जुनकीरी

कुनै कुनै कविता

शिर्षक बिना

पनि सुन्दर हुन्छन्-

तिमीलाई मैले
भनेकै त थिएँ नि,
नफर्कनु ती बाटोहरु भएर
जहाँ हामी खिल्खिलाएका थियौँ
जहाँ हातहरु बाँधिएका थिए
र अनेकौं सपनाहरुले जन्म लिएका थिए

ती बाटोहरु भएर फर्कने क्रममा
ढुङ्गाले सोध्लान्
माटोले सोध्लान्
प्रकृतिको हर कुराले सोध्लान्
मेरो बारेमा
तिमीसँग उत्तर नहुन सक्छ
धमिलिँदै गएको स्मृतिले तिमीलाई सताउन सक्छ

मन्दिरमा चढाएको या लत्याएर हिँडेको होस फूल
अँह फर्किएर हेर्नु हुन्न
ओइलिँदै,खंग्रीदै गएको देख्दा
तिम्रो आँखा रुझ्न सक्छ
पश्चातापले
तिम्रो हृदय पोल्न सक्छ
हो तिमीलाई मैले भनेकै त थिएँ नि,
नहेर्नू मेरो आँखामा आँखा जुझाएर
पत्थर बनेको हृदयमा तिम्रो लागि फेरि प्रेम जाग्न सक्छ।

A Painting by Saatchi

Image Source: A Painting by Saatchi from SaatchiArt


*******

मलाई लाग्छ
म ढुङ्गा हुँ
टुक्रिन्छु,चोइटिन्छु
र फेरि आफैलाई अनेकौँ सुन्दर रुपहरुमा कुँद्न सक्छु
तर एकदिन खुइलिएर जानुपर्ने भयले छट्पटिन्छु।

मलाई लाग्छ,
म बादल हुँ
स्वतन्त्र छु
गहिराई नापेर
उचाई लिन सक्छु
तर पानी भइ रित्तिनुपर्ने यथार्थले तर्सिन्छु।

म,
मलाइ लाग्छ म एक जुनकिरी हुँ
निस्पट्ट अधेँरि रातबाट
यात्राको सुरुवात गर्न सक्छु
अँध्यारोदेखि डराउनेहरुको लागि प्रेरणा बन्न सक्छु
तर,
आफ्नै छाँया नै आफैसँग नदेख्दा
एक्लोपनको अनुभूतिबाट बारम्बार निस्सासिन्छु।

मलाई लाग्छ
म एक सुन्दर कमल हुँ ,सुनाखरी हुँ
हिलोमा, भिरमा जहाँ नि फुल्न सक्छु
मगमगाउन सक्छु
तर आफ्नै पवित्र स्वरुपमाथि दाग लाग्ला कि भनेर पिरोलिन्छु।

हो मलाइ लाग्छ,
म जगतको सुन्दर रचनाहरुमध्ये एक हुँ
एउटा अर्थपूर्ण जिन्दगी बाच्न सक्छु
हरेक रङ्गहरुसँग उसरी नै खुल्न सक्छु
तर फेरि मलाई लाग्छ,
म मात्र एक कमजोर मानव हुँ
जो आफ्नै हृदय र दिमागबिचको द्वन्द्वमा अक्सर फसिरहन्छु
जो सिद्धान्त र प्रयोगात्मको बिचमा अक्सर अल्झिरहन्छु
तर,
तर बाहिर सधैँ मजबुत देखिन प्रयासरत रहन्छु।

Love, Fame, Tragedy By Pablo Picasso

Image Source: Love, Fame, Tragedy By Pablo Picasso


*******

जुनकीरी

म आँसु बन्न चाहन्थेँ तिम्रो आँखाको
र खसेर विलाउन चाहन्थेँ सधैँको लागि
तर शब्द बन्न पुगेँ
र त,
फैलन सकेँ कुनाकन्दरा
भिजाउन सकेँ कयौँ आँखाहरु
बस्न सकेँ हजारौँको हृदयमा

म सुर्यास्तको घाम झैँ
अस्ताउन चाहन्थेँ तिम्रै आँखाअगाडी
र समाहित हुन चाहन्थेँ अँध्यारोमा छाँयासरि
तर तिमी त जुनकिरी रहेछौ
र त अर्थपूर्ण भएँ म

म ओइलाएको फूल न थिएँ
मगमगाउनै नपाई तिरस्कृत जो थियो
तिमीले चुडेर लगाइदियौ
प्रेमपूर्वक शिरमा
र त
फक्रिन पाएँ क्षणभरलाई
कसैको ओठमा मुस्कान बनेर म

50s love

Image Source: 50s love from flickr.com

Facebook Comments

You may also like

error: Content is protected !!