लतलाई लात्ती

५ प्रतिशत चार्जमा पुगेको मोबाइलको डिस्प्लेलाई एकदमै मधुरो पार्छु र कानमा इयरफोन जसलाई मेरी आमा ‘ठेडी’ भन्नुहुन्छ, घुसाएर गित सुन्दै हिड्छु । हिड्दै गर्दा गीत सुन्ने मेरो बानी धेरै पुरानो हो । मोबाइलमा चार्ज छैन । कसैको जरुरी कल आउन सक्छ, आफुले कसैलाई अपर्झट कल गर्नु पर्ने हुनसक्छ; यस्ता कुरा मनले सोच्दैन । बानी/लतका अगाडि यस्ता सोचले हार खान्छ ? गीत सुन्दै म बालकुमारी पुगेँ । टंगाल जानु थियो, दिदीकोमा । आकाश रुन लागेको मैले महसुस गरेको थिएँ । बेलुकाको ७ बजिसकेको थियो । गाडी पाइने हो ? नपाइने हो ? थाहा थिएन । गाडी पाइने संकेत मैले देखिन । दिदीलाई कल लगाएँ । फोन राख्न साथ मोबाइलले प्राण पनि त्याग्यो । धन्न, गाडी पनि पाइयो, संयोग । मेरो साथ दिएर टंगाल सम्म पुगेको भए म उसलाई मर्न दिन्न थिए । अब उसलाई एउटा नयाँ जीवनको खाँचो थियो, जो म दिन सक्थे तर अहिले होइन । उसले मेरो एक घन्टाको यात्रामा साथ भने नदिने भयो । छट्पटी भयो । बसको त्यो लगभग एक घण्टाको यात्रा कसरी पार गर्नु ? गाडी भित्रको भीडका बाबजुद मैले सिट पाएँ । त्यो दिन त्यसरी मोबाइलले प्राण नत्यागेको भए म फेसबुकमा झुन्डिएको हुन्थेँ वा गीत सुनेर आँखा चिम्ली निदाएको भान गरिदिन्थे । तर अब त्यसो हुन सम्भव थिएन । फेसबुक चलाउँ मोबाइल अफ छ । गीत पनि कसरी सुन्नु ? गित नसुनी त्यो हल्लामा कसरी आँखा चिम्लिएर निदाएको जस्तो गर्नु ? त्यो हल्लाले आँखा कहाँ बन्द हुन दिन्थ्यो र ?

पालैपालो सबैतिर हेर्न थालेँ । प्राय: सबै मान्छे मोबाइल चलाउनमै व्यस्त थिए । म स्वयं पनि गाडी चड्दा त्यसरी नै मोबाइलमा व्यस्त हुने गर्छु । के गर्ने ? वरपरि आँखा डुलाएँ ,त्यस दिन मलाई लाग्यो मलाई मात्रै मोबाइलको लत लागेको रहेनछ । म जस्ता अरु कैयन मान्छे पनि रहेछन् । सबै तिर हेरेँ मोबाइल चलाउनेको संख्या अलि धेरै नै थियो । मेरो छेउमा बसेको युवक आफ्नो मोबाइलमा व्यस्त थियो, सायद फेसबुक चलाउँदै थियो । एक्लै चढेका प्रायले ईयरफोन लगाएर गित सुनिरहेका थिए । कोहि कोहिले भने गेम खेलेको छन् जस्तो महसुस गरिरहेको थिएँ । कोहि यस्ता पनि थिए जसलाई मोबाइलको मतलबै थिएन ।

••••

एक दिन रत्नपार्क बसपार्कबाट कोटेश्वर आउन हेतुले बनेपा जाने गाडी समातेँ । गाडीमा मान्छे त्यति थिएनन् । महिला सिटमा दुई युवती थिए । अलि पछाडि एक जाना दाइ (यसो हेर्दा उमेरको हिसाबले उनी म भन्दा जेठा नै देखिन्थे) कुनै अंग्रेजी उपन्यास पढिरहेका थिए । गाडीमा उपन्यास पढ्ने व्यक्ति; यस्तो दृश्य कमै देखिन्छ । अनि लास्ट सिटमा भने एक जोडी बसेका थिए । युवती केटाको हात समातेर भविष्यको सपना देख्दै थिइन्, सायद । लास्ट सिटमा बसिदिएर उनीहरुको प्रेमिल पल भङ्ग गरिदिने मन भएन । म त्यहि उपान्यास पढिरहेको व्यक्तिको सिट पछाडि बसेँ । मोबाइल चलाउने तीब्र इच्छा त जागेको थियो तर त्यो टंगाल यात्रा सम्झना आयो । त्यसैले मोबाइल ब्यागमा कोचेँ र हेर्न थालेँ, दायाँबायाँ । मलाई मोबाइल चलाउनेको संख्या हेर्नु थियो । किन थाहा भएन । बस् हेर्नु थियो ।

म बसेको ठाउँ बाट गाडीको दाहिने झ्यालमा बसेको त्यो जोडीलाई म देख्न सक्थेँ । उनीहरु एकअर्कासँग खुब कुरा गर्लान् भन्ने सोचेको थिएँ । तर जसै गाडी गुड्न थाल्यो दुवैजना मोबाइलमा व्यस्त भैदिए । ती युवती आज खिचेका फोटो मागिरहेकी थिइन् अनि कुन फोटो फेसबुकमा हाल्दा उचित होला भनेर सल्लाहा लिइरहेकी थिइन् । त्यो जोडीबिचको कुराहरु सुन्ने कुनै इच्छा त थिएन तर उनीहरु ठूलै स्वरले बोलेकाले सुन्नु बाहेक अरु बिकल्प पाइन । ती जोडीलाई हेरेर मलाई, म र मेरो साथी घुम्दै फिर्दै भक्तपुरको एक क्याफेमा खाजा खान पुगेको घटना याद आयो । त्यहि क्याफेमा एक हुला युवतीहरु थिए । हामीहरु उनीहरुकै छेउमा बस्यौं । उनीहरु खाजा कुरिरहेका रहेछन् । खाजाले टेबल छुन नपाउँदै एक युवतीले मोबाइल निकालेर खाजाको फोटो खिचिन । एक दुइ सेल्फी खिचिन । एकछिन मोबाइलमा घोरिइन् । अनि बल्ल खान थालिन् । मैले उनीहरुबाट ध्यान हटाएँ ब्यागबाट मोबाइल निकालेँ । फ्यालिदिएँ मोबाइल नचलाउने अठोट अनि कोचिदिएँ ‘ठेडी’ कानमा ।

एकदिन सानो गल्लिमा मोबाइल चलाउँदै हिडिरहेको थिएँ । फेसबुकमा आज भएका घटनाहरुलाई शाब्दिकरण गरेर स्टाटस हाल्न खोज्दै थिएँ कि एउटा बाइक म भन्दा केहि सेन्टिमिटर अगाडि रोकियो । मुटुले ठाउँ छोड्यो । बाइकको ब्रेक लगाइले सबैको ध्यान मै तिर मोडियो । डरले खुट्टा कापेँ जस्तो भयो । मुटु कति छिटो धड्कियो ख्याल भएन । गाला ताता भए । सायद राता पनि भए । ‘अलिकतिले बाँचियो ।’, यो सोचाइले भने मनलाई खुशी बनाएको थियो । गल्ती मेरै थियो तर सबैले बाइकवालालाई दोष दिन खोजिरहेका थिए । पश्चाताप भयो । बाइकवालाले गाली गर्यो । माफी माग्दै म त्यहाँबाट लुसुक्क हिडेँ । त्यस बखत आएको पश्चातापको भावना धेरै पछि सम्म पनि रहीरह्यो ।

यी सबै घटनाहरु एकाएक सम्झिँदा एकाएक मोबाइल धेरै नचलाउन मन लाग्यो । अब भने मोबाइल कम चलाउने पक्का अठोट गरेँ । तर विडम्बना बानी परिसकेको थिएँ । एकैचोटि चटक्कै छोड्न धेरै नै गाह्रो हुन्छ, यो बुझेको थिएँ । त्यसैले पहिल्याउन थालेँ मोबाइल धेरै चलाउनुका कारणहरु । मैले छिन-छिनमा मोबाइल चलाउनुको कारण फेसबुक थियो । सबै भन्दा पहिला त मैले फेसबुक सहित सबै सामाजिक संजालहरुलाई मोबाइलबाट हटाइदिएँ । अनि भएका एकदुई गेमहरु पनि हटाइदिएँ । अब मोबाइल चलाइरहन त्यस्तो केहि थिएन मोबाइलमा ।

••••

स्मार्टफोनको व्यापक प्रयोगले यसको लत निम्त्याएको छ । स्मार्टफोनमा भएका सुविधाहरुलाई धेरै कारण मध्य एक कारण मान्न सकिन्छ लतको । फोटो खिच्नु पर्यो ? क्यामरा स्मार्टफोनमै छ । अल्छी लागिरहेको बेला गेम खेल्न मन लाग्यो ? कस्ता प्रकारका गेम खेल्नु हुन्छ ? मोबाइलमै खेल्न सम्भव छ । बिहान छिटै उठ्नु पर्यो ? मोबाइलमा अलार्म छँदै छ । समय हेर्नु पर्यो ? मोबाइलको स्क्रिनमै देखिइहाल्छ । आज कुन बार हो ? कुन महिना हो ? कुन दिवस हो ? जान्न मन लाग्यो ? मोबाइलको क्यालेन्डर खोले भै’गयो । सबै भन्दा ठुलो सुविधा भनेको मोबाइलबाटै सामाजिक संजालहरुको प्रयोग गर्न सकिनु हो । सिम मार्फत सजिलै प्राप्त गर्न सकिने इन्टरनेटको कारण यो सुविधाको महत्व सर्वोच्च स्थानमा पुगेको छ । स्मार्टफोन निर्माण हुनुभन्दा अगाडि यी सबै सुविधा पाउन हामीलाई छुट्टाछुट्टै साधनको आवश्यक पर्दथ्यो । उदाहरणका लागि फोटो खिच्न क्यामरा, सामाजिक संजालको प्रयोगका लागि कम्प्युटर, आदि । तर स्मार्टफोनको निर्माण पछि यी सबै सुविधाहरु एकै भाँडोमा अटाएका छन् । मुस्किलले एक पाउ जति गह्रौँ हुने भएकाले खल्तीमै आफूसँगै जता पनि लान सम्भव छ स्मार्टफोनलाई । यस्तै कारणहरुले स्मार्टफोन सबैको प्रिय भइदियो ।

रिसर्च अनुसार मोबाइलको प्रयोग गर्दा ‘डोपोमिन’ नामको रासायनिक हाम्रो दिमागले छोड्छ । यो त्यहि रासायनिक जुन खुशी महसुस गर्दा दिमागले छोड्छ । यसको मतलब मोबाइलको प्रयोग सिधै हाम्रो दिमागसँग सम्बन्धित छ । मोबाइल चालाएर प्राप्त गरिएको खुसी क्षणिक खुसी हो । कुनै पानि गेम खेल्दा होस् या सामाजिक संजालको प्रयोग गर्दा होस् हामीले आनन्द महसुस गरिरहेका हुन्छौँ । त्यही आनन्दले हामीलाई खुशी प्रदान गर्छ । संसार खुम्चिँदै गर्दा मान्छे एक्लिँदै गएको छ । यो एक्लोपना महसुस नगर्न ऊ मोबाइललाई आफ्नो साधन बनाउँछ, साधना बनाउँछ । मोबाइलले दिएको सामाजिक संजालको सुबिधाको प्रयोगले ऊ घरै बसी अनेक मान्छेसँग बोल्छ, आफ्ना मनका कुरा भन्छ र अरुका कुरा पनि सुन्छ । मोबाइल फोनको लत खाली युवापुस्ता लागेको छैन बुढापाका र बच्चाहरु पनि भएका छन् । आफ्नो अभिभावकले प्रयोग गरेको देखेर बच्चाहरुले पनि मोबाइल चलाउने इच्छा व्यक्त गर्छन र सजिलै अभिभावकले त्यो इच्छा पुरा पनि गरिदिन्छन् । बच्चाहरुले खाना खाएनन् ? आफुले काम गरिरहेको बेला बच्चाहरुले अवरोध गरे ? यस्तोमा मोबाइलमा कुनै गेम खेल्न दिने वा विभिन्न मनोरञ्जनात्मक भिडियो देखाइदिने प्रवृति भइसक्यो । यसरी पहिला बच्चाहरुमा मनोरञ्जनको बानी बस्छ अनि पछि मनोरञ्जन प्रदान गर्ने त्यो मोबाइलको ।

धेरै मोबाइलफोनको प्रयोगको असरहरु पनि धेरै छन् । बच्चाहरु जो मोबाइलफोनको प्रयोग धेरै गर्छन, उनीहरुले वास्तविक संसारमा नभई कृत्रिम दुनियाँमा रमाउने गर्छन । जसले गर्दा उनीहरुमा मुख्यतः अल्छिपना देखा पर्छ । साथै आँखामा पनि समस्या देखा पर्छ । अत्याधिक मोबाइलफोनको प्रयोगको असरहरु एकैचोटी देखा नपर्ने भएकोले हामीलाई खासै याद हुन्न तर असरहरु भने भइरहेका हुन्छन् । टाउको दुख्ने, डिप्रेसन, निद्रामा समस्या स्मरणशक्तिमा कमि आउने, हात र गर्दन दुख्ने जस्ता असरहरु भने छिटै देखा पर्छन् । यहाँसम्म कि मोबाइलको प्रयोगले एउटा नयाँ डर पनि जन्माएको छ । त्यो डरको बैज्ञानिक नाम ‘नोमोफोबिया’ हो । मोबाइलफोन कुनै कारणले चलाउन नपाउँदा लाग्ने डर नै ‘नोमोफोबिया’ हो ।

मोबाइलफोनको लत हटाउन हामी मोबाइलबाट सकेसम्म टाढै बस्न पर्छ । सकेसम्म मोबाइलको कम प्रयोग गर्नु पर्ने हुन्छ । त्यसोभए मोबाइल कम चलाउन के गर्नु पर्छ त ? बिहान उठ्ने बित्तिकै हामी पहिला घडी हेर्नलाई मोबाइल छुन्छौँ । अनि आफैलाई थाहा हुँदैन कुन बेला फेसबुक वा युट्युब चलाउन थाल्छौँ । सर्वप्रथम बिहान उठे पश्चात केहि समयका लागि मोबाइल फोन नछुनु नै उत्तम हुन्छ । जरुरी कलहरु आउने भएकोले मोबाइललाई साइलेन्टमा लगिरहनु भने आवश्यक छैन । आफैलाई सम्हाल्न सके भइहाल्यो । आफ्ना नजिकका मान्छेहरुसँग भेट्दा हामी गफ त गर्छौं नै त्यो बाहेक मोबाइलको प्रयोग पनि गर्छौँ । केहि समय अगाडि यो छुद्र व्यवहार मानिन्थ्यो तर आजकल सामान्य भइसकेको छ । त्यसैले आफन्त भेला हुँदा सकेसम्म मोबाइल छुनु हुँदैन । कृत्रिम दुनियाँभन्दा बाहिर आएर मान्छेहरुसँग सम्बन्ध विस्थापित गर्नुपर्छ । यस्तो बानीले कम मोबाइल चलाउन सहयोग पुर्याउँछ । एउटा बानी अर्को बानी बसालेर हटाउन सजिलो हुन्छ । नराम्रो बानी हटाउन एउटा राम्रो बानी बसाल्नु पर्छ । किताब पढेर, चित्रहरु कोरेर, कतै घुम्न गएर वा बिहान उठेर मोबाइल घर छोडी जगिङ गएर मोबाइलको प्रयोग कम गर्न सकिन्छ ।

••••

म मेरो लतलाई लात्ती हान्न भरपुर कोसिस गरिरहेको छु । यी सबै कुरा भन्न आवश्यक लाग्यो त्यसैले गुगल खोलेर रिसर्च गरेँ र कोरेँ केही शब्दहरु । भन्ने माध्यम मसँग केही थिएन त्यसैले फेसबुक पनि फेरी इन्स्टल गरेँ । अहिलेलाई बिदा माग्छु है त ! खै कसको हो कुन्नि म्यासेज आयो । म्यासेन्जरले टुङ गर्यो । म्यासेज रिप्लाई गर्नै पर्यो । फेरि मेरो मोबाइलमा चार्ज छैन । लौ त चार्ज गर्न गएँ म । तपाईहरु भने आफ्नो लतलाई लात्ती हान्ने कोसिस जारी राख्नुस् !

Image Source: hdwallsbox

Image Source: hdwallsbox

Facebook Comments

You may also like

error: Content is protected !!