KILLING FOR LIVING

“भन्नुस्, तपाईंको समस्या के हो ?” प्रहरीको मोटो आवाज निस्किन्छ ।
“मेरी छोरी हराइन्,” मेरो मसिनो ( रुन्चे ) आवाज निस्किन्छ ।
“कहाँबाट ?” आवाज सामान्य सुनिन्छ ।
सायद उनीहरुलाई यस्ता घटनाहरु सामान्य लाग्छन् । सामान्य रुपमा लिन्छन् ।
“घरबाट” म संक्षिप्त जवाफ दिन्छु । आवाजमा भय र चिन्ता मिसिएको छ । तर, प्रहरीलाई पक्कै मेरो जवाफ सपाट लागेको हुनुपर्छ ।
“कसरी ?” आफ्नो अनुहारलाई जबर्जस्ती गम्भीर बनाउने कोसिस गर्छ । आफू अघिको सफेद पन्नामा कलम दौडाउन थाल्छ ।
“थाहा छैन” मेरो आँखा रसाउन थाल्छ ।

प्रहरी थप प्रश्नहरु थप्दै जान्छ । म जवाफ दिँदै जान्छु । प्रहरीले मलाई छोरी चाँडै भेटिने आश्वासन दिन्छ । म दुखी हुँदै आश बोकेर घर फर्किन्छु ।

* एक-महिना अघि *

हामी घर अघि उभिएका छौँ । हामी अर्थात् म र छोरी । छोरीको काखमा सेतो बिरालो मस्तसँग निदाइरहेको छ ।

म छोरीलाई हेर्दै सोध्छु, “घर कस्तो लाग्यो ?”
छोरी मुख बिगार्दै भन्छिन्, “डरावनी ।”
म हाँस्छु, “तिमीलाई यो डरावनी घरको बिस्तारै बानी पर्नेछ ।”

हामी बुबा-छोरी नयाँ घरमा प्रवेश गर्छौं ।

secret garden

secret garden

* दुई-महिना अघि *

“घर यहि हो,” एजेन्टले मलाई घर देखाउँछ ।

दुई-तले घर । ठूलो बगैँचा । बगैँचाको कुनामा सानो पोखरी । पोखरीको बिचमा ‘लोटस’ पौडी खेलिरहेको । पोखरी नजिकै सानो चिटिक्कको ‘रोज-गार्डेन’ । बगैँचाभरि थरीथरीका रुख-बिरुवा । अनेक रंगका ‘सिजनल-फूल’ लटरम्मै फुलेका / झुलेका । ‘धुपी’, ‘आँप’ र ‘रुद्राक्ष’को बोट । ठाउँ-ठाउँमा ‘ब्लेडिङ हर्ट’का बोटहरु पनि । घरको मूल ढोकाको दुई किनारमा ‘साइकस-प्लान्ट’ । बगैँचाको दुबै किनारमा हरियो ‘हेज’ लहरै उभिरहेका । ‘रेक्सोना-पाम’, ‘फोनिक्स-पाम’ बगैँचाको बिच-बिचमा शानसँग गडिएको । घरको भित्ताभरि हरियो ‘वाल-क्रिपर’ सल्बलाइरहेको । घरको चारैतिरबाट ‘बेगुनिया भेनिस्टा’ जस्तै लहरे फूलले अंगालेको । ‘निगांलो’को एक-दुई गाँजपनि !

हरियाली देखेर मन प्रसन्न ( हरियो ) हुन्छ । हामी ( म र एजेन्ट ) घरभित्र पस्छौँ । मूल-ढोकाबाट भित्र पस्ने बित्तिकै देख्छु दुई गमलामा ‘बोन्साइ’ । भर्‍याङको दुई-किनारमा ‘फिलोडेन्ड्रम प्लान्टहरु’ । झुण्डिएको गमलामा ‘लेभेन्डर प्लान्ट’ देख्छु । घरको केही कुनामा र किचेनमा ‘क्याक्टस’ देख्छु । बरन्डामा ‘आइभी लहरा’ लत्रिरहेको देख्छु ।

मलाई घर एकदम मन पर्छ । लाग्छ, घर कुनै जङ्गल भित्र छ । अथवा जङ्गल स्वयं घर भित्र छ । एकान्त छ । शान्त छ । सुन्दर छ । घरको मूल्य मैले सोचेको भन्दा धेरै सस्तो छ । यस्तो राम्रो घरको मूल्य यति सस्तो ? मलाई पचाउन गार्हो हुन्छ । केही छ जसलाई लुकाइरहेको छ एजेन्टले । अर्को दिन भेट्ने योजनासहित हामी छुटिन्छौँ ।

त्यो घरको टाढा-टाढासम्म पनि अरु घर छैनन् । घर एक्लो छ । त्यो घरलाई चिन्ने / देख्ने मान्छेहरुलाई सोध्छु त्यो घरको बारेमा । कसैलाई केही थाहा छैन । अन्तिममा एउटा बुढाले मलाई अफ्ठ्यारो मान्दै त्यो घरको किस्सा सुनाउँछ ।

बुढाको अनुसार –
तीन वर्ष पहिले त्यो घरमा एक परिवार बस्थ्यो । बुढाबुढी र छोरी । बुढाचाहिँ प्रकृति प्रेमी थिए । रुख-बिरुवालाई औधी माया गर्थ्यो । उसको आफ्नै ‘नर्सरी’ पनि थियो । घरभित्र बाहिर अनेक थरिका रुख-बिरुवा, फल-फूल रोपेर हरियो बनाउँथ्यो । तर बिस्तारै-बिस्तारै परिवारका सबै सदस्यहरु गायब भए । कसरी गायब भयो कसैलाई थाहा भएन । मान्छेहरुले भन्न थाले, घरमा रहेको अदृश्य शक्तिले उनिहरुलाई चपायो । निल्यो । मार्यो । सबैले त्यो घरलाई श्रापित भन्न थाले । त्यहि डरले त्यो घरमा कोही बस्न मानेनन् । उनीहरुको आफन्तले घर बेच्न खोजे तर घरसँग जोडिएको त्यो भयानक किस्साले गर्दा कसैले किन्न मानेनन् ।

मलाई त्यो घरको किस्साको कुनै परबाह लाग्दैन किनभने म आफैलाई सबैभन्दा ठूलो श्रापित मान्छु । दुखी ठान्छु । एकवर्ष अघि क्यानसरले श्रीमतीलाई लिएर गयो । त्यसपछि भाग्यले साथ दिन छाड्यो । व्यापारमा भारी नोक्सान भयो । भएको पैसा रित्तिँदै गयो । त्यहाँ बस्न मन लागेन । सस्तोमा घर बेचेर यता आयौँ । योभन्दा ठूलो श्राप अरु के नै हुन सक्छ ?

भन्छन् नि, ‘मरेको मान्छेलाई मार्न सकिँदैन । म मरिसकेँ । अब यो घरले मलाई केही गर्न सक्दैन । बल्ल-बल्ल सस्तोमा पाएको घर किन छाड्ने ?’

* छोरी हराउनुभन्दा पाँच दिनअघि *

म किचेनमा छु । कफीको लागि पानी उमालिरहेको छु । छोरी आफ्नो कोठाबाट दौडिँदै आउँछिन् र हतास-हतास बोल्छिन्, “बाबा, मेरो बिरालो देख्नुभयो ?”
‘देखेको छैन’, आशयमा म टाउको बटार्छु ।
छोरी आत्तिँदै भन्छिन्, “हेर्नुस् न, बिहानबाट बिरालोलाई देखेकै छैन । कता गयो गयो ?”
मन्द मुस्कुराउँदै भन्छु, “यति ठूलो घर छ, बगैँचा छ कतै गएको होला । फर्केर आइहाल्छ नि ।”

छोरी ठुस्स पर्दै बिरालोलाई पुकार्दै / खोज्दै बगैँचा तिर लाग्छिन् ।

* छोरी हराएको दिन *

मौसम शान्त छ । म किचेनमा ब्रेकफास्ट बनाउँदै छु । छोरी अझै आफ्नो कोठाबाट निस्किएकी छैन । तयारी ब्रेकफास्ट लिएर म छोरीको कोठामा उक्लिन्छु । ढोका खुल्लै छ । भित्र छोरीलाई देख्दिनँ । सामानहरु असरल्ल छरिएका छन् । झ्याल पनि खुल्लै देख्छु । ब्रेक फास्ट टेबलमा राख्छु र छोरीलाई पुकार्छु । जवाफ आउँदैन ।

मन डराउँदै जान्छ । आत्तिँदै जान्छ । घर- बगैँचा चहार्छु । छोरीलाई खोज्छु । कराउँछु । चिच्याउँछु । गुहार्छु । बेलुकीसम्म छोरीलाई नदेख्दा / नभेट्दा पक्का हुन्छ, बिरालोजस्तै छोरी पनि हराइन् ।

Girl in forest

Girl in forest

* अहिले *

घर फर्किँदै गर्दा बुढाले सुनाएको घरको किस्सा याद आउँछ । तीन वर्षअघि यो घरमा बस्न आएको परिवार । एकाएक सबै गायब भएको भयानक घटना । घरमा रहेको अदृश्य शक्ति । मन डराउन थाल्छ । कतै यो घरले मेरो छोरीलाई पनि निलेको त होइन ?

रातभर छटपटाइरहन्छु । डराइरहन्छु । के साच्चै यो घरमा अदृश्य शक्ति लुकेको छ ? के साच्चै यो घर श्रापित हो ? बाहिर आकाश चड्किन थाल्छ । एकैछिनमा बादल चुहिन थाल्छन् । आउन खोजेको निन्द्रा पनि भाग्छ । हावाले कोठाको झ्याल खोलिदिन्छ । म ओछ्यानबाट आफूलाई छुटाउँछु । बत्ती बाल्छु । झ्यालतिर आफूलाई मोडाउँछु । झ्यालबाट रुखको लहरा कुनै सर्प’झैं बग्दै आइरहेको देख्छु । म डरले काँप्न थाल्छु । मलाई सास फेर्न गार्हो हुन्छ । यो म के देख्दै छु ? कतै म सपना देखिरहेको त छैन ? कतै मस्तिष्कले भ्रम जन्माइरहेको त छैन ?

हेर्दा-हेर्दै लहराले मेरो खुट्टा बाँध्न थाल्छ । म कराउँदै आफूलाई छुटाउन खोज्छु । बचाउन खोज्छु । लहरा झनझन कस्सिँदै जान्छ । कसो-कसो मेरो हात काँचको एस्ट्रेमा पर्न जान्छ । म त्यहीँ काँचको एस्ट्रेले लहरा काट्न थाल्छु । अन्ततः मुस्किलले लहरा काटिन्छ । म आफूलाई उठाउँछु । छुटाउँछु । झ्यालबाट अरु लहराहरु सल्बलाउँदै आउँछन् । मलाई लखेट्न थाल्छन् । म आफूलाई बचाउँदै घर बाहिर निस्किन्छु । पछाडि नफर्किकन बगैँचा पार गर्छु । सडकमा गुहार्दै-गुहार्दै दौडिरहन्छु ।

के बिरालो र मेरो छोरी हराउनुमा त्यहि लहरा दोषी छ ? तीन वर्षअघि यहाँ बसेका परिवारका सबै सदस्यहरुलाई गायब गराउने के त्यहि लहरा हो ? यो घरमा लुकेर बसेको अदृश्य शक्ति के त्यहि लहरा हो ?

आफूसँग घटेको घटना म प्रहरीलाई सुनाउँछु । ऊ मेरो कुरा सुनेर हाँस्छ । मलाई पत्याउँदैन । छोरी हराएको चिन्ताले मेरो मानसिक सन्तुलन गुमेको ठान्छ । म उसलाई आफूसँग त्यो घर जान कर गर्छु । ऊ मलाई गलत र पागल साबित गर्न अर्को दिन मसँग त्यो घर जान तयार हुन्छ ।

हामी घर पुग्छौँ । सबै शान्त देख्छु । लाग्छ, हिजो राती केही भएकै छैन / होइन । घरलाई चारैतिरबाट अंगालेको लहरालाई हेर्छु । लहरा आज सर्पझैं चलमलाइरहेको छैन । सलबलाइरहेको छैन । लहरा घरको भित्तामा पहिलेकै जसरी टाँसिएको छ । म प्रहरीलाई लहरा देखाउँछु । राती भएको घटनाको वृतान्त पुनः सुनाउँछु । प्रहरी घरको, बगैँचाको, मेरो अवस्था हेर्छ र मलाई सराप्दै आफ्नो बाटो लाग्छ । म निराश हुन्छु । झन् दुखी हुन्छु । पागल जसरी कराउँछु । म लहरा नजिक जान्छु । त्यसलाई गहिरोसँग नियाल्छु । छाम्छु । यो लहरामा पक्कै केही शक्ति छ । म आफूलाई हुत्याउँदै घर भित्र पसाउँछु । ल्यापटप अन गर्छु । गुगल गर्छु । मेरो शंका सही साबित हुन्छ । थरररर काँप्न थाल्छु । जमिन हल्लिन थाल्छ । पसिनाले भिज्न थाल्छु । वमिट आउलाझैं हुन्छ ।

“MAN-EATING PLANT known as “CARNIVOROUS TREE”

The Ya-Te-Veo or The Man Eating Tree by Amand Welcker

The Ya-Te-Veo or The Man Eating Tree by Amand Welcker

Venus Fly Trap from Pixabay

Venus Fly Trap from Pixabay

Facebook Comments

You may also like

error: Content is protected !!