जेफाले, राजारानी र बुद्ध

अहिले हामी पूर्वको धरानमा छौँ । हामी ७०–८० जनाको टोली जेफाले यात्राको निम्ति तम्तयार छौँ । घडीले बिहानको १०ः०० बज्यो भनेर हामीलाई मुस्कुराएर बताइरहेको छ । हामी पनि यात्रा श्रीगणेश गर्न बहुत हतारमा छौँ । हाम्रो निम्ति दुईवटा ठूलठूला बस सिँगारिएर तयार भइसकेका छन् । हामीमध्ये आधा एउटा बसको काखमा बसेका छौँ भने बाँकी आधाचाहिँ अर्को बसको काखमा बसेका छन् ।

हामीलाई आफ्नो काखमा बोकेका बसहरूलाई अवगत छ कि हाम्रो गन्तव्य जेफाले हो । यसर्थ, दुवै बसहरू हामीलाई बोकेरै कुद्न थाल्छन् । हामी धरानबाट अझ उत्तरतर्फ उकालो लाग्छौँ । गाडीले सुमधुर गीत गाइरहेको छ । हाम्रो मन पनि औधी रमाइरहेको छ । मनमनै हामी जेफाले पुगेर त्यहाँको हावेचौरमा रमाइरहेको अनि एकटकले जेफाले डाँडा, जेफाले भ्यूटावर हेरिरहेको र त्यहाँ बसेर जेफालेको कथा लेखिरहेको मीठो कल्पना गर्छु म ।

वास्तवमा, कल्पना गरिनुपर्छ । अर्थात् हामीले सपनीलोकको विचरण गरिरहनुपर्छ । हामी नपुगेका, नदेखेका, नसुनेका सबैसबै ठाउँहरूमा र सबैसबै कुराहरूलाई कल्पनालोक र सपनीलोकमा अप्रत्यक्षरूपमा अवलोकान गर्नसक्छौँ । रमाउनसक्छौँ ।

हामी भेडेटार पुग्छौँ । त्यहाँको सुन्दर दृश्यलाई अर्थात् भेडेटारको अनुपम सौन्दर्ययुक्त मुहारलाई खिचिक्क पारेर आफ्नो मोबाइलको मस्तिष्कमा कैद गरिदिन्छु म । अर्थात् अब मसँगै मेरो गोजीको मोबाइलमा रहेको र मेरो मनमा रहेको भेडेटार पनि यात्रारत हुन्छ । म बहुत खुसी भइजान्छु । खुसी हुनलाई, मुस्कुराउन र हाँस्नलाई अर्थात, रमाउन, मनोरञ्जन गर्नलाई धेरै ठूलो कुरो नचाहिने रहेछ । बस् हामीले निजको मनको समुद्रलाई शान्त र खुसी राख्न सक्नुपर्छ, हामी पूर्णतः आनन्दमय हुन्छौँ ।

हामी ‘राजारानी’ भन्ने ठाउँमा पुग्छौँ जहाँका राजारानी हामी स्वयम् नै हुन्छौँ । तर, मेरी मनकी रानीचाहिँ मनबाट निस्किएर राजारानीमा मसँगै आउँदिन । उसलाई बाहिरी लोकमा आउन लाज लाग्छ रे । म उसलाई सबैको अगाडि अँगालिदिन्छु र प्रेमको म्वाइँ खाइदिन्छु भनेर (हाहा………) ऊ सबैको अगाडि यो (अ)प्रेम अर्थात् प्रेमविहीन भूगोलमा कसैगरी पनि आउन चाहदिन । म मेरी मनकी रानीको परम चाहनालाई सम्मान गर्छु र उसलाई मेरो मनको चारकोठे विशाल राजमहलको सिंहासनमा बसेर विश्राम गर्न र मलाई सदैव अपार प्रेम गरिरहन सप्रेम अनुरोध गर्छु ।

मेरी रानी मेरो मनको कानमा खुसुक्क भनिदिन्छे, ‘मेरो राजा हजुर । हाम्रो अलौकिक संसारमा, प्रेम र मायामा कहिल्यै पनि कुनै किसिमको पर्खाल लगाइदैन । म हजुरलाई मेरो जन्म हुनुभन्दा कयौँ युगदेखि अनन्त प्रेम गरिरहेकी छु जुन प्रेमको जीवन अनन्त युगसम्म छ । जुन दिन यो ब्रम्हाण्ड र अनिश्चितताबाट प्रेम भन्ने कुरा सदाको निम्ति अलप हुनेछ, त्यसको कयौँ युगसम्म पनि म हजुरलाई प्रेम गरिरहने छु ।’ म मेरी मनकी रानीलाई असीम प्रेमसहित धन्यवाद दिन्छु । कसरी उसले यस्तो गहन कुरा गर्न सिकी होली ? कुन गुरुले उसलाई प्रेमको गहनता सिकाए होलान् ? कसरी उसको मनको फूलबारीभरि प्रेम र विश्वासका फूलहरू मात्र फुले होलान् ? कति बाठी मेरी रानी ! कति निश्लछ मेरी प्यारी !

हामी राजारानीको अनन्त सौन्दर्य नियाल्छौँ । त्यहाँ एउटा मृगलाई निरङ्कुश मानिसले बाँधेर राखेको हुन्छ जुन मृग, मृगजस्तो नदेखिएर बाख्राजस्तो देखिन्छ । त्यो मृगको दुवै सिङ् भने हुँदैन जुन सिङ् पनि निरङ्कुश मानिसले सायद लुट्यो होला । चुपचाप ऊ बिचरो मृग हामीलाई हेरिरहन्छ । हामी पनि उसलाई हेरिरहन्छौँ । म उसलाई भन्छु, ‘यस्तै छ मृग साथी । हामी मानव निकै क्रूर र निरङ्कुश छौँ । हामी आफ्नै प्रकृति र प्रकृतिका तमाम सन्तानहरूलाई मार्छौँ । मारिरहन्छौँ । प्रिय मृग, हामी दरिद्र मानवहरूको विश्वास कदापी नगर्नु तिमीहरू । तिमीहरूले मानिसहरूको विश्वास गर्नु भनेको तिमीहरू बलात्कृत हुनु हो । मारिनुु हो । हामी पिशाच मानिसहरूलाई तिमीहरू कदापी माफ नगर्नू !’ मेरो कुरा सुनेर मृग बेस्सरी रुन थाल्छ । म पनि मनको आँखाबाट धुरुधुर रुन थाल्छु ।

हजार सपनाहरूको माया लागेर आउँछ ।

मलाई त्यो मृगको माया लागेर आउँछ ।
केही साथीहरू राजारानीको सुन्दर तालतिर लाग्छन् । केही साथीहरू त्यहीँको एउटा सुन्दर पार्कतर्फ लाग्छन् । मेरा पैतालाहरू पनि सर्वप्रथमतः पार्कतिर नै लाग्छन् । हामी त्यो भव्य पार्कभित्र छिर्छौँ ।

त्यहाँ पस्नेबित्तिकै हामीलाई ध्यानस्थ बुद्धले परम स्वागत गर्छन् र हामीलाई हेर्दै सोध्छन्-
‘शान्ति लुकाऊँ कहाँ ?’
हामी बुद्धलाई प्रणाम गर्छौँ र उनीसँगै फोटो खिच्छौँ । बुद्धको पालामा मोबाइल र क्यामेरा नभएको हेतु उनी हाम्रो शस्त्रलाई हेर्दै बहुत खुसी हुन्छन् । तर, यही ग्याजेटहरूले हामी प्राकृतिक मानवलाई डिजिटल मानव बनाइदिइसकेको कुरा सायद बुद्धलाई पनि थाहा छैन (हाहाहा………) ।

बुद्ध खुसी भएका कारणले हामी पनि बहुत खुसी हुन्छौँ । हाम्रो र बुद्धको संयुक्त खुसी मिलेर आकाशमा खुसीको इन्द्रेणी देखापर्छ । हामी सबै सबैजना त्यो इन्द्रेणी हेछौँ र बुद्धको समक्ष हामीले बारम्बार गरिरहने अठोट पुनः एकपटक गर्छौँ, ‘हामी हिंसा गर्ने छैनौँ । हामी मानव भएर, मानव बनेर, मानवलाई बुझेर मानवसँगै रमाउनेछौँ । सम्पूर्ण ‘म’ हरूले विश्व शान्तिको निम्ति पहल गर्नेछौँ ।’

बुद्ध खुसी हुन्छन् र हामीलाई परम आशीर्वाद दिन्छन् । त्यसपश्चात, पूरा पार्क घुमेर हामी त्यहाँबाट बुद्धसँग बिदा मागेर निस्कन्छौँ । बुद्धले भनेका हुन्छन्- ‘मलाई फेरिफेरि भेट्न आउनु । मलाई कदापी नबिर्सनु । हामी सबैजना प्रेमको महासागरमा डुब्नेछौँ । अनन्त गहिराइसम्म पुगेर प्रेमलोकमा अवतरण गर्नेछौँ र त्यहीँ सदा-सर्वदाको निम्ति अलप हुनेछौँ ।’
पार्क घुमिसकेपश्चात् हामी त्यहाँको विशाल ‘राजारानी ताल’ निर पुग्यौँ जुन तालमा कोही राजारानी पनि बस्दैन थिए । तर, केही राजारानीहरू डुङ्गामा बसेर त्यो तालको छातीमा मस्तसँग सयर भने गर्थे । 

राजारानी ताल

राजारानी ताल

राजारानी तालका केही डुङ्गाहरूले हामीलाई बोलाइरहेका हुन्छन् । तर, त्यो बेला भने हामी अलि स्वार्थी हुन्छौँ र डुङ्गातर्फ नगएर बस् त्यो रमणीय तालको दृश्यावलोकन गर्छौँ र अर्कोपल्ट डुङ्गासँग पनि रमाउने वाचा गर्दै हामी त्यहाँबाट हामी बाहिरन्छौँ । बाहिर, बिहान चढेकै गाडी हामीलाई पर्खिरहेको हुन्छ ।

हामी सबैलाई भोक लागेर पेटमा ‘टम एण्ड जेरी’ कुदिरहेका हुन्छन् । यसर्थ, त्यहाँको एउटा होटेलमा हामी सबैजना नास्ता खान्छौँ । पेटमा कुदिरहेका टम एण्ड जेरी पनि नास्ता खाएर अघाउँछन् र कुद्न छाँड्छन् । खानपानको समापन पश्चात हामी सबैजनाका पाइलाहरू पुनः गाडीतर्फ लम्कन्छन् । सबैजना गाडीको काखमा आरामसाथ बसिसकेपश्चात् गाडी पुनः गतिशील भई कुद्न थाल्छ ।

एकदमै डरलाग्दो बाटोमा हामीलाई काखमा बोकेरै हाम्रो गाडी कुदिरहेको हुन्छ । गाडीको झ्यालबाट बाहिर हेर्दा फगत अनन्तता देखिन्छ । त्यो अनन्तता ‘ब्ल्याक होल’ सरह लाग्छ मलाई जहाँ पसेपश्चात् हामी सदैवको निम्ति विलीन हुनेछौँ ।

करिब साँझको ५ः०० बजेतिर हामी हाम्रो गन्तव्यमा पुग्छौँ । अर्थात, हामी जेफाले पुग्छौँ । त्यहाँको जाडोले हाम्रो शरीर थरथर काम्न थाल्छ । हामी ७०–८० जनाको जम्बो टोली जेफाले सामुदायिक भवनतिर लाग्छौँ जहाँ हामीलाई रातो टीका र मुस्कुराइरहेका गुराँसले स्वागत-सत्कार गरिन्छ । साथसाथै, चिसो मौसममा तातो ग्रिन टीको स्पर्शले हामी बहुत प्रफुल्ल हुन्छौँ ।
मैले जुन जेफालेको सुन्दर कल्पना गरेको थिएँ, त्योभन्दा हजारौँ गुणा सुन्दर रहेछ यथार्थको जेफाले त । जेफाले डाँडा र डाँडामाथि अवस्थित जेफाले भ्यूटावरको सुन्दरताको जति प्रशंसा गरे पनि कम नै हुन्छ । हावेचौरमा चलिरहने कलात्मक हावाको प्रशंसामा जति शब्द खर्च गरे पनि हामी हुबहु बयान गर्न सक्दैनौँ । अर्थात, जेफालेको सुन्दरता शब्दभन्दा पनि बहुत माथि छ । शब्दमा लेखिने कविता र गीतभन्दा पनि बहुत माथि छ ।

जेफाले भ्यूटावरको काखमा चढ्दा, उसले गालामा म्वाइँ खाइदिनु, मैले ममत्व प्राप्त गरेझैँ लाग्नु अनि मैले ईश्वर सम्झिनु फगत संयोग नहोला, फगत भ्रम नहोला ।

Facebook Comments

You may also like

error: Content is protected !!