ऐना | नेपाली कागज | कविता | काव्यालय-Kavyalaya | मोहित जोशी

कमला दासको जन्म ३१ मार्च, १९३४मा केरलाको त्रिचूर जिल्लामा भएको थियो। उनी ब्राह्मण नायर परिवारबाट थिइन् । मात्र पन्ध्र वर्षको उमेरमा यिनको विवाह कलकत्ताको माधव दाससँग भएको थियो । उनी बाल्यकालदेखि नै कविताहरू लेख्थिन् तर विवाहपश्चात उनले रातको त्यो प्रहरसम्म जाग्नुपर्थ्यो जबसम्म पुरै परिवार सुत्दैनथ्यो । उनको विवादास्पद आत्मकथा ‘मेरी कहानी’ यति धेरै पढियो कि भारतको हरेक भाषासहित पन्ध्र विदेशी भाषामा पनि अनुवाद भएको थियो । उनी चाहन्न थिइन् मृत्युपश्चात आफ्नो शरीरलाई जलाइयोस्, त्यसैले उनले हिन्दु धर्म त्यागेर इस्लाम धर्म अपनाइन् । इस्लाम धर्म कबुल गरेपश्चात यिनलाई कमला सुरय्याको नामबाट चिनिन थाल्यो ।


उनका केही प्रमुख कृतिहरू यस प्रकार छन्ः

द साइरन्स,

समर इन कलकत्ता,

द डेस्केडेन्ट्स,

दि ओल्ड प्लेहाउस एण्ड अदर पोयम्स,

कलेक्टेड पोयम्स भाग १,

दि अनमलाई पोयम्स,

ओनली द सोल नोज हाऊ टू सिंग,

या अल्लाह


 

कुशल कवि ‘बालमणि अम्मा’की छोरी उनले आमाकै प्रेरणाले १५ वर्षको उमेरदेखि नै कविता लेख्न सुरु गरेकी थिइन् । कविताप्रतिको लगावकै कारण दिनभर घरको कामले फुर्सद नपाउने कमलादास राती सबै परिवार निदाइसकेपछि छर्लङ्ग बिहान नहुन्जेल कविताकर्ममा रमाउँथिन् र यही अनिँदो अवस्थामै पुनः घरको काममा हेलिन्थिन् । यस प्रकारको दिनचर्याले उनी बिरामी समेत परेकी थिइन् । उनका बारेमा विस्तृत यथार्थ उनकै आत्मकथा ‘मेरी कहानी’ | ‘माइ स्टोरी’ मा पढ्न सकिन्छ । दुई मुस्लिम बच्चालाई सन्तानको रूपमा समेत अपनाएकी कमलादासले सन् २००९मा ७५ वर्षको उमेरमा आफ्नो प्राण त्यागिन् । 


प्रस्तुत छ यिनै  कवि कमला दास उर्फ कमला सुरय्याको निकै मीठो कविताः
ऐना

एक पुरुषलाई आफूसँग प्रेममा पार्नु सजिलै हुन्छ
बस्, इमान्दार रहनु की एक स्त्रीको रुपमा तिमी के चाहन्छौ।
ऐना अगाडि ऊसँग नाङ्गै उभिनु
ताकि उसले देखोस् आफूलाई तिमीभन्दा धेरै बलवान
र त्यसलाई भरोसा गरोस्,
र तिमीलाई देखोस् अझ धेरै

कोमल, जवान, प्यारी।
स्वीकृति देऊ आफ्नो प्रशंसालाई।

उसका अंगहरूको पूर्णतामा ध्यान देऊ,
शावरमुनि राता भइरहेका उसका आँखाहरू,
बाथरुमको भुइँमा त्यही लजालु हिँडाइ,
तौलिया खस्नु, र उसको झट्काएर पिसाब गर्ने तरीका।
यी सबै अनुरक्त व्यहोराहरूमा ध्यान देऊ,
जो उसलाई पुरुष बनाउँछन्।
तिम्रो एकमात्र पुरुष।

उसलाई सबै सुम्पिदेऊ,
त्यो सबै सुम्पिदेऊ जसले तिमीलाई स्त्री बनाउँछ
लामो कपालको सुगन्ध,
स्तनहरूबीचको पसिनाको कस्तूरी

तिम्रो महिनावारीको रगतको तातो झनझनाहट,
र तिम्रा सबै अन्त्यहीन स्त्री भोकहरू।

अँ, सजिलै हुन्छ प्रेम गर्नलाई एक पुरुष पाउन
तर त्यसपछि ऊबिना बाँच्नुको सामना गर्नु पर्न सक्छ।
सामना गर्नु पर्न सक्छ जिन्दगीबिना जिउँदो रहन
जब तिमी वरिपरि डुल्छौ, अन्जानहरू भेट्दै,
बोकेर ती आँखा जसले आफ्नै खोजी छोडिसके,
कान जो सुन्छन् मात्र उसको अन्तिम आवाज आफ्नै नाम पूकारिरहेको,
र तिम्रो देह जो कुनैबेला उसकै स्पर्शले चम्किन्थ्यो पितल-जस्तै
अहिले फिका र बेसाहारा छ।

****



 

Facebook Comments

You may also like

error: Content is protected !!