जेफाले, भ्यूटावर र हावे बाजे

“हावे बाजे”

तिम्रै हावेचौरमा बसेर
मीठो हावा खाँदै
आफ्नो मनको पानामा लेखिरहेको छु–
हावेचौरको इतिहास
बिहिबारे बजारको अद्भूत आत्मीयता
पाथीभरा देवी मन्दिरको कथा
गुराँस र सुनाखरीको प्रेम
ग्रिन टीको स्वाद
हजार पचास सिँढीका पाइलाहरू
जेफाले डाँडाको अलौकिकता
जेफाले भ्यूटावरको चपलता
उन्नाइस सय असी मिटरमाथिको स्याहा–स्याहा
हावेचौरमा बसेर
कोरिरहेको छु
तिम्रो सुन्दर मुहारको चित्र
हावे बाजे,
तिम्रो चरणकमल ढोगेर
कृतकृत्य भएको छु
धन्य धन्य भएको छु ।

जेफालेमा पुगेर हावेचौरमा बसेर हावे बाजेसँग अन्तरङ्ग कुरा गर्नुअघि नै मेरो मनले हावे बाजेको चरणकमलमा प्रणाम गरेर उनीप्रति समर्पित भएर एउटा कविता लेखिसकेको थियो जुन कविता पछि मात्र मेरो हातले मेरो प्यारो डायरीमा कोर्यो । मानिसको भौतिक शरीर मात्र कुनै दिन हराउने हो । विलीन हुने हो अनिश्चिततामा । उसले गरेका महत्वपूर्ण कर्महरू, उसले मधेस, पहाड र हिमालको शरीरभरि लेखिदिएका कविता, कथा आदि इत्यादि कदापि मर्दैनन् । किमार्थ मेटिँदैनन् । ती कविता, कथाहरू कालान्तरसम्म हिमाल, पहाड र मधेसका मनमनमा सदा सर्वदाको निम्ति आकाशको निधारमा इन्द्रेणी सजिएर रङगिएसरि रङ्गिरहन्छन् । ती हिमाल, पहाड र मधेसका मनमनमा लेखिएका महाकाव्यबाट नै अन्य लालाबाला काव्यहरू रुख, चरा, खोला, नदी आदि इत्यादिले लेख्ने हुन् । पछि मानवले ती लेखिसकेका र कोरिसकेका साहित्य, काव्य, चित्र आदि इत्यादि नै नक्कल गर्ने हुन् र पछि साहित्यतर्फका नोबल पुरस्कार, पद्मश्री पुरस्कार, मदन पुरस्कार आदि आदि इत्यादि पाएर हर्षविभोर हुँदै गर्वान्वित हुने न हुन् ।

मनिसहरूलाई मनोबल चाहिन्छ । उसलाई धैर्यता चाहिन्छ । उसलाई लोभ र पुरस्कार चाहिन्छ । तर प्रकृतिलाई केही चाहिँदैन । प्रकृति आफैँमा दुर्लभ पुरस्कार हो जसको मूल्य तोक्नसक्ने हिम्मत न आजसम्म कसैको भयो न त भविष्यमा कसैको हुनेछ । हामी सत्तरी–असी जनाका जम्बो टोली जेफाले पुग्यौँ । अर्थात् म आफ्नो कल्पनापुरको जेफाले र हावेचौर, यथार्थपुरमा नै पुगेँ । कल्पनामा मैले देखेका जेफाले, जेफाले डाँडा, जेफाले भ्यूटावर, हावेचौर आदि आदि इत्यादि सुन्दर थिए । यथार्थमा मैले देखेका ती सम्पूर्ण डाँडा र चौर, भ्यूटावर र गाउँ सबैसबै अति सुन्दर थिए । कहिलेकाहीँ वास्तविकताभन्दा सुन्दर कल्पना भइदिन्छ । कहिलेकाहीँ कल्पनाभन्दा सुन्दर वास्तविकता भइदिन्छ जसरी मेरो लागि कल्पनाको जेफालेभन्दा यथार्थको जेफाले बहुत बहुत आकर्षक र सुन्दर भइदियो । हुन त सुन्दरता भन्ने कुरो हाम्रो दृष्टिमा नै छ । सुन्दरता भन्ने कुरा हाम्रो मनको गुह्य ब्रम्हाण्डमा नै छ । स्वामी विवेकानन्दले भनेका छन्, ‘दोष सृष्टिमा होइन, मानवको दृष्टिमा छ ।’ हामी भने सदैव सृष्टिलाई दोष दिइरह्यौँ र आफ्नो नकारात्मक दृष्टिलाई भने सदैव प्रशंसा गरिरह्यौँ । सायद हामी दिन प्रतिदिन डिप्रेस्ड हुनु, सिजोफ्रेनियाग्रस्त हुनु र निजलाई नै मन नपराएर आत्महत्या गरेर निजको विसर्जन गर्न खोज्नुको मूल कारण यो नै हो ।

Jefale Viewtower

Jefale Viewtower Image from FaceBook

निजको दृष्टि सकारात्मक र अनुकूल भए हाम्रो मनमस्तिष्क पनि सकारात्मक, अनुकूल र रिफ्रेस हुन्छ । जब हामी शारीरिक, मानिसिक, सामाजिक आदि कोणबाट स्वस्थ हुन्छौँ तब हाम्रो लागि हाम्रो प्रकृति र प्रकृतिका सबैसबै कुरा राम्रा लाग्न थाल्छन् । अर्थात् हामीमा बाँच्ने असीमित मनोकाङ्क्षा उत्पन्न हुन्छ । फलतः दृष्टि र जीवनलाई सकारात्मक र प्रकृतिकेन्द्रीत बनाउँनु भनेको सयौँ जीवन एकैपटकमा हाँसीहाँसी बाँच्नु हो । अर्थात् रमाइलो जीवन बाच्नु हो । अर्थात् ईश्वरीय जीवन बाँच्नु हो जुन जीवनको कल्पना ईश्वर स्वयम्ले गरेका छन् । ईश्वरले हामीप्रति विश्वास राखेर हामीलाई जीवन दिए । हामीले भने ईश्वरप्रति नै सन्देह र प्रपञ्च गरेर फगत निजको जीवनलाई होइन, ईश्वरलाई समेत लात हान्ने क्षुद्र दुस्प्रयत्न गर्यौँ । र, हान्यौँ पनि । अझै हानिरहेका छौँ निःसङ्कोच भएर । कठै मानव हामी ! (जो सदैव अतृप्त रह्यौँ)

जेफाले पूर्वको मोरङ जिल्लाको सबैभन्दा उत्तरी पहाडी भेग हो । मोरङ भन्नेबित्तिकै समथर भूमिको चित्र हाम्रो मानसपटलमा कोरिनेगर्छ तर जेफाले मोरङको दुर्गम पहाडी क्षेत्र हो । जेफाले मोरङको केराबारी–२ सिंहदेवीमा अवस्थित एक पर्यटकीय स्थल हो जसको विकासमा यहाँका मनिसहरू अहोरात्र लागिरहेका छन् । जेफाले पुग्न दुईवटा मार्गको प्रयोग गर्न सकिन्छ । एउटा धनकुटाको भेडेटार, राजारानीहुँदै जुन मार्गहुँदै हामी जम्बो टोली पनि धरानबाट यहाँ आयौँ । अर्कोचाहिँ मोरङको केराबारीहुँदै । यो रमणीय पर्यटकीय स्थल जेफाले समुद्र सतहदेखि १८०० मिटरको उचाइमा अवस्थित छ ।

जेफालेमा सायङ्कालले हामीलाई पूर्णहर्षले स्वगत गर्यो । हामी त्यहाँका स्थानीयवासीहरूसँग अन्तरङ्ग कुरा गर्न थाल्यौँ जसरी मैले हावे चौर र जेफोलेको मुटुमा बास गर्ने हावे बाजेसँग अन्तरङ्ग कुरा गरेको थिएँ । उनीहरूको कुरा सुनेर हामी सबैसबै रमाउन थाल्यौँ । यस्तो लाग्यो कि उनीहरूले कसैले पनि नलेखेको अद्भूत कविता हामीलाई प्रेम र आत्मीयतासाथ सुनाइरहेका छन् । यस्तो प्रतीत भयो, उनीहरू जेफालेले जन्माएका देवकोटाहरू हुन्, रिमालहरू हुन्, भूपीहरू हुन्, पारिजातहरू हुन्…………।

जब मानव प्रकृतिसँग घुलमिल हुँदै जान्छ, तब उसले बोलेका हरेक शब्द र वाक्यहरू कविता बन्दै जान्छन् । अर्थात् मानव कवि बन्दै जान्छ । अर्थात् मानव स्वतः कविता बन्दै जान्छ । अनि उसैबाट घर, समाज, राष्ट्र र संसारमा नै कविताको वर्षा हुन्छ । जुन कवित्व वर्षाको स्पर्श मात्रले पनि मानवमा विवेक, चेतना, सकारात्मता, प्रेम, आदर, मृदुपन, निश्चलता, निश्छलता, निर्मलपन आदि आदि इत्यादि कुशल र अनुकूल भावनाहरूको सुनिमार्ण गरिदिन्छ । व्यवस्थापन गरिदिन्छ । मानवभित्रको मानव सुनिर्माण गर्नु निश्चय पनि कठिन कार्य हो तर असम्भवप्रायः निश्चय पनि होइन । हामीले शनैः शनैः निजको अन्तरनिर्माण गर्नसक्छौँ । हामीमा संयमता हुन भने बहुत बहुत जरुरी छ । हाम्रो सोचको गहिराइ कछुवाको चालको गहिराइसरि अनि हाम्रो कर्मको गति खरायोकोे कुदाइसरि हुन जरुरी छ । कछुवाले हामीमा गम्भीरता र गहनता ल्याउँछ भने खरायोले हामीमा द्रूत गति र निरन्तरता ल्याउँछ । जीवनमा सबै कुराको काम लाग्छ, बस् कुन कुरा कुन बखतमा प्रयोग गर्नुपर्नै हो भन्ने कुराचाहिँ हामीलाई अवगत हुनैपर्छ

जेफाले भ्यूटावर र जेफाले डाँडाको कारणले पहिलेको बिहिबारे बजारलाई अहिले भने जेफाले बजार भनिन्छ । जेफालेको पैतालामा अवस्थित हावेचौरको काखमा बसेर सारा जेफाले बजार, जेफाले डाँडा, जेफाले भ्यूटावर, पाथीभरा मन्दिर (ताप्लेजुङको पाथिभरा मन्दिरबाट माटो र अन्य कुराहरू ल्याएर यहाँ समाधिस्थ गरिएको छ) आदि इत्यादिको सदृश्यावलोकन गर्न सकिन्छ ।

Jefale Bazar, Jefale view tower at the top of Jefale danda

Image by Raj Manglak of Jefale Bazar, Jefale view tower at the top of Jefale danda)

‘जेफाले’ लिम्बु भाषाको ‘जेफालो’को रूपान्तरित शब्द हो जसको अर्थ ‘जाल थाप्ने ठाउँ’ भन्ने हुन्छ । अहिले भने ‘जेफाले’ शब्द नै प्रख्यात बनिसकेको छ । सिंहदेवी (जहाँ जेफाले बजार पर्दछ) मोरङको पहिलो होमस्टे गाउँ पनि रहेको छ ।
जेफालेमा रातले आफ्नो शासन गर्न थाल्यो जुन शासनमा अतिकति पनि कठोरपन र क्रूरता थिएन । जसरी रातमा आकाशको सिंहासनमा बसेर शशीले राज गर्छ । ताराहरूले राज गर्छन् । जसरी दिनमा दिवाकरले राज गर्छ । तर जेफालेमा जतिजति रातले अन्धकार बढाउँदै गयो, हामीलाई भने त्यति नै उज्यालो लाग्दै गयो । अर्थात् हाम्रो मन उति नै उज्यालो हुँदै गयो, रोमाञ्चक हुँदै गयो जुन उज्यालो र रोमाञ्चमा हामीहरु हाम्रो जीवनका केही गुह्य पाटाहरूसँग साक्षात्कार हुन पायौँ । जुन अन्तरपाटाहरूले हामीमा अन्तरज्ञानको प्रकाश छरिदियो र जीवन वास्तवमा के रहेछ भन्ने कुराको अलिकति भए पनि आभास गराइदियो । हामी वास्तवमा जेफाले र जेफालेको जीवनवादी रातको कारणले धन्य धन्य भयौँ । जीवन भुलभलैया हो । जब जीवनको भुलभुलैयामा हामी व्यवस्थित र स्थिरतासाथ बाँच्नसक्छौँ, त्यो वास्तविक जीवन हो जुन जीवन मोक्षप्राप्तिको महामार्ग हो ।

Facebook Comments

You may also like

error: Content is protected !!