कल्पजगत – ३

धेरै भयो तपाईंलाई मैले कन्सुत्लेको अपडेट दिएको छैन । कन्सुत्लेको मानसिक स्वास्थ्यमा समस्या छ भन्ने त तपाईंलाई थाहै छ । तर उसकी श्रीमतिको निरन्तरको हेरचाहले ऊ धेरै ठीक ठाउँमा आइसकेको छ । यसबाहेक तपाईंलाई कन्सुत्ले मेरो कल्पजगतको बासिन्दा (पात्र) हो भन्ने मात्रै थाहा होला । धेरै त मैले भनेकै पनि छैन उसको बारे । वास्तवमा मपनि खोजी गरेर हिँड्दिनँ, मौकाले कहिलेकाहींँ थाहा पाएका कुरा जस्ताको त्यस्तै सुनाउने मात्रै हो । आजपनि पछिल्लो अपडेट पेश गर्दै छु । यो अपडेटपछि पक्कैपनि उसका बारेमा केही बढी तपाईंले थाहा पाउनु हुनेछ ।

(कोहीसँग बोल्दै छ कन्सुत्ले । झर्को-फर्को गर्दै छ । त्यहि झर्को-फर्को गरेकै कारण मेरोपनि ध्यान तानिएको थियो । लौ त, अब उसको कथा उसैको चियो गरी बुझ्नुहोस् । सुरु गर्नुअघि, कल्पनाको पर्दा भने उघार्न नबिर्सिनुस् नि ! अल द बेस्ट !)

(क्रोधित मुद्रामा, झर्किँदै) तिमी किन आयौ ?
(भाव विव्हल हुँदै) आजभोलि मसँग दूरी बनाउँदै छौ ? किन ?
(निरीह क्रोधमा) म हुनुसम्म बर्बाद भइसकेको छु, अब मलाई अरु बर्बाद नगर । म एक्लै ठीक छु ।
(निन्याउरो अनुहार लगाउँदै, सक्दो प्रभाव पार्न खोज्दै) म तिमीलाई बर्बाद किन गर्छु ? म त सधैँ तिम्रो हित चाहन्छु । तिम्रो लागि मैले जति भलो कसले सोचिदिन्छ ? तिमी आफैपनि सोच्दैनौ !
(बेवास्तापूर्वक) देखिसकेँ । तिम्रो सोचाइ, भलाइले मलाई कहाँ पुर्यायो, हेरिसकेको छु आफ्नो अवस्था मैले । मेरो साच्चै भलो चाहन्छौ भने दया गरेर मबाट टाढै बसिदेऊ ।
(घुर्कीपूर्ण लवजमा) तिमीलाई लाग्छ, तिमी मविना पूर्ण हुन्छौ ?
(अनुनयको अन्दाजमा) तिम्रो साथले पनि त मलाई पूर्ण हुन दियो र ? हेर, म कति टुक्रिएको छु, कति भत्किएको छु । आफ्नाहरुबाट चोइटिएर यो एकांकीमा भास्सिएको छु । तिमीमा थोरैपनि अक्कल हुन्थ्यो भने, यो सबको जिम्मेवारी काँधमा उठाउने थियौ । तर तिम्रो त अक्कल नै  बर्बादीमा मात्रै छ । मलाई मेरै हालमा छोडिदेऊ !
(विनम्र मुद्रामा) तिमी यति क्रुर नबन । कमसेकम मसँग ।
– (व्यङ्ग्यपूर्वक) किन ? कमसेकम तिमीसँगै किन नबनु ?
(सक्दो प्रभावित गर्न खोज्दै, भावनामा बहकिँदै) किनभने, तिमी र म एकाकार छौँ । मलाई थाहा छ, तिमीलाई यो सुन्दा रिस उठ्न सक्छ, तर साँचो कुरा यहि नै हो, तिमी र म अभिन्न छौँ, मविना तिम्रो अस्तित्व धरापमा छ र तिमीविना मेरो औचित्य !
(आत्मविश्वासका साथ, व्यङ्ग्यपूर्वक) कोसिस नगर । यसपटक म कदाचित सम्मोहित हुनेछैन, तिम्रा जाली कुराहरुमा ।
(विजयी भावमा खुशी हुँदै, प्रफुल्ल मुद्रामा) वाह ! आत्मविश्वास..  तिम्रो यहि आत्मविश्वास त हुँ म । आफै सोच त, मबाट दूर हुँदा तिमीमा थियो र यो अन्दाज ? यो आत्मविश्वासी अन्दाज ! आखिर तिमी कति दिन भाग्न सक्छौ मबाट । मान्छे आफूलाई गुमाएर कतिदिन बाँच्न सक्छ ?
(हारेझैं, अनुनयको लवजमा) प्लिज, तिमी जाऊ, टाढा जाऊ मबाट …
(चित्त नबुझेझैं) तिमीले पलायन रोजेको मलाई सह्य हुँदैन ।
(व्यङ्ग्यपूर्वक) तिमीले संवेदनाको कुरा गरेको सुहाउँदैन ।
(आत्मविश्वासका साथ) सतहमा टेकेर किन बोल्छौ ? एकपटक भित्रदेखि सोच त ? के खयाल आउँछ मप्रति !
(पीडा लुकाएझैं, क्रोधको लवजमा) सतहमा बोलेको होइन । वास्तवमै, तिमी क्रुर छौ, निर्दयी, निर्मम । तिम्रै कारण म आज यो हालमा छु । एक्लो, नितान्त एक्लो ।
(उक्साउँदै) आऊ, आज छलफल गरौँ । निर्दयी को भइरहेछ, छिनोफानो गरौँ ।
(व्यङ्ग्यपूर्ण लवजमा) निर्दयी नै चिन्ने मन भए, किन उभिँदैनौ ऐना अगाडि ?
(व्यङ्ग्यपूर्वक नै) उभिएँ, त्यसैले त यहाँ छु । तिम्रै अनुहार त देखाउँछ मेरो ऐनाले मलाई ।
(क्रोध सम्हाल्न खोज्दै)  तिमी मेरो नकाब लगाउन छोडिदेऊ ।
(आत्मविश्वासका साथ) यो नकाब होइन नियम हो प्रकृतिको ।
(कडक अनदाजमा) शब्दहरुको चंगुलमा मलाई फसाउने कोसिस नगर । मैले अघि नै भनेँ नि, आज म फस्नेवाला छैन ।

(मानौँ कसैले भुतालिरहेछ, जति बल गरेर टाउको तन्कायो उति बढी दुखिदिन्छ । उस्तै अवस्थामा कहिलेकसो, दम्भ होइन विनम्रता नै लाभकारी ठहरिन्छ । सायद, यहाँपनि यस्तै सुत्रले काम गरेको हुनुपर्छ ।)

(विनम्रताका साथ, संवेदनापूर्ण लवजमा) ठीक छ, हामी फेरि कसैगरी एक हुन सक्दैनौँ भन्ने ठान्छौ भनेपनि म तिमीलाई करकाप गर्दिनँ । तिमीलाई थाहै छ करकाप गर्नु, बलजफती गर्नु मेरो स्वभावको विरुद्ध हो, यो मबाट न कहिल्यै भएको थियो न कहिल्यै हुने नै छ । यति त मान्छौ नि तिमी ? कि गरेको छु मैले कहिल्यै तिमीसँग ज्यादति वा जबरजस्ती ?
(लचिलो हुँदै) गरेनौ । वास्तवमा जे जति भयो मसँग, सबै मेरो आफ्नै कारणले भयो । यतिमात्र हो तिमीले भन्यौ, मैले सुनिदिएँ, सोच्दै नसोची पत्याइदिएँ ।
(चित्त दुखेझैं) तिमीलाई लाग्छ, मैले तिमीलाई जे भनेँ, तिम्रो कुभलो चिताएर भनेँ ?
(सान्त्वनाको लवजमा) सायद चिताएनौ । तिम्रो नियत गलत थिएन तर…
– (घुर्कीपूर्ण) तर के ?
(विनम्रता साथ, चुरोट ओठमा च्याप्दै) तर तिम्रो नीति गलत भइदियो ।
(चित्त दुखाउँदै) यसैकारण तिमी मलाई दोषी मान्छौ ?
(सान्त्वनापूर्वक) मैले तिमीलाई दोषी मानेको छैन । अघिपनि भनेँ, जति जे भयो मेरो जिन्दगीमा, सबै मेरै कारणले भयो ।
(घुर्कीपूर्वक)  झुट ! यति घृणा गर्छौ तिमी मलाई ! पक्कै, दोषी मान्छौ र त गर्छौ !
(सल्किएको चुरोट औँलामा लिँदै, विनम्रतापूर्वक) म घृणापनि गर्दिनँ तिमीलाई । न मैले तिमीलाई दोषी मानेको छु । म बस् तिमीबाट टाढा हुन चाहन्छु । हाम्रो साथ-संगतको नतिजा राम्रो निस्किएन । भलै, तिमी मेरो भलो नै किन नचिताऊ, भलो गर्दैन हाम्रो सामिप्यले ।
(गम्भिर मुद्रामा) किन भलो गर्दैन ? कहिल्यै सोचेका छौ यसमाथि गहिरिएर ?
(चुरोटको धुवाँ उडाउँदै, दुःखी लवजमा विनम्रतापूर्वक) सायद, तिमीले मलाई राम्रो बनाउन खोज्दा-खोज्दै धेरै राम्रो बनायौ र म घमण्डी बनेँ, अभिमानी, अहंकारी बनेँ र त्यसैले मलाई चपाइदियो ।
(पूर्ण गाम्भिर्यका साथ) वास्तवमै भन त, तिमी घमण्डी छौ ? अभिमानी, अहंकारी छौ ?
(चुरोटको खरानी एस्ट्रेमा झार्दै, झर्को मानेझैँ) म यो विषयमा कुरा गर्न चाहन्नँ । तिमी किन जाँदैनौ यहाँबाट ?
– (दुःखी मुद्रामा, भावनामा बहकिँदै) मेरो जाने ठाउँ नै कहाँ छ ? तिमीलाई लाग्छ तिमी मात्र यहाँ एक्लो छौ ? जति तिमीलाई छटपटी भइरहेछ, त्योभन्दा ज्यादा मलाई भइरहेछ । कमसेकम तिमीसँग कोही त छ साथमा । कतै ऊसँग पनि मसँग जस्तै तर्किरहेको त छैनौ ?
(बेवास्तापूर्वक) कोहीसँग तर्किनु वा नजिकिनुको फरक नै के रहेछ र ?
(व्यङ्ग्यपूर्ण अन्दाजमा) त्यसै सोच्छौ भने, किन दुःखी छौ ?
(हतार-हतार गरेझैं) दुःखी छु त्यसैले नै यस्तो सोचिरहेछु । खुशी हुन्थेँ भने अर्कै सोच्दो हुँ ।
(गम्भिर मुद्रामा, मन चोर्न खोज्दै) तिमीलाई लाग्छ, तिमीले गल्ती गर्यौ ? ग्लानीबोध छ तिमीमा ?
(धुवाँ फ्याँक्दै, अनुहार बिगार्दै, लचिलो लवजमा) त्यसैले त गलाएको छ मलाई जीवनदेखि ।
(चतुर्याइँपूर्वक, कुरा उधिन्न खोज्दै) तिम्रो विचारमा कहाँनिर तिम्रो गल्ती भयो ?
(चुरोट नसकिँदै, एस्ट्रेमा झोस्दै) के सोध्छौ ? सायद, म जन्मिनु नै मेरो गल्ती भयो ।
(एस्ट्रेबाट उहि ठुटो टिप्दै) तिमी जन्मिनु तिम्रो हातमा नै कहाँ थियो र ?
(सहजता साथ, खुलेर, दुःखी लवजमा) थिएन, तर पीडाले यतिसम्म चपाइसकेको छ मलाई अब हरेक कुरामा म आफ्नै गल्ती देख्छु ।
(ठुटो चुरोट सल्काउँदै, चतुरो अन्दाजमा) के अन्तर्जातिय विवाह गरेकोमा तिमीलाई पश्चाताप भएको हो त ?
(जुरुक्क उठ्दै) होइन ।
(ऊपनि उठ्दै) फेरि ग्लानीबोध के मा त ? दुःखी किन ?
(लामो सुस्केरा फ्याँक्दै) मैले आफन्त र प्रेमबिच दुवै रोज्न सकिनँ । यसैले मलाई पीडा दिन्छ ।
(नबुझेझैं) पीडा त बुझेँ, तर ग्लानी ? यसमा तिम्रो के दोष ?
(ग्लानीपूर्ण लवजमा, अनुहार बिगार्दै) सायद, मैले सुरुवातमै सचेत हुनु पर्थ्यो । प्रेम नै नगर्नु पर्थ्यो ।
(चुरोटको धुवाँ उडाउँदै) बाँच्न सक्थ्यौ ? विना प्रेम ?
(निधार गाँठो पार्दै, मलिनो आवाजमा) प्रेम नै नभइदिएको भए, बाँच्दो हुँ, हुनु अघि पनि त बाँचेको थिएँ ।
(कडक लवजमा, थोरै रिसाएझैं) झुट ! कि त तिमी अहिले झुट बोल्दै छौ या त त्यतिबेला । (चुरोट तान्दै)
(झस्कँदै) कतिबेला ?
(धुवाँ फ्याँक्दै, आत्मविश्वासका साथ, भावपूर्ण लवजमा) त्यतिबेला, जतिबेला प्रेममा परेको अनुभूति गरेसँगै तिमीले ऊसँग र आफैसँग बारबार जिकिर गरेका थियौ कि “मरुभूमिजस्तो जीवन पुनः रसाएको छ, पुनर्जन्म पाएको छु”… होइन र ? भनेको थियौ, मान्छौ नि यो कुरा ?
(मुण्टो उठाउँदै, आँखा चिम्लिँदै, लामो श्वास फ्याँक्दै, निरुत्तर, चुपचाप, मौन……)
(चुरोट ओठमा च्याप्दै, फेरि तत्काल निकाल्दै, दबाब दिएझैं) सम्झन्छौ ? त्यतिबेला तिम्रो जीवन कसरी चल्दै थियो ?
(लचिलो हुँदै) सम्झन्छु
(सम्मोहनपूर्वक) कसरी ? (ओठमा चुरोट च्याप्दै)
(आवाज ननिकालेरै, मात्र श्वासले) मरे तुल्य….
(धुवाँ फ्याँक्दै, रिसाएझैं, घुर्कीपूर्ण लवजमा) तिम्रा आफन्त कहाँ थिए त्यतिबेला ? जसको अभावमा आज तिमी आफैलाई धिक्कारेर बसिरहेका छौ !
(आँखाभरि आँसु पार्दै, अनुहार खुम्च्याउँदै निरुत्तर, चुपचाप, मौन……)
(सम्झाउन खोजेझैं) रुनु समस्याको समाधान कदापि होइन । (पुनः चुरोट तान्दै)
(अनुनयको लवजमा, मसिनो स्वरमा) म सम्झन चाहन्नँ विगतलाई । प्लिज यो कुरा यहीँ बन्द गर ।
(धुवाँ छोड्दै, कडक लवजमा) सम्झन जरुरी छ । म त्यसै आएको होइन आज तिम्रो तिरस्कारका बाबजुद । तिमीले बिर्सिएको कुरा सम्झाउनै आएको हुँ । सम्झ त, तिम्रो मानसिक स्वास्थ्य स्थितीमाथि हाँसेर, घोचेर बाँच्न लायक छोडेका थिएनन् तिनले । तिम्रा जन्म दिने बाबु-आमाले पनि त बुझ्न खोजेनन् तिमीलाई । त्यतिबेला तिमीलाई बुझ्ने, साहस दिने, प्रेम गर्ने, सम्हाल्ने एउटै ऊ मात्रै त थिई, जसलाई तिमीले अहिले नजरअन्दाज गर्न खोजिरहेका छौ । हो, मपनि थिएँ, तर म त्यतिबेला तिमीबाट अलग थिइनँ ।
(भाव विव्हल हुँदै, दुःखी लवजमा) म बुझ्छु, तर जस्तै भएपनि आफ्ना हुन् । यादले पिरोल्छ, गलाउँछ, म के गर्न सक्छु ?
(चुरोट बोकेको हात हल्लाउँदै, भावभंगी मिलाउँदै, आत्मविश्वासका साथ) धैर्य ! धैर्य गर्नसक्छौ तिमी । त्यो दिनको जुन दिन, तिनलाई पनि तिमीप्रति यस्तै भाव उठोस्, जस्तै भएपनि आफ्नो हो भन्ने ।
(दुःखी अन्दाजमा) मलाई शंका छ, यो तिनले कहिल्यै फेरि सोच्लान् ।
(घुर्कीपूर्ण लवजमा, सम्झाउन खोजेझैं) जानेको रहेछौ, फेरि किन रुन्छौ ? किन पीडा दिन्छौ आफैलाई ? उनीहरुले त तिम्रो लागि खुशी हुनुपर्ने होइन ? तिम्रो समस्या, जो उनीहरुले नै थेग्न सकेका थिएनन्, त्यसलाई पनि बुझेर, प्रेम गरेर सम्हालिदिने एउटा सफा दिल भएको मान्छे तिमीले पाएको छौ ! (चुरोट ओठमा च्याप्दै)
(हार मानेझैं, वैरागी अन्दाजमा) म के भनुँ, उनीहरु बुझ्दैनन् ।
(धुवाँ उडाउँदै, चतुर्याइँपूर्वक) तिमी नि ?
(अकमकिँदै) म….म के ?
(हात हल्लाइ हल्लाइ, फुरुक्क फुर्केझैं, खुश लवजमा) तिमी त बुझ्न सक्छौ, कि तिमीले यस्तो विशाल हृदयको साथ पाएको छौ, जो हरकोहीले पाउँदैनन् ।
(सहमतीपूर्ण अन्दाजमा, लचिलो हुँदै) बुझेको छु । मैले पहिल्यैदेखि आफूलाई भाग्यमानी भनिरहेकै छु, यस कुरामा त । तर…(अकमकिएझैं)
(हतार हतारमा) तर के ? (आँखा चिम्सो पार्दै, चुरोट निभाउँदै)
(लामो श्वास तान्दै र फ्याँक्दै, एकछिन केही सोचेजस्तो गर्दै) के भनुँ ? एउटा कुरा पाउँदा अर्को कुरा गुमाउनु पर्ने संसारको रित नै रहेछ सायद ।
(कडक लवजमा, गम्भिरताका साथ) तिमीले जे गुमायौ, तिम्रो लागि काविल नहुनका कारण गुमायौ । संघर्ष; साथ पाउने नाममा, तिमीले उनीहरुको दायारामा चित्त खुम्च्याएर गर्ने होइन । बरु संघर्ष त उनीहरुले गर्ने हो, मन ठूलो बनाउनका लागि । नत्र कहिले सुध्रन्छ समाज ? सधैँ सङ्किर्ण रहिरहन्छ । हो कि होइन यो कुरा ? सोचेर मात्र विश्वास गर । पहिला अन्धाधुन्ध विश्वास गरेर दुःख पाएँ भन्यौ तिमीले ।
(केही बुझेझैं, लचिलो हुँदै, विनम्रतापूर्वक) मलाई माफ गर । तिमी ठीकै भन्दै छौ । तिमी सधैँ ठीक नै भन्छौ । मै कमजोर भएको छु आजभोलि त्यसैले नानाथरी तर्क गरेर आफ्नो कमजोरी ढाकछोप गर्न खोज्छु । (निधार छाम्दै, छटपटाउँदै)
(विनम्रताका साथ, गम्भिर मुद्रामा) त्यस्तो होइन । म तिम्रो भलो अवश्य चिताउँछु तर सधैँ म सहि हुन्छु भन्ने छैन । मेरो कुरामाथि तिमी आफूले पनि विवेकले सोचेको राम्रै हो । म बस् यत्ति नै भन्न आएको हुँ । सोच्न त तिमी जीवनमै सबैभन्दा धेरै यहि समय सोचिरहेका छौ । तर विवेकले सोचिरहेका छैनौ । विवेकले सोच, सन्तुलित भएर सोच ।
(पिठ्यूँमा हात राख्दै) अनि अर्को कुरा, जबसम्म तिमी आफैले आफैलाई माया र कदर गर्दैनौ, दुनियाँबाट त्यसको अपेक्षा गर्नु बेकार हो । तिमी कतै त्यहि गर्दै त छैनौ ? सोच ! यो पनि आफै सोच !
(धाप मार्दै) अहिले म जान्छु !
(अतालिँदै) पर्ख ! नजाऊ !

(चिच्याउँदै, जुरुक्क उठ्दै) नजाऊ भनेको, सुनेनौ ?

(कन्सुत्लेको निंद्रामा चिच्याउने बानी । आजपनि उसकी स्वास्नी अतालिएर ब्यूझिन्छे ।)

(हतार हतार उठेर लोग्नेलाई समाउँदै, बिलकुल डराउँदै) के भयो ? किन चिच्याउनुभएको ?
(लामो लामो श्वास फेर्दै, स्वास्नीलाई निहाल्दै, बिस्तारै सम्हालिँदै)
(पिठ्यूँ मसारिदिँदै, स्नेहपूर्ण लवजमा) आजपनि बाबाममीलाई देख्नुभयो सपनामा ?
(रहस्यमय अन्दाजमा) होइन, आजको सपनामा त मेरै अनुहार आयो !
(उत्सुकतासाथ, साइड ल्याम्प बाल्दै) मतलब, आफैलाई देख्नु भएको ?
(रहस्यमय मुद्रामा, बिलकुल आँखा नझिम्क्याई) मपनि थिएँ…
(जिज्ञासु हुँदै) अनि अरु… ? को थियो अरु ?
(हावामा कसैलाई देखिरहेझैं) मेरो अहम् …
(आमाले बच्चालाई जिस्क्याएझैं, पिठ्यूँमा हात सहलाउँदै) अहम् ? कस्तो हुँदो रहेछ अहम् ? आकृति पनि देखियो कि ?
(फरक्क स्वास्नीतिर फर्कँदै, ठूलठूला आँखाले हेर्दै, उत्साहित लवजमा) देखियो । मजस्तै देखिन्थ्यो काटीकुटी !
(जिज्ञासु हुँदै) हुबहु ? अनि कसरी छुट्याउनु भयो त कुन अहम् कुन आफू ? म तिम्रो अहम् भनेरै आयो कि ?
(आत्मविश्वासका साथ) होइन, आफ्नो परिचय त दिएन । तरपनि मैले चिनेँ, ऊ मेरो अहम् नै हो ।
(प्रफुल्ल लवजमा) वाह ! गज्जब ! भनेपछि नराम्रो सपना त होइन रहेछ । म त आजपनि नराम्रो सपनाले झस्किनु भयो कि भनेर डराएकी थिएँ ।
(रहस्यमय अन्दाजमा) तिम्रो के खयाल छ, अहम् प्रति ?
(आश्चर्य मान्दै) कस्तो खयाल ?
(नबुझेझैं) अहम् ले मान्छेलाई बिगार्छ भन्छन् नि !
(सामान्य लवजमा) मलाई त त्यस्तो लाग्दैन ।
(गम्भिर लवजमा) कस्तो लाग्छ तिमीलाई ? मान्छेमा अहम् हुनु राम्रो हो ?
(बेग्लै अन्दाजमा) विचरा अहम् ! मलाई त ऊ अति निर्दोष लाग्छ ।
(आश्चर्य मुद्रामा) निर्दोष ?
(दृढ अन्दाजमा) हो, आमाको कोखबाट भर्खर जन्मेको शिशुजस्तै निर्दोष । ऊ आउँदा कुनै नियतले आउँदैन, आफ्नो इच्छाले आउँदैन, कसैलाई दुःख दिन्छु भनेर आउँदैन ।
(संशयसाथ) आएपछि नि ?
(खुश लवजमा) आएपछि पनि सकेसम्म त उहि निर्दोष बच्चाले आमालाई, बाबालाई खुशी पार्न खोजेजस्तै कोसिस  गर्छ, हामीलाई खुशी नै पार्न खोज्छ ।
(छक्क परेझैं) यसको मतलब मान्छेमा अहम् हुनु नराम्रो होइन ?
(दृढ अन्दाजमा) अवश्य होइन । बरु अहम् हुनु त अनिवार्य चाहिँ हो, मान्छेका लागि !
(जिज्ञासु हुँदै) किन अनिवार्य ?
(निश्चिन्त लवजमा) अहम् भनेको आफ्नो सत्व हो । विना अहम्, मान्छेले आफूलाई बुझ्न सक्दैन, आफैलाई नबुझेपछि मान्छे आफूलाई प्रेम गर्न पनि सक्दैन । अनि बर्बाद हुन्छ मान्छे, आफैलाई गुमाएर ।
(निधारमा मुजा बनाउँदै, उत्सुक्तापूर्वक) अनि, घमण्ड, अहंकार, अभिमान सबै अहम् ले नै जन्माउने कुरा होइनन् ? के यसले चाहिँ बर्बाद नगर्दो हो मान्छेलाई ?
(दृढ अन्दाजमा, मुस्कुराउँदै) हो, यीपनि अहम् कै नतिजा हुन् ।  यीनले बर्बाद गर्न सक्छन् मान्छेलाई तर अहम् को यसमा कुनै दोष हुन्न ।
(आश्चर्य मान्दै) किन हुन्न दोष ?
(गम्भिर लवजमा) बच्चालाई कसरी हुर्काउने, कस्तो संस्कार दिने ? टाउकोमा टेकाउने कि आफ्नो खुट्टामा उभिन सिकाउने ? सबै बाबु-आमामा निर्भर गर्छ । भनेँ  नि अघिपनि, अहम् भनेको निर्दोष बच्चा जस्तै हो, पुलपल्याइयो भने अभिमानी बन्न सक्छ र बर्बाद बनाउन पनि सक्छ । तर सन्तुलित वातावरणम हुर्काइयो भने अहम् स्वाभिमानी बनिदिन्छ, आफ्नो उचित मुल्याङ्कन गर्न मद्दत गर्छ, आफूलाई बुझ्न सघाउँछ, प्रेम गर्न सिकाउँछ, खुशी हुन सिकाउँछ ।

(कन्सुत्ले अचानक भावुक हुन्छ । केही सोचेझैं टोलाउँछ । स्वास्नी उसको मनस्थिती बुझ्न मगज खियाउँदै हुन्छे ।   स्वास्नीको अनुहारबाट कपाल पन्छाउँदै कन्सुत्ले, उसका खैरा चिम्सा आँखामा एकतमासले हेर्दै भन्छ ।)

(प्रेमिल अन्दाजमा) आइ लभ यू, मेरी प्यारी ! यू आर सो स्वीट ….
(थोरै लजाउँदै, आश्चर्यभावमा) ओहो, यो रोमान्टिक मुड अचानक कताबाट ? के सिकायो तपाईंलाई अहम् ले आज सपनामा आएर ?
(नखरा पार्दै, बिलकुल रोमाञ्चक भंगिमाका साथ) अहम् ले मलाई आज चुनौती दियो । एउटा स्वाभिमानी सन्तान जन्माएर, नपुलपुल्याइकन हुर्काएर देखा भन्यो ।
(छक्क पर्दै, प्रफुल्ल मुद्रामा) अनि, यसको लागि त, बाबा-ममीले सम्बन्ध नस्वीकारुञ्जेल नसोच्ने भन्नुहुन्थ्यो त ?
(पश्चातापको लवजमा) सायद, म आफ्नो स्वाभिमान कुल्चिएर, कसैको अभिमान जोगाउँदै थिएँ ।
(नखरा पार्दै, प्रफुल्ल भावमा) अनि, अहिले चाहिँ ?… के जोगाउँदै हुनु… (आफ्नो वाक्य ऊ पूरा गर्न पाउँदिन)

( केहीबेर उनीहरु एक-अर्काका ओठमा हराउँछन् । त्यसपछि लामो श्वास फ्याँक्दै कन्सुत्ले सोध्छ । )

(रोमाञ्चक भावमा) बुझ्यौ ? म हाम्रो प्रेम जोगाउँदै छु ।

( उनीहरु फेरि एक-आपसमा लीन हुन्छन्, विलीन हुन्छन् ।  त्यो प्रेमालाप देखेर उनीहरु भित्रको स्वाभिमानी अहम् धेरैपछि मुसुक्क मुस्कुराउँछ । )

Facebook Comments

You may also like

error: Content is protected !!