जेफाले, कविता र जीवन

हामीलाई किताबले ज्ञान दिन्छ । अथाह ज्ञान दिन्छ । तर सम्पूर्ण ज्ञान दिँदैन । जुन ज्ञान किताबले पनि दिन सक्दैन, त्यो यात्रा अथवा भ्रमणले दिन्छ । अन्तर्मनको यात्राले हामी को हौँ ? किन यस संसारमा बाँचिरहेका छौँ ? आदि आदि इत्यादि प्रश्नका गहन उत्तरहरू दिन्छन् । बाह्य यात्राले हामीले हाम्रो समाज, समुदाय आदि इत्यादिमा नपाएका कयौँ प्रश्नहरूका सहज उत्तर दिन्छन् ।

जब हाम्रो जीवन, अन्तर्जीवन सहज हुँदै जान्छ, तब जीवनका प्रश्नहरू पनि सहज हुँदै जाँदारहेछन् । तर ती प्रश्नहरूका उत्तर भने झन् झन् कठिन बन्दै जाँदारहेछन् । त्यसबखत उत्तरले प्रश्न बुझ्छ तर प्रश्नले जीवनको जीवनवादी गहन उत्तर बुझ्दैन । वास्तवमा जीवन भन्नु पनि यही कठिनाइ हो जुन कठिनाइलाई बुझ्न सके मोक्ष प्राप्त हुन्छ । बुझ्न सकिएन भने युगौँयुगसम्म एकै ठाउँमा भौतारिरहनुपर्छ । एकै उत्तरमा निस्सास्सिरहनुपर्छ ।

हामी जेफालेमा थियौँ । पर्यटकीय गन्तव्य जेफालेको पैतालामा बसेर जेफाले डाँडा, जेफाले भ्यूटावर, पाथीभरा मन्दिर, जङ्गल, चरा आदि आदि इत्यादिसँग परिचय गर्दै हामी एकआपसमा आत्मीयता र सद्भाव गाँसिरहेका थियौँ । एकआपसलाई प्रेम गरिरहेका थियौँ । अँगालिरहेका थियौँ । कथा र कविता सुनाएर हाँसिरहेका थियौँ । रोइरहेका थियौँ ।

खुसी हुँदै जेफाले भ्यूटावरले हामीलाई इशाराले बोलाउँदै भन्यो, ‘प्रिय साथीहरू, मेरो घरमा पनि आऊ । म तिमीहरूलाई मेरो सुन्दर घर मज्जाले देखाउँने छु । घरको छतमा लानेछु जहाँबाट सदैव मुस्कुराइरहने हिमालहरूसँग बात मार्न सकिन्छ । उदाइरहेको र अस्ताइरहेको अनुपम सूर्यसँग गफ गर्न सकिन्छ । तराई, पहाड र हिमाल तीनजनै अति मिलनसार दाजुभाइहरूसँग हालखबर सोध्न सकिन्छ र ती दाजुभाइहरूका गाउँसहरहरू मज्जाले दृश्यावलोकन गर्न सकिन्छ । पूर्वका सोह्र जिल्लाहरूलाई प्रेमको सन्देश पठाउँन सकिन्छ । प्रिय बन्धुहरू, हाम्रो घर साँघुरो होला तर हाम्रो मन विशाल आकाशभन्दा पनि विशाल छ । त्यसैले त हाम्रा घरमा हिमाल, पहाड, तराई, सूर्योदय, सूर्यास्त आदि आदि इत्यादि सधैँजसो आएर पूर्ण प्रेमसाथ हामीलाई अँगालिरहन्छन् जसमा हामी स्वान्त सुखाय पाउँछौँ जुन खुसी हामी जेफाले र पूरै विश्वभरि छरिरहन्छौँ ।’

जेफाले भ्यूटावरको प्रेमपूर्ण कुराहरू र आतिथ्यताको हर्षपूर्ण बोलावत सुनेर हामी भावुकताको भ्यूटावरमा पुग्छौँ जहाँबाट बस् प्रेम देखिन्छ जताततै । आत्मीयता र भद्रता देखिन्छ जताततै ।

जेफाले बजारको हत्केलामा हावेचौर अवस्थित छ जसको बारेमा अनेकन किंवदन्ती र कथाहरू रहेका छन् । पहिले यहाँ हावे भन्ने एकजना मानिस बस्थे । उनकै नामबाट यो चौरलाई ‘हावेचौर’ भनिएको भन्ने जनविश्वास रहेको छ । यहाँ वर्षभरि नै बेजोड हावा चलिरहने हुनाले पनि यसलाई हावेचौर नामकरण गरिएको हो ।

जेफालेमा झमक्क रात पर्छ । ताराहरू पनि हामीलाई भेट्न जेफालेको आकाशमा आइपुग्छन् । हामी ताराहरूलाई हात हल्लाएर आधुनिक रूपमा ‘हेल्लो’ भन्छौँ । प्रत्युत्तरमा ताराहरूले पनि हामीतिर हेदैँ हँसिलो मुहार बनाएर ‘हेल्लो’ भन्छन् । जाडोले आतङ्क मच्चाउँन थालेपछि यसलाई ठीक ठाउँमा ल्याउँन हामी आगोलाई बोलाउँछौँ । अर्थात् न्यानोपनलाई बोलाउँछौँ । हामी सबैजना आगो ताप्दै गीत गाउँछौँ । नाँच्छौँ । उफ्रिन्छौँ । होहल्ला गछौँ । कथाकहानी सुनाउँछौँ । खुसी हुन्छौँ ।

हामीलाई अपार खुसी भएको देखेर हावे बाजेले हाम्रो मनलाई भन्छन्, ‘बाबुहरू, तिमीहरू सबैजना हाम्रो घर र आँगनमा आएर रमाएर खुसी भयौँ । हामी पनि औधी औधी खुसी छौँ अनि सम्पूर्ण जेफाले र जेफालेवासीहरू पनि बहुत आनन्दमा छन् । फेरिफेरि हाम्रो घरआँगनमा आइरहनू है ! हामी प्रतीक्षा गर्नेछौँ ।’

हावे बाजेको मृदु वचन र आदरलाई शिरोपर गदैँ हामी उनको चरणकमलमा प्रणाम गर्छौँ र एकैछिनको निम्ति हामी अलौकिक अँगालोमा कस्सिन्छन् । त्यही अलौकिकताबाट कविता जन्मिन्छ र चराझैँ उडेर जेफालेको मनमा गएर सदैवको निम्ति गुँड बनाएर बसेर सारा जेफालेलाई कविता सुनाइरहन्छ । त्यो कविता आज पनि जेफालेमा सुनिन्छ जुन कविता श्रवण गर्नको निम्ति हामी निजको गुह्य वसुन्धरामा पदार्पण गर्नुपर्छ ।

हावे बाजेले हामी सत्तरी–असीजनाको जम्बो टोलीलाई आफ्नो मनको हावेचौरमा बसाएर स्वादिष्ठ भोजन खुवाउँछन् । उनले हामीलाई भोजनमा भात, दाल, साग, तरकारी, भुइँस्याउ, अकबरे खोर्सानी र लोकल कुखुराको मासु आफ्नै ममत्वपूर्ण हस्तले खुवाउँछन् । लाग्छ, उनी पनि हाम्री पूजनीय आमासरि हुन् । उनले हामीलाई थपीथपी खुवाउँछन् । सायद उनको र जेफालेको मायाले होला, हाम्रो पेटको भोक मेट्यो तर मनको भोक मेटेन ।

वास्तवमा हामी भोजन खानको निम्ति बाँच्दैनौँ । त्यसरी बाँच्नुको कुनै औचित्य पनि छैन । हामी त मायाको निम्ति बाँच्छौँ । प्रेम र आत्मीयताको निम्ति बाँच्छौँ । प्रेमविनाको एक गाँस पनि खान बहुत गाह्रो हुन्छ । प्रेमसहितको सयौँ गाँस खान पनि बहुत सजिलो हन्छ । हामी गाँस खाँदैनौँ । माया, अपनत्व, स्नेहता, प्रेम र आत्मीयता खान्छौँ जसमा जीवन हुन्छ । आशामाथिको महाआशा हुन्छ ।

जाँडो बढिरहेको कारणले बूढा जेफाले बाजेले हामी सबैलाई हावेचौर नजिकैको जेफाले सामुदायिक भवनमा जानको निम्ति आग्रह गरे । आफूचाहिँ त्यही जाँडोमा कामेर बसिरहे । हामी उनलाई किमार्थ भन्नैसकेनौँ, ‘प्रिय र हाम्रा आमासरि श्रद्घेय जेफाले बाजे, हजुर पनि हामीसँगै हिँड्नूस् न । यति जाडोमा हजुरलाई चिसोले समाउँनसक्छ र हजुर विरामी हुन सक्नुहुन्छ । हजुर विरामी हुनु भनेको सारा जेफाले विरामी हुनु हो ।’

सबैजना जेफाले सामुदायिक भवनमा पस्छौँ । त्यहाँ हामी नाँच्छौँ । गाउँछौँ । कविता सुनाउँछौँ र अन्तत हाउजी खेल्छौँ । जीवनमा पहिलोपटक हाउजी खेलेको हुनाले नबुझिए पनि मज्जै हुन्छ ।

ओ बाहुनी !
तेरो र मेरो भाषा मिल्दैन
ओ बाहुनी !
तेरो र मेरो शैली मिल्दैन
ढाँचा र लवज पनि मिल्दैन
तर यहाँ हेर् त–
तेरो र मेरो प्रणय कति मिलेको !

मसँग मेरै थुप्रै कविता थिए सुनाउँनलाई तर म त्यो बखत सुरज रानाको कविता ‘ओ बाहुनी’को मोहनीमा थिएँ र उक्त कविता नै सुनाइदिएँ । कविता वाचन गरिँरहदा सबैले आआफ्ना बाहुन–बाहुनी (प्रेमीप्रमिका) सम्झिए होलान् । मैले पनि आफ्नी प्यारीलाई सम्झिएँ जो मेरै मनको चारकाठे विशाल राजमहलको सिंहासनमा बसेर कविता सुनिरहेकी थिई । मैले मेरी प्यारीलाई पूर्ण प्रेमसाथ पुनः स्मरण गरेँ । उसको स्मरण मात्रले पनि मेरा आँखाहरू खुसीले गद्गद् हुन्छन् । मेरो सम्पूर्ण तन आनन्दमय हुन्छ ।

हामी कविता र कथाको नाममा कुन्नि के–के लेखिरहेका हुन्छौँ जुन साहित्यकार एवम् कविहरूका अतिरिक्त कसैले पनि बुझ्दैनन् । ती कथा, कविता अथवा कुनै पनि रचनाको औचित्य के भयो र यदि ती आममानिसहरूले बुझ्नैसक्दैनन् । कि रचनाको जटिलतामा हामी स्वयम् फसिरहेका छौँ ?

रातको १२ः०० बज्छ । केही साथीहरू भने नाँचिरहेकै र उफ्रिरहेकै हुन्छन् । तथापि सम्पूर्ण मनोरञ्जनलाई केही समयको निम्ति इतिश्री गरेर विश्रामको निम्ति हामी आआफ्नो होमस्टेतर्फ लाग्छौँ ।

बच्चैदेखि सहरी जीवनसँगै बाँचेका हामी, वास्तविक जीवन त गाउँहरूमै रहेछन् भन्ने कुरा बल्ल बुझेँ मैले । वास्तवमा गाउँमा गीत गुञ्जिन्छन् । सहरमा कुनै गीत गुञ्जिदैनन् । सहरमा मानवता उहिल्यै हराइसक्यो । सबैजना हतारको यात्रामा हुन्छन् । प्राविधिक जीवनको महाउल्झनमा फसेर मर्नु कि बाँच्नुको किंकर्तव्यविमूढ अवस्थामा हुन्छन् । सहर जीवनहीन मृत्युसँगै बाँचिरहेको हुन्छ÷छ ।

गाउँहरू भने मानवीय हुन्छन् । यहाँ मानव मात्र होइन, रुख, चराचुरुङ्गी, फूल, पुतली आदि आदि इत्यादि पनि बस्न बहुत मन पराउँछन् । गाउँहरू हतारको यात्रामा हुँदैनन् न त कुन्ठित हुन्छन् । गाउँमा प्रेम हुन्छ । मानव र अन्य प्राणीलाई चाहिँने जीवनवादी महाजीवन गाउँमै हुन्छ ।

रातको १ः३० बज्छ । म आफ्नो मोबाइलमा बिहान चार बजेको अर्लाम लगाएर निद्रापुर पुग्छु । एकैछिनमा निद्रापुरको माइक्रो रेल चढेर सपनीपुर पुग्छु जहाँ मेरी मुटु अगाध प्रेमसाथ मलाई पर्खिरहेकी हुन्छ ।

Facebook Comments

You may also like

error: Content is protected !!