पुस्तक, पर्दा र पकवानः जयपूरमा जादु

मुलुकको गरिबी र यावत दुखद समाचारहरुका बाबजुदपनि वार्षिकरुपमा जयपुर लिटरेचर फेस्टिवल आयोजना गर्नसक्नु गौरवको कुरा हो । आधिकारिकरुपमा, यो फेस्टिवल विश्वकै सबैभन्दा भयङ्कर भेला हो । र त्यति मात्र नभएर, जयपुर, ग्लोबल लिटेररी म्यापमा समेत आफ्नो स्थान बनाउन सफल छ;  जयपुर, यथार्थमै सिङ्गो भारतभरि मै गम्भिर पाठक जन्माउनका लागि सबैभन्दा उर्वर भूमि दरिन्छ । 

 

विश्वमा अरु कुन त्यस्तो ठाउँ छ, जहाँ  चिनियाँ सांस्कृतिक क्रान्तिको समय माओद्वारा विद्यार्थीहरुलाई शिक्षकमाथि हमला गर्न बाध्य पारिएको दर्दनाक इतिहास  “आउट अफ गोबी” का लेखक ओइजियान शानको बाल्यस्मृतिका रुपमा सुन्न पाइन्छ ? जीवनीलेखक बेन्जामिन मुजरले सुसान सोन्तागले समलिङ्गी जीवन जिउनुपर्दाको बिघ्न-बाधाबारे गरेको इतिवर्णन होस् अथवा स्वर्गिय युद्द-संवाददाता म्यारी कोल्भिनले कर्नेल गद्दाफीसँगको अन्तर्वार्ता सुनिश्चित गर्न गर्नुपरेको संघर्ष नै किन नहोस् ? जयपुर नै त्यो एकमात्र त्यस्तो ठाउँ मानिन्छ, जहाँ विश्वको कुनैपनि कुनामा नसुनिएका व्यक्तित्वहरुलाई सुन्न सकिन्छ ।

 

 वास्तवमै, त्यस्तो साहित्य उत्सव अन्त कहाँ हुन्छ, जहाँ बरगडाको रुखमुनि सूर्यले छरेको न्यानो छिर्केमिर्के प्रकाश ताप्दै, मन्द हावाको बहाबले लहराइदिएको रङ्गिबिरङ्गी ध्वजा नियाल्दै डिग्गी प्यालेशको प्राङ्गणमा खुला आकाशमुनि ताजा-ताजा मसाला डोसाको स्वाद लिन पाउनुहुन्छ ? गत वर्ष, आधा करोड मानिसहरु जयपुरको त्यस पाँच दिने उत्सवमा जम्मा भएका थिए । उक्त महाभेलामा फेस्टिवलका सह-संस्थापक एवं इतिहासविद विलियम डेलरिम्पलले उद्घाटनमा भनेका थिए- “मानिसहरुले साहित्यप्रतिको प्रेम मर्दै गइरहेछ भनिरहेको बेला, हामीले प्रमाणित गरेका छौँ  कि त्यो गलत हो ।”

फेस्टिवलका आयोजकहरुले हरेक वर्षजस्तै यसपटकको फेस्टिवलमा पनि नौला अनुहारलाई स्वागत गरेका छन् । नोबेल  पुरस्कार विजेता अभिजित बेनर्जी, हवार्ड ज्याकब्सन, पल मलडोन, सायमन सामा, लैला स्लिमनी, शशी थरोर, निकोलास कोलेरिज, फरेस्ट गान्डर, एस्ने सायस्टडलेम सिसीको उपस्थितीमा जयपुर लिटरेचर फेस्टिवलले यसपटक फेरि अर्को जादुयी रेखा खिचेको छ । आधा करोड आगन्तुकहरुका बिचमा यसपटक करिब ६०० वक्ताहरुले बोलेका थिए भने ती मध्य १२० वक्ताहरु प्रतिष्ठित सम्मानप्राप्त व्यक्तित्वहरु रहेका थिए ।

आयोजकले यसपटक साहित्यमा निम्न-परिचित र उपेक्षित क्षेत्रलाई समेत प्राथमिकता दिँदै, कथित-दलित र नारी श्रष्टाद्वारा लिखित किताबहरु, कविता र क्षेत्रिय लेखनलाई मञ्च प्रदान गरेको छ, जुन यसअघि उपलब्ध हुन सकेको थिएन । 

आफ्नो सफलताले आफै ध्वस्त हुनु आजभोलि नियम-चलन जत्तिकै भएको छ । कतिपय पकडहरु पकडभन्दा बाहिर हुन्छन् । प्रायजसो सप्ताहन्ततिर हुने भिडभाड भारतीय रेल प्लेटफर्ममा देखिने चटकझैँ हुने गर्छन् । तसर्थ, कहिलेकाहीँ प्रजातान्त्रिक हुने कटिबद्दता र जो-कसैलाई निःशुल्क प्रबेश दिनुजस्तो कार्य सुरक्षाको दृष्टीकोणले समस्यापूर्ण साबित हुन्छ ।

कतिले बिक्रीजन्य सामाग्रीका स्टलहरु धेरै राखिएको बताउँदै यसमा पनि बिस्तारै व्यवसायिकता हावी हुँदै गइरहेको हो की भन्ने शंका व्यक्त गरेका छन् भने कतिले आम मानिसबाट अलग गरेर लेखकहरुलाई लाउन्जमा खाने व्यवस्था गरिएकोमा गुनासो गरेका छन् जब कि कुनै समय उनीहरुले भिडमा मिसिएर साथसाथ खाएका थिए । लामो पंक्तिमा उभिएर माटोका कपमा दिइने स्वादिलो मसला चिया पर्खिरहँदा आगन्तुकहरुले चर्चित लेखकहरुसँग वातचित गर्न पाएका थिए । खाली कुर्सीको अभावमा भारतीय कवि एवं उपन्यासकार विक्रम शेठ एकपटक चौरमा भिडमाझ बसेर चिया पिउँदै गरेको भेटिएका थिए ।

Jaipur LitFest crowd 2020

Jaipur LitFest crowd 2020

 

तरपनि व्यवसायिकरण बढ्दो छ । डिग्गी प्यालेश पुर्याउने सडकमा कार्यक्रमस्थलभन्दा बाहिरैदेखि विभिन्न स्टलहरुले वस्त्र र आभुषणहरु बिक्री गरिरहेका हुन्छन् । भिड असाध्यै बाक्लो हुन्छ । हप्ताभरि शान्त वातावरण, सप्ताहन्तमा यस्तो लाग्छ कि त्यहाँ कुनै कुम्भमेलाको साहित्यिक संस्करण चलिरहेको छ ।

खैर, बार्बिक्यूसहितको लेखकहरुको जमघट, विश्वमै दुर्लभ साहित्यिक कार्यक्रम हो । यस पाँच दिनको अवधिभर २०० भन्दा बढी सत्रहरु, २० राष्ट्रका लेखकहरु र २५ भन्दा बढी भाषाका साहित्यहरु फेस्टिवलमा प्रस्तुत गरिएका छन् ।  माघ ९ गतेदेखि सुरु भएको उक्त कार्यक्रम आज सम्पन्न भएको हो ।

कुनैपनि सन्तुलित कार्यक्रम भारतबाट सम्पन्न हुनु दुर्लभप्राय कुरा हो, तर जयपुरको आयोजना यति शानदारसँग गरिएको थियो कि अब अन्तराष्ट्रिय सांस्कृतिक क्यालेन्डरमा चिह्नित कार्यक्रमका ती कमजोरीहरुलाई बिर्सिनु नै उचित हुन्छ । संगीतको उत्कृष्ट छनोट र तयार पारिएको न्यानो-सुन्दर वातावरणले जयपुर लिटरेचर फेस्टिवललाई यथार्थमै तिलस्मी तुल्याएको थियो ।

जयपुर लिटरेचर फेस्टिवलका सम्बन्धमा यसै हप्ता राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले भने- “जो कोहीपनि चकित पर्ने गरी, फेस्टिवलले विश्वमा आफ्नो स्थान बनाएको छ ।”

 

विश्वका कुना-कुनाबाट फेस्टिवलमा मानिसहरु भेला भएका थिए – “जयपुर जाने कुरा पक्का नभएसम्म वर्षभरि म चैनले रहन सक्दिनँ ।” भेलामा कुनै आगन्तुक यसो भनिरहेका थिए, र यसको कारण जयपुर फेस्टिवलले समेट्ने ताजगी नै हो भन्नु निसंदेह छ । भारतीय समाजमा गम्भिर पठनको पद्दति एक निरन्तर प्रक्रियाको रुपमा हावी छ । त्यहाँका हरेक घरमा किताबहरु हुन्छन् । त्यहाँको समाजमा, कुनैपनि किताब ८,००० प्रति बिक्छ भने, त्यो किताब बेस्ट-सेलर किताबमध्य गनिन्छ । भारतमा धेरै बिक्री हुनेमा वा अति चर्चित विधामा प्राय सधैँ आत्मप्रेरक किताबहरु पर्ने गर्दछन् ।

त्यसकारण, त्यहाँका मानिसमा थकित वा संदिग्ध मानसिकता अथवा पश्चिमी साहित्यप्रति वितृष्णा पाइँदैन । बरु यस विपरित उनीहरु उत्सुक र जिज्ञासु हुन्छन् । भारतीयहरु, विशेषगरी साना शहरकाहरुमा नयाँ-नौलो संस्कृति, विचार एवं ज्ञानप्रति गहन रुचि भेटिन्छ । तसर्थ, जयपुर आफैमा साहित्यको लागि एउटा राम्रो ब्राण्ड बनिसकेको छ, जसबाट प्रेरित भएर भारतका सानाभन्दा साना शहरहरुमा पनि ( दक्षिणमा केरलादेखि उत्तरमा नैनीतालसम्म) साहित्यिक उत्सवहरुको आयोजना हुन थालेको छ ।

 

निश्चय नै, यस बृहद गरिमामय कार्यक्रमा देखिन र केही बौद्दिक मानक एवं इनाम जित्नैका लागि पनि दिल्लीबाट उदियमान सेठहरु जयपुरसम्म आउने गर्दछन् । उनीहरु ठूलो स्वरमा बोल्छन्, खान्छन्, पिउँछन्, फोटो खिच्छन् र कार्यक्रमको कुनै एउटा सत्रमा पनि सहभागी नभई घर फर्किन्छन् । 

 

त्यस्तै, युवाहरुका लागि पनि जयपुर वर्षमा एकपटक पुग्नैपर्ने अड्डा बनेको छ । उनीहरु त्यहाँ लेदर ज्याकेट ढल्काउँदै र स्टायलसँग काटिएको कपालमा प्रेमिकालाई देखाउन वा एउटी फेला पार्नकै लागि पनि पुग्ने गर्दछन् । र अन्य स्थानिय-बासीहरुपनि, अभिजात वर्गका मानिसहरुसँग काँध जोडेर कुरा गर्न र सायद बलिउड स्टारको झलक पाउनको लागि पनि जयपुर फेस्टिवललाई एउटा सुवर्ण अवसरको रुपमा लिने गर्दछन् । 

Jaipur-Literature-Festival-2020

Jaipur-Literature-Festival-2020

 

तर यी सब कुराहरुले  केही फरक पार्ला र, यदि तपाईं कुनै एउटा रङ्गिन पालमुनि आरामसँग बस्न पाउनुहुन्छ, सूर्यको तेज प्रभाले ती रङ्गहरु चम्किला देखिन्छन् र यो मनोरम दृश्यावलोकन गर्दै जब तपाईं सुन्दर मनहरुलाई सुन्न पाउनुहुन्छ भने? अहँ, तपाईंलाई केही कुराले फरक पार्ने छैन । यो त बिल्कुल एउटा जादु हो ! 

(द गार्जियनसँगको सहयोगमा श्रीजु सरलद्वारा अनुसिर्जित)

Facebook Comments

You may also like

error: Content is protected !!