न्याय मागिरहेकी पारिजात

मेरी सकम्बरी आँखाभरि आँसु लिएर गुनासो गरिरहेकी छ । उसलाई आधुनिकतासँग गुनासो छ । भन्छे, ‘म सिसाको बन्द बाकसमा सास फेर्न सक्दिनँ ।’
शरदमा पारिजात फुल्छन कि फुल्दैनन्? मलाई थाहा छैन । तर, पारिजात बहुतै सुन्दर लाग्छ । पारिजात फुलेको साँझ म हिड्ने बाटो सुगन्धित भईदिन्छ । तपाईं हिड्ने बाटोमा पारिजात फुल्दा त्यस्तो हुन्छ कि हुँदैन ?

सकम्बरीसँग मेरो भेट पहिल्यै भएको थियो । सायद, कक्षा ८ मा थिएँ म । उ शिरमा शिरिषका फुलहरु उनेर उभिएकी हुन्थि । आँखा धेरै भारी थियो सायद, केही खसालिरहेकी हुन्थि । तर, जब आउँथे म सामुन्ने आँखु पुछेर चुपचाप बस्थी र मुस्कुराउँदै भन्थि, ‘मलाई गाउँले जीवन नै बेस लाग्छ ।’

आज सकम्बरीको गुनासो अन्य दिनको भन्दा फरक भईरहेको छ । उ आँखाभरिका आँसुलाई खसालिरहेकी छैन । मात्र के के फलाकिरहेकी छे । गुनासो गरिरहेकी छे । म उसको ध्यान अन्तै लैजान खोजिरहेको छु । सोध्छु, ‘सकम्बरी, कति भयो नि तिम्रो उमेर ?’

उ उमेर सोधेपछि झनै धोत्लिन्छे । मान्छे किन धोत्लिने गर्छ? म जान्दिनँ । तर, यत्ति त हो, अहिले मान्छे मोबाईल हेर्नलाई भने अवश्य धोत्लिन्छ । सकम्बरी किन धोत्लिई म जान्दिनँ ।
‘जन्मिएको मान्छेको उमेर हुन्छ, मेरो उमेर छैन’, उ अनायासै रिसाउँछे । उसको रिश पनि हिउँ जस्तै लाग्छ । एकछिन खेल्दा कस्तो रमाईलो, धेरै खेल्दा पोल्ने । उ कति बेरको लागि रिसाउने सोचेकी हो? उसले भनेकी छैन ।

∞∞∞∞

उसले मलाई अस्पतालसम्म जाउ भनेर ल्याएकी छे । आउनु अघि मात्रै त हो, उसले मलाई घाटमा ध्यान गर्न लगाएकी । मान्छे ध्यान किन गर्छ? म जान्दिनँ । उसले ध्यान गर्न लगाउँदा मैले ध्यान त गरें । तर, त्यो ध्यान भयो कि भएन, मलाई थाहा छैन । ध्यान उसले गरेकोलाई भन्छ कि भन्दैन त्यो पनि मलाई थाहा छैन ।
अस्पतालमा सायद कसैलाई भेट्न आएकी हो ऊ । म किन आएँ ? त्यो म जान्दिनँ । तर, अस्पताल आउँने बाहाना मै मलाई उसले धेरै कुरा बताएकी छे ।
उ आउँदा ट्याक्सीमा जान मानेकी थिईन । होईन, ट्याक्सी उसको कुरामा मानेको थिएन । उसले ट्याक्सीले यात्राको मोल फरक फरक राखेका थिए । यहाँ मोल हरेक कुराको राखिन्छ ।
हिड्दा हिड्दै सकम्बरी मसँग संवादमा भुल्छे । म उसले बोलेका शब्दमा भुल्छु ।

सकम्बरी बोल्छे–
एकलब्य, यो शहरमा हरेक कुराको मोल हुन्छ । यहाँ आँसु बिक्छ, अस्मिता बिक्छ । ईश्वर पनि बिक्छ, भोक पनि बिक्छ । मैले यहाँका कुना कन्दराहरु चहारेको छु, मैले यहाँको हाट बजारको मुटु छामेको छु, स्पन्दन महसुस गरेको छु । कहिलेकाँही मलाई लाग्छ, बिद्रोह गरिदिउँ यो चलनसँग । गर्न पनि चाहेकै थिए । तर, केश काटेर मात्रै बिद्रोह हुँदैन । हातमा चुरोट च्यापेर मात्रै बिद्रोह हुँदैन । म जुन बेला रचिए, त्यो समय यस्तो थिएन जस्तो अहिले छ । मलाई क्लियोपाट्राजस्तो हुनु थियो । बलमानभन्दा पनि बलमान सोच भएको कसैलाई आफ्नो अधिनमा राख्न सक्ने । तर, विलय चाहिएको थिएन उसको जस्तो । म पितृसत्तात्मक सोचको जरा फैलिएको भूमिमा जसोतसो टुसाएको एउटा निलो फूल मात्रै थिए । बस, एउटा निलो फूल । तर, म हुर्किनु पर्दा पनि निकै संघर्ष थियो । म आफ्नो अस्तित्वलाई कायम गर्न निकै लडेकी थिए, चुलो र चौकोसँग । भलै, मेरो जीवनको क्षेत्रफलमा ती कुराहरुको धेरै महत्वपूर्ण आयतन थिएन । तर, मैले देख्दा मेरी छिमेकी ‘सुम्निमा’ त्यो बाट टाढा थिईन । उ त्यो भएर बाँचिरहेकी थिई, जुन बास्तवमा उ थिईन ।

∞∞∞∞

अस्पताल आएपछि सकम्बरी चुपचाप भएकी थिई । उसको गला अवरुद्ध भएको थियो वा थिएन, म जान्दिनँ । तर, त्यत्ति बेलै हो, उसको आँखाबाट दुई थोपा आँसु खसेको ।
अस्पतालमा केही मात्रामा भिड थियो, अन्य दिनमा हुने भन्दा । हामी अगाडि बढ्दै गयौं । त्यहाँको भीड छिचोल्न हम्मेहम्मे थियो । सकम्बरीलाई कसैले पछाडिबाट बोलायो, ‘भाई, यहाँबाट चोभार जाने कता हो बाटो ?’

उ चुपचाप थिई, चुपचाप नै रहि । उसको केश थियो, कपाल थिएन झरि अघिको बादलजस्तो धनधोर । उ पछाडि फकिई । सोध्ने मान्छे केही हिचकिचायो । छातीको चुचुरो देखेर होला सकम्बरीको, उसले थाहा पायो सकम्बरी भाई थिईन । उसले जवाफमा बताईदिई चोभार जाने बाटो । हामी अघि बढ्न थाल्यौं । अलि अगाडि त्यहिँ व्यक्ति थियो, सकम्बरीलाई भाई बोलाउने । उसँग अर्को कोही पनि थियो । उसको निधारमा पूर्ण देखिने गरि केही लेखिएको मैले देखें । सकम्बरीले देखि कि देखिन? म जान्दिनँ । त्यहाँ लेखिएको थियो, परम्परावादी ।
उनीहरु संवाद गरिरहेका थिए ।

– अघि बाटो सोधेको केटा थियो कि केटी ?
– खै, मैले त टाउको हेरेर बोलाए । आवाज सुन्दा त केटीको जस्तै थियो ।
– हुन् त छाती पनि निकै उँचो थियो ।
– सायद, छक्का पो हो की?
– होला । अहिले त त्यस्तोको पनि खुब बिगबिगी छ ।

सकम्बरीले उनीहरुको संवाद सुनिरहेकी थिई । उ आक्रोशित भई । मैले उसलाई अस्पतालको माथिल्लो तलामा लिएर जाने प्रयास गरें । उनीहरुले गरेको संवादले उसको अनुहार रातो भएको थियो । लज्जाले होईन, आक्रोशले । भर्याङ्ग चढ्दै गर्दा मलाई सोधि– मान्छेले आवरणको हेरेर कसरी लैङ्गिकताको बर्णन गर्न सक्छ ? उसको प्रश्नमा मैले जवाफ दिईन । मसँग जवाफ थियो पनि र थिएन पनि । यदि मैले त्यो जवाफ दिएको भए, अर्को प्रश्न उब्जिन्थ्यो । प्रश्नहरु किन उब्जिन्छन्? तपाईंलाई पनि थाहा होला ।

अस्पतालको माथिल्लो तलामा पोर्टमार्टम गर्ने ठाउँ थियो । बाहिर रातो सारीमा एक महिला सेतो अनुहार बनाएर बसिरहेकी थिईन । सकम्बरी उसको छेउमा गई । सोधी– किन यहाँ भिड भएको ?

ती महिला एक टकले हामीलाई हेर्न थालिन । उसको आवाज सुनिएको थिएन । बाहिरबाट कसैले हल्ला गरेको थियो कि? वा कुनै आन्दोलन ? हल्ला सुन्दा आन्दोलन जस्तै लाग्थ्यो । दोस्रो पटक पनि सकम्बरीले प्रश्न दोहोर्याई । किन ? त्यो उसलाई नै थाहा थियो । म हुन्थे त, पहिलो पटकको प्रश्नमा कसैको प्रतिक्रिया नपाएपछि जवाफ खोज्दै अर्को पटक प्रश्न राख्दिनँ थिएँ, कसैको गर्धनमा । प्रश्नहरु पनि त भयानक भईदिन्छन् । कहिलेकाँही त निल्न नसक्दा मस्तिष्कमा वर्षौसम्म अडकिरहन्छन् । जवाफ पर्खिरहन्छन् ।

ती महिलाले मौनताको चुकुल्ल खोलिनँ–
“नानी, डाक्टरहरुको आन्दोलन छ । मेरी छोरी भित्र मृत्युसँग लडिरहेकी छे । महिना नपुग्दै जन्मिएको उसको बच्चा हिजै मरिसक्यो ।”
सकम्बरी फेरि मौन भई । किन भई? तपाईंलाई पनि थाहा होला ।
उ भन्छे– “संवेदनाले बहुतै छुन्छ ।”

∞∞∞∞

हामी अस्पतालबाट निस्किएर रत्नपार्क छेवैमा बसेका थियौं । मस्जिद बाहिर उभिएका हामी हिन्दु भएकै कारण खेदाईयौं वा अरु केही थियो कारण । तर, त्यहाँ उभिएको केही क्षणमा नै हामीलाई त्यहाँबाट खेदाईयो । किन खेदाईयो? त्यसको कारण के थियो ? म जान्दिनँ । सकम्बरीलाई थाहा होला? मैले सोधेको छैन ।

रत्नपार्क छेवैमा उभिएका हामीलाई आकाशे पुलमा जाने सोच बनाएका थियौं । मेरो अगाडि हिँडि ऊ । म पछिपछि थिए । माथि पुग्दा उ अघि भन्दा झन उदास भएकी थिई । के भयो? मैले ढिलो आएको कारण थाहा पाईन ।

साँझमा रंग थपिदैं थियो । अँध्यारो बढ्दै थियो । उ पुलमाथि आईपुगेको केही सेकेण्ड पछि नै त हो, म पनि त्यहाँ आईपुगेको । तर, उसलाई के कुराले उदास बनाएको थियो? थाहा पाउँन सकिन । उ मेरो हात समाएर तल ओलिन्छे । हामी बागबजारका गल्लीमा हिड्छौं ।

भित्री गल्ली । जस्तो हुन्छ मान्छेको भित्री मन । भित्री गल्लीका धेरै कुराहरु हुन्छन् । मान्छेको मनमा के के हुन्छ? तपाईं छामेर हेर्नुस त आफ्नो मन ।

गल्लीमा हिड्दा उ बोल्छे–
“एकलब्य, तिमी पुल आउँन अलि पाईला अबेर गर्यौ । म हिडिरहँदा कसैले मेरो पछाडिबाट हात हाल्यो र सोध्यो, ‘ जाने हो? कति हो नि तिम्रो रेट’ म त केही बोल्नै सकिनँ ।”
म चुप बस्छु । मैले बुझेको छु, यस्तो किन भईरहेको छ । तर, मसँग तार्किक जवाफ छैन । उ जवाफ तर्कमा खोज्छे ।

अहो! मैले त यादै नगरेको कुरा । सकम्बरीको अनुहारमा सुयोगविरले एसिड छ्यापिदिएको रहेछ । उसको अनुहारबाट उसको ‘अनुहार’को हंस समेत देखिएको थिएन । हातहरु पनि जलेका रहेछन् । अघिल्लो भेटमा उसले भनेकी थिई, विवाह हुनै लागेको कुरा । पक्कै दाईजो भने जति ल्याउन नपाएको कारण होला उसलाई जलाउने प्रयास पनि गरिएको रहेछ ।

∞∞∞∞

बल्लबल्ल उसको शरिरमा लागेको चोट केही खुलेको थियो । थोरै भएपनि हेर्न लायक भएकी थिई सकम्बरी । उसलाई गुनासो थियो धेरै पहिलोबाट काठमाडौंसँग । भनिरहन्थी– ‘बल्लबल्ल उम्किएकी म, यो शहरको धुँवाधुलोबाट भाग्न सकिनँ । मन छ भाग्न कतै टाढा ।’

उसलाई तराईं जाने खुबै रहर पनि थियो । एकदिन ख्यालठट्टाकै क्रममा हो सायद भनेकी थिई– मलाई तराईंको गर्मिमा पग्लिनँ मन छ । त्यो बेला सुयोगविरसँग उ एकरत्ति मिल्दिनँ थिई ।
सावन कै महिना थियो, काठमाडौंबाट हामी पश्चिमतिर लागेका थियौं । गर्मि अत्याधिक । कता जाने के गर्ने थिएन कुनै टुंगो । चुपचाप चुपचाप हाम्रो पैदलयात्राले गाडिको दिवारसम्म पछ्याएको थियो । उ त तंग्रिएकी थिई केही । चोटहरु निको भएकै कारण होला, अलिअलि भएको खाटो घाउँले पनि उसलाई कुरुप बनाएको थिएन । कलंकीबाट चलेको गाडि कुन बेला पुगेको थियो कञ्चनपुर थाहै भएन ।

लामो गाडिको यात्राले थकित भएको थियो ज्यान । के गर्ने कसो गर्ने? केही थाहा नभएकै हो । त्यसपछि नै त हो, होटलमा भएर रुम छ भनी सोधेको । पाएपछि दुईवटा कोठा खालि, म आराम गर्न थाल्दा त हो, उ बाहिर निस्किएर साथिकोमा जान्छु भनेर निस्किएको । भनेकी थिई– नजिकै छे साथि । उसैकोमा पुगेर आउँछु ।

साँझ फर्किईन सकम्बरी । कुर्दा कुर्दै उसलाई अँध्यारोले ढाकिदियो पुरै कञ्चनपुरलाई । साँझ होटलमा भनेपछि खोज्न पनि निस्किएकै हो । तर, कतैपनि उसलाई भेटिएन । प्रहरीकोमा जाँदा सुनियो– राती राती के को मान्छे खोज्न जानु? हाम्रो ड्युटीको समय सकियो ।

जानभर छटपटिमा निदाउँने कुरा नै भएन । बिहान पख भमक्कै निद्राले च्यापेछ । कुर्सिमा बसिरहँदा नै निदाएको रहेछु । हातमा भएको चुरोट कति बेला जलेर औंला पोलेर सकियो, त्यो चुरोटलाई नै थाहा होला । चुरोटले आफू जल्नुको अभिलेख राख्छ राख्दैन? मलाई थाहा छैन । बिहान निद्रा झस्कियो । होटल मालिकले आएर झस्काएर उठाए । रातभर उसलाई खोज्दा नभेटेपछि उनीहरु पनि थिए नै चिन्तित ।

होटल मालिक अँध्यारो थिए । सुर्योदय भर्खर नै भएको थियो । तर, उनको अनुहारमा सुर्यास्त भएको प्रष्ट थियो । उनी बोल्न थाले– तल भीमदत्त नगरपालीकामा एउटा शव भेटिएको छ रे । गाउँलेले खबर ल्याएका छन् ।
म झसंग मात्र भईन । के के भएँ, त्यो म भन्न सक्दिनँ । त्यहाँ पुगेपछि थाहा भयो, त्यो सकम्बरी नै थिई । उसको शरिरमा कुनै कपडा थिएन । नाङ्गो थियो शरिर । उखुबारीमा पल्टिएको ।

प्रहरी आयो । मुचुल्का उठायो । आफन्त खोज्दा म नै गएँ । उनीहरुले पोर्टमार्टम गरेर परिवारलाई बोलाउँन भनें । मसँग उसको परिवारको सम्पर्क थिएन । होस पनि कसरी? उसले कहिल्यै बताएकी थिईन ।
पोर्टमार्टमको रिपोर्टले अर्को पटक झस्काईदियो । उसको बलत्कार भएको रहेछ । सामुहिक बलत्कार । उसको शवलाई रातरात जलाईयो । प्रहरीको जवरजस्तीमा । त्यस्तो किन भयो? म जान्दिनँ ।

∞∞∞∞

काठमाडौं फर्किपछि पनि म झकिरहें । कैयौं महिनासम्म सकम्बरीको लागि न्याय माग्दै धर्ना बसिए । आन्दोलन भएँ । तर, न्याय ? त्यो के थियो? के हुन्छ न्याय? मैले थाहा पाईन ।
सकम्बरीको परिचय खोज्दै जाँदा थाहा भयो, उ पारिजातकी सन्तान थिई । पारिजात अर्थात विष्णुकुमारी वाईवा । मसँग भेटेपछि उनी निकै रोएकी थिईन । उमेर पाको भएछ क्यार । बिस्तारै बोल्थिन । आँखामा लगाएको चस्माको सिसा निकै मोटो थियो । पावर ज्यादा भएर होला । उनले भनेकी थिईन– “मैले सबैभन्दा माया गर्ने सन्तान थिई सकम्बरी । सधैं दुःख मात्रै पाई । मैले सुयोगविरसँग प्रेम हुनुभन्दा अगाडि देखि नै उसलाई वास्ता गरेकी थिईन । छोडिदिएकी थिएँ स्वतन्त्र । तराई गएकी थिई । पछि सुयोगविरसँग विवाह भएछ । दाईले विवाह गर्दा भनेको जस्तो दाईजो दिन नसक्दा जलिछ । अहिले झन यस्तो भयो ।”
उनी रोईरहिनँ । पारिजात रोईरहिन ।

आजभोली सकम्बरीलाई धेरैले चिनेका छन् । उसको तस्विरसँग ‘सरकार भेटियो, न्याय हरायो’ लेखिएको पोस्टर धेरै ठाउँमा टाँसिएको छ । कैयौं सामाजिक अभियन्ता पनि जन्मिएका छन् उसको लागि लडेको भन्दै । तर, उसले अझैं न्यायको अनुहार देख्न पाएकी छैन । सपनामा आएर बेलाबेला मलाई सोधिरहन्छे– ‘एकलब्य, यो न्याय कस्तो हुन्छ?’ सपनामा आउँदा उसको अनुहार झन एसिडले जलेको हुन्छ । शरिर पनि झन पोलिएको हुन्छ । अर्को पिडा, उ समाजबाट बलत्कार भएकी भनेर तिरस्कार खेपिरहेको अनुहारमा प्रष्ट देखिन्छ । उ पटकपटक एउटै प्रश्न दोहोर्याउँछे सपनामा आएर– ‘एकलब्य, यो न्याय कस्तो हुन्छ?’ मलाई न्यायको अनुहार थाहा छैन र थाहा छैन, सपनाको समाजमा कसरी तिरस्कार हुन्छ म जान्दिनँ ।

पारिजात बहुलाई जस्तै भएकी भेटिन्छे । अस्ति भर्खरै मञ्जुलले भनेका थिए, उ सिहंदरबार अगाडि छाती पिटी पिटी रोईरहेकी थिईन । हिजो मात्रै, लामिछाने शंकरले रेडियो अन्तर्वातामा पारिजातले गरेको गुनासोलाई पोखेका थिए । आज पनि सिंहदरवार अगाडिबाट हिडिरहँदा उसलाई गेटैमा रोईरहेको भेटेको थिए । छाती पिटी पिटी भन्दै थिईन पारिजात– “कि मलाई न्याय देऊ कि छातीमा गोली हानेर मारिदेउ ।”

Facebook Comments

You may also like

error: Content is protected !!