कथा भित्रको कथा- एक चर्चा

“एउटा मान्छे बेलडाँगी झापाबाट आकाशको यात्रा गर्दै न्यूजिल्याण्डसम्म पुग्छ । उसलाई जहाजको झ्यालबाट बाहिर हेरी अञ्जान ठाउँकाबारे जान्ने प्रबल उत्सुकता हुन्छ । उज्यालो धर्ती, सडकमा दौडीरहेका गाडी र विभिन्न भवनहरू देखी मनभरि खुसीयाली छाउँछ।”
प्रस्तुत मान्छे (ऊ) पात्र लेखक हुन् । माथि उद्धृत गरिएका पङ्ति ‘कथा भित्रका कथा’ का लेखक गोपाल पौडेलका हुन् । प्रस्तुत घटना उनको संस्मरणको पहिलो पानामा पढ्न पाइन्छ जसमा शीर्षक राखिएको छैन ।

लेखक गोपालले न्यूजिल्याण्ड अवतरणपछि म्याङग्री क्याम्पका विभिन्न तालिम लिई त्यो देशको परिवेश बुझ्दै जान्छन् । उनलाई (उनको परिवारलाई) त्यहाँका फलफूल र चराहरू देख्दा आँखामा भूटानको झल्को आउँछ ।

म्याङग्री क्याम्पमा तालिमकै क्रममा पौडेलले बर्मा, अफगानिस्तान, पाकिस्तान र सिरिया देशका शरणार्थीहरुसँगको साक्षात्कार गर्ने अवसर पाउँछन् । पौडेलले तालिमका सुरुवाती दिन सम्झँदै लेख्छन्, “ती देशका शरणार्थीसँग भाषा नबुझेका कारण कहिले कहिले झगडा भए पनि एउटै पीडाबाट गुज्रिएर आएका मान्छेको मन मिल्दो रहेछ।”

म्याङग्रीबाट बसको यात्रामा पामस्टोन नर्थ (दोस्रो सहर) हिँड्दा लेखक गोपाल झ्यालबाट बाहिर हेर्दै डाँडा र स-साना पहाडका थुम्का थुम्की हेरी भूटानका कुलागांग्री र जुमोलह्री सम्झन्छन् । नेपालका कन्जनजंघा र धौलागीरी सम्झन्छन् ।

यसरी एक लेखकले जन्मभूमि र कर्मस्थल एकसाथ जोड्नाले लेखकमा दुवै देशको भौगोलिक स्थितिको जानकारी छ भन्ने देखाउँछ । यसका साथै ती देश प्रति आज पनि सम्मान र सम्झना छ भन्ने पनि दर्शाउँछ । समृत राईले निर्माण गरेको आवरण दृश्यमा भूटान छाड्दै गरेको र शरणार्थी बसाई एकसाथ उतारिएको छ । ती दुई दृश्यले लेखक आफू भूटानमा जन्मिए र नेपालमा शरणार्थी जीवन बिताएका थिए भन्ने प्रस्ट देखाउँछ ।

‘सपनाप्रति छोटो सम्झना’ शीर्षकको संस्मरण पढ्दा कतै मन गर्वले फुल्छ, कतै बिचरा भन्ने सहानुभूति हुन्छ। कारण सपना नाम गरेकी ती पन्ध्र वर्षीय बालिका ब्रेन ट्युमरले ग्रसित छिन् र पनि रोग र मृत्युलाई स्वीकार गर्नुपर्छ भनेर उनलाई भेट्न आउने जाने सबैलाई सम्झाउँछिन्, बुझाउँछिन् । बाँचुन्जेल केही गर्नुपर्छ भनी पन्ध्र वर्षे बिरामी आफैँ सबैलाई बुझाउँछिन् । यी कुरा पढुन्जेल मेरो मन थामिएन । आँखा चिसा भइरहे ।

पुस्तक बेलडाँगीबाट, न्यूजिल्याण्डसम्मको यात्रा विवरण हो । लेखक आफूले भोगेको अनुभूति र विभिन्न स्थानमा पात्रहरुसँगको अन्तरङ्ग कुराकहानी हो । पृष्ठ ६९ ‘न्यूजिल्याण्डमा पारिवारिक अवस्था’ शीर्षकको संस्मरणमा एउटै परिवार भित्रका कोही सदस्य दाल-भात खाने, कोही सदस्य जाम ब्रेड या पिज्जा-बर्गर खाने पनि छन् । यसरी हामी एउटा छुट्टै परिवेशबाट अर्को आधुनिक परिवेशमा रूपान्तरण हुँदैछौँ । यो समयको माग र आजको आवश्यकता हो भनी पौडेलले लेखेका छन् ।

लेखक घरीघरी नोस्टाल्जिक बन्दै न्यूजिल्याण्डबाट शरणार्थी जीवन, भूटानभित्रको जीवनतिर फर्कन्छन् । उनी आफ्ना सङ्घर्षका दिन पाठक माझ ताजा बनाउन सफल छन् । १०६ पृष्ठको उक्त कृतिमा विषयसूचि राखिएको छैन । शीर्षक दिएर २० वटा संस्मरण राखिएको छ । जसमा कुनै कुनै संस्मरण भित्र उपशीर्षक पनि पढ्न पाइन्छ । यस कृतिको पृथक पक्ष, यहाँ प्रस्तुत सबै संस्मरणहरू प्रथम पुरुष — म, एक वचनमा नभएर बहुवचन ‘हामी’ मा छन् । प्रथम पुरुषमा प्रस्तुत संस्मरण पढिरहेका आजका पाठकलाई यो पुस्तकका संस्मरण केही नौलो लाग्न सक्छ । नौलो हुँदाहुँदै कृति रोचक र घोचक पनि छ ।

समग्रमा भूटानमा एउटा परिवेश, शरणार्थी शिविरको अर्को र पुनर्वास भएको देशमा अरू नै परिवेश छ । यसरी उही पात्र समय परिस्थितिले गर्दा फरक कथा जन्माइदियो । यो कृति त्यही भोगाइको एउटा उपज हो । यस कृतिमा कतै-कतै भाषिक अशुद्धता भने छ, कतै घटना प्रस्तुत गर्ने सिलसिलाको कमी देखिन्छ । यसरी हेर्दा सम्पादन पक्ष हुनुपर्ने जति दर्बिलो छैन । तर लेखकले साक्षातकार गरेका ती अनुभूतिहरु पढ्न योग्य छन् ।

पौडेलको कथा भित्रको कथा जी बि एल ओ (GBLO) नामक संस्थाले सन २०१९ मा प्रकाशन गरेको हो । पुस्तक अध्ययन गर्ने कुनै पनि भूटानी परिवेशको पाठकले आफ्नै कथा व्यथा अवश्य ठान्छन् । यसरी पाठकलाई आफ्नै घटना ठान्ने बनाउने कला लेखकीय दृष्टीले सफल पक्ष हो । नेपाली भएकै कारण भूटानबाट लखेटिनु र भूटानी भएकै कारण नेपालमा रहुन्जेल पराया व्यवहार सहँदै शरणार्थी जीवन व्यतीत गर्नु कति चुनौतीपूर्ण थियो । अन्तिममा लेखक नेपाललाई सम्झिएर लेख्छन्, “आफू पनि नेपाली भएका कारण तुलनात्मक रूपमा संसारका अरू शरणार्थी भन्दा निकै राम्रो शिक्षाको ज्योति पाएकोमा जय नेपाल ! जय नेपाली !”

Katha Vitrako Katha by Gopal Poudel

Katha Vitrako Katha by Gopal Poudel

Facebook Comments

You may also like

error: Content is protected !!