किताब जात्राको यात्रा सुरुदेखि अन्त्यसम्म

काठामाडौं : साहित्यिक किताबको प्रदर्शनी यसअघि प्राय भृकुटिमण्डप या त महेन्द्र पुलिस क्लबमा हुने गरेको थियो । कार्यक्रमहरु भने सरकारी संस्था या त थिएटरहरुतिर हुँदै आइरहेका थिए । साहित्यमा ठूलो लगानी गर्न डराइहेको नेपाली समाजमा राजधानीको एभरेष्ट होटेलमा साहित्यिक प्रदर्शनी एवं कार्यक्रमको आयोजना गरी सफलतापूर्वक सम्पन्न गर्नसक्नु नेपाली साहित्यिक इतिहासमा दुर्लभ मान्न सकिन्छ । किताब यात्रा फाउन्डेशनले हिजो किताब जात्रा शीर्षकमा काठमाण्डौँको एभरेष्ट होटलमा बृहद साहित्यिक कार्यक्रमको आयोजना गरेको हो । यसअघि पनि किताब यात्रा फाउन्डेशनले नै काठमाण्डौँको हायत रिजेन्सीमा साहित्यिक कार्यक्रम गरेको थियो । साहित्यको क्षेत्रलाई निम्न दृष्टिकोणबाट हेर्ने परिपाटी आयोजक किताब यात्रा फाउन्डेशनको यस्तो उदाहरणिय कदमले तोड्न सहयोग गर्ने कुरामा शंका छैन ।

किताब जात्रा शीर्षस्थ यस कार्यक्रमको शुभारम्भ दीप प्रज्जवलनसँगै परम्परागत् एवं सांस्कृतिक पर्वहरुमा देखाइने, विशेषगरी नेवार समुदायको जात्रामा प्रचलित लाखे नाचबाट गरिएको थियो । नेपालको इतिहास र सामाजिक परम्परासँग जोडिएको लाखे नाच शुरु भएको डेढ सय वर्ष पुगिसकेको छ । जाजरकोटी राजा उपेन्द्रविक्रम शाहले नेवार समुदायबाट शुरु गराएका यस नाच अहिले नेपालका सबै जिल्ला र समुदायको साझा सम्पत्ति जस्तै भएको छ ।

किताब जात्राको पहिलो संस्करणसँगै फाउन्डेशनले ‘प्रेम साहित्य सम्मान’को समेत सुरुवात गरेको छ । फाउन्डेशनका अध्यक्ष ऋिषी राम अधिकारीका पिता प्रेमप्रसाद अधिकारीको स्मृतिमा सुरु गरिएको सम्मान यस वर्षका लागि साहित्यकार सरुभक्तलाई प्रदान गरिएको छ । ५५ हजार ५ सय ५५ राशीसहितको उक्त पुरस्कार वरिष्ठ कलाकार हरिवंश आचार्यद्वारा साहित्यकार सरुभक्तलाई प्रदान गरिएको थियो । उपन्यास, कथा,  नाटक, मुक्तक लगायत विभिन्न विधामा कलम चलाएका बहुआयामिक साहित्यप्रतिभा सरुभक्तले पुरस्कार ग्रहण गर्दै अतिरिक्त मौलिक साहित्य सिर्जना गर्नमा आफू सदैव लागिरहेको बताए । उनका अनुसार धेरै ज्ञान, दर्शन, विज्ञानबाट पीडित भएका कारण मानिसले मौलिक चिन्तन गर्न नसकेको हो । ‘हामी यही पोखरीभित्र रहने हो भने अतिरिक्त मौलिक साहित्य कसरी सिर्जना गर्न सक्छौँ ?’, उनले चिन्ता व्यक्त गरे ।

Kitab Yatra awared Amar Neupane's Novel "Gulabi Umer" for Best Seller 2019 at Kitab Jatra.

Kitab Yatra awared Amar Neupane’s Novel “Gulabi Umer” for Best Seller 2019 at Kitab Jatra.

कार्यक्रमलाई हरिवंश आचार्यले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले भने, ‘पठन संस्कृतिको विकासका लागि किताब यात्राले उल्लेखनिय भूमिका खेलेको छ । यो साहित्यको सेवा पनि हो । यसरी किताबहरुकै जात्रा गरिनु त झनै सकारात्मक सुरुवात हो ।’ घर घरमा खाना डेलिभरी गराउनेहरु जस्तै किताब डेलिभरी गराउनेहरु बारे पनि आम मानिसलाई अझै जानकार गराइनु पर्ने मत उनको थियो । किताब यात्राका अध्यक्ष ऋषिराम अधिकारीले पठन संस्कृतिको विकाससँगै आम मानिसलाई साहित्यसँग जोड्ने हेतुले नै किताब जात्राको आयोजना गरेको बताए ।

कार्यक्रम चार सत्रमा विभाजित थियो । पठन संस्कृतिका विविध आयामबारे ४ फरक-फरक मु्द्दामाथि बहस भएको हो । बहसमा नयनराज पाण्डे, नारायण वाग्ले, सुधीर शर्मा, विश्वभक्त दुलाल ‘आहुति, सरस्वती प्रतिक्षा, अनिल केशरी शाह, टिकाराम यात्री, विनोद चौधरी, दिलभुषण पाठक, दयाहाङ राई लगायतका लेखक, कलाकार तथा पत्रकारहरुले सहभागीता जनाएका थिए ।

पहिलो सत्रको बहस ‘पढ्ने र लेख्नेः के, कस्तो र कसका लागि’ मा लेखक तथा पत्रकार नारायण वाग्ले, आख्यानकार नयनराज पाण्डे, आख्यानकार तथा कवि सरस्वती प्रतीक्षा को सहभागीता थियो भने, सहजिकरणको भूमिकामा कवि मनु मञ्जिल सक्रिय थिए ।

दोस्रो सत्रमा ‘दशकका सुख दुःखः समाज, साहित्य र समाचार’ शीर्षकमाथि पत्रकार सुधिर शर्मा, लेखक अर्चना थापाआहुति ले विषय र समय सान्दर्भिक बहस गरेका थिए भने सहजिकरणमा सञ्चारकर्मी टीकाराम यात्री ले पनि उल्लेख्य भूमिका निभाएका थिए ।

तेस्रो सत्रको बहस ‘पढ्ने बानीः किन पढ्ने?’मा कलाकार दयाहाङ राईसँगै थिए नबिल बैंकका सिइओ अनिल केशरी शाह र युवा नेतृ मानुषी भट्टराई । सहजकर्ता थिए सञ्चारकर्मी दिलभूषण पाठक । बहसका क्रममा कलाकार दयाहाङ राईले चलचित्र सम्बन्धी पुस्तकको कमी भएको कुरा उठाएका थिए ।

कार्यक्रमको अन्तिम अर्थात् चौथो सत्र ‘बुक, बिजनेश एण्ड बिलिनियर’ मा भने एक्लो वक्ताका रुपमा थिए नेपालका चिरपरिचत व्यवसायी विनोद चौधरी र साथमा थिए प्रश्नकर्ताको भूमिकामा फेरि पनि सञ्चारकर्मी टीकाराम यात्री । चारै चरणका बहसहरु रोचक एवं जानकारीमूलक रहेका थिए ।

कार्यक्रमको अन्त्यतिर आयोजक किताब यात्राले २०१९ को बेस्ट सेलर अवार्ड साहित्यकार अमर न्यौपानेको उपन्यास ‘गुलाबी उमेर’लाई प्रदान गरेको थियो । २०१९ मा किताब यात्रामार्फत सबैभन्दा बढी बिक्री भएको किताब “गुलाबी उमेर” रहेको बताइएको हो ।

Kitab Jatra exhibited traditional "Laakhe Naach" at Everest Hotel, New Baneshwore.

Kitab Jatra exhibited traditional “Laakhe Naach” at Everest Hotel, New Baneshwore.

नेपालको परम्परागत संस्कृति विशेष “लाखे नाच”बाट उद्घाटित कार्यक्रमको समापन काव्य वाचन हुँदै भएको थियो । कार्यक्रमको अन्तिममा राखिएको काव्य वाचनले कार्यक्रम सकिँदै छ भन्ने यथार्थलाई नपत्याउन उत्साहित गरिरहेको थियो । कवि सकुन्तला जोशी, कवि नवराज पराजुली र कवि एवं गजलकारको बाबु त्रिपाठीको कविता एवं गजल सुनिरहँदा कार्यक्रमको अन्तिम पलसम्मै दर्शकश्रोताहरुमा उद्घाटन समयको जोश जस्ताको त्यस्तै रहेको देख्न सकिन्थ्यो ।

आरम्भदेखि नै रोचक कार्यक्रम मध्यमा चिन्तनशील, ज्ञानबर्दक सामाग्री पस्किँदै अन्त्यमा सभ्य एवं भव्य रुपमा सम्पन्न भएको थियो । “सेलिब्रेटिङ द पावर अफ वर्ड्ज” नाराका साथ सुसम्पन्न किताब जात्राको कार्यक्रम सोसियल मिडियामार्फत लाइभ हेर्न मिल्ने व्यवस्था समेत गरिएको थियो । साहित्यमा यस्तो बृहद कार्यक्रम राजधानीको फाइभ स्टार होटेलमा सफलतापूर्वक सम्पन्न गर्नु आयोजक किताब यात्रा फाउन्डेशनले पछिल्लो वर्षदेखि उठाउँदै आएको एउटा उदाहरणिय कदम हो जसले साहित्यको क्षेत्रलाई निम्न दृष्टिकोणबाट हेर्ने परिपाटीलाई तोड्न सहयोग गर्ने कुरामा दुई मत छैन ।

Facebook Comments

You may also like

error: Content is protected !!