कल्पजगत – २

दुईजना, पशुपतिको आर्यघाट नियाल्दैछन्, माथिबाट । तल…. आर्यघाटमा चिता जलिरहेको छ । आगोको लप्का उछिन्दै । धुवाँहरु उड्न पाउँदा खुशी छन् कि छैनन् होला है ? खैर, नमस्ते ! मेरो नाम कन्सुत्ले, कल्पजगतबाट आइपुगेको । म आफ्नो नाम अनुसारको काम गर्नमा ख्याति प्राप्त छु । आँखाले यी दुईलाई पछ्याइसक्यो अब कानलाई पनि किन रोकुँ र ? होइन ? आउनुस् तपाईंपनि आफ्नो कल्पनाका सबै इन्द्रियहरुलाई उघार्नुस् मसँगसँगै ! हुन्न ?

“मान्छे सम्पूर्ण खाली हुन सके उड्छ होला है ? म उड्न चाहन्छु, रित्तिन चाहन्छु ।” (यो अलि निराश देखिन्छ ।)
“गलत ! उड्नपनि भरिनु नै पर्छ !” (यो भने बिन्दास छ, तपाईंलाई पनि त लाग्यो होला !)
“खै त ? म किन उड्दिनँ । भरिएको छु त । टनाटन भरिएको !” (उसको निधारको मुजा गन्न सक्नुहुन्छ ?)
“मान्छे कहिलेकाहीँ जानाजान अन्जान बनिदिन्छ ।” (वाह् ! आकाशतिर हेर्दै ? मस्तमौला पारा छ यसको, मेरोजस्तै !)
“मतलब ?” (परबाट एउटी कुहिरेनी आउँदै छे । यसको निधारमा रातो टिका छ र साथमा क्युट फुच्चे । फुच्चेको हातमा छ, उडुँ-उडुँ गरिरहेको एउटा लार्ज-साइज्ड यल्लो बेलुन ।)
“ढुंगाले भरिएको बेलुन उड्दैन । तँलाई थाहै छ किन, छैन ?” (क्युट ‘बेलुन-बेबि’तिर हेरेर मुसुक्क मुस्कुराउँछ । विम्ब टिप्नपनि सिपालु रहेछ यो ।)
“थाहा छ मलाई, ढुंगाले भरिएको बेलुन उड्दैन । किनभने, ढुंगा ठोस वस्तु हो, जसमा हावाको बास हुँदैन । तर तेरो मतलब के ? म ढुंगा हुँ ? त्यसैले उड्न सकिरा’छैन ?” (यो पक्कै साइन्सको स्टुडेन्ट हुनुपर्छ ।)
“म तँलाई किन केही सोचुँ ? हेर भाइ, म कसैलाई जज गर्दिनँ । म तँलाई हेल्प गर्न खोजिरा’छु, तेरो समस्या के हो बुझाउन खोजिरा’छु । बरु तँ आफै भन्, तँ के होस् ?” (यो चाहिँ, अलि मिस्टेरियस देखिरा’छु । तर पक्कै यो साइकलजीको स्टुडेन्ट हुनुपर्छ ।)

“मैले धेरै भेटेको छु जीवनमा ढुंगाहरु । संगत गरेको छु । रंग-रंगका ढुंगाले अनेक ढंगका घाउ पारेका छन् । तर, म आफैमा ढुंगा होइन, कदाचित होइन ! तै’पनि म आफैलाई ढुंगाभन्दा भारी महसुस गर्छु । हलचल गर्न नसक्ने गरी थिचिएको, आफ्नै भारले !” (उफ् ! कवि, दार्शनिक, घाइते…. टुटा हुवा दिल, यसले के बताओस् आफ्नो परिचय ?)
“खुशी लाग्यो, कमसेकम थाहा रहेछ तँलाई, आफू के होइन । तर भार बिसाउनु छ, उड्नु छ भने आफू के हुँ जान्न जरुरी छ ।” (उनीहरुको अगाडि चरिरहेका एक जोडी परेवाहरु भुर्र उडेर पारि मन्दिरको गजुरमा अवतरण गर्छन् । आखिर के जानेर ती परेवा त्यसरी अचानक उडे ?)
“म शायद पानी हुँ, त्यसैले म सधैँ बगिरहन्छु, उँधै-उँधो, दक्षिणै-दक्षिण !” (लौ, यिनीहरु त नेक्स्ट लेबलको गफ पो गरिरा’छन् त ? आखिर के हो यिनीहरुको समस्या ?)
“पानीमा हावा हुन्छ । तर पानी पनि त उड्दैन !” (धक फुकाएर हाँस्छ । हाहाहाहा…. )
“तँलाई लाग्छ म मजाक गरिरा’छु ?” ( रिसाउँदा पनि यो मान्छे, निराश नै देखिने, होइन ?)
“तँ होइन, म गरिरा’छु मजाक !” (हाँसो, मानौँ हेलिकप्टर हो, र त्यो यतिबेला ल्यान्ड गर्नै लागेको छ ।)
“म गर्न चाहन्न मजाक ।” (अहिले चाहिँ हो कि, हो कि जस्तो, रिसाएको !)
“त्यसोभए तँ उड्न चाहँदैनस् !” (वाह् ! उसको कुरा उसलाई राम्रो थाहा छैन, तर यसलाई कत्रो आत्मविश्वास ? ताज्जुब छ !)
“मजाकले उडाउने भए भाइ, जिन्दगीले मसँग जति मजाक कोसँग गर्यो होला ? तँ सोच्नपनि सक्दैनस् ।” (साथीहरु बराबर हुन्छन् । त्यसैले एक-अर्कालाई भाइ-भाइ भन्छन्, बुझ्छु । तर, दाइ कहिल्यै किन भन्दैनन्, योचाहिँ बुझ्दिनँ ।)
“देखिरहेकै छु, सोच्न के जरुरी ? थाहा छ, तेरो मजाक गरेर, उडिरहेछ तेरो जिन्दगी !” (यसपटक सुनिने हाँसो होइन, मात्र देखिने हाँसो हाँसेको छ यो ।)
“तँसँग त कुरा गर्नै बेकार छ ।” (उही निराश चहेरा, रिसाउन खोज्दा-खोज्दै पनि नजानेको ।)
“हो, लाग्छ बेकार । बुझ्न नखोजेपछि ।” (म त बुझ्न खोज्ने कै लाइनमा छु है, जे भएपनि !)
“बुझिरहेछु सबै, मलाई मजाकमा उडाइरा’छस् । तर यति नगरी त अघि खा’को बदाम कहाँ पच्छ तेरो पेटमा ?” (ओहो, घाममा बसेर बदाम खानु ? त्योपनि पशुपति आर्यघाटमा ? अझ बाँदरलाई पनि खुवाउँदै ? भयो, यो बदामको कुरा अहिले छोडाउने काम नगरौँ ।)
“तँ अझै बुझिरा’छैनस् भाइ !” (बुझ्न त मपनि केही बुझिरा’छैन । तपाईं केही बुझ्दै हुनुहुन्छ ?)
“छोड् भाइ, बुझ्नु छैन मलाई । म जे छु, ठीक छु । तँलाई उडाउनु छ, अरु कसैलाई उडा, मलाई उड्नु परेन, भो !” (अरे, सबै बदाम त पच्न दे । कति चाँडै क्लोज अप लाइन मारेको ?)
“जिन्दगीले तेरो मजाक उडायो, जिन्दगी उड्यो !” (तल घाटमा उडिरहेको धुवाँभन्दा रहस्यमयी लाग्दै छ यिनीहरुको कुरा । के मृत्युभन्दा अजीव जिन्दगी हुन्छ त ?)
“उड्न दे यार ! उडिराखोस् !” (अब आएर मलाई यो मान्छे, पेस्सिमिस्टिक लाग्न थाल्यो । साइन्स होइन साइकलजी यसले चाहिँ पढेको हुनुपर्छ, पक्कै ।)
“कुरा सुन्, अब तँ उडा जिन्दगीको मजाक र आफै उड, बुझिस् !(यो पनि साइकलजी होइन फिलोसफीको स्टुडेन्ट हुनुपर्छ ।)
“म सुन्ने मुडमा छैन ।” (तर म त कन्सुत्ले, मेरो त काम नै सुन्ने हो !)
“तँ पक्का छस् ? कि तँ पानी नै होस् ?” (म्यान अफ मिस्ट्री, होइन यसले के साबित गर्न खोजिरा’छ ? मान्छे कसरी पानी मात्र वा माटो मात्र हुन सक्छ ? मान्छे त पञ्चतत्वको कमाल हो !)
“म पक्का अब यसमा भएँ कि, तँपनि ढुंगा नै रहेछस् ।” (उफ् ! मेन्टलहरुको सेन्टीमेन्टल टक ! गेट टु द कन्क्लुजन गाइज । वास्तवमा मलाई कथा लेख्नु छ । तिमीहरुको गफगंगामा म बल्छि थापिरा’छु ।)
“पानी अर्थात, H2O !” (कम अन गाइज ! केही त पक्कै आउलाजस्तो छ ।)
“अब यो H2O के हो फेरि ?” (उः होइन रहेछ त ? यो साइन्सको स्टुडेन्ट त पक्का होइन । मिस्टर साइकलजी फर स्योर ।)
“सूत्र ! पानीको ! अर्थात तेरो जिन्दगानीको !” (ठीक छ, क्यारेक्टर त गज्जबको मिल्यो आज । कथाको लागि सहि हुन्छ यो पात्र ।)
“तँ ठीक त छस् ?” (लौ, यिनीहरुको रोल एक्स्चेन्ज हुन त लागेन ?)
“ठीक तैँले हुनु छ भाइ । त्यसैले भनिरा’छु । उडाइदे तँ पनि जिन्दगीको मजाक ! जिन्दगीले तँलाई मात्र कति उडाओस् ! भन् त ?” (यो कन्सुत्लेले बल्ल केही कन्क्लुजन भेट्टायो जस्तो छ !)
“म केही बुझिरहेको छैन । तँ के भनिरा’छस् यार ?” (बल्ल यिनीहरु ‘यार’मा आइपुगे ।)
“म भन्दै छु कि, पानीमा ढुंगा हान्, जिस्की पानीसँग । मजाक गर, मजा हुन्छ !” (पानी, अर्थात तेरो जिन्दगानी भनिरा’थ्यो । के साच्चै यो जिन्दगीलाई ढुंगा हान्न सिकाइरा’छ ? मतलब, सुसाइड ! सिरियस्ली ?)
“कसरी ?” (यो के बुझेर ‘कसरी’ सोध्दै छ ?)
“तेरो जिन्दगानी अर्थात पानी ! H2O ! भत्काइदे H2Oलाई । फ्याँकिदे अक्सिजन ! अनि जुन हाइड्रोजन बाँकी हुन्छ भर आफ्नो जिन्दगीको बेलुनमा ! बुझिस् ? तोडिदे पानीको सूत्र !” (जिन्दगीबाट अक्सिजन फ्याँकिदे ? सिरियस्ली ?)
“तँ सरल भाषामा किन भन्दैनस् ? मलाई रिंगटा लागिसक्यो तेरो १२ फन्का घुमेको कुरा बुझ्न नसकेर ।” (आफ्नै साथीले सुसाइडको आइडिया दिँदैछ त रिंगटा नलागेर के लाग्छ तँलाई ?)
“लाग्छ तँ घरबाट आउँदा नै रिंगिएर आएको थिइस् । भन् त के भएको थियो त्यस्तो ?” (पक्कै आत्महत्याको लागि उत्प्रेरित गर्दैछ !)
“त्यो कुरा छोड्दे । पहिला तैँले के भन्न खोजेको त्यो त बुझा ।” (हो भाइ बुझ ! के भन्न खोजेको हो त्यसले अक्सिजन फ्याँकिदे, जिन्दगीमा ढुंगा हान भनेर, बुझ !)
“भन् त सहि ।” (मराएरै छाड्लाजस्तो छ, डिप्रेसन प्रोभोक गर्दैछ । हि इज ड्यानजरस !)
“पहिला…” (उफ् !)
“नाइँ, पहिला भन् मैले के सोधेँ ।” (यो के भइरहेछ !)
“तँलाई थाहै छ नि यार ! इक्जाम सकियो । अब घुम्न जानुपर्यो भनेको….” (अझै यार भन्दैछस् ? त्यो साथी होइन तेरो दुश्मन हो दुश्मन ! त्यसको बहकावमा न आ !)
“अनि… त्यसपछि के भयो ?” (हेर उकासेको ?)
“अनि के हुन्छ ? ठाकठुक !” (मिस्टर पेस्सिमिस्टिक, तँ खेर जाने नै भइस् !)
“कोसँग ?” (कति उकास्छस् ए साइकोप्याथ ? तँ फिलोसफी होइन, साइकलजी कै स्टुडेन्ट रहेछस् । एज सेड, फस्ट थट, अल्वेज इज द ट्रथ !)
“सबै ।” (हेर विचरा ! वनका त वैरी भए नै घरका पनि सबै वैरी रहेछन् । सो पिटी !)
“तेरो दाइले पनि सपोर्ट गरेन ?” (यसले त अति नै गर्यो त बा ! मनमा थोरै त दया राख् !)
“मेरै छुट्टी कुरेर त बसिरा’थ्यो त्यो । कहिले यसको इक्जाम सकिन्छ र ड्याडको दोकानमा यसलाई राखुँ र आफू घुम्न जाऊँ ! यही नै दाउ हुन्छ उसको सधैँ । उसलाई मात्रै चाहिन्छ फ्रिडम !” (भाइ हुनुको पीडा ।)
“अस्ति नै पनि कान्छोलाई राखेर गोवा गएको होइन तेरो दाइ ?” (विचराको घाउ कति कोट्याएको यसले ?)
“यस्तै छ यार । जिन्दगी शायद यस्तै हो, छोड्दे यो कुरा । तैँले भन्न खोजेको कुरा भन् ।” (त्यसको कुरा नसुन् । तँलाई बिगार्छ त्यसले ।)
“खासमा यो जिन्दगीको नियम हो । सूत्र ! तोडमोड गर्न नजाने आफ्नो मजाक उड्छ, जाने आफू उडिन्छ ।” (ओ म्यान ! ह्वाट अ म्यानिपुलेसन !)
“तेरो मतलब………” (लौ, तँ के बुझेर हाँसेको ङिच्च ? तँ साच्चै मर्न चाहन्छस् ?)
“जिन्दगी एउटा हवाईजहाज जस्तै हो जसमा आफू मात्र नभएर अरु धेरै पनि हुन्छन् । सबलाई आ-आफ्नो ठाउँमा राख् तर पाइलट आफै बन् । जहाज जहाज कै हातमा छोड्नु खतरा हो । मतलब, जिन्दगीलाई अटो-पाइलटमा छोड्यो भने पनि जिन्दगी आफै ‘ब्याङ’ हुन सक्छ ! त्यसैले, हो गइदे…घुम् जा, रमाइलो गर्, उड् ! तर बस् यत्ति हो कि आफै उड् ! जिन्दगीलाई उडाउन नदे ।” (कस्तो टाइमिङ हो ? आकाशमा यही बेला प्लेन उड्यो ? कतै यो प्लेन अटोपाइलट मोडमा त छैन ?)
“त्यसोभए, म गएँ ।” (कता जान उठेको यो ? के प्लेन ‘ब्याङ’ हुनेवालामा छ ?)
“कहाँ ? हवाईजहाज उडाउन ?” (कस्तो राक्षस हाँसो हो यसको ? डरलाग्दो !)
“होइन, पानीजहाज उडाउन !” (के अब साच्चिकै प्लेन क्र्यास् हुन्छ ? किन भागेका यिनीहरु ? ए, पख…… मलाई पनि लैजाओ ! लौन, मेरै टाउकोमा खस्छ कि के हो ?)

“के भयो ? किन चिच्याएको यसरी ?”
“प्लेन…. प्लेन….”
“के प्लेन ? कहाँ छ प्लेन ? खै ?”
“उः उः खस्नै लाग्यो… खस्नै लाग्यो…. मेरै टाउकोमाथि खस्नै लाग्यो….”
“यो कोठाभित्र कहाँको प्लेन ? छैन प्लेन-स्लेन !”
“उः उः खस्यो अब खस्यो……”
“हे ईश्वर ! आजपनि औषधी खाएन जस्तो छ यो मान्छेले ? कत्ति दुःख दिएको मलाई, कति ?”

“ब्याङ !!!”

Facebook Comments

You may also like

error: Content is protected !!