कल्पजगत – ५.१

१. पार्क याट ग्रेपयार्ड
 २. बुक अफ लिप्स
३. क्यानसर इन द डार्क
४. ओल्ड म्यान एण्ड द टि
५. गिर्जापुर
६. द वाचर इन द डाय
७. ___…


“यस्तो पनि हुन्छ यार् ? तँ जा ! म त जान्नँ ! मलाई त एकदम गडबड लागिरहेको छ ।” 
परमप्रसाद हडबड गर्दै बोल्छ । कन्सुत्ले आश्चर्यमा पर्छ । सोधी पनि हाल्छ-
“होइन, के गडबड लाग्यो र तँलाई ? मलाई त सब इन्ट्रेस्टिङ लागिरहेको छ त !”

“के गडबड छैन यहाँ सब त गडबड छ । एक त यो ठाउँ नै अजिब देखिन्छ । त्यहीमाथि यो डिरेक्ट्री हेर् न, ग्रेभयार्ड हुनपर्ने, ग्रेपयार्ड रे ! बुक अफ लिव्स हुनुपर्ने लिप्स रे ! क्यान्सर इन द डार्क रे ! अनि, अनि.. त्यो अर्को, के रे ? अँ, ओल्ड म्यान एण्….”


“बस् गर यार परमे ! के के न नयाँ भन्लास् भनेको उही डिरेक्ट्री नै रटेर सुनाइरहेछस् ।”

“हेर् कन्से, एक त ठाउँको नाम यस्तो हुँदै हुँदैन । सबै किताब र फिल्मको नाम राख्या छ त्योपनि उल्टो र पाल्टो ! म ग्यारेन्टी गरेर भन्न सक्छु यो सब एउटा भलभुलैया हो । हामी फर्किहालौँ । नत्र यहीँ फस्ने छौँ ।”

“यस्तो गज्जब दुनियाँमा बसिरहन पाए अरु के चाहियो र ? बरु भन् पहिला कुन ठाउँ जाने ?”

कन्सुत्ले र परमप्रसादको केहीबेर मत-भिडन्त चल्छ । तपाईंहरूले कन्सुत्लेलाई त चिन्नुभएकै छ । एकपटक मनले यो गर्छु सोचेपछि सोच्यो सोच्यो । गरेरै छोड्ने उसको बानी हो या स्वभाव ! जे होस् आफूलाई धोका दिन उसले कहिल्यै जानेन । भन्छ, आफूलाई ढाँट्नुभन्दा ठूलो अर्को अपराध हुँदैन । तपाईंहरूलाई लागिरहेको होला कन्सुत्ले सबैभन्दा पहिला कहाँ जाला ? हजुर, अन्तिमपटक मिर्जापुर हेरिसकेर बसेको उसमा न्यूटनको पहिलो नियम लागु हुन्छ र ऊ कल्पजगतमा आफ्नो पहिलो यात्रा सुरु गर्छ- ’गिर्जापुर’ बाट !

परमप्रसाद मन नभई नभई पनि पछ्याउँछ कन्सुत्लेलाई । एक त यो अजिब दुनियाँ र त्यसमाथि शंकाभरि मन बोकेर एक्लै एक्लै ! अहँ, परमप्रसाद फर्कन सकेन । कन्सुत्ले जता-जता जान्छ त्यतै त्यतै ऊ आफूलाई पनि हिँडाउन थाल्छ । कन्सुत्ले रोकिए ऊ पनि रोकिन्छ । कन्सुत्ले दायाँ गए ऊ पनि दायाँ जान्छ । कन्सुत्ले बायाँ लागे ऊ पनि बायाँ लाग्छ । कन्सुत्ले दगुरे ऊ पनि दगुर्छ । मानौँ ऊ अङ्गरक्षक हो कन्सुत्लेको ! डिरेक्ट्रीमा बताइएको डिरेक्सन अनुसार करिब २०-२२ मिनेट हिँडेपछि उनीहरू पुग्छन् ‘गिर्जापुर स्वागत द्वार’ ! काठै काठमा मसिना-ठूला बुट्टाहरू कुँदेर बनाइएको त्यो स्वागतद्वारको चकलेटी अदाले कन्सुत्ले मन्त्रमुग्ध भइजान्छ । परमेको मनमा भने अझैपनि प्रपञ्चको सन्देह छँदै छ । यति रमणीय दृश्यहरूको साक्षातकारमा पनि ऊ रमाउन सकेको छैन ।

द्वारबाट थोरै भित्र छिरेपछि टाउकामा मयुरको प्वाँख राखेका मान्छेहरू देखिन्छन् । बाल-बच्चा, किशोर, युवा, वयस्क, वृद्द सबै उमेरका पुरुषहरूले मयुरपंखी ताज पहिरिएका छन् । तर ताज अनौठो छ । डिजाइन नै हेर्ने हो भने, टाउकाको आकार हुबहु देखिने, टाउकामा, टाउकाजसरी नै मिलेर बसेको तालुको भाग हेर्दा लाग्छ कुनै इश्लामी टोपीजस्तो, टाउकाको बायाँ कन्चटभन्दा ठिक माथिको भागमा मुजा पारिएको डिजाइन देख्दा शिखहरूको पगरी झल्यास्स याद आउने । त्यही पगरी मुनिबाट छड्के परेर टाउकाभन्दा माथिसम्म निस्किएको मयुर पंख देख्दा श्री कृष्णको झझल्को लाग्ने ! र फेरि ललाटको भागमा वरिपरि घेरा हालेझैं हल्का अगाडि तन्काएर बिट मोडेको देख्दा अङ्ग्रेजहरूले लगाउने ह्याट जस्तो पनि । कन्सुत्लेलाई यी अनौठा मान्छेहरू खुब रुचिकर लाग्छ । क्यामेरा निकालेर ऊ यी दृश्यहरूलाई कैद गर्न थाल्छ । अझैपनि उही शंकास्पद मुद्रामा, परमे उर्फ परमप्रसाद भने पृथ्वीले आफ्नै चक्कर लगाएजस्तै रिङ्गटा लाग्ने गरी घुम्दै खुशीले घामझैं उज्यालो भएको कन्सुत्लेलाई पछ्याइरहेको छ ।

कन्सुत्लेले क्यामेरा बोकेर फोटो खिच्दै हिँडेको देखेर एउटा मयुरधारी बालक कन्सुत्ले नजिकै आउँछ । कन्सुत्लेले बालकको पनि फोटो खिचिदिन्छ । बालकको मुख वरिपरि सेतो सेतो फिँज लागेको छ । ओठ तन्काउँदै हाँस्दा ओठमाथिको सेतो फिँज जुँगा जस्तै देखिन्छ । फोटो देखेर बालक झन मरीमरी हाँस्छ । बालकको चाञ्चल्यले कन्सुत्लेलाई मात्र होइन परमेलाई समेत पगाल्छ । परमे समेत डर र सन्देह भुलेर बालकसँग हँसिमजाक गर्न लाग्छ । बालकले उनीहरूलाई पहिलोपटक गिर्जापुर आएको हो भने छुटाउनै नहुने ऐतिहासिक स्थलबारे बताउँछ । कन्सुत्ले र परमप्रसाद बालकको कुराले हौसिएपछि बालक स्वयं उनीहरूलाई बाटो देखाउन साथमा जान तयार हुन्छ । त्यसपछि उनीहरू ३ जनाको टोली लाग्छ गिर्जापुरको विशेष भ्रमणतर्फ । करिब २५-२७ मिनेट हिँडेपछि उनीहरू पुग्छन्  गिर्जापुरको ‘समालय धरमकेन्द’ मा ! वरिपरि घेरेर उभिएको फल र फूलका मनोरम बगैँचाको पर्खाल छिचोलेपछि मध्यभागमा विशाल मन्दिर देखिन्छ । आकाशै छेडेर माथिसम्म पुगेझैं देखिने अग्लो गजुर भएको मन्दिर उनीहरूले यसअघि नेपालमा पनि देखेका थिएनन् । तर, त्यत्रो ठूलो मन्दिरमा कुनैपनि द्वार देखिँदैन । 

कन्सुत्लेले प्रश्न गर्नु अघि नै बालकले भन्छ-
“यस मन्दिरमा द्वार किन देख्दिनँ सोच्दै हुनुहुन्छ होला होइन ? यसको विशेषता नै हो द्वार नहुनु ।”

परमप्रसादलाई यति धेरै हिँडिकन पनि यस्तो सुन्दर मन्दिरभित्र पस्न नपाउँदा खिन्न लाग्छ । आफ्नो चित्त दुखाई ओकल्न पनि ऊ कत्ति पर्खिबस्दैन-
“यो पनि के विशेषता ! हरहर बास्ना आउने पकवान अगाडि राखेर यो खान मिल्दैन, हेर्ने मात्रै हो भन्नुपनि कतै विशेषता हो ?”

परमप्रसादको कुरा सुनेर बालक थोरै मुस्कुराउँछ र भन्न लाग्छ-
“ठिक भन्नु भयो तपाईंले । यो त्यस्तै बास्नादार पकवान हो जो खान मनाही छ । र जसले बिना थुक निलेरपनि यसलाई गौणसँग नियालिरहन सक्छ उसले यसको सम्पूर्ण स्वाद एवं पोषण ग्रहण गर्न सक्छ । त्योपनि अद्भूत तरिकाले ।”

कन्सुतलेलाई यो बालक साधारण लाग्दैन । ऊ बालकलाई नियाल्छ, ओठमाथिको सेतो जुँगा मेटिइसकेको छ । बरु तिनमा रहस्यमयी मुस्कान फुलिरहेको छ । आँखामा स्वप्निल आनन्द, बोलीमा स्वर्गिक कौमल्य र हिँडाइमा दिव्य हलुङ्गोपन ! कन्सुत्लेको हृदयमा त्यसको असर गहिरोसँग पर्छ । ऊ मन्दिरलाई गौणसँग नियाल्न थाल्छ । उसले चिम्सीको आँखामा हेरेरै उसका हृदयका कुराहरू बुझिदिने गर्दा जसरी ऊ प्रसन्न भई खुलेर आफूलाई पोख्ने गर्छे । बालकको बिना थुक निलेर गौणसँग पकवानलाई नियाल्ने सूत्रपनि उसले त्यस्तै पाउँछ । यो मन्दिरसँग पनि त्यही सूत्र लागु हुन्छ भन्ने उसले महसुस गर्छ ।

कन्सुत्ले मन्दिरका एक एक मोड-मरोड, बिम्ब-प्रतीक, टुँडालका आकृति, झ्यालका प्रकृति लगायत उपलब्ध समस्तथोक ऊ नियाल्न थाल्छ । यसरी कि मानौँ ती चिम्सीकै आँखा हुन् । मन्दिरलाई नियाल्ने क्रममा जसै ऊ दक्षिणतर्फ मोडिन्छ ऊ चकित भइजान्छ । त्यहाँ उसले कुनै मन्दिरको सट्टा एउटा मस्जिद देख्छ । यो त झनै रोचक कुरा लाग्छ कन्सुत्लेलाई ! दक्षिणतर्फको पाटोमा मस्जिदिय वक्र-बनोट पनि उसले चाख दिएर नियाल्छ । उसलाई मन्दिरका वक्रहरू कोणप्रधान लाग्छ भने मस्जिदका वक्रहरू वृत्तप्रधान लाग्छ तर दुवैमा कोण र वृत्तको प्रयोग उसलाई समान लाग्छ ।  त्यसपश्चात पश्चिम मोडिन्छ ऊ, जहाँ उसले मन्दिरको ठिक विपरित गिर्जाघर खडा देख्छ तर यसपटक उसमा आश्चर्य छैन मात्र औत्सुक्य छ । ऊ आफ्ना उत्सुक आँखाहरूले गिर्जाघरलाई नियाल्न थाल्छ । गिर्जाघरले कता-कता मन्दिरलेझैं त्रिकोण र मस्जिदलेझैं वृत्ताकार लिन खोजेझैं उसलाई महसुस हुन्छ । गिर्जाघरको गजुरपनि मन्दिरको जस्तै आकाश छेड्लाजसरी माथिसम्म पुगेको उसले देख्छ । त्यसपछि अन्तिम पाटो अर्थात् उत्तरतर्फ मोडिन्छ । उसको कल्पना मुताबिक त्यहाँ एउटा बौद्ध विहार देखिन्छ । धेरै वटा वृत्ताकार गुम्बजहरू मिलेर समग्रमा एउटा  विराट त्रिकोण बन्न पुगेको उसले देख्छ ।

मस्जिदमा कुँदिएको चन्द्रमा उसलाई महादेवको शिरबाट लिएझैं लाग्छ । मस्जिदको चन्द्रतारा ऊ मन्दिरमा कुँदिएको ॐ  भित्र पनि देख्छ । बौद्ध विहारको धर्मचक्र उसलाई विष्णुको सुदर्शन चक्रझैं लाग्छ । चिम्सीले अन्तर्जातिय विवाहको लागि ढाडस दिँदा उसलाई यसै भनेर फकाएकी त थिई नि ! तब न उसलाई हिम्मत आएको थियो प्रेमको लागि आवाज उठाउने । कन्सुत्ले यो पनि सम्झिन्छ । गिर्जाघरको क्रस चिह्न पनि धनुष र वाणको युक्तिझैं देख्छ ऊ ।

पछि पछि आइरहेको परमप्रसादलाई सोध्छ-
“तैँले थाहा पाइस्, किन यो महलको नाम समालय धरमकेन्द राखिएको रहेछ ?”

“खै किन किन, म त अघिदेखि मन्दिर छिर्ने ढोका खोजिरहेको छु । अरू त केही विचार गरिनँ ।”

उनीहरूको गफ सुन्दै अघिअघि हिँडिरहेको बालक उनीहरूतर्फ फर्किन्छ र कन्सुत्लेलाई हेर्दै भन्छ-
“वास्तवमा तपाईंले ठिक बुझ्नु भयो । यो मन्दिर होइन । महल हो । मन्दिर, मस्जिद, गिर्जाघर, गुम्बा सबैको आलय, यो समालय हो !” 

कन्सुत्लेको नजर बालकको आँखामा पर्छ जहाँ उसले वेग्लै चमक देख्छ । रहस्यमयी बालकको आँखामा ऊ नतमस्तक हुन्छ । सम्मोहनबाट बाहिर निस्किसक्दा उसले आफूलाई विशाल दर्पणकक्षभित्र पाउँछ । हजारौंको सङ्ख्यामा दर्पणहरू उसलाई उसकै प्रतिबिम्ब देखाइरहेका छन् । पर कतैबाट एउटा अलौकिक धुनको गुञ्जन उसका टाठा कानहरूमा ठोक्किन आइपुग्छन् । जब उसले गौण गरेर हेर्छ ती आफ्ना प्रतिबिम्बलाई, ती बिल्कुल पृथक-पृथक दुनियाँमा, पृथक-पृथक व्यस्ततामा भइरहेको ऊ थाहा पाउँछ । उसलाई यस्तो लाग्छ मानौँ ऊ नै यो सम्पूर्ण लिलाको केन्द्र हो र यो छरपस्ट लिला उसकै क्रिडा हो । ऊ आफ्नो अथाह रुप देखेर खुशविभोर हुन्छ । यो जादुयी अनुभूतिले आह्लादित हुन्छ । त्यो रहस्यमयी बालक उसलाई कुनै जादुगर थियो भन्ने लाग्छ । अचानक उसलाई सँगै घुम्न आएको साथी परमप्रसादको सम्झना आउँछ । सम्झनासँगै ऊ परमप्रसादलाई आफ्नो बगलमै देख्छ, डराइरहेको, चिच्याइरहेको, उही सन्देहले ग्रस्त र भयले त्रस्त !

परमप्रसादलाई ऊ सोध्छ-
“किन डराएको परम ? यति सुन्दर मनोरम दर्पणकक्षभित्र आनन्द लिन छोडेर !”

तर परमप्रसाद उसको कुरा नसुनेझैं एकोहोरो चिच्याइरहन्छ-
“मलाई त पहिल्यै थाहा थियो, यो भलभुलैया हो भन्ने ! कोही बत्ती त बालिदेऊ ! मलाई अँध्यारोदेखि डर लाग्छ ! ए… कोही छ ? बत्ती त बालि… “

कन्सुत्लेले नयाँ कुरा थाहा पाउँछ । सँगै र एकै ठाउँमा भएपनि परमले देखेको र उसले देखेको दृश्य वेग्लै छ । परम; जसले सुरुदेखि नै यो ठाउँलाई भुलभुलैया सम्झिरह्यो, नभन्दै अहिले ऊ भुलभुलेयामै फसेको छ, कम्तिमा ऊ स्वयंको अनुभूतिमा । र कन्सुत्ले; दिव्य अपेक्षा बोकेर आइपुगेको ऊ दिव्य लिलाको साक्षातकार गरिरहेको छ । यो सब नियालिरहेको कन्सुत्लेलाई लाग्छ दुनियाँ हरेकका लागि पृथक हुन्छ र आफ्नोलागि त्यस्तै हुन्छ जस्तो आफूले सोचिन्छ ।

उसको हातमा अझैपनि उही डिरेक्ट्री छ । उसलाई अब अर्को ठाउँ घुम्ने इच्छा जाग्छ । निकै हिँडेर भोकाएको उसलाई ‘ओल्ड म्यान एण्ड द टि’ ले आकर्षित गर्छ । उसले सोच्छ, पक्कै पनि त्यो अर्नेस्ट हेमिङवेको शहर हुनुपर्छ जहाँ मानिसहरू उनीसँग चिया पिउँदै बूढो स्यान्टियगोको कथा सुन्न पुग्ने गर्छन् । कन्सुत्ले उत्साहित हुन्छ र डिरेक्ट्रीमा दर्पण टावरदेखि ‘ओल्ड म्यान एण्ड द टि’सम्म पुग्ने डिरेक्सन हेर्छ र त्यही अनुसार आफ्नो नविन यात्रा प्रारम्भ गर्छ । यात्रामा उसले स-साना कलात्मक क्याफे, ग्यालरी, क्युरियो पसल र बुकशपहरू देख्छ । अचानक उसलाई म्यानोलिनको याद आउँछ र बुकशप छिर्छ । आफूले झोलामा बोकेका केही पेन्टिङहरूसँग उसले केही साहित्यिक म्यागेजिनहरू साट्छ । केहीबेर हिँडेपछि वारपार र परपरसम्म फैलिएको, अघि बढ्ने बाटो नै छोपेर उभिएको निकै चिटिक्क पारी सजाइएको कलात्मक लाइब्रेरी क्याफे पुग्छ ऊ । उसलाई यो काइदा बडो गज्जबको लाग्छ । यो बाटो हिँडिरहँदा कोहीपनि लाइब्रेरीलाई नजरअन्दाज गरेर हिँड्न पाउँदैन । 

ऊ क्याफेभित्र छिर्छ । वातावरणमा बेग्लै रौनक छ । हरेकको बायाँ हातमा किताब र दायाँ हातमा चियाको कप छ । रूखहरू छन् । रूखमै किताबहरू सजाएर राखिएको छ । बस्नलाई रुखकै मुढाहरू छन् । चिया राख्ने टेबल रूखकै मुढा चिरेर बनाइएका छन् । वेटर र वेट्रेसहरू ट्रे मा अर्डर बमोजिमका चिया र किताबहरू लिएर कुदिरहेका छन् । कोही बिरालो बोकेर काफ्का अन द शोर पढिरहेका छन् । कोही बैजनिल वस्त्र पहिरिएर शिरीषको फूल पढिरहेका छन् । कोही गेरु वस्त्रमा रुखको हाँगामा पलेटी कसेर सिद्धार्थ पढिरहेका छन् । कोही भुइँमै घस्रिँदै, डुल्दै द मेटामर्फोसिस पढिरहेछन् ।

ऊ एउटा खाली मुढामा गई बस्छ र काठको टेबलमा आफ्नो झोला बिसाउँछ । हेमिङवे भित्रको बूढो स्यान्टियगोको लागि उसले पेन्टिङसँग साटेर ल्याएका म्यागजिनहरू उसको ब्यागभित्र गजक्क परेर बस्छन् । एउटी सुन्दर वेट्रेस आउँछे र उसलाई मेनु दिन्छे । झण्डै झण्डै किताब जत्तिकै मोटो मेनुभित्रबाट उसले कोकोनट टि मगाउँछ । ओल्ड म्यान एण्ड द टि मा आइपुगेर पनि ओल्ड म्यान एण्ड द सी मगाइएन भने मजा आउँदैन । उसले यसै सोच्छ र कोकोनट टिसँगै त्यसको पनि अर्डर टिपाउँछ । चिया र किताब नआउन्जेल उसले आफैले बोकेका किताब पढ्ने सोच बनाउँछ । घाँटीमा माला र नाडीमा बाला लगाएको उसले आफ्नो झोलाभित्रबाट नगरकोटीको अक्षरगञ्ज झिक्छ र पढ्न थाल्छ । मनमनै सोच्छ, कल्पजगतको फरेस्टियल लाइब्रेरी क्याफेभित्र बसेर अक्षरगञ्ज पढ्नु ? आहा ! क्या गज्जबको संयोग !

पेज नं १७ पुर्याउँदा उही सुन्दरी वेट्रेस आउँछे किस्तीमा कोकोनट टि र ओल्ड म्यान एण्ड द सी बोकेर । अक्षरगञ्जमा घोत्लिरहेको कन्सुत्लेको ध्यानाकर्षण गर्दै ऊ सोध्छे-
“मिस्टिका पढ्नुभएको छ ?”

“पढेको छु ।”
किताब बन्द गर्दै छोटो जवाफ दिन्छ ।

“घाटमाण्डु नि ?”

“यहीँ, झोलाभित्रै छ ।”

“फोसिल ?”


“नगरकोटीका सबै पढेको छु ।”


“तपाईंपनि वहाँको फ्यान ?”


“हो, तपाईंपनि ?”


“म त वहाँकी छोरी हुँ ।”


“लौ, वहाँका त दुई छोरा मात्रै छन् त ।”


जवाफमा लेडी वेट्रेस केही पनि बोल्दिन, मात्र एउटा मिस्टिक मुस्कान फ्याँक्छे र कुरा अन्तै मोड्छे-
“तपाईं यहाँ पहिलोपटक ?”

“कसरी थाहा पाउनु भयो ?”


“थाहा पाउनु नै मेरो काम हो ।”


“मतलब ?”


“मतलब, ग्राहकको कुरा थाहा पाउनु स्टाफको कला हो ।”


कन्सुत्लेलाई स्त्री मिस्टेरियस लाग्न थाल्छ । स्त्री फेरि प्रश्न गर्छे-
“यो ठाउँको नामले तपाईं झुक्किनु त भएन ?”

“किन ?”


“प्राय नयाँ मान्छेहरू यो ठाउँमा अर्नेस्ट हेमिङवेलाई खोज्दै आउँछन् ।”


“अँ, ठाउँको नाम नै त्यस्तै राखिएको रहेछ ।”


“यो किताब मगाइसकेपछि तपाईंले डुङ्गामा बसेर पढ्नुपर्ने हो ।”


“किन ? ओह.. हजुर बुझेँ मैले । तर यो जंगलमा डुङ्गा ?”


“ओह कमन् म्यान, दिस इज कल्पजगत !”

यति भनेर हाँस्दै लेडी वेट्रेस नयाँ ग्राहकको सेवाका लागि बाटो लाग्छे । उसलाई किताब साँच्चै डुङ्गामा बसेर पढ्न मन लाग्छ । किताबहरू झोलामा हाल्छ र कोकोनट टि पिउँदै ऊ त्यो पातलो वनमा पिकनिक बसिरहेझैं मानिसहरूको चर्तिकला नियाल्दै डुङ्गा खोज्न निस्किन्छ । कोही टेन्ट हालेर बसिरहेका, कोही रुखहरूमा झोलुङ्गे बाँधेर झुल्दै पढिरहेका, कोही ग्रुपमा जम्मा भई आगो ताप्दै किताबी गफ हाँकिरहेका ।

Library in the Jungle

भिड छोचोल्दै अघि बढ्दै जाँदा उसले काठको भिन्टेज डुङ्गा परैबाट देख्छ । डुङ्गामा पहिल्यै कोही बसिरहेको पनि उसले देख्छ । उत्सुक कन्सुत्ले कुदेझैं गरी क्षणभरमै पुग्छ डुङ्गाछेउ । डुङ्गामा एउटा बूढो मान्छे उसले ल्याएझैं म्यागजिन एकाग्र चित्त भई हेरिरहेछ । डुङ्गाको खाली भागपट्टी चढ्दै ऊ त्यस बूढो मनुष्यलाई नियाल्छ । कतै हेमिङवे त होइन ? म्यागजिनमा घोत्लिरहेको अनुहार माथिबाट ह्याटले पनि झन छोपिएको छ । उसले बसिसकेपछि सोध्छ-
“आइ ग्येस आइ डिन्ट डिस्टर्ब यु !”

कन्सुत्लेको आवाज सुनेर बूढो टाउको उठाएर उसलाई हेर्छ र ‘छैन’ को संकेतमा टाउको हल्लाउँछ ।

‘हु आर यु ?’ भनी सोधौँ कि ‘आर यु हेमिङवे ?’ भनी सोधौँ उसलाई अन्योल पर्छ । निकैबेरको अन्तरद्वन्द्वपछि कन्सुत्लेले दायाँ हात अघि सार्दै मुख खोल्छ-
“फ्रेण्डशीप ?”

बूढोले आश्चर्यमा एकैछिन युवक कन्सुत्लेलाई निशब्द हेर्छ र फिस्स हाँस्दै हात मिलाउँदै भन्छ-
“पिपल कल मि, ग्रुपद !”

“वाऊ ! ह्वाट अ ब्युटिफूल नेम ?”


“थ्याङ्क्यु योङ म्यान ! ह्वाट्स् योर नेम बाइ द वे ?”


“माइ नेम इज कन्सुत्ले । बट यु क्यान कल मि कन्सु ! अर कन्से !”


“यु फ्रम नेपाल, योङ म्यान ?”


“येस अफकोर्स ! हाउ डिड यु नो द्याट ?”


“योर नेम लिसन्स लाइक नेपाली !”


“देन, यु आर वेरी मच नोन टु नेपाल ! राइट, ग्रुपद ?”


“आइ टु वाज नेपाली वान्स !”

“वेर यु ? हु वेर यु ?”

“ह्याव यु लिसन्ड अबाउट ‘परालको आगो’ ?”


“येस अफकोर्स ! ह्वाइ नट ?”


“द्याट वाज माइ वर्क देन !”


“यु मिन, यु आर गुरु प्रसाद मैनाली ?”


“इक्ज्याक्ट्ली ! बट नाउ एण्ड हियर, ग्रुपद ! ग्रुपद मेनेल्लो !”


“वाऊ ! इट्स इन्ट्रेस्टिङ !”


“येस योङ म्यान । दिस वर्ल्ड इज इन्ट्रेस्टिङ !”

“डु यु स्टिल राइट ?”


“येस । आइ ह्याब पब्लिस्ड टु नोवल्स् हियर । ‘ग्लासियर अफ एसेज’ एण्ड ‘द क्राउड अफ साइलेन्स’ !”


“ओह, दे लिसन लाइक दे आर सुपर सर्रियल !”


“यु आर क्वाइट शार्प योङ म्यान ! यु गट इट राइट !”


“ओह, वाऊ ! इट्स रियल्ली इन्ट्रेस्टिङ । द रियलिस्ट राइटर गुरु प्रसाद मैनाली इन कल्पजगत बिइङ ग्रुपद मेनेल्लो राइट्स सुपर सर्रियल नोवल ? द्याट्स अमेजिङ्ली वोन्डरफूल !”


“वान्न रिड देम ?”


“अफकोर्स, मिस्टर ग्रुपद ! ह्वाइ नट ?”

ग्रुपद मेनेल्लो आफ्नो झोलाबाट दुईवटा किताब निकालेर कन्सुत्लेलाई दिन्छ । कन्सुत्ले फेरिपनि खुशविभोर हुन्छ । ऊ पनि आफ्नो झोलाभित्रबाट नगरकोटीका सबै किताब झिकेर ग्रुपद मेनेल्लोलाई दिन्छ । ग्रुपद मेनेल्लो नेपालको अन्ली एण्ड वान सर्रियल राइटर नगरकोटीका भएभरको किताब पाएर फुरुङ्ग हुन्छ । भन्छ-

“यी डब्लु डब्लु डब्लु उर्फ वाइर्ड एण्ड वाइल्ड राइटरका बारेमा मैले खुब सुनेको र केही किताब त पढेको पनि हुँ । तर यी किताब भन्ने कुरा ! सबै साथीहरूले उठाएर लगिदिहाल्ने ! थ्याङ्स् योङ म्यान ! यिनलाई भने म मेरो प्राइभेट बुक सेल्फमा सुरक्षित राख्ने छु र पढ्नेछु ।”

ग्रुपद मेनेल्लोले साथीको बारेमा उल्लेख गरेपछि कन्सुत्लेलाई फेरि एकपटक परमप्रसादको याद आउँछ । अचानक योङ म्यानको अनुहार चाउरिएपछि ओल्ड म्यान मेनेल्लोले कन्सुत्लेलाई सोध्छ-
“एनि प्रब्लम योङ म्यान ? किन अचानक न्याउलिएको ?”

भनौँ कि नभनौँ हुँदै पनि कन्सुत्लेले आफ्नो साथी एउटा भुलभुलैयामा फसेको कुरा बताउँछ । युवा कन्सुत्लेसँग फ्रेण्डशीप गर्न पाएको बूढो लेखकमा अनौठो जोश सञ्चार भइरहेको छ । आफ्नो जवान मित्रको समस्या सुल्झाउन बुढो लेखकले उसलाई जादुयी महारानी मिस्टिकाकहाँ लिएर जान्छ ।

बाटोमा जाँदै गर्दा ग्रुपदले कन्सुत्लेलाई मिस्टिकाको मिस्टेरियस परिचय दिन्छ-
मिस्टिका कल्पजगत कि सबैभन्दा खुङ्खार जादुगर्नी हो । उसको जादुकै शिल्पले उसले ग्रेपयार्डका सारा जनतामा काबु राखेकी छ । ऊ त्यहाँ की महारानी हो । उसको राज्यमा उसलाई सबैले महारानी तिलस्मा भनी पुकार्छन् । उसको जादुयी क्षमता यतिसम्म छ कि एउटै समयमा ऊ चार दिशा डुल्न सक्छे । नगरकोटीको किताबमा भूमिका निभाउने मिस्टिका पनि उही त हो । उसको ‘ग्रेप्स भिल्ला’ यहीँ ग्रेपयार्डभित्र छ । कसैसँग कुरो नगर, इन्स्पेक्टर अङ्गुरमान सिंह उसैको सुरक्षार्थ खटिएको छ । अङ्गुरमान मिस्टिका अर्थात् महारानी तिलस्मालाई प्रेम गर्छ । महारानीको सबसे मनपसन्द फल अङ्गुर भएकै कारण उसले आफ्नो नाम अङ्गुरमान राखेको हो । नगरकोटीसँग मिस्टिकाको संगत छ र नगरकोटी आफ्नो मगजमा मिस्टिकालाई बोकेर हिँड्छन् भन्ने थाहा पाएपछि अङ्गुरमानले ध्रुव चन्द्र गौतमलाई छोडेर नगरकोटीको सर्रियल फिक्सन इन्डस्ट्री प्रवेश गरेको हो । त्यही क्रममा मन जितेर अङ्गुरमान मिस्टिकाको सुरक्षार्थी नियुक्त भएको हो ।”

उनीहरू जादुगर्नी मिस्टिका ऊर्फ महारानी तिलस्माको ग्रेप्स भिल्ला पुग्छन् । जादुयी महारानी, इन्डिगो गाउनमा हुन्छे । इन्डिगोको फिक्का सेडको अर्धपारदर्शी घुम्टोले उसको अर्धमुहार ढाकेको छ । ऊ कटेज अगाडिको बगैँचामा काला अङ्गुरको झुप्पा हातमा लिएर स्विङ सोफामा झुल्दै बसेकी छे । सर्रियल नोवलिस्ट मेनेल्लोलाई देखेर जादुरानी सोफाबाट उत्रिएर अतिथितर्फ अघि बढ्छे । मेनेल्लो हल्का निहुरिएर दाहिने हातले आफ्नो छातीमा छुँदै अभिवादन गर्छ, (कन्सुत्ले पनि त्यसै गर्छ)-
“सत्कार महारानी !”
“स्वागत मिस्टर मेनेल्लो एण्ड योङ म्यान !”
रानी उनीहरूलाई अङ्गुरका काला झुप्पा दिन्छे । कन्सुत्लेलाई रानीको आवाज परिचितझैं लाग्छ ।

आँखै अघि एउटा अङ्गुरको झुप्पालाई तीनवटा बनाउन सक्ने रानीको जादुगरी देखेर कन्सुत्ले आश्चर्य र खुशीले दङ्ग छ । आफ्नै अनुहार आधा ढाकेकी जादुरानीले उनीहरूको समस्या सुनिसकेपश्चात परमप्रसादको अनुहारको हुलिया माग्छे । दुर्भाग्यवश कन्सुत्लेको स्मार्ट फोनमा परमप्रसादको कुनैपनि तस्बिर फेला पर्दैन । यसर्थ कन्सुत्ले आफै परमप्रसादको मोहडा वर्णन गर्न थाल्छ-
“हल्का उठेको चौडा निधार,
गोला गोला, ठूला र गढेका खोपिल्टे आँखा,
त्यसभित्र सशंकित खैरा आँखाका नानी,
लामो र चुच्चो नाक,
भर्खर भर्खर लाग्न थालेझैं गाला,
माथिपट्टी दुई त्रिकोणको युक्तिले बनेको पातलो ओठ,
मुनितिर लसुनका पोटीझैं अधर र तिनको रोगन; चुरोटले ठाउँ ठाउँमा कलेजी बुट्टा हालेको ! कान भने…”

“बस् ! काफी !”
मिस्टिका कन्सुत्लेलाई रोक्दै हावामा अङ्गुरका झुप्पा फ्याँक्छे । झुप्पा उसको हातमा झरिसक्दा परमप्रसादको मोहडाको ब्ल्याक एण्ड ह्वाइट स्केच बन्न भ्याइस्क्छ । परमप्रसादका आँखाबाट कालो आँसु बगिरहेको देखिन्छ । कन्सुत्लेले नियालेर हेर्दा थाहा पाउँछ, त्यो आँसु नभएर अङ्गुरको रस हो । स्केचबाट हरहर अङ्गुरको बास्ना आइरहेको छ । स्केच लिएर मिस्टिका आफ्नो ध्यान कक्षतर्फ लाग्छे । कन्सुत्ले र मेनेल्लो उसलाई पछ्याउँछन् । ध्यान कक्षको अध्यात्मिक औरा मेनेल्लो र कन्सुत्लेलाई टड्कारो महसुस हुन्छ । 

मिस्टिका कक्षको केन्द्रमा कोरिएको तन्त्र मण्डलामा परमप्रसादको स्केच लिएर उभिन्छे । अब ऊ स्केचलाई बिस्तारै नचाउन थाल्छे । किसिम किसिमले चलायमान स्केचलाई मात्र हेरिरहँदा यस्तो लाग्छ कि मानौँ त्यो नृत्य गरिरहेछ । मिस्टिका आफ्नो मन्त्र पढ्न थाल्छे । जति जति तिखो आवाजमा मन्त्र मुखरित हुँदै जान्छ उति उति तिव्रतामा स्केच नृत्य गर्दै जान्छ । बिस्तारै कक्षभित्र प्रकाश भरिँदै जान्छ । हावाको वेग कक्षभित्र तिव्र हुँदै जान्छ । स्केच अब सम्पूर्ण रुपमा बिलाइसकेको छ । बरू जादुयी प्रकाशले देदिप्य कक्षभित्र अनगिन्ती अङ्गुरहरू हावाको वेगमा नृत्य गर्न थाल्छन् ।

जति आवाजको तिव्रता बढ्छ उति हावाको वेग, प्रकाशको मात्रा र अङ्गुरका सङ्ख्या बढ्दै जान्छ । हुँदाहुँदै प्रकाश यति धेरै मात्रामा छिर्छ कि कक्षका पर्खालहरू भत्किन थाल्छन् । हावाको वेग अब आँधीझैं बहकिन थाल्छ । मिस्टिकालाई उनीहरूले देख्दैनन् । ऊ कता अलप भई ? आँधी उनीहरूलाई लखेटेझैं चक्कर लगाइरहेछ । कन्सुत्ले र मेनेल्लो आत्तिएर पछाडि सर्छन् । उनीहरू अङ्गुरको मचानमा ठोक्किन पुग्छन् । कतिबेला उनीहरू ध्यान कक्षबाट ग्रेपयार्डमा आइपुगे ? यो सब पहिलोपटक देखिरहेको कन्सुत्ले छक्क पर्छ । कन्सुत्ले छक्क परेको देखेर मेनेल्लो भने मख्ख पर्छ । बिस्तारै आँधी थामिन्छ । प्रकाश आफ्नो साधारण आभामा खुम्चिन्छ । ग्रेपयार्डमा परमप्रसादलाई देखेर कन्सुत्ले दङ्ग पर्छ । परमप्रसादपनि अन्धकार भुलभुलैयाबाट निस्केर कन्सुत्लेलाई भेट्न पाउँदा खुशीले उफ्रिन्छ ।

कन्सुत्ले र परमप्रसाद मिस्टिकालाई धन्यवाद दिन्छन् ।
“जादुरानीको जय होस् ! यो उपकार कहिल्यै भुल्ने छैन ।”
दुवैले उसको जय जयकार गर्छन् ! सबैभन्दा खुशी बूढो मेनेल्लो देखिन्छ ।

मिस्टिका सबैलाई सम्बोधन गर्दै भन्छे-
“तपाईंहरू अहिले पार्क याट ग्रेपयार्डमा हुनुहुन्छ । मैले पर्यटकका लागि भनेर यस विशेष पार्कको व्यवस्था गरेकी हुँ । यहाँका अङ्गुरहरूमा यस्तो जादु भरिएको छ कि यिनलाई खाएपछि मान्छेलाई मतिभ्रम वा दृष्टिभ्रम हुँदैन । नत्र सामान्य लोकबाट आउने, काल्पनिक चेतना नभएका वा कम भएका पर्यटकहरू आफ्नै मनको भयका कारण भुलभुलैयामा पर्ने खतरा ज्यादा हुन्छ । किनभने, परिवर्तन भन्ने कुरा यस्तो हो, जसलाई जो सुकैले पचाउन सक्दैनन् । सामान्य लोकभन्दा यो लोक बिल्कुल पृथक छ । यहाँका हरिया आकाश, राता तारा, निलो सूर्य, पहेंलो जून, प्याजी धर्ती देखेरै प्रायको सातो गइसकेको हुन्छ । त्यसपछि अनेकौं रोग मनमै जन्मिन्छन् । र त्यसको अन्धकारले नै तिनलाई कैद गर्छ र सम्झिन्छन् उनीहरू कुनै बाहिरी भुलभुलैयामा फसे । तर त्यस्तो केहीपनि भएकै हुँदैन । सबै तपाईंको मनकै लिला हो । त्यसैले, यी अङ्गुरहरू खानुहोस् । यसमा भरिएको अलौकिक तत्वले तपाईंको मनको भ्रान्तिलाई चिर्न सहयोग गर्छ । ग्रेपयार्डमा यहाँहरूलाई स्वागत छ ।” 

Lady with Grapes

यति भनेर मिस्टिका त्यहाँबाट ओझेल पर्छे । मेनेल्लो पनि उनीहरूबाट बिदा मागेर छुट्टिन्छ । कन्सुत्ले र परमप्रसादपनि अट्नेसम्मको अङ्गुरका झुप्पा टिपी झोलामा हाल्छन् र एक एक झुप्पा खाइहाल्नका लागि टिप्छन् । र अङ्गुर चपाउँदै हिँड्न थाल्छन् ।

“लौ, के भो ? किन चिच्याउनु भएको यसरी आफ्नै नाम काढ्दै ?”
चिम्सी भान्साबाट दौडिँदै आइपुग्छे ।

“हँ, को चिच्यायो र ? म त चुपचाप चित्र कोर्दै बसिरहेको छु त ।”

“लौ, भर्खर आफ्नै न्वारनको नाम लिँदै, परमप्रसाद ओ परम… परमे ! भन्दै चिच्याउने चाहिँ को हो नि ?”

“हँ ? हो र ? कोही स्कुलबेलाको साथी आयो क्या हो, त्यो नामले बोलाउने ! बाहिर हेर हेर एकपटक !”

“नकराउनुस् ! तपाईंको आवाज नि चिन्दिनँ र म ? दिउँसै सपना देख्न थाल्नु भो कि क्या हो ?”

“देख्छ सपना खुब ! यहाँ यस्तो खतरा सर्रियल पेन्टिङ कोर्दै छु । के कुरो गरेको होला !”

“कस्तो खतरा बनाउनु भो खै हेरूँ हेरूँ ? होस् सुद्दी हराउने गरी !”

“ह्या, पहिला डाडु राखेर आऊ, जाऊ ! खराब हुन्छ चित्र अहिले !”

चिम्सी कन्सुत्लेले कोर्दै गरेको पेन्टिङ डाडु बोकी बोकी नै हेर्छे ।

“लौ, यो चित्र हो कि विचित्र ?”

“किन, के भयो ?”

“हरियो आकाश, निलो सूर्य, गुलाबी बादल, प्याजी धर्ती ! धन्न अङ्गुर चाहिँ काला नै रहेछन् । रूखहरू हरिया नै रहेछन् । तर यो के हो, जंगलमा नि डुङ्गा हुन्छ कहीँ ? रुखमै किताब राख्याछन् । कोही रुखमै सुत्या छन् ।”

“त्यो डाडु पर लैजाऊ भनेको !”

“ओहो, मान्छेको खोपडीभित्र अप्सरा ? तपाईंको खोपडीभित्रपनि अप्सराहरू नाच्छन् क्या हो ?”

“किन सोधेको ? त्यही डाडुले गोद्नलाई ?”

“लु हेर, कोही बिरालोलाई चिया पिलाउँदै छन् । अनि यो कस्ती मान्छे हो, अङ्गुरकै लुगा लगाउने चाहिँ ?”

“सकेपछि हेर्नु क्या आरामले ।”

“आहा ! यो कति सुन्दर फुच्चे हगी ? हाम्रो छोरोपनि यस्तै जन्मिन्छ होला ? नत्र त यत्रो रिस्क मोलेर इन्टर्कास्ट म्यारिज गरेको मतलबै भएन नि ! होइन त बुढो ?”

“ल ल ल हो, यस्तै  जन्मिन्छ …छोड ल काम गरूँ म ।”

“जे होस्, मलाई मन परेको चाहिँ यही फुच्चे र यी काला अङ्गुर है लु ! अरु त के हो के हो !”

“ ए बाबा ! जाऊ न क्या भान्सामा ! तरकारी डढेको गन्ध आइसक्यो ।”

चिम्सी दृश्यबाट अलप हुन्छे । पृष्ठभूमिमा ऊ चिच्याएको आवाज सुनिन्छ-
“लौ न नि ! डढेर मरिसकेछ । कस्तो कराही पर्यो पर्यो हाउ यो, यत्ति सानो आगोमा पनि….”

Facebook Comments

You may also like

error: Content is protected !!