तिमी, तिमी हुन सक्नुपर्छ
आँखाले धमिलो देख्न सक्छ संसार
सापटी माग्नु मसँग दृश्यहरु
म गुलाफ बाहेक पठाइदिने छु सबै-सबै
तिमीले अब,
तिमी हुन सक्नुपर्छ ॥
जिन्दगीको उकाली चढ्दाचढ्दै
गल्न सक्छन् तिम्रा गोडा
सुक्न सक्छ तिम्रो मुख
त्यतिबेला,
नसम्झनु कसैको साथ
नखोज्नु कसैको हात
बरु,
निधारको पसिना पुछ्दै-पुछ्दै हिँड्नु
तिमीले अब,
तिमी हुन सक्नुपर्छ ॥
खोज्दै जाँदा आफूलाई
सानो ढिस्कोपनि
ठूलो पर्वत बनेर उभिन सक्छ
सानो पानीको कुलोपनि
ठूलो समुन्द्र लाग्न सक्छ
बतासको सानो झोक्कापनि
लाग्न सक्छ ठूलो हुन्डरी
ढल्दै गरेको साँझपनि भयंकर
अँध्यारो लाग्न सक्छ ॥
यदि पार गरेर
यी सबै-सबै बाधा-बन्धन
तिमीले आफूलाई भेटेपनि
कसैले,
तिमी हुनुको परिभाषा मागे भने
मेरै लागि यदाकदा मनमा जोगिएको
थोरै प्यारपनि
पोखिदिनु छताछुल्ल उसका सामुन्ने ॥
तिमीले अब,
तिमी हुन सक्नुपर्छ ॥

Source : Pinterest, Man in the rock
छुट्नु
म त पात हुँ,
जो छुटिरहन्छ रुखबाट,
तर,
पात वसन्त जन्माउन छुट्छ,
म रुख जन्माउन छुट्छु ॥
भ्रम
साथी ?
किन लुकी बसेको छौ
भ्रमको त्यो पर्खालभित्र ?
उठ,
उचाल त्यो ढुङ्गा,
तिमीले समाएपछि नै
फेरिने हो त्यसको स्वरुप ॥
तर यदि तिमीले ढुङ्गालाई
लगेर सजायौ भने मन्दिरहरुमा ,
ढुङ्गा,
ढुङ्गामै सिमित हुनेछ ॥
संघर्ष
ढुङ्गा फोडेर जन्मिन
थालिसके फूलहरु
ओ शासक !
यो माटोमा तिमी
मान्छे मात्र रोपी राख ।।

ARTNET: Apotheosis of the War; Pic from Pigment