कमलीको मन

 
“ओहो छोरी ! बाहिर झरी परिरा’छ, तिमी किन यति छिटो उठेकी ? सुत एकछिन । स्कुल जाँदा सधैँ उठ उठ भन्नुपर्ने आजभोलि मभन्दा छिटो उठेर बाहिर भित्र गर्छ्यौ त, के भाकी !”
आमाले भित्रैबाट कराइन् ।
“हैन आमा, गोठमा गाई करायो अलिकति घाँस हालिदिन्छु ।”
उठ्ने बित्तिकै नकोरेको कपाल हल्लाउँदै साउने झरी एक हातले छेल्दै गोठतिर लागी कमली । नामजस्तै कमलो छ मन पनि कलमीको । बेलुका नै काटेर राखेको घाँस हालिदिई गाईलाई ।
“ल हेर त ! गाई, बाच्छी सबै भिजेछन् झरीले ।”
कमलीले छानोतिर फर्किएर हेरी, पानीका छिटा छानोबाट चुहिएर उसका आँखामा परे, ऊ झस्किँदै घरतिर फर्की । उसकी आमा उठेर घरधन्दा गर्न लागिन् ।

तीन महिना भइसक्यो, कमलीको स्कुल बन्द भएको । यसपाली ऊ कक्षा ६ मा पढ्ने थिई । हेडसरले ,“तिम्रो परीक्षा राम्रो भा’छ, नतिजा राम्रो हुन्छ ।” भन्नुभएको उसले बिर्सेकी छैन । एकापट्टीको फिता छिनेको अनि गोजीको चेन बिग्रिएको झोला र पुराना भएका, कतै गाता च्यातिएका र कतै दोब्रिएका किताब पल्टाएर ताजा हुन्छन् प्रायः उसका सम्झनाहरू । यति मात्र हैन, साथीले केरिदिएका, ठाउँठाउँमा रातो कलमले सही लगाएका, कतै स्याबास लेखिएका कापीहरू हेरी एक्लैएक्लै हाँसेर पनि पोखिन्छन्, कमलीका खुशीहरू, बेलाबेलामा । गाउँमा घर छ । एक घण्टाको बाटो पैदल हिँडेर बीचमा खोला तरेपछि मात्र पुगिन्छ उसको स्कुल । लामो समयदेखि घरमा बसिरहँदा विद्यालय र साथीका सम्झनाहरू आजभोलि उसलाई उखुमै आइरहन्छन् । खास गरी निर्मली, सानु र बेलीको, एउटै बेन्चमा बस्ने र सँगै खेल्ने साथी भएर । अनि चटपटे बेच्ने दिदीको पनि । एकपटक उसले आमालाई सोधेकी थिई, “आमा आज घाम लागेको छ, म निर्मलीलाई भेट्न जाऊँ ?” कमलीको प्रश्न भुइँमा खस्न नपाउँदै आमाले हकार्दै हुँदैन भनेकी थिइन् । कमलीको मुख अँध्यारो भएको थियो ।

“हरे ! यो कोरोना किन यति निष्ठुरी भाको होला ! राक्षस जस्तो !”
एक्लै कराउँथी अनि जान्थी घाँस काट्न डोको बोकेर !

घाँस काट्ने, पानी भर्ने, भाँडा माझ्ने, घरको काममा आमालाई सघाउने उसका दैनिकी नै थिए । आखिर तिनै आमाछोरी त थिए एक अर्काका साहारा त्यस घरमा । जतिसुकै व्यस्त भए पनि आफ्ना पुराना किताब, कापी र कलम दिनमा एकपटक निकालेर दैनिकी लेख्ने, चित्र बनाउने, पन्ना च्यातेर फूल, डुङ्गा बनाउने उसका खुशीका कारणहरू थिए । विषम परिस्थितिले खोसेका उसका रहरहरू बारम्बार प्रश्न बनाएर आमासामु राखिरहन्थी ऊ,
“आमा अब नयाँ किताब, कापी कहिले ल्याइदिनु हुन्छ त ?” 
“अँ भन्नुस् त ! हाम्रो स्कुलको पालेदाइ त दिनै स्कुल जानुहुन्छ होला है ! “
“साँच्चै ! चटपटे बेच्ने दिदी के गर्दै हुनुहुन्छ होला ? “
“तपाईंलाई थाछ ! अब ६ मा पुगेपछि हामी नयाँ कक्षामा बस्छौँ नि ! म त पहिलो बेन्चमा बस्छु ।”
आमा सुनेको नसुन्यै आफ्नो दिनचर्यामा लाग्थिन् । तर आमाले नसुने पनि ऊ भन्न छोड्दिनथी,
“गुरुआमाले ठूलो भएर के बन्छेऊ ? भन्दा, मैले के भनेको थेँ थाछ ? डाक्टर ।”
आमा कतै गइसेककी हुन्थिन् ।

साउने झरी चलि नै रहेको थियो । एक दिन कमली घर बढार्दै थिई, अचानक कुचो मिल्काएर ढोकामा अढेस लगाएर उभिई र आकाशतिर हेरी । मध्ये दिनमा केही समय झरी थामिएझैं भएको थियो । बादलका ढिस्काबाट केही उज्यालो बाहिर आयो, सँगै उसको मुहारको चमक पनि । ऊ निक्कै खुशी देखिन्थी । उसलाई आफ्ना साथीहरू, विद्यालयको चौर, खाजा खाने समय, सबै झल्झली याद आए । हतार हतार किताब राखेको झोला झिकी र मझेरीमा गुन्द्री ओछ्याई । झोलाबाट कापी निकालेर एउटा पन्ना झिकी र लेख्न थाली ।

“…….प्यारी साथी निर्मली, मलाई तिम्रो धेरै याद आइरहेको छ, स्कुल छिटै खुलोस् भनेर सोचिरहेकी छु, मलाई तिमीसँग बसेर कथा लेख्नु छ, तर मलाई कोरोनासँग रिस उठेको छ । आशा छ कोरोना छिट्टै जाओस् अनि हामी कत्ति कुरा गर्दै सँगै खेलौँला । तर पढ्दै गर नि ………..।”

उसले चिठी पूरा गरी । चिठीको पन्ना दोबारेर डुङ्गा बनाई र घर नजिकैको कुलो छेउमा गई । उसलाई थाहा छ, त्यो कुलो निर्मलीको घरसम्मै पुग्छ । उसले त्यो डुङ्गा बिस्तारै कुलोमा राखी, तर पानीले त्यो कागजको डुङ्गा भिजेर बिग्रिन्छ भनेर हेक्का राखिन । त्यो डुङ्गा अलि तलसम्म कुलोको पानीमा बग्दै गयो ! कमली मुसुक्क हाँसेर घरतिर फर्की ।

Facebook Comments

You may also like

error: Content is protected !!