जूनकिरीको पत्र

आँखामा बसेको तस्वीर र मनोकांक्षा

वाल्यकालमा
आँखाले खिचेका तस्वीरहरु
मुटुको एल्बममा यसरी बसेछन् कि
ती, न मेटिन्छन्,
न त धमिला नै हुन्छन् ।
पत्र-पत्र पल्टाएर हेरिरहन्छु अचेल
त्यो ठुलो सिमलको फेद,
ती कागजका फूलहरु,
दुवैले मिलेर बनाएको माटोको घर,
तिमीले लगाइदिएको माटोको सिन्दूर
सबै मुटुको एल्वममा सुरक्षित छन् ।

जब-जब मनको आँखाले हेर्छु-
देख्छु,
कागजको फूल गुलाव भएको,
चिटिक्कको झुपडी भएको माटोको घर,
रातो भएको माटोको शिन्दूर,
बिल्कुल त्यो ठूलो सिमलको
सिमल फूल जस्तै,
ओ मेरो प्रिय बालसखा
हामी छुटेको धेरै भएछ,
यो दुरी
माटो जस्तै घुरमैलो भएछ,
मलाई भेट्न आऊ,
आउँदा,
पूर्वबाट उदाउँदै गरेको रातो घाम लिएर आउँनु ।

समय दौडियो,
समय सँगै हामी दौडियौँ
वाल्यकाल दौडिएर जवान भयो,
सिमलको ठूलो रूख ढल्यो,
माटाका घर भत्किए,
छाती चौडा भए तर स्वतन्त्रता खुम्चियो,
कर्तव्य र जिम्मेवारीको गाँठोले
जीवन बेस्सरी जकडिदियो ।
त्यही बन्धन फुकाउन
हामी त बिपरीत उडेछौँ
तिमी खै कहाँ बिलायौ,
म यहाँ कालो बादलभित्र हराएको छु ।
ओ मेरो प्रिय सखा,
मेरो जीवन औंशी भएरै बिलाउला जस्तो भो- मलाई लिन आऊ ,
आउँदा-
शीतल र उज्यालो पूर्णिमाको, जून लिएर आउँनु ।

अचेल,
मनको मुग्ध मायालु आकांक्षाहरु तिमीलाई कल्पिन्छन्
अंगालोको एउटा अतृप्त नदी तिमी भएतिरै बहन्छ-
तिमी नजिक छैनौ,
र पनि छौ झैँ लाग्छ-
म त सपनामा सुम्निमा बन्दो रहेछु ।
लाग्छ,
तिमी अरूणको गढ तिरै-तिर हिँडेर,
म भएतर्फ आउँदैछौ-
तिमीले जोड-जोडले मलाई पुकारे झैँ लाग्छ,
म झस्केर उठ्छु
अफसोस,
तिमी हुँदैनौ
केवल शुनसान रात हुन्छ,
म हुन्छु र मेरो दुखेको मुटु हुन्छ
ओ मेरो प्रिय पारूहाङ,
म त शून्य र उजाड भएँ
मलाई चम्किलो बनाउ,
म त साह्रै नै छरपष्ट भएँ
मलाई समेट्न आऊ ,
आउँदा…
मेरो खाली सिउँदो सजाउन, तारा लिएर आउँनु ।

Donald Zolan's Oil Paintings of Early Childhood

Donald Zolan’s Oil Paintings of Early Childhood

जूनकिरीको पत्र

प्रिय,
तिम्रो आकाशमा
मेरा मनका झिल्काहरू समेटेर एउटा तारा पठाएकी छु
सम्झ,
ती तारा मेरा आँखा हुन् टिलपिल-टिलपिल
रोईरहेको नठान्नु
त्यो त मेरो खुशीको अंश हो
तिमीले देखेको त्यो बादल मेरा आँखाका गाजल हुन्

मेरो सम्पूर्णता त्यसैमा भरेर पठाएकी छु
तिमीले आफ्नो विशाल छातीमा टाँस्नु।

तिमी जून भएर बाँचेदेखी
रहर जागेको छ तारा बन्ने
रहर लागेको छ छेउमै बस्ने
बादलका बलिष्ठ पाखुराहरू क्षणमै फैलिएर छेकिदिन्छन तिमीलाई
मेरा मनका ज्वारभाटाहरू जूनकिरी झैँ बल्दै निभ्दै गर्छन्
म निरीह बनेर प्रतीक्षा गर्छु एक झोका हावाको
जस्ले बादलका पाखुराहरू लतारेर लैजाओस
अनि म हेरिरहुँ
तिम्रो आकासको अदभूत उज्यालो।

दूरी केवल बाधा हुँदैन थियो भने-
समयको हुरी
डरलाग्दो हुँदैन थियो भने-
म पनि चम्किन्थेँ सायद तिम्रै वरिपरि,
हुन्थेँ होला ‘जूनको छेउ तारा’
सोचे जस्तो नहुँदो रहेछ
ताराहरू पनि खस्दा रहेछन्,
जूनमा पनि ग्रहण लाग्दो रहेछ
यस्तै-यस्तै भोगाईहरू भोग्दै
तिम्रो नजिक बस्न नपाई खसेको तारा भएछु,
म त जूनकिरी भएछु।

प्रिय,
तिम्रो आकासमा
मेरा मनका झिल्काहरू समेटेर एउटा तारा पठाएकी छु
त्यसलाई आफ्नो छेउमा अलिकती ठाउँ दिनु।

Image from WhatShot.in

Image from WhatShot.in

माया

हो,
यो त्यही माया हो
जुन मायामा मैले उसलाई मनैभरी सजाएँ,
अनि उस्ले ?
थाहा छैन उसले खै कहाँ सजायो,
उसको मायाको सुत्र
रातलाई सजाउनु रहेछ,
मैले त आँखामा सपना पो सजाएछु
उसले तनलाई माया गरेको हो रहेछ,
मैले सिउदो रङ्गाउन चाहे
उसले रात रङ्गाउन चाहेको हो रहेछ,
आफ्ना सारा चाहनाले रङ्गिएर सुन्दर रुप,
कालो मनसँग
नजिक हुन सकिनँ
र,
उ गयो, निकै टाढा
कहिल्यै नफर्किने गरी ।

सायद,
शब्दहरुका अस्लिल बाँण मनमा नलागेको भए
यो श्रृङ्खला लम्बिने थियो
बाटोमा हिड्दै गर्दा, “दाईको माल आई”
शब्द नसुनेको भए
सायद अझै पटमुर्ख बनिने थियो
दु:ख छुटिदा खासै लागेको छैन,
दुख त तब लाग्यो,
जब मेरो माया माल भएछ-
जाँदा लगेको माया
सम्झना थाती राखेर
“मा” मा “याँ” हैन “ल” थपेर “माल” शब्द कोसेली पठाएछ।

“ओ मैयाँ, हाम्रो पनि मनै त हो”
यिनै सब्दहरुको उपहार पाउन थालेको छु अचेल ।
शब्द सँगै कतिका हात पनि लम्किन्छन,
म झस्किन्छु,
अनि फेरि सम्झिन्छु,
यो त कलियुग
जहाँ माया, माल बन्छ ।
उसले दिएको उपहार,
झेल्नु त छदैछ ।

चिच्चाउन मन लाग्छ तर चिच्याउदिन,
सिर्फ एक काम गरौँ लाग्छ
“माल”को “मा” हटाउँ

“का” जोडुँ
ती सम्पूर्णको लागि
जो अबलाहरु सँग खेल्न खोज्छन
तिनिहरु सबैको,
“काल” बनुँ ।

Wholly Women - Tumblr

Image Source: Wholly Women – Tumblr

Facebook Comments

You may also like

error: Content is protected !!