कल्पजगत

आउनुस् आउनुस् !
आश्चर्यचकित नभई आउनुस् । यो कल्पजगत हो । तपाईं यहाँ आफूले कल्पना गरेभन्दा बिल्कुलै पृथक वातावरण पाएर अचम्म मानिरहनु भएको छ । यो स्वभाविक कुरा हो, किनभने तपाईंहरु यतिबेला अस्वभाविक स्थानमा हुनुहुन्छ । यानि कि मेरो कल्पनाभित्र ! यो बडो गज्जब कुरो हो, होइन ? के भन्नुभयो ? अविश्वासिलो ? यो पनि सहि हो, तपाईं जहाँ हुनुहुन्छ, त्यहाँबाट यो संसार, यो दृश्य अविश्वसनिय नै देखिइरहेको हुन पनि त सक्छ । त यहाँ कसलाई विश्वास गर्ने ? (हिहिहिहि) गाह्रो छ हजुर गाह्रो छ । यो शून्य जगतमा एउटा कुरो चुन्न बडो मुश्किल छ ।

यी ? हो, हो, सहि ठम्याउनु भयो । यी बुद्ध नै हुन् । हाम्रै गौतम बुद्ध । उनको ध्यान-तप अझै खतम भएको कहाँ छ र ? उनी त्यो हल्लै हल्लाको देश यानि संसार छोडेर मेरो कल्पजगतमा आइपुगेको धेरै भइसकेको छ, सायद म जन्मिनु भन्दा कति हो कति युग अघि नै । आदिम समयविन्दू मै उनी यहाँ आइपुगेका हुन् र त्यतिबेला देखि नै उनी यहाँ, यही पिपलको बोटमूनि ध्यानस्थ छन् । ध्यानमा जानुअघि भन्थे कि “शान्तीको बाटो त पहिल्याएँ तर यो समग्र शून्यको एक मात्र सत्य के हो ? अन्तिम सत्य, आदिम विन्दू के हो ? यो जसै पत्ता लगाउनु छ ।” यहाँ सबैजना बुद्धको आँखा खुल्ने समयको प्रतिक्षामा छन् । यहाँ सबै रहस्यको पर्दाफास होस् भन्ने लालसाले व्याकुल छन् । तर बुद्धको आँखा खुल्ला न खुल्ला त्यो त कसलाई के थाहा ? आश भने सबैलाई छ, अपेक्षा सबैले गरेका छन् । अनुमान गरेका छन् हरेकले यहाँ, कि बुद्धले आँखा खोले भने कुन रहस्य उघार्लान् त ? बुद्ध बन्ने कोसिस, सुसुप्त, सबैले गरेकै छन् । बुझ्नुभयो ? स्वभावले हर कोही जिज्ञासु हुन्छन्, सबैलाई चासो छ रहस्यप्रति । मलाई पनि छ, तपाईंलाई छैन र ? कहिल्यै अन्दाज लगाउने चेष्टा गर्नुभएन र ? अँ, भन्नुस्, भन्नुस् !

के भन्नुभयो ? मृत्यु ? के त ? ईश्वर ? उर्जा ? कस्तो उर्जा ? (हाहाहा) धक लाग्यो ? किन धकाउनुहुन्छ ? यहाँ को ज्ञानी छ र ? सबैले बोल्ने कल्पनाकै आधारमा त हो । कोही गहिरिएर कल्पना गर्छन् कोही सतहमै टेकाउँछन् कल्पनालाई । तर कल्पना त कल्पना नै त हो । त्यही सबैभन्दा गहिराईबाट निस्किएको कल्पनालाई नै हामी ज्ञान भनिरहेका छौँ कि ? म पनि जान्दिनँ, यो पनि मेरो कल्पना नै हो । यी बुढा चिन्नुभयो ? को ? नशि… नशिरुद्दिन शाह ? (हाहा) माफ गर्नुस् यी तपाईंका सिनेमाका हिरो नशिरुद्दिन होइनन् । तपाईंले के पढ्नुभएको हो ? म्यानेजमेन्ट ? साइन्स पढ्नुभएको भए चिन्न मुश्किल हुन्थेन तपाईंलाई । अरे भन्दैछु त, यी बुढा अल्बर्ट आइन्स्टाइन हुन् । के ? होइन, होइन, कहाँ इन्टेस्टाइन पत्ता लगाउने हुन् यी ! यी त थ्योरी अफ रिलेटिभिटीका प्रतिपादक पो त ! महान ज्ञानी भनेर चिनिन्छन् यिनी संसारमा तर यी बुढा तिनै हुन् जो ज्ञानभन्दा कल्पना ठूलो हो भनिरहन्थे र अझैपनि भनिरहन्छन् । यो कुरा तिनले व्यवहारले चरितार्थ गरेर समेत देखाइदिए । तर पनि उनको कल्पनाको क्रम रोकिएको छैन । यतिबेला यो कल्पजगतभित्रै कल्पना गरेर बस्न पाउँदा यि झन् कति हो कति मख्ख छन् ।

के भन्नुभयो ? होइन होइन । त्यस्तो किन हुन्थ्यो ? असाधारण मात्र होइन साधारण मनुवा पनि हुन्छन् नि यो कल्पजगतमा । तपाईं हामी जस्तै पनि हुन्छन् । होइनौँ र ? मलाई त हामी साधारण मान्छे हौँ जस्तो लाग्छ कमसेकम अहिलेसम्म हामीले श्वास फेर्ने, खाने, डुल्ने बाहेक के नै गरेका छौँ र ? होइन ? हजुर, के रे ? अँ, त्यो त हो, खानु त सबैलाई पर्छ । के ? नपत्याउँदो खोलोले बगाउन सक्छ ! अँ, ठिकै हो कुरो त । कहिलेकाहीँ सामान्य लाग्ने कुरामा, विषयवस्तु वा घटनामा असाधारण कुराहरु नभेटिएलान् पनि त भन्न सकिँदैन । यो संसार रहस्यको पोको हो, कहाँ कतिबेला के हुन्छ, हुन्न को के भन्न सकोस् ? ठिकै छ त्यसोभए, जाऊँ त, खाने ठाउँतिरै जाऊँ ! सबैखाले मान्छे त त्यतै भेटिन्छन् । सबैलाई सुनौँ, निहालौँ । बस् साक्षी बसौँ र हेरौँ केसँग हुँदोरहेछ साक्षातकार ! अरे ! पिउने कुरा ? मज्जाले मज्जाले, पाइन्छ, न आत्तिनुस् । आउनुस्, मलाई पछ्याउनुस् ।

भेन्यो – “शराब इन्टर्याक्सन क्याफे”
पात्रहरु – वेटर/ मृत्यु्/ अस्तित्व/ भुलक्कड/ सत्यमान/ कन्सुत्ले अनि तपाईं र म पनि !

टेबुल नं १

मृत्यु – अस्तित्व जी, हेर्नुस् यो ब्रह्माण्डमा एक मात्र सत्य छ । र त्यो “म” हुँ । मेरो मतलब, “मृत्यु” (हाहा) ??
अस्तित्व – अर्धोत्तम वात ! तपाईं, मेरो मतलब “मृत्यु” एक सत्य हो तर एक मात्र सत्य होइन !
मृत्यु – तपाईं भ्रममा हुनुहुन्छ अस्तित्व जी ! हेर्नुस् मृत्यु बाहेक अर्को सत्य हुनै सक्दैन । बाँकी सब मिथ्या हुन् । भ्रम हो सारा कुरा ।
अस्तित्व – भ्रम ! हो यो भ्रमपनि एउटा सत्य हो मृत्यु जी । अस्तित्वमा उपस्थित र घटित हर कुरा सत्य हुन् ।
मृत्यु – हुनै नसक्ने कुरा ! तपाईं जे को पछि जति दौडनुस् तपाईंको अघिल्तिर आखिर मृत्यु बाहेक अरु केहि पाउनुहुने छैन ।
अस्तित्व – मृत्यु आफैमा एउटा भ्रम हो मृत्यु जी, रहस्यको पोको हो मृत्यु ! मृत्यु बारे सबैले हेडलाइन मात्रै कोर्न सक्छन्, सिर्फ बोक्रा ! गुदी कसैलाई थाहैछैन ।
मृत्यु – (आक्रोश, प्रतिवाद)
अस्तित्व – (अट्टहास, प्रतिवाद)

टेबुल नं २

भुलक्कड – यो नै मीठो कुरा हो सत्यमान जी !
सत्यमान – मलाई मीठो मन पर्दैन भुलक्कड जी !
भुलक्कड – “मिठो” भन्नु नै मन पर्ने कुरा हो नि । सायद तपाईंले …
सत्यमान – (रोक्दै) अँ ठिक ठिक, मैले “मीठो” लाई “गुलियो” भन्ने बुझेछु । भ्रम भएछ, स्वीकार्छु ।
भुलक्कड – (हाँस्दै) भैहाल्छ सत्यमान जी, भ्रम हुन्छ , स्वीकार्नु पर्छ,ठिक छ नि ।
सत्यमान – (हाँस्दै) यो त मेरो स्वभाव नै हो भुलक्कड जी । बच्पनदेखि नै सत्य को स्वीकार गरिहाल्नु पर्ने मेरो बानी अरे । त्यसैले नै मेरो नाम मेरी हजुरआमाले ‘सत्यमान’ राखिदिनु भएको रे !
भुलक्कड – सत्यमान जी, माफ गर्नुस्, यो सत्य को कुरा कुन प्रसङ्गमा पो निस्केको हो ? एक पटक फ्ल्यासव्याकमा जाऔँ न, भुली पो गएछु होउ म त !
सत्यमान – ओहो ! भुलक्कड जी, तपाईंको यो भुल्ने बानीले नि गर्नु गर्छ। सत्यको स्वीकार गरेथेँ त मैले !
भुलक्कड – अँ, हो हो, स्वीकार गर्नुभा’थ्यो ! सत्य स्वीकार गर्नु भाथ्यो । तर ..
सत्यमान – फेरि के तर भुलक्कड जी ?
भुलक्कड – सत्य त स्वीकार्नु भा’थ्यो, तर तपाईंले स्वीकारेको सत्य पो के थियो ?
सत्यमान – उहि क्या त, “मीठो” र “गुलियो” बिचको भ्रम ! सम्झिनु भयो ?
भुलक्कड – ए हो त ! तपाईंले स्वीकारेको सत्य त्यहि भ्रम त हो नि, होइन त ?
सत्यमान – जरुर, जरुर भुलक्कड जी (हाहाहा)
भुलक्कड – (हाहाहा)

टेबल नं ३

(हामी, दुई शराबीहरु)

म – केही बुझ्दैहुनुहुन्छ ?
तपाई – यी सबैको कुरा सुनेर लाग्दैछ, यो संसार, यो जगत, यो ब्रह्माणड एउटा रहस्यको पोको हो, मात्र एउटा रहस्यको पोको । यहाँ के सत्य के भ्रम ?
म – यो मेरो कल्पजगत हो, यहाँ जे पनि हुनसक्छ, मैले जे जे कल्पना गर्छु यहाँ त्यही त्यही हुन्छ । कृपया केहीपनि विश्वास नगर्नुस् ! (हिहिहाहा) यो बस् केहीपनि होइन । यो छँदै छैन । यहाँ कोहीपनि त छैन, तपाईं पनि त हुनुहुन्न । तपाईं त मेरो कल्पना मात्र हो । बुझ्नुभयो ? तपाईं मेरो कल्पना मात्र हो ।
तपाईं – (आश्चर्यचकित, एकदम खुलेका आँखा)
म – अझ खतरनाक रहस्य भनूँ ? म छु नि म ? म आफै पनि छैन खासमा । म पनि एउटा कल्पनाभन्दा बढि केही पनि होइन । (हिहिहाहा)
तपाईं – (त्रस्त, मलाई पागल अन्दाज लगाउँदै)

टेबुल नं ४

कन्सुत्ले – (टाउको झड्कार्दै) के हो के होइन, हु केयर्स ???
तपाईं – (पलायन सायद, मदेखि भागेर तपाईं ऊ कहाँ पुग्नु भएको छ) तपाईं एक्लै ?
कन्सुत्ले – अघिसम्म थिएँ, अहिले त तपाईं हुनुहुन्छ साथमा !
तपाईं – (हाँस्दै) ए, हो त साँच्चै !
कन्सुत्ले – केही सोध्नु थियो ? कि भन्नु थियो ?
तपाईं – (मतिर पुलुक्क हेर्नुहुन्छ, हडबडाउनु हुन्छ, फेरि सम्हालिनुहुन्छ) भन्नु थियो .. ए, होइन, होइन । सोध्नु थियो केही !
कन्सुत्ले – त सोध्नुस् न .. किन ढिलो ? (रुस्लान घुट्क्याउँछ)
तपाईं – (अकमकिनु हुन्छ) यो … यो..रहस्य छ नि ? संसारको, ब्रह्माणडको, यो जन्म, जीवन, मृत्यु अनि ईश्वर, प्रकृति यो लिला, सृष्टि.. यो जति पनि जे पनि छ, यो सब आखिर के हो ? यथार्थ के हो ? रहस्य के हो ?
कन्सुत्ले – (हाँस्छ, जोड जोडले हाँस्छ) तपाईं मुर्ख हो ! (हाहाहा)
तपाईं – (क्रोध, लाज, आश्चर्य, भयले व्याप्त, मतिर फेरि पनि पुलुक्क चिहाउनुहुन्छ) म मुर्ख ? अनि ज्ञानी को ? तपाईं ?
कन्सुत्ले – (हाँस्छ, रोकिन्छ र रिसाउन थाल्छ) ज्ञानी ! मलाई ज्ञानी देख्नुहुन्छ तपाईं ? सुन्नुस्, मलाई यो ज्ञानी स्यानी केही हुनु छैन बुझ्नुभो ! यहाँ कोही ज्ञानी छैन । सबले उगल्ने आफ्नो अनुमान हो । भन्दै हुनुहुन्छ त यो रहस्य हो, फेरि किन पत्ता लगाउन यत्रो दौडधुप ? रहस्य नै हो त पत्ता लाग्छ कसरी ?
तपाईं – (अलमलिनु हुन्छ तर हार्नुहुन्न) पत्ता लगाउन कै लागि त रहस्य ! होइन ? होइन र ?
कन्सुत्ले – (ग्लास टेबलमा थेचार्छ) हो, तर जब पत्ता लागाउनुहुन्छ, रहस्य, रहस्य नै रहि राख्छ होला ? तपाईं किन बुझ्नुहुन्न ?
तपाईं – सायद तपाईं बुझाउनु हुन्न !
कन्सुत्ले – उसोभए, तपाईं चाहनुहुन्छ म बुझाऊँ ?
तपाईं – बिल्कुल ।
कन्सुत्ले – जे भन्छु त्यो मान्नुहुन्छ ?
तपाईं – के भन्नुहुन्छ पहिला त्यो त… पूरा गर्न पाउनुहुन्न)
कन्सुत्ले – अरे, मान्ने कि नमान्ने, बुझ्नु छ कि छैन ? ल्याङ-ल्याङ होइन, क्लियर कुरा !
तपाईं – (सम्मोहित झैँ) मान्छु ।
कन्सुत्ले – (चोर औँला ओठमा टसाउँछ) मौन । मौन रहनुस् । र मलाई पहिला मौन बुझाउनुस् त्यसपछि म तपाईंलाई रहस्य बुझाउँला ।

दुवैजना मौन, अरु बोलिरहेका छन् तर यी दुई बिल्कुल मौन छन् । अघिदेखि बोलिबसेका, हल्लाहरु सृजना गरिरहेका हल्ला कारखनाहरु अचानकसँग बन्द हुनु ! यो धेरैका लागि नौलो भयो सायद, वरिपरिका शराबीहरु उनीहरुलाई यसरी हेर्दै छन् मानौँ उनीहरु भर्खरै मात्र पत्ता लागेको आठौँ आश्चर्य हुन् । खैर, निकैबेरको मौनता पछि, कन्सु्त्ले बोल्छ, सोध्छ भनौँ न –
“के रहेछ त मौनता ? मौन हुनुमा कस्तो आनन्द रहेछ ? कि सकस रहेछ ? बुझाउन सक्नुहुन्छ त मलाई मौनता ?”
तपाईं – (थोरै मुस्कुराएर बोल्न थाल्नुहुन्छ) यो मौनता के रहेछ भने, मौन रहँदा…के हुनेरहेछ भने, एक किसिमको यसमा पनि आनन्द रहेछ । अब तपाईंलाई कसरी बुझाऊँ ? अँ… के भने… (पूरा गर्न पाउनुहुन्न)
कन्सुत्ले – (हाँस्छ, बेजोड हाँस्छ) अब कहाँ बाँकी छ र मौनता ? खोई कहाँ छ मौनता ? तपाईं बोलेर मलाई मौनता कसरी बुझाउन सक्नुहुन्छ ? मौनता बुझ्न त मैले पनि मौन हुनुपर्यो, मौन भएर पनि पुग्दो हो र ? मौनता बुझ्न त खुद मौनता नै हुनुपर्दो हो । कि कसो हो ? यस्तै हो रहस्य पनि, मैले कहाँ बताउन सक्छु ? कहाँ बुझ्न सक्छु ? बुझाउन खोज्नुस् मौनता खतम, बुझ्न खोज्नुस् रहस्य खतम ! बस् कुरा खतम ! (हाहाहा)

वेटर- (टेबल नं ४ को ग्राहकसँग) दाइ, अब बन्द गर्ने बेला भयो । जाडो जाडो छ, मान्छे पनि छैनन्, तपाईं मात्र के बस्नुहुन्छ ? आजपनि भाउजु आत्तिएर खोज्न आउनेबेला भइसक्यो ! भोलि बस्नुहोला दाइ फेरि, हजुरकै ठाउँ त हो कहाँ जान्छ र ? ल, यो बिल लिनुस् !
(कन्सुत्ले निस्प्रभावी आँखाले वेटरतिर हेर्छ, त्यसपछि आफ्नो वरीपरीको चकमन्नता नियाल्छ । कोटको खल्तिबाट नावेन (Navane) को गोली निकालेर ग्लासमा बाँकी रहेको रुस्लानसँग घुट्क्याउँछ, नराम्रोसँग मुख बिगार्छ, टाउको झड्कार्छ र आफै शान्त हुने कोसिस गर्छ ।)

Han Xiao by Saatchi

Han Xiao by Saatchi

Facebook Comments

You may also like

error: Content is protected !!