भ्रम

केही भ्रमहरुसँग जीवन मिसाएको मैले पारी हेमन्त ऋतुको क्षितिज हेर्दै आज अनुभव पनि गरेँ । शरिरवादी/भोगवादी मेरो मन/हृदयले भ्रमलाई आफैँ ठान्दा भएका बरबादीको बिगो भर्दैछु म आफैँ । पच्चिस बसन्त पार गरेको मलाई, हेमन्तले अस्वभाविक/अनौठा व्यवहार देखाउने गरी उराठ गराएर ल्यायो ।

वृक्ष/रुखहरु, डाँडा/पाखाहरु, बारी/गह्राहरु नाङ्गै छन– एक्काइसौँ शताब्दिका आधुनिक/आडम्बरी युवतीझैँ । र तस्वीरमा झुण्डीरहेका चेरी दानाहरु जिब्रोमा झुण्डिन लालायित देखिएका छन् । अगाडीका तीन टेबिल खाली छन्, पर्खिरहेका छन् भोकाएका/तिर्खाएका, ग्राहकहरुलाई सायद । बाँया टेबिल अघिदेखि नै एक जोडीलाई सेवा दिईरहेको छ । उनिहरु खाँदै छन्, खै कुन परिकार हो कुन्नी, म चाहिँ गम खाँदै छु । हेमन्त ऋतुका यी युगल अविवाहित हैनन् भनेर थाहा पाउन मलाई बेर लागेन । बाई द वे……..फिलिङ जेलस । हेहेहे….. मानिसको जन्मसिद्ध गुण नै हो सायद, बेशरम बताइदिएकोमा तपाईं मसँग पक्कै रिसाउनु भएको छैन ।

ए अँ, म ऋतुमा छु । ऋतुले हेमन्ती वस्त्रले आफुलाई नङ्ग्याएकी छे । उसको नग्नतामा म चिसो भएको छु । त्यो समय अथवा उसबेलाको समयमा ति न्याना/रङ्गिन रातहरुमा सुमसुम्याएका ति रेशमी कपाल, गोरो अनुहार र ती चञ्चल आँखाहरुसँग मेरो लामो उठबस रहेको म स्वीकार गर्छु । एक्लै हुँदा अँध्यारो रातमा सम्झिँदै निदाएको र उनकै सपना देखेको मैले नै हो, यि आँखा साक्षी छँदै छन् । ती उनका स्वभाविक नाक, ओठ, निधार, गाला र ….. सम्पूर्ण शरिर कलात्मक देख्ने म आफैले आफैलाई कवि जी भएको महसुस गर्दै रहेँ । कहिले उड्दै-उड्दै माथि पहाड/टाकुरा छुँदै, त कहिले तल टारमा लडिबुडी गर्दै रमाउने मन/तन पनि म कागजमा फगत कागजमा विशेष रुपमै उतारिरहेछु । निला टेबिल र निला कुर्सीहरु, अनि त्यो निलो आकाश समुंद्रझैँ शान्त छन् । भुईँ मन झैँ चिसो छ । गुलाब चोर्न जाँदा काँडाले हात घोचेर बिग्रिएको अनुहारझैँ सशंकित छ स्तब्ध आकाश । र गुलाब धनीले तात्तातै देख्दा चुडालिसकेको गुलाब पनि हतार-हतार मुठ्याएर लुकाए झैँ बादलले पनि घाम/सूर्य लुकाएको छ । कतै मलाई पनि बादलले गुलाब धनि त सम्झिएको होइन ? अनि, आफुलाई म, घामलाई गुलाफ ??? हो भने पनि या होइन भने पनि, म घामको प्रतिक्षा ताप्दै छु टेबिलमा ।

जीवनलाई ठ्याक्क स्थगीत गरेर जस्ट पछाडी फर्केर……….. जीवनको लक्ष्यलाई त्यही ठाउँमा पुर्याउनु छ । जहाँबाट म बस्तीहरुमा गीत गाउँदै हिँडेको थिएँ, जहाँबाट मैले पुरानो धार बिर्सिएर लेख्न थालेको थिएँ फूलका कविता, कपालका कविता, नाक, निधार, गाला, घाँटी…..का कविता ! आशु कवि त कुन्नी आँसु कवि चाहिँ जरुर भएको थिएँ । हो, त्यही बिन्दूबाट पूनः पुरानै लयमा क्रमशः यात्रा तय गर्नुछ ।

जे हुनु त भइसक्यो । जुनदिन ‘उनी’ ले मबाट तृप्तिएको घोषणा गरिन्, त्यसबेला पहिलेको जस्तै मैले कर गरिनँ, या भनौँ जब्बरजस्ती गरिनँ यसपाली । म आध्यात्मिक भइसकेछु सायद । मेरो मानसपटलमा उनको नाममा असिम प्रेम पलायो । म उनलाई प्रेम गर्छु त उनको खुसी पो खोज्नु पर्छ । उनी मलाई प्रेम नगर्नमा खुसी छिन् भने म उनलाई स्वतन्त्र नगर्ने कस्तो प्रेमी ?

उनले भूतकालमा मलाई मठ/मन्दिर खुब डुलााइन् । उनको लागि म नास्तिक थिएँ । मैले पनि कहिल्यै भनिनँ “म मुर्ती पूजा नगर्ने खालको आस्तिक नै हुँ” भनेर । तर मन्दिरभित्र नछिरेर, मुर्तीलाई सिक्का/फूलले नहानेर नास्तिक नै भई बसेँ ।
प्रेममा त्याग हुनुपर्छ – महान प्रेमीहरु भन्दारहेछन । उनले त्यागिन् । मैले उनको लागी खुसी मागेँ – मुर्तीसँग प्लस भगवानसँग पनि । उनको स-सम्मान बहिर्गमन पछि पो उनको इच्छा अनुसारकै आस्तिक भइदिएछु ।

एकदिन अचानक उनी मसँग आइन्, मैले कल्पना गरेँ । हेहेहे… साच्चिकै आइछिन् जस्तो त लागेन? कल्पनामै सहि तर मलाई पनि त्यस्तै लाग्ने गर्छ, साच्चै जस्तो ! साच्चै, उत्तरबाट चिसो हावाले कान सेकिरहेको थियो । यता कल्पनाले न्यानो बनाउँदै थियो । तल सडकमा गाडीहरु गुडिरहेछन् । सडकको पेटिमा/फुटपाथमा बगिरहे झैँ देखिने मान्छेका/यात्रीका लस्कर, अनि पोलमा टाँगीएको तारमा बेफिक्री बसेका एक जोडी चरा (पक्कै, ढुकुरको जोडी हुनुपर्छ ) लाई झ्यालको सिसाले फिल्टर गरेर हेरेँ । एकतमासको निराशाले झ्याप्पै छोप्यो । पेटमा अनौठो दुखाइ सल्बलाइरहेछ । दुई दिनदेखि भोक नलाग्ने रोगले च्यापेको छ र दिमाग/मन पनि त भोकै छ ।

Image Source: Google

क्लाइमेक्स

म त प्रेमी, अर्थात प्रेम गर्ने मान्छे ! प्रेममा त त्याग हुनुपर्छ, तिमी खुसी हुन्छ्यौ भने म आफ्नो डोमेस्टिक खुसी त्याग्न तयार छु । म हिजो पनि प्रेम गर्थेँ , आज पनि गर्छु र गरिनै रहने छु् । त्यसैले, तिमी मेरो एकसरो जीवनमा आउनु/जानुले प्रभाव पार्दैन भन्ने लाग्छ मलाई । हिजो जब तिमी गयौ तिम्रो भगवान/मन्दिर/मुर्ती सँग तिम्रै खुसीको प्रार्थना गरेँ प्लस यदि तिम्रो पर्सनल खुसीले थामेन भने मेरो खुसी समेत थपिदिन प्रार्थना गरेँ, होश मै गरेँ। यि काला रित्ता रातहरुमा म कहिल्यै दुःखी भइनँ, सम्झेँ, यसको मतलब तिमी खुसी हुन मेरा खुसीहरु प्लस गर्नुपरेन । यसर्थमा म झन् बढि खुसी भएँ कि, तिमी आफैमा खुसीले भरीभरी रहिछ्यौ । मैले तिम्रा लागि प्रार्थनामा धितो राखेका मेरा खुसीहरु मसँगै रहिरहे । तिमी आउँछ्यौ, तिम्रा भौतिक खुसीहरु कहिलेसम्म मसँग सम्बन्धीत हुन्छन ‘ यु आर वेलकम ’ । तर जब तिमीले प्रेममा त्याग गर्यौ म त विचलित विचलित विचलित भइगएँ । मैले घर छोडेँ । त्यही घर जहाँ बसेर मैले अलिकति सपनाको स्केच कोरेको थिएँ । कोरेको भनिरहँदा कति असुन्दर सुनिएको, होइन ? तर, मैले कोरेकै रहेछु सायद । एकाएक उजाड भएपछि त्यही घर विरानो लागिदियो । एका बिहानै ति रङ्गहिन स्केचहरु, प्लटहरु शून्यमा थन्काएर म निस्किएको थिएँ गन्तव्यहिन यात्रामा, वीथआउट सेलफोन ! भन्नै परोइन त्यसपछि म यतै छु, यतै-यतै । आजकल तिमीलाई मन नपर्ने ब्राण्ड पिउँछु/उडाउँछु । तिमीजस्तो भौतिक हुन सकिनँ कि चाहिनँ, जानदिनँ । तर तिमी आयौ खुसी प्लस-प्लस भयो । प्लस + प्लस = प्लस भनेझैँ म प्लस खुसी छु ।

कल्पनामा आएकी उनीसँगको एकलाप लामै भएछ । ढुकुरहरु उडिसकेछन् । एकहुल कन्याहरु कलेज ड्रेसमा आएर पानीपुरी खाएर गए, यो दृश्यलाई निरुद्देश्य आँखाले देखिदियो, ब्लर तस्वीर झैँ, तर सिसाले फिल्टर गरिरहन मन भएन, थाहै होला, म मन नभएको कुरा/काम गर्दिनँ ।

क्लोज अप

मेरो निजी भ्रमले उनको निजी जिन्दगीमा पक्कै दुस्प्रभाव पार्दैन र कसैको (जसको पनि किन नहोस्) सार्वजानिक जिन्दगीमा (विशेष,संचारको पाटोमा)पक्कै टेवा नै पुर्याउँछ भन्ने लाग्छ । हो, जब कसैको लागि आपत्तिजनक छैन भने र त्योभन्दा ज्यादा आफ्नै जिन्दगीको सुर यसैमा म भेट्छु भने, किन नबाचुँ म यो मीठो भ्रम ???? त्यसैले, यति हुँदाहुँदै पनि वा भनुँ भइसकेपछि पनि, उनी छुट्टिमा गएकी हुन् र एकदिन फर्केर आउँछिन् भन्ने भ्रममा म बाँचिरहेछु !

Facebook Comments

You may also like

error: Content is protected !!