लियोको दोश्रो प्रस्तुतिः युनिक प्रेम दिवस

लियोको दोश्रो प्रस्तुतिः युनिक प्रेम दिवस

इटहरीः वसन्तको सुरुवात लगतै प्रेम सप्ताह सुरु हुन्छ । जताततै प्रेमील रौनक छाउने गर्छ । देशका खुल्ला, रमणिय र एकान्त हरियाली वातावरणहरु युगलमय देख्न सकिन्छ । आगन्तुक भाषाको नेपाली जन-जिब्रोमा जस्तो पकड छ, यो आगन्तुक पर्व प्रेम दिवसको पनि नेपाली समाजमा उस्तै प्रभाव छ । धेरै जसो युवाहरुले प्रेम दिवस (प्रणय दिवस) आ-आफ्नो जोडीसँग  डेटिंग गएर मनाउने गरेका छन् । तर, यसपालीको प्रेम दिवस इटहरीका केही सिर्जनशील युवाहरुले देश विदेशमा पृथक सन्देश दिनका लागि प्रेम दिवस पृथक शैलीको कार्यक्रमको आयोजना गरि मनाउने भएका छन् । सृजनशिल युवाहरुको समूह, इटहरी सुनसरी लियो क्लबका पूर्व अध्यक्ष युवराज काफ्लेका अनुसार यसपटकको प्रेम दिवस कवि, कविता र संगीतकारसँग मनाउने कार्यक्रम तय भएको छ ।

आउने फाल्गुन २ गते अर्थात १४ फेब्रुअरीका दिन इटहरीको कस्तुरी कलेजमा विश्वविख्यात कवि नवराज पराजुलीसँग कविता कन्सर्ट गरि यसपालीको प्रेम दिवस मनाउने कार्यक्रम तय भएको क्लबका अध्यक्ष चिरञ्जीवि कार्की(विपिन)ले बताए । सधैँभरी प्रेमी-प्रेमिकाबिच मात्रै होइन, कवि कविता र संगीतसँग पनि प्रेम दिवस मनाउनुपर्छ । जसले युवाहरुलाई सृजनशिलतातिर लैजान सहयोग पुग्छ भन्ने ध्येय राखेर कार्यक्रमको आयोजना गर्न लागिएको उनले बताएका छन् । स-शुल्क आयोजना गरिएको कविता कन्सर्टमा कवि पराजुलीले आफ्ना चर्चित कविताहरु आफ्ना दर्शक-श्रोतामाझ पस्कने छन् ।  युवा माझ लोकप्रिय कवि पराजुलीलाई कन्सर्टमा पोखराका युवा संगीतकार रञ्जन गायकले बाँसुरी  र  सारङ्गी बजाएर साथ दिने छन् । गायकले नवराजका कविताका लयसँगै मिल्ने गरि बाँसुरी र सारङ्गी बजाएर कन्सर्टलाई भव्य बनाउने कार्यक्रम संयोजक आभाष भट्टराईले बताए । 

यसअघि पनि ०७५ असार २ गते इटहरीमा पराजुलीलाई नै सहभागी गराएर कविता कन्सर्ट गरिएको थियो । कविता र संगीतलाई सँगसँगै लिएर व्यवसायीकरण गर्नका लागि यस किसिमको कार्यक्रमलाई निरन्तरता दिँदै जाने लियो क्लब इटहरीका पूर्व अध्यक्ष काफ्लेले बताए । कन्सर्टबाट उठेको केही रकम समाजिक कार्यका लागि खर्चिने योजना रहेको कार्यक्रम संयोजक भट्टराईले बताए । दिन-प्रतिदिन यौनिक बन्दै गइरहेको प्रेम दिवसलाई युनिक अवधारणामा कविताको साथ सांगितिक माहोलमा सभ्य एवं भव्य मनाउनु लियो क्लब इटहरीले पछिल्लो वर्षदेखि उठाउँदै आएको उदाहरणिय काम हो ।   

Facebook Comments

You may also like

error: Content is protected !!