गैरआवासीय अन्तराष्ट्रिय नेपाली कविता प्रतियोगिता | समाचार | काव्यालय-Kavyalaya

गैरआवासीय अन्तराष्ट्रिय नेपाली कविता प्रतियोगिता

हिजो सम्पन्न गैरआवासीय नेपाली संघको भाषा , साहित्य , संस्कृति तथा सम्पदा प्रवर्द्धन समिति र अन्तराष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) का पदाधिकारीहरूको संयुक्त अनलाइन बैठकले आउँदो श्री पञ्चमीका दिन उन्नाइस वर्ष मुनिका गैरआवासीय नेपाली युवाहरूबिच अन्तराष्ट्रिय नेपाली कविता प्रतियोगिता संयुक्त रुपमा आयोजना गर्ने निर्णय गरेको छ ।

विजयी प्रथम हुने युवा कविलाई रु. एक लाख र प्रमाणपत्रले पुरस्कृत गरिने छ भने द्वितीय हुनेलाई रु.पचास हजार, र तृतीयलाई रु. पच्चीस हजार र अङ्ग्रेजी विधातर्फका उत्कृष्टलाई रु. पच्चीस हजार नगद तथा प्रमाणपत्रले पुरस्कृत गरिने छ ।

कार्यक्रम आयोजना गर्न गठन गरिएको संयुक्त समितिको संयोजकमा सर्बज्ञ वाग्ले ( अमेरिका ) र सदस्यहरू महेश्वर पन्त ( अमेरिका ), तीर्थ सङ्गम राई ( कतार ), डा. केशव शर्मा ( अस्ट्रेलिया ), विमला निरौला ( अमेरिका ), गणेश खड्का ( अफ्रिका ), गिरिजा गैह्रे ( जापान ), विष्णु माया विभु ( नर्वे ) र महता घिमिरे चापागाईं ( अस्ट्रेलिया ) रहनु भएको छ ।

त्यसै गरी समितिको सल्लाहकारमा प्रा. डा. हेमनाथ पौडेल ( नेपाल प्रज्ञा प्रतिष्ठान ), गैरआवासीय नेपाली संघका भाषा ,साहित्य , संस्कृति तथा सम्पदा प्रबर्द्धन समितिका अध्यक्ष हिक्मत थापा र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अन्तर्राष्ट्रिय समितिका अध्यक्ष प्रकाश पौडेल माइला रहनु भएको छ ।

बैठकमा अनेसासका अन्तराष्ट्रिय समितिका अध्यक्ष प्रकाश पौडेल माइला, वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजा,  महासचिव सर्बज्ञ वाग्ले लगायत पदाधिकारीहरू र एनआरएनए भाषा , साहित्य , संस्कृति तथा सम्पदा प्रबर्द्धन समितिका अध्यक्ष हिक्मत थापा, उपाध्यक्षहरू महेश्वर पन्त, हरि पौडेल , बेलुकाजी थापा, सदस्य सचिव भगवती बस्नेत लगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो । बैठकले नेपाली भाषा र साहित्यको प्रबर्द्धनका लागि आगामी दिनहरूमा संयुक्त रुपमा कार्यक्रमहरू गर्दै लैजाने विषयमा समेतमा छलफल गरेको थियो ।

Facebook Comments

You may also like

error: Content is protected !!