू— प्रेमका ऐना हुन् ।

“तिम्रो घर, मेरो घरभन्दा किन टाढा छ ?”

अपेक्षारहित प्रश्न— जसमा अलिकति रिस मिसिएको छ । ऊ एक मुठ्ठी बालुवा समुंद्रतिर फ्याक्छे । बालुवासँगै उसको एक मुठ्ठी रिस पनि समुंद्रमा कतै विलीन हुन्छ ।

“कुनैदिन म यही किनारमा एउटा घर बनाउँछु !” म यत्ति भन्छु ।

ऊ मलाई प्रेमिल नजरले हेर्छे । म छेउ सर्छे । र मलाई अँगालो हाल्छे । उसको शरिरको त्यो  सुगन्ध— मेरो नाकले एउटा लामो सास निल्छ । उसको कपालमा, मेरो नाक कुनै भमरा जस्तै लठ्ठ हुन्छ । कुनै नयाँ किताबको बास्नाभन्दा पनि मिठो बास्ना ! वर्षातले माटोलाई छुँदा— निस्किएको गन्धभन्दा पनि मिठो गन्ध !

म उसलाई जिस्काउँछु—

“तिमी कुन अत्तर प्रयोग गर्छौ, ए अप्सरा !”

ऊ पनि कम छैन । उसलाई बोल्नमा कसले सक्छ र ! ऊ अप्सरा बनिदिन्छे—

“समुन्द्रको जडिबुटीले निर्मित जल-अत्तर हो, मुनिवर !”

ऊ खित्का छोडेर हाँस्न थाल्छे । म पनि ऊसँगै हाँस्छु ।

***

रात बिस्तारै बालक बिहानमा रूपान्तरण हुँदैछ । यो धर्तीका हरेक वस्तुको अन्त्य निश्चित छ । त्यो भौतिक होस्, अभौतिक होस् । मान्छे मर्छन् । फूलहरू ओइलिन्छन् । ढुङ्गा पनि माटोमा परिवर्तित हुन्छ । पानी पनि बाफ बन्छ । बादल बन्छ । यो रात सकिन्छ । भोलिको दिन पनि सकिन्छ । यो समय फेरि— यही समय भएर कहिल्यै फर्किँदैन । 

म सोच्न थाल्छु— के उसले भनेजस्तै त्यहाँ अर्को दुनियाँ छ ? के त्यहाँ अर्को ‘म’ छ— जो मेरै जस्तो अनुहार र सपना लिएर हिँडिरहेको छ ? के त्यहाँ ऊ जस्तै अर्को ‘ऊ’  छे— जो सृष्टिको नियमविरुद्घ गएर मलाई प्रेम गरिरहेकी छे ?

“प्रेम नियमहरूको बन्दी होइन । यो त बतास हो— जो आफ्नो मर्जीले जता पनि बहन सक्छ !”

एकपटकको भेटमा, उसले जूनलाई एकोहोरो नियाल्दै भनेकी थिई । उसलाई कति कुरा गर्न आउँछ । उसका कुराहरू, बेतुकका सुनिए पनि, विश्वास गर्न मन लाग्छ । म सधैँ विश्वास गर्न पुग्छु ।

***

क्षितिजमा— घाम आधा झुल्किसकेको छ । प्रभातका निराश पानाहरू पल्टिन थाल्छन् । ऊ ‘जाने बेला भयो’ भन्ने नजरले मतिर हेर्छे । मन उदास हुन्छ । समय किन छिटो दौडिदिन्छ कहिलेकाहीँ ? म के गर्ने ? के नगर्ने ?— अलमलमा पर्छु । ‘नजाऊ !’ भन्न मन छ । तर मनलाई यो पनि थाहा छ— उसलाई घर जानु पर्छ । जान आवश्यक छ ।

‘हामी फेरि भेटिन्छौँ !’

मनमा कतै एउटा आवाज गुञ्जिन्छ । सायद उसको हृदय बोलेको हुनुपर्छ । उसले मेरो हात समाउँछे । आफ्ना औंलाहरू, मेरा औंलाहरूमा बेरिदिन्छे । ती औंलाहरूले, एउटा उदास कविता लेख्छन् ।

“अर्को पूर्णिामासम्म…!”

मनले— उसले बोलेकै वाक्य दोहोर्याउँछ । अर्को पूर्णिमासम्म ।  हाम्रा औंलाहरू छुटिन्छन् । हातहरू छुटिन्छन् । ऊ चुपचाप उठ्छे । र क्षितिजको गर्भबाट जन्मिँदै गरेको घामलाई नियाल्छे । सायद, यतिखेर उसको लागि यो संसारको सबैभन्दा घृणित वस्तु त्यो घाम हो । उसका पाइलाहरू समुंद्रतिर अघि बढ्छन् । म निराश, मौन, अचल— ऊ गएको हेरिरहन्छु । उसका खुट्टाहरूले समुंद्रको पानीलाई स्पर्श गर्छन् । बिस्तारै— उसको शरीरमा परिवर्तन देखिन थाल्छ ।

उसका खुट्टा, माछाको पुछरमा रूपान्तरण हुन्छ । हेर्दाहेर्दै, उसको आधा शरीर कुनै मान्छाको जस्तो बन्छ । ऊ मतिर फर्केर, एकपटक बिदाइको हात हल्लाउँछे । उदाउँदो घामको प्रकाशले, उसको सुनौलो कपाल टल्किन्छ । 

ऊ समुंद्रमा डुबुल्की लगाउँछे । र आफ्नो त्यो स्वप्निल दुनियाँमा कतै विलीन हुन्छे ।

Facebook Comments

You may also like

error: Content is protected !!