IF YOU HAVE NOTHING TO WRITE ABOUT WRITE ABOUT NOTHING

IF YOU HAVE NOTHING TO WRITE ABOUT, WRITE ABOUT NOTHING

र, कहिलेकाहीँ लेख्छु भन्दापनि लेख्न सक्दिनँ । लेख्न मन लाग्दा पनि लेख्न सक्दिनँ । त्यसैले त, कत्ति कथाहरु लेख्दा-लेख्दै अधुरा रहे ! कत्ति नलेखेरै अधुरा भए ! कत्ति लेखेर पनि अधुरा छन् ! अहिले मलाई अधुरा कथाहरु औधी मन पर्न थालेका छन् !

लेख्छु, कम्तिमा अधुरा भएपनि ! अधुरा बनाउन भएपनि !

हिजोआज मलाई जे देख्यो त्यहि लेख्न मन लाग्छ !
हिँडिरहँदा बाटो लेख्न मन लाग्छ, पाइला लेख्न मन लाग्छ । बाटोको धुलो-माटो लेख्न मन लाग्छ । ढुङ्गा लेख्न मन लाग्छ । ढुङ्गाको कथा-कविता लेख्न मन लाग्छ ।

“के गल्ती गर्यो ढुङ्गाले यसलाई भगवान मान्नु’भो ?
स्वतन्त्र भएर बाँच्ने उसलाई पनि त रहर लाग्दो हो !”

बाटोको छेउछाउ उभेका रुखहरु लेख्न मन लाग्छ । लेख्छु, ‘यी रुखहरु कसका प्रतीक्षामा उभिरहेका होलान् ? कति वर्षदेखि उभिरहेका होलान् ? सायद कुनै दिन सडकले आफ्नो छाती फराकिलो बनाउने बहानामा काटिनका लागि उभिरहेका होलान् ।’ रुखका हरिया, पहेँला पातहरु लेख्न मन लाग्छ ।
पातहरु ?
पातहरुसँग मेरो अनौठो प्रेम छ । ‘ओ हेनरी’को छोटो कथा ‘द लास्ट लिफ’ पढेँ पछि होला सायद पातहरु यत्ती धेरै मन पर्न थालेका मलाई ।
मैले ‘द लास्ट लिफ’ पढेँ र ? अहँ, छैन । पढेको छैन । बरु ‘द लास्ट लिफ’ कथामा आधारित भएर ‘बिक्रमादत्य मोटवानी’ले बनाएको फिल्म ‘लुटेरा’ हेरेको छु । कैयौं पटक ।

‘ओ हेनरी’को अर्को छोटो कथा ‘गिफ्ट अफ म्यागी’मा आधारित भएर ‘रितुपर्नो घोस’ले बनाएको फिल्म ‘रेनकोट’ हेरेको छु । कैयौं पटक । मैले आजसम्म ‘ओ हेनरी’लाई पढेको छैन । सायद पढ्दिनँ पनि हुँला । म उनलाई नपढेरै मन पराइरहन चाहन्छु । कसैलाई नदेखेरै, नभेटेरै, नपढेरै पनि यति धेरै माया बस्दो रहेछ ।
मेरो सबैभन्दा मनपसन्द स्टोरीटेलर ‘ओ हेनरी’।

गफगाफमा कता-कता भुलेछु ।
कुरो पातको हुँदै थियो है !

पात सेँ याद आया – “हाउस अफ लिभ्स्”को !
केही समय अघि मात्रै अहिलेसम्मकै महंगो दाम हालेर किनेको उपन्यास हो- “हाउस अफ लिभ्स्” ! यसको बारेको पछि लेखुम्ला । अहिले ‘पात’मै जाम ।

चाहे रुखमा झुन्डिएका हुन् या भुइँमा झरेका, मलाई पातहरु औंधी मन पर्छन् । हरिया पात होस् या सुकेका, यिनीहरुले मेरो नजरलाई सधैं खिच्ने गर्छन् । म अहिले पनि चराको प्वाँखसँगै पातहरुलाई पनि कहिलेकाहीँ बुक मार्कको रुपमा प्रयोग गर्नेगर्छु ।

उडिरहेका चराहरु लेख्न मन लाग्छ । र कहिलेकाहीँ चराहरु भएर लेख्न मन लाग्छ । चराहरुसँगै दौडिरहेका बादलहरु लेख्न मन लाग्छ । तर, आज आकाशमा बादलको एक टुक्रा पनि छैन । कहाँ गए बादलहरु ?

रित्तो आकाशलाई देखाएर यहीँ प्रश्न मैले एकपटक एउटा साथीलाई सोधेको थिएँ, “कहाँ गए बादलहरु ?”
साथीले भनेको थियोे, “बादलहरु पानी लिन गएका छन् ।”

त्यो बेला साथीसँग मैले उसको यो काव्यिक जवाफ सापटी मागेको थिएँ । उसले मुस्कुराउँदै भनेको थियो, “तँलाई मेरो जवाफ काव्यिक पो लाग्यो ? म पनि कवि ?” यसमा कुनै शंकै छैन, हरेक मान्छेभित्र कवि हुन्छन् । कथाकार हुन्छन् ।

म पुनः मुद्दामै आउँछु ।
आज आकाश सफा छ । निलो रङ्गले पोतिएको छ ।

निलो आकाश ?

आकाश किन यति गाढा निलो छ/हुन्छ ?
सायद कक्षा ‘नौं’को विज्ञानमा पढेको थिएँ । अहिले बिर्सिसकेको छु यसको उत्तर । मलाई अहिले एउटै मात्र उत्तर थाहा छ, ‘मार्टिन’ बुढाको थ्योरी ।

‘जोर्ज आर. आर. मार्टिनका’ अनुसार – पृथ्वी वास्तवमा कुनै बडेमानको भयानक राक्षसको निलो आँखा हो । त्यसैले आकाश यति गाढा निलो छ । हामी त्यहि राक्षसको आँखामा बस्छौँ । र उनले यो पनि भनेका छन्, पहिले पृथ्वीलाई दुईवटा चन्द्रमाले परिक्रमण गर्थे रे । वास्तवमा ती चन्द्रमाहरु अण्डा थिए रे । एउटा चन्द्रमा सूर्यको यति नजिक थियो रे कि एकदिन सूर्यको प्रचण्ड तापले त्यो चन्द्रमा (अण्डा) फुट्यो र त्यसबाट एउटा अनौठो, भयानक पन्छी निस्कियो, जन्मियो । जसलाई ड्रैगन भनियो । सूर्यको तापले गर्दा ड्रैगनले आगो ओकल्न थाल्यो ।

मलाई यी ‘किङ्ग अफ फ्यान्ट्यासी’को यो थ्योरी क्या मज्जाको लाग्छ ।

निलो आकाश !
र कहिलेकाहीँ त्यो गाढा निलो आकाशमा तिमी लेख्न मन लाग्छ । तिम्रो आकृति कोर्न मन लाग्छ । हाम्रो माया लेख्न मन लाग्छ । तिमी गुनासो पोखिरहन्थ्यौ नि, ‘तपाईं मेरो बारेमा कहिल्यै लेख्नुहुन्न । किन लेख्नुहुन्न ?’ भनेर ।

हेर, आज लेख्दैछु । एउटै आकाशलाई छत बनाएर पनि फरक भुगोलमा बसिरहेकी तिमी यदि यो पढ्दै छौ भने म तिमीलाई भन्न चहान्छु, ‘साथ हुँदा भन्दा टाढा हुँदा शब्दहरु फुर्दा रहेछन् ।’

यहि तिम्रो र मेरो बिचको दूरी लेख्न मन लाग्छ । सम्झनाहरु, यादहरु लेख्न मन लाग्छ । तिम्रो मुस्कान लेख्न मन लाग्छ । तिम्रो रिस लेख्न मन लाग्छ । तिमीलाई लेख्ने हो भने म अरु लेख्नै बिर्सिन्छु । बरु, तिमीलाई बिर्सिएर अरु लेख्नु नै जाती । र कहिलेकाहीँ यस्तै आफ्नै स्वार्थीपन लेख्न मन लाग्छ ।

आफ्नो विगत लेख्न मन लाग्छ । विगतका गल्तीहरु लेख्न मन लाग्छ । तिनै गल्तीहरुलाई सुधार्न भविष्य लेख्न मन लाग्छ । समय-यन्त्र लेख्न मन लाग्छ । यस्तै कल्पनामा उड्दा-उड्दै वर्तमान लेख्न मन लाग्छ । आफ्नो धरातल लेख्न मन लाग्छ । यथार्थ लेख्न मन लाग्छ ।

विगत ? गल्ती ? भविष्य ? वर्तमान ? समय-यन्त्र ?
मलाई जस्तै तपाईंलाई पनि पक्कै जर्मनी ब्लकबस्टर सिरिज ‘डार्क’को याद आएको हुनुपर्छ । सिरिजको कुरा आइहाल्यो ! जुन महिना आउँदै छ । डार्कको अन्तिम सिजन आउँदै छ । तपाईं जस्तै मपनि तयार भएर बसेको छु ।

कहिलेकाहीँ लेख्दा-लेख्दै के लेख्दैछु बिर्सिन्छु । किन लेख्दैछु बिर्सिन्छु ।
यस्तो मसँग थुप्रैपटक भएको छ ।

र कहिलेकाहीँ लेख्छु भन्दापनि लेख्न सक्दिनँ । लेख्न मन लाग्दा पनि लेख्न सक्दिनँ । त्यसैले त, कत्ति कथाहरु लेख्दा-लेख्दै अधुरा रहें ! कत्ति नलेखेरै अधुरा भए ! कत्ति लेखेर पनि अधुरा छन् ! अहिले मलाई अधुरा कथाहरु औधी मन पर्न थालेका छन् !

लेख्छु, कम्तिमा अधुरा भए पनि ! अधुरा बनाउन भए पनि !
जस्तो कि यो !

अझैपनि साथीहरू भन्ने गर्छन्, “के लेख्ने यार ! लेख्ने केही छैन । कुनै विषय नै भेट्दिनँ । भेटे पनि केही फुर्दैन । केही जुर्दै-जुर्दैन ।” र नयाँ साथीहरू भन्ने गर्छन्, “लेख्न मन लाग्छ । विषय पनि टन्नै छन् । तर, जब लेख्न बस्छु मस्तिष्क शुन्य-शुन्य हुन्छ । खाली-खाली हुन्छ ।”

एउटा कुरा सत्य हो, हामी तबसम्म लेख्न सक्दैनौँ जबसम्म हामी लेख्न बस्दैनौँ । म सबैलाई एउटै उत्तर दिने गर्छु, “इफ यु ह्याभ नथिङ्ग टु राइट अबाउट, राइट अबाउट नथिङ्ग !”

Facebook Comments

You may also like

error: Content is protected !!