जिबा

स्मार्ट फोनमा अन्नपूर्ण पोस्ट खोल्छु। अखबारको बिच भागमा एउटा लामो लेख छापिएको छ जसको शीर्षक छ जिबा। म त्यतै आँखा लम्काउँछु ।

लेखिएको छ — म आज जिबालाई सम्झन्छु। दशकौँ अघि बित्नुभएका जिबा उहाँको आत्माको शान्तिको कामना आज पनि छ र यस्ता प्रिय, ज्ञानको ज्योति छर्ने सम्पूर्ण जिबा सम्झनु पर्छ जस्तो पनि लाग्छ।

ती विगतका जिबा सम्झनुका विशेष कारण छन्। ती समय, परिवेश र स्थान अनुरूप आई-जाई गरिरहन्छन्। तिनै आउनु र जानु भित्रै अट्दछन् प्राय जिबाका सम्झनाहरू। उहाँसँगको भावनात्मक नाता र आदर्शका विचारहरू। परिभाषा भित्र बाँध्दा, जिबा- हजुर बा। अर्थात् उहाँको अघि सम्मान स्वरूप ‘हजुर’ भनेर ढोग गरिने बा। म नाति पुस्ताको आँखाबाट उहाँलाई तिन पिँढी अघिको एउटा घरको मूल खम्बा या घरको मुली भन्छु।

तर यी ‘जिबा’ मेरा घर भित्रका सदस्य हुनुहुन्न। म नजन्मँदै मेरा जिबा बितिसेको कुरा हजुरआमाबाट सुनिसकेको छु। यहाँ प्रस्तुत जिबा मेरा छिमेकी जिबा हुनुहुन्छ। तर भावनामा उहाँ मेरा पनि जिबा हुन्। पाँच फुट सात इन्च जति अग्ला, मोटो ज्यान भएका जिबा कसैले कहिल्यै नामले बोलाएको सुनिएन त्यसैले उहाँ तेस्रो पुस्ता सबैका जिबा। सधैँका जिबा।

सम्भवतः जिबा आजपनि कतिको मनमा हुनुहुन्छ।

विस्तार:

ती जिबा— उहाँको सम्बन्ध र आदर्शको स्थान आजपनि गोल्धाप शिविरमा बस्ने र मेरा छरछिमेकलाई कत्तिको छ त्यो भन्न सक्दिनँ तर मलाई भने विभिन्न परिवेशले उहाँको वाणीलाई झल्झल्ती वर्तमानमा डोहोर्‍याउँछ। यसो भनौँ, उहाँ बित्नु भएको दशकौँ पछि पनि मेरो मनमा हुनुहुन्छ। जिबा सम्झँदा उहाँको हातको हातमै झुन्डिने पुरानो ब्याट्रीवाला फिलीप्स रेडियोको दृश्य आउँछ। त्यो रेडियो भूटानबाटै ल्याइएको थियो। उहाँ बिहान खबर सुन्नु हुन्थ्यो । हाँस्दै दिउँसो रेडियोबाट बज्ने गीतको मनोरञ्जन लिनुहुन्थ्यो। साँझ, त्यही रेडियोको स्टेसन- रेडियो नेपालबाट प्रसारण ‘घटना र विचार’ कार्यक्रम सुन्नुहुन्थ्यो। उक्त कार्यक्रम सुन्न रेडियोको भोल्यम उच्च बनाउँदै शिविर वरपरका छिमेकी अरू मान्छेहरू पनि झुम्मिन्थे।

उहाँको फिलिप्स रेडियोमा बज्थ्यो, “भूटान नेपालको १५औं चरणको वार्ता हुँदै” त्यस बेलासम्म सम्पूर्ण शरणार्थी देश फिर्ने आशा पालिरहेका थिए। वल्लो पल्लो लाइनको बाक्लो बसाइँ, जिबा मेरो घरतिर निस्कनु हुन्थ्यो। कहिले कता गएर गफ गरी समय काट्नु हुन्थ्यो। कुनै दिनमा समय काट्न तास खेल्नु हुन्थ्यो। तर रेडियो आफ्नो साथै हुन्थ्यो। जता गए पनि ! एक दिन उहाँले अर्ती दिँदै मलाई भन्नुभयो, ‘हेर कान्छा’ म घरको छोरो कान्छो। उहाँको नजरमा त नाति कान्छो।
जिबाका विशेष वचन:
१. “रेडियोबाट मनोरञ्जन लिनुपर्छ तर खबर सुन्न बिर्सनु हुँदैन। खबरले संसारमा के-के हुँदैछ त्यो कुरा घरमै बसी बसी पत्तो लाग्छ।”
(उहाँको कुरा आज पनि मलाई सटिक लाग्छन्, त्यसैले म जिबालाई प्रस्तुत लाइनबाट सम्झन्छु।)

२. “जिन्दगीमा सप्पै कुरा किन्न मिल्छ। तर तक्मा मिल्दैन!”
(जिबाको यो वाक्य मैले त्यति बेला बुझेको थिइनँ । अझ यसो भनौँ त्यो समय मैले ध्यान दिइनँ ।)

३. मृत्युसँग डराउनु हुँदैन। मर्नु त निश्चित छ फेरि किन डराउनु !
(उहाँको भनाई यसरी बोल्थ्यो कि मर्नु नासिनु हैन। पुस्ता हस्तान्तरण मात्र हो। आउँदो पिँडीलाई संसार हेर्ने पालो दिनु पर्छ नि!)

जिबाले यस्तै अरू पनि के-के कुरा भन्नु भयो त्यस दिन। एउटा संवादमा के-के कुरा हुन्छन्। कति घटना र प्रसङ्ग आउँछन् ती सबै सम्झने कुरा पनि भएन। मुख्य कुरा यिनै हुन्। जिबाको दोस्रो बुँदा र त्यसको आदर्श जुन दिन बुझेँ त्यसै दिनदेखि अंगालेर म हिँडिरहेको छु। जुन कुरा विशेष गरी आज सम्झँदैछु। त्यसैले कलम उठाएर स्वर्गीय जिबालाई सम्बोधन गर्दै छु।

जिबा,
यहाँको कुरा झुट जस्तै हुन लाग्दैछ। यहाँको वचन र आदर्शले देखाएको बाटोलाई मेट्न यहाँ ठिक विपरीत हुँदै छ। त्यसैले मलाई भन्न मन लाग्छ जिबा, तक्मा पनि किन्न पाइन्छ आज। जत्ति पाइन्छ बजारमा, सङ्घसंस्थामा, सामाजिक स्थलमा, व्यक्तिगत रूपमा आदी। हजुरले भनेजस्तो नै आज कहाँ रह्यो र यी कति तक्मा रुपैयाँ दिएर, डलर या पाउन्ड दिएर किन्न मिल्छ। कति त सट्टापट्टामा पनि लिन मिल्छ। पहिलो; दिनेले प्रलोभनको हात फिजाउँछ। जब हात भरियो तब दोस्रोले सहजै तक्मा पाउँछ। यहाँले बुझिहाल्नु भयो बजारमा बेच्न राखेको सौदा जहाँ ग्राहकले पैसा दिन्छ र ल्याउँछ पसलेबाट सामान। ती तक्मा कति नगदमा छ कति उधारो। र पछि आफूपनि फर्काउने शर्तमा हुन्छ आजभोलि त।

जिबा, यहाँ त नेपालमै बित्नु भयो। त्यसको एक सालपछि रेडियोले भनेको थियो- १६औं चरणको वार्तापछि तेस्रो देश पुनर्स्थापना । चाहेर पनि भूटान देश फर्कन पाइएन। तपाईंको अस्तु देउनियाँ खोलामा बगेर गयो तर सम्झना बगेन।

प्रस्तुत मेरा जिबामा देश नहुनुको पिडा थियो नै तर आफू सँगैका साथीहरु बितेर धमाधम छुट्टै गएको पिडा थिएन।

जिबा,
म आज पनि रेडियो सुन्छु। रेडियोले कहिलेकाहीँ आत्महत्या गरेको कुरा गर्छ। म जीवनसँग काँतर छैन। त्यसैले उहाँका वचन सम्झन्छु। हाल पनि यहाँका ८०औं वर्षको अनुभूति प्रिय भएर कोट्याउँदै छु। यहाँको निधनपछि तेश्रो देशको विकल्प आयो; म अमेरिकातिर हिँडें। जिबा, हजुर त यहाँ हुनुहुन्न, तर यहाँको अर्ती मेरो स्मरणमा छ। जस अर्तीको प्रेरणाले म एउटा जीवन गुजारिरहेको छु। मलाई त भन्न मन लाग्छ-के आज तक्मा अर्थात् मान-सम्मान किन्नेहरूले कहिले सोचेका होलान्, कि आफू जिबा हुँदा आउँदो पिँडीलाई कस्तो शिक्षा दिनेछन्? पहिला गर्व थियो। हाल हीनताबोधका साथ भन्छु ‘सुन नाति-नातीना मैले पैसामा तक्मा किनेथेँ कुनै दिन। तर आज पश्चात्ताप छ।’ अहो कस्तो, लज्जाबोध हुने वाक्य। अहँ, मचाहिँ कल्पना पनि गर्न सक्दिनँ, कि कुनै दिन यस्तै वाक्य मेरो मुखबाट मेरा नातिनातिनाको कानमा परोस् ।

अहिलेको युग आधुनिक भनिन्छ तर म आज पनि रेडियो खोल्छु। गीत सुन्छु र समाचारका कुरामा पनि ध्यान लगाउँछु। गीत बज्दा यहाँले भने जसरी नै मनोरञ्जन मिल्छ। शरीरमा थप ऊर्जा पस्छ। समाचारले संसारका गतिविधि बुझ्न सहज हुन्छ। दुःखका साथ भन्नु पर्छ जिबा, रेडियोले यस्तो समाचार वाचन गर्न थालेको छ-“पैसामा तक्मा पनि किन्न पाइन्छ भन्छन् केही लेखकहरू” । मलाई याद छ जिबा, यहाँ ‘घटना र विचार’ कार्यक्रममा वाचन हुने सूचना, ठूलो भोल्यममा सुन्नु हुन्थ्यो। म आज अन्य सूचनाका कार्यक्रम सुन्न त्यसै गर्छु।

जिबा यहाँ हुनुहुन्न, म कसलाई भनौँ, जिबाले भन्नुहुन्नथ्यो, “तक्मा चाहिँ किनेर पाइने कुरा हैन। अहँ हैन! बन्दै हैन। मान सम्मान पनि कहीँ किनेर पाइन्छ? कहीँ सट्टा पट्टा गरी लिने कुरा हो?” यहाँको वचन नै सही जिबा, तक्मा किन्ने काम ! यो ठीक भइरहेको छैन। म बुझ्छु, पक्कै ठीक भएको छैन।

म मोबाइलको ब्राउजर बन्द गर्दै सोच्न लाग्छु ,
यस्तै छ, आजको ‘सभ्य कहलिएको आँखा अघि टल्किरहेको कुनै समाज’ । केही त अवश्य भएको हो । नभए, लेखकले विचित्रको एउटा शृङ्खला यसरी उतार्नु पर्ने पक्कै थिएन।

Facebook Comments

You may also like

error: Content is protected !!