इज दिस् लभ?

बसस्टपमा छु, ग्वार्को चोकमा । पुसको जाडो, शरीर कम्पन फ्याँकिरहेको छ, थर्मोकोटसँगै ज्याकेट लगाउँदा पनि मुटुसम्म चिसो कन्नी कुन चोरबाटो हुँदै पसिरहेको छ । कलेज जान पर्खँदा ट्याम्पु कहिल्यै समयमा आइदिँदैन । त्यसैले आज भने अलि चाँडै निस्किएको छु, त्यो विशेष ट्याम्पु आजपनि फेला पार्छु कि भन्ने आशमा । आज जोश पनि त सधैँभन्दा बेग्लै फुर्तिलो छ । सबेरै उठेर मुख धोई, ब्रस गरी, धेरैपछि कपालमा जेल लगाएर बुफ्फ पर्ने कपाल बनाएर ऐनामा दुई तिन पटक हेरेर मुसुक्क हाँस्दै निस्किएर अहिले यो व्यग्रताका साथ यहाँ उभिरहेको छु ।

तर यति छिटै निस्किएपनि ट्याम्पुको आउने छनक नै छैन । त्यहिमाथि हरेक १ मिनेट आज ५ मिनेटको बराबरीमा बितिरहेको छ । सायद म आज ट्याम्पुतिर कम र घडीतिर ज्यादा हेरिरहेको छु । सधैँको परिचित बसपार्क आज नौलो लागिरहेको छ । सबै बटुवाले मलाई नै हेरिरहेझैं, एकदम असहज महसुस भइरहेको छ । त्यस्तैमा आँखा पुग्छ एक युगल जोडीमाथि, जो प्रेममा मस्त छ । एउटै स्कार्फमा एयरफोनको तार जेलिए जस्तो जेलिएका छन् ती, कहाँ छु कस्तो ठाउँमा छु पनि याद नगरी, दुनियाँको परबाह नगरी । सायद ‘प्रेममा मान्छे अन्धो हुन्छ’ भनेको यस्तै देखेर होला ! म कबाबमा हड्डी बनिरहेको छु ।

३५ मिनेटको पर्खाइ, हुन त ७ मिनेट मात्रै हो, तर मलाई त्यस्तो लागेको ! अँ, ३५ मिनेटको पर्खाइपछि टाढाबाट हुस्सुलाई छिचोल्दै ढलपल ढलपल गर्दै आइरहेको ट्याम्पु मेरो अगाडि आएर टक्क रोकिन्छ । चालकले आफू छेउको सिट खाली भएको इसारा गर्छन् तर म भने उनकै खोजीमा पछाडितिर लाग्छु । जसलाई मैले हिजो मात्रै देखेको थिएँ, ट्याम्पुमै । कालो कपाल, गोरो अनुहार, सरल पहिरन, कालो फ्रेम भएको चस्मा र हातमा मोबाइल लिँदै घरी घरी टाइम हेरिरहेकी । कतै पुग्न हतार भएजस्तो अनुमान लगाउन सकिने । म उनी पट्टी नै थिएँ, तर बिचमा एउटी मोटी आन्टी हुनुहुन्थ्यो ।

भनिन्छ, मान्छेको रुप हेरेर मन पराउनु हुँदैन, रुप प्राथमिकता हुनु हुँदैन । तर सुरु मै आनीबानी, मन त कसको देखिँदो हो ? सबैभन्दा पहिला देखिने नै रुप त हो । रुपले तानेपछि न बल्ल अरु कुरा सम्भव हुँदै जान्छन् । मलाई पनि उनको रुपको एक झलकले नै तानिसकेको थियो । उनलाई हेर्न हर सम्भव प्रयास गरिरहेको थिएँ । एक मेरै उमेरको केटाले पनि उनलाई हेरिरहेको थियो । उनले त्यो केटालाई हेरिन्, हेराइमा थोरै रिस झल्कन्थ्यो र असहजपना पनि । त्यसपछि आफूप्रति सतर्क भएझैं देखिइन् । म पनि अलि सजग भएँ, उनलाई हेरिरहेको थाहा नहोस् तर फेरिपनि हेरिरहुँ, यस्तै प्रयास गरिरहेँ ।

बालकुमारी पुगेपछि मजैसँग ट्याम्पु खाली हुन थाल्यो । मलाई नमिठो शंकाले छोयो, ‘कतै उनी यतै त झर्ने होइनन् ?’ म उनीछेउ गएर बसेँ उनी मलाई हेरेर मुसुक्क हाँसिन् । “के त्यो अघिको केटोभन्दा म राम्रो रहेछु ?” “सायद, धेरै नै राम्रो छु कि ?” उनको एक मुस्कानले मलाई ट्याम्पुले भन्दा राम्रैसँग उफार्यो । त्यत्तिकैमा कोटेश्वर आइपुग्यो मलाई लागिरहेको थियो ‘कास मेरो कलेजपनि बानेश्वरभन्दा टाढा भएको भए उनी नझर्ने भए । यो यात्रा कति सुखद हुन्थ्यो होला ?’ एक्कासि डाइभरले झ्याप्प ब्रेक लगाएछन् म उनीतिर धकेलिएँ र झटपट सम्हालिएँ । मेरो हाउभाउ देखेर कि किन हो, उनी भने मुस्कुराउन छाडेकी थिइनन् । “मान्छेहरू पनि जहीँकहीँबाट बाटो काटिदिन्छन्, यस्तै कारणले त सडक दुर्घटना बढेको छ” । म आफूलाई बचाउन कोसिस गर्दै थिएँ । त्यत्तिकैमा उनको आवाज पनि सुनियो, “सबै जनाले यस्तो कुरा बुझिदिने भए त हुन्थ्यो नि” । यहि मौकामा मैले उनलाई, उनी पढ्ने कलेजको नाम सोधेँ । एकछिनसम्म केही उत्तर आएन ।

फेरि शान्तिनगर आइपुग्यो, म आफ्नो भाडाको लागि खुजुरा बन्दोबस्त गर्न लागेँ । क्याम्पस गेट आउनै लाग्दा मैले आफ्नो भाडा दिँदै भनेँ, “क्याम्पस गेट रोक्दिनु है” । त्यसपछि उनले पनि हतार गरेझैं आइ.डी कार्ड र पैसा ड्राइभरतिर तेर्स्याउँदै भनिन्, “दाइ, म पुलचोक क्याम्पस झर्ने भाडा लिँदै गर्नुस् न ।” ‘मेरै प्रश्नको जबाफ दिन हो त उसले यति हतार हतार भाडा दिएकी ?’ म भित्रभित्रै रोमाञ्चित भएँ । ओर्लने बेला मैले भनेँ, “भेटेर खुशी लाग्यो । सायद भोलि फेरि भेटौँला ।” उनले शिर निहुराएर संकेत गरिन् “हस्”। मैले हात हल्लाउँदै “बाई” भनेँ र बाटो लागेँ । बस्, यति नै थियो उनीसँगको पहिलो भेट मेरो ।

यो २४ घण्टाको अन्तरालमा मैले उनलाई बाहेक कसैलाई सोचिनँ सायद । म उनकै खोजीमा छु । ड्राइभर छेउको सिट पाउँदापनि छोडेर पछाडि आएको राम्रै भएछ, उनलाई देखिहालेँ र बगलमै गएर बसेँ । । ट्याम्पु आज उतिसाह्रो खँदिलो छैन । ट्याम्पु खाली हुँदा दिलपनि खुला हुँदोरहेछ । खुलेर बोल्न सकिने । हामीले आफ्नो नाम र ठेगाना साटासाट गर्यौँ र हिजोका कुरामा जोक्स गर्दै यात्रा गर्यौँ । म उनीसँग कुरा गर्दागर्दै पुलचोकसम्मै पुगेँ । एकदम खुशी छु म, उनी भने हैरान भएर सोध्दै थिइन्, “आज तिम्रो कलेज छैन ?” मैले भनेँ, “छ, तर जाने मन भएन ।” म उनीसँगै ओर्लिएँ र उनलाई भनेँ, “आज कलेज नजाऊ न, म तिमीलाई आज कफी पिलाउन चाहन्छु ।”

उनले थोरै रिसाएझैं भनिन्, “नचिनेको मान्छेसँग के कफी ? तिमी कलेज जाऊ खुरुखुरु ।”  मैले तर्क गरेँ, “चिनजान नभएरै त चिनजान बढाउन खोजेको ।” उनी दोधारमा देखिन्थिन् । आउनपनि मन भएजस्तो फेरि कलेज छोड्नपनि मन नभएजस्तो । उनलाई सहज होस् भनेर मैले भनेँ, “नत्र तिमी कलेज जाऊ, छुट्टी नहुञ्जेल म यहीँ कुरूँला ।” उनले झन् रिसाएझैं अनुहार लगाउँदै भनिन्, “ओके हिँड । तर म तिमीलाई १ घण्टाभन्दा दिन सक्दिनँ ।” मेरो खुशीको सिमा नै रहेन । नजिकै लविम मलको कफीशपमा पुगेर कफी पिउन थाल्यौँ । मैले रातभरि सोचेका कुनैपनि कुरा गर्न सकिनँ । जिन्दगी सोचेजस्तो हुन सम्भव नै रहेनछ, जब एक पल त सोचे जस्तो बित्न नसक्दो रहेछ ।

सोचेको थिएँ, मनको सबै कुरा खुलेर राख्नेछु । उनलाई गफमा लठ्ठ पार्नेछु । उनको रुपको बयान गर्ने छु । पहिलो झलक देख्दा मनमा जुन हलचल पैदा भएको थियो, कफीसँगै त्यसको अनुभूति पनि पिलाउँछु । एउटा छोटो पललाई जिन्दगीभरको लागि यादगार बनाउनेछु । उनीपनि उस्तै के के भन्लिन् मेरो बारे । त्यो ट्याम्पुको अर्को केटोसँग किन रिसाइन् तर मसँग भने किन मुस्कुराइन् ? उनले पनि सबै सबै कुरा धक खोलेर भन्लिन् । के के मात्रै सोचेको थिइनँ तर साच्चै केही पनि बोल्न सकिनँ । उनीपनि उस्तै चुपचाप थिइन् । यो मैनतामा पनि एक किसिमको मिठास नै पाइरहेछु । बेचैनीमा पनि एक किसिमको उमङ्ग हुने रहेछ । म उनलाई हेरिरहेको थिएँ, ब्याकग्राउन्डमा बब मार्लिको साथ म्युजिक बजिरहेको थियो ।

इज दिस लभ ?
इज दिस लभ?
इज दिस लभ? द्याट आइ’म् फिलिन ?
आइ वान नो
वान नो, वान नो, नाव !

म सोचिरहेको थिएँ उनी इन्जिनियरिङ गर्दै गरेकी, म भने मामुली एउटा बिबिए स्टुडेन्ट । तर फेरि लाग्यो, इन्जिनियर पनि त मेनेजमेन्टको अन्डरमा चल्नु पर्छ । करिब आधा घण्टाको मौनता पश्चात मैले दुस्साहस नै गरेँ । हो, मैले प्रश्न होइन दुस्साहस नै गरेँ ! किनकि त्यो प्रश्न नै मेरो भावनाको अन्त्यको कारण बन्यो । “अब यस्तै अर्को अवसर कहिले मिल्छ होला ?” उनले बनावटी हाँसो हाँस्दै भनिन्, “हे मिस्टर, म विवाहित भएरपनि यहाँसम्म आएर तिम्रो कफीको अफर स्विकार गरिरा’छु । यसैलाई नै ठूलो कुरा सम्झ ।” उनी उठेर हिँडिन् । म भने ढलिरहेँ, अचानक गोली लागेर ढलेको सिपाहीजस्तै !

Facebook Comments

You may also like

error: Content is protected !!