म प्रेम लेख्छु

साँच्चै यति पवित्र हुन्छ र प्रेम? जमाना कहाँबाट कहाँ पुगिसक्यो, तिमी भने अझै सात जुनिसम्म सँगै हुने साथी खोज्दै छ्यौ? भर्खर भर्खरै प्रेम बिछोड भएका एउटा साथीले व्यङ्ग्यात्मक प्रश्न गर्छन् मलाई ।

-अचानक यस्तो प्रश्न किन?

“तिम्रो लेखहरूमा पूरा नहुने कल्पना धेरै देख्छु म।”

-हरेक लेख वास्तविक्तामा आधारित हुँदैनन्। म कुरा त्यहीँ टुङ्ग्याउन खोज्छु।

“एकै वाक्यले जित्न खोजेकी ?” ऊ मुसुक्क हाँस्छ।

-म आफैसँग हारेर त रमाउँछु, तिमीसँग जित्ने कोसिस किन गरुँला र?

“तिमीसँग बोलेर जित्न सक्दिनँ म।”

– भनेँ त! म यहाँ तिमीलाई हराउन आएकी होइन।

ओठ तन्काउँदै अनि गाला खुम्च्याउँदै हल्का मुस्कान छोडेर म ओझेल हुन्छु त्यहाँबाट। घर पुगेर मोबाइल हेर्दा उसैको म्यासेज आएको हुन्छ।

“तिमीले कहिल्यै प्रेम गरेकी थियौ?”

सुरुमा त जवाफ दिनु जरुरी ठानिनँ मैले। फेरि उसले सोध्छन्, “किन डराएकी बोल्न ? भनन, प्रेम गरेकी थियौ?”

– अझै गर्छु। म ज्यादै नम्र भएर बोलेँ ।

“अनि उसले ?”

-मैले गरेँ भन्दैमा उसले पनि गर्नु जरुरी छ?

“एकतर्फी पनि माया हुन्छ र?”

-दुईतर्फी त स्वार्थ पनि हुन्छ नि।

“भनेपछि तिमीलाई पनि प्रेमले सताएको रहेछ। मलाईजस्तै।”

-होइन! मलाई प्रेमले सपारेको छ, जीउन सिकाएको छ।

“तिमीले संसारलाई बुझेकी छैनौ।”

-होइन! तिमीले प्रेमलाई बुझ्ने कोसिस गरेका छैनौ।

“तिमीले बुझेर के पायौ?”

-केही पाउने आशा पनि छैन।

“तिमी पागल छ्यौ।”

-सायद त्यसैले होला, आफ्नै मनको सुन्छु।

“पीडा हुँदैन?”

-जहाँ आशा छैन त्यहाँ निराशा पनि छैन?

केहीबेर मसँग सवाल जवाफ गरेर ऊ हराउँछ। ऊ हराएपनि उसका प्रश्नहरू मेरो मस्तिष्कबाट बिदा माग्न तयार नै हुँदैनन् । किन यस्तो कुरा गर्दै थियो ऊ? के सबैले उसले जसरी नै बुझेका हुन्छन् प्रेमलाई? दिल टुट्नु र मायाबाट विश्वास उठ्नु पर्यायवाची हुन् र? मानेँ, उसको दिल टुट्यो होला अनि मुटुकै अंश कतै छुट्यो होला, सम्बन्ध बचाउन छोडेर प्रेमको पछाडि प्रश्नवाचक चिह्न लगाउनु ठिक होला र? प्रेममा पर्नु आफ्नो वशमा हुँदैन र प्रेमलाई जीवित राख्नु अरुको हातमा हुँदैन । समय बदलिँदैमा भावना बदलिँदैन । 

मानिसहरू भन्छन् नि, “म प्रेममा ज्यानै दिन तयार छु।” किन हो किन मलाई यसमा विश्वास लाग्दैन । मर्नु कुनै ठूलो कुरा होइन, जस्तोसुकै चुनौतीको सामना गरेर बाँच्नु महानता हो। कसैको साथविना जिउँदै मर्नु प्रेम होइन, उसका यादहरूको साहाराले मुस्कुराउनु प्रेम हो। प्रेम दुई आत्माको मिलन हो, शरीरले त केवल सांसारिक रुप दिएको छ। जहाँ छिटो विश्वास गरिन्छ त्यहाँ छिट्टै विश्वास तोडिन्छ पनि। केहीपलको भ्रमलाई प्रेमको नाम दिएर सर्वस्व लुटाउनु आफ्नै कमजोरी हो, होइन र? प्रेम त भावना हो, चाहना हो, समर्पण हो, त्याग हो। 

तपाईंले माया गर्नुभएको व्यक्ति तपाईंकै हुन्छ या हुनै पर्छ भन्ने छ र? सबैको आफ्नो आफ्नो नियति अनि आफ्नै भाग्य हुन्छ जसलाई चाहेर पनि नकार्न सकिन्न। भन्नेहरू त भन्छन् नि, भाग्य आफैले कोर्ने हो, चाहना छ भने हरेक कुरा सम्भव हुन्छ भनेर। माफ गर्नुहोला! मैले यहाँ पनि दुई मत राख्न चाहेँ किनभने भावना र चाहनाले मात्र हरेक कुरालाई सम्भव बनाउन सक्दैन, नियतिको पनि आफ्नै छुट्टै खेल हुन्छ । हामी त केवल दर्शकजस्तै हुन्छौँ नियतिको खेलमा, बस् चुपचाप हेरिरहने, राम्रो खेल्दै छ भने खुसी हुने अनि नराम्रो खेल्दै छ भने पुर्पुरोमा हात लगाएर बस्ने। कोसिस अनि मिहेनत हाम्रो हातमा हुन्छ तर परिणाम नियतिको हातमा। 

अँ साँच्चै !
केही दिनअघि मेरा एकजना अत्यन्तै आत्मीय मित्रले भन्दै हुनुहुन्थ्यो, “कुनै पनि प्रेम वैवाहिक सम्बन्धमा परिणत हुन सक्दैनन् भने त्यसलाई साँचो मान्न सकिँदैन ।”

वाह! क्या बुझाइ रहेछ, म मनमनै जोर जोरले हाँस्छु। अनि राधा कृष्णलाई मन्नुहुन्छ कि मान्नुहुन्न त हजुर? म मुसुक्क हाँसिदिन्छु। मान्छे र भगवानलाई तुलना नगरौँ न, उहाँ भन्नुहुन्छ। ओहो! झनै गज्जबको बुझाइ रहेछ उहाँको । प्रेमले केही हेर्दैन किनकि यो शब्द स्वयंमा पूर्ण छ। कुनैपनि बन्धनले रोकेको हुँदैन प्रेमलाई । राधा कृष्ण जीवित होलान् नहोलान् आफ्नै ठाउँमा छ तर प्रेम त अमर छ नि। अनि कृष्णले राधालाई बिहे गरेनन्, हामीले पनि गर्नु जरुरी छैन भनेर प्रेमलाई बद्नाम गर्न लागिपरेकाहरूलाई पनि मेरो प्रश्न, “तिमी प्रेम गर्दै छौ कि छल?” कृष्णले प्रेमको नाममा राधालाई आफ्नै अंश बनाएका थिए । जहाँ राधा, त्यहाँ कृष्ण । राधाविना कृष्णको नाम त पूरा छैन तिमी जिन्दगीको कुरा गर्छौ। 

जीवनमा एकपटक मात्र भएपनि प्रेम महसुस गर्न सकियो भने मानिसलाई खुसी हुने कारण खोजिराख्नै पर्दैन। प्रेमले शरीर होइन मनमा स्पर्श गर्छ, त्यो स्पर्श जसको कल्पनाले समेत धड्कन रफ्तारले कुद्न थाल्छन्। मानौँ ढुकढुकीको कुनै प्रतियोगिता नै जित्नु छ तिनलाई । 

सँगै रहनु मात्र प्रेम होइन, टाढै भएरपनि साथ निभाउन सक्नु प्रेम हो। कोहीसँग ७/८ वर्षको सम्बन्ध तोडियो भनेर प्रेम नै सक्कियो भन्नु आफ्नै मुर्खता हो। 

अरे! प्रेमको कुनै आयु हुन्छ र? जसको सुरुवात नै कसरी भयो भनेर भन्न सकिँदैन त्यसको अन्त्य यति सजिलो होला र? 

ममा प्रेमप्रति आस्था छ अनि साना साना चुनौतीहरूलाई सामना गर्ने क्षमतापनि। केही पाउन केही गुमाउनै पर्छ। आखिर भगवान शिवले पनि पार्वती पाउन सती गुमाएकै थिए । प्रेममा आफू सधैँ सहि भएर मात्र हुँदैन, परिआएको बेला आफूलाई सहि साबित गर्न पछि हट्नु पनि हुँदैन । सीताले पनि अग्नि परिक्षा नदिएकी कहाँ हुन् र? हाँसोमा सँगै हाँस्नु र दु:खमा सँगै रुनुलाई मात्र प्रेम मान्दैन मेरो मनले। प्रेमले त खुसीमा नमात्तिन अनि दु:खमा नआत्तिन सिकाउँछ, सँगै रुन होइन एक अर्काको आँसु पुछ्न सिकाउँछ। जिउँदै मर्न होइन मरेर पनि बाँच्न सिकाउँछ। म कहिलेकाहीँ सोच्ने गर्छु, आजभोलि प्रेम टिकाऊको सट्टा बिकाऊ किन हुँदैछ ? फेरि म झसङ्ग हुन्छु, जुन प्रेम नै होइन त्यसलाई म किन प्रेमजस्तो भएन भनेर गुनासो गर्दैछु ?

जब मानिसहरू मलाई सपनाको संसारबाट बाहिर निस्किन आग्रह गर्छन्, म सजिलै नसुनेजस्तो गरिदिन सक्छु किनकी मलाई थाहा छ म आँखा बन्द गरेर होइन पूरै होसमा भएर सपना देख्दै छु । भ्रमकै रुपमा सहि, म प्रेममा विश्वास गर्दैछु। सपना देख्ने अधिकार सबैलाई हुन्छ, पूरा हुने नहुने एकातिर छँदै छ। सपना पूरा नहुने डरले सपना देख्न छोड्नु र मर्ने डरले बाँच्नै छोड्नुमा केही फरक छ जस्तो मलाई लाग्दैन। प्रेम कहाँ पाइन्छ भनेर नसोध मलाई, म त जताततै प्रेम देख्छु, महसुस गर्छु अनि आफैमा रम्न थाल्छु। म त्यो रुखको फेदमा, नदीको किनारमा, खुल्ला आकशमा अनि जताततै हावामा पनि प्रेम देख्छु। कुनै कविको कवितामा, फूलको सुगन्धमा अनि त्यो भमराको चञ्चलतामा पनि म प्रेम देख्छु। मलाई कोहीसँग प्रेम होस् नहोस्, म हरपल प्रेम महसुस गर्छु। 

गर्मी हुँदा शीतल दिलाउने चिसो बतासको स्पर्श, सुकिसकेका आँतलाई भिजाउने पानीको स्पर्श, तिम्रो अनुपस्थितिमा पनि प्रेमको उपस्थिति महसुस गराउने तिम्रो कल्पनाको स्पर्श सबै एउटै लाग्छन् मलाई । रातको अँध्यारोमा हाँसिरहेको जूनलाई साक्षी मानेर ताराहरू मानिसको रहर पूरा गरिदिन धर्तीतिर हामफाल्ने गर्छन् भन्ने सुनेकी थिएँ ।आकाशबाटै छुटेर धर्ती हेर्न हामफालेको तारासँग जे माग्यो त्यही पाइन्छ रे! तिमीलाई त्यो तारासँग किन माग्नुपर्यो मैले? तिमी त मभित्रै छौ, होइन र? जुन तारा आफै टुटेर झर्दै छ त्यही ताराले दुई मुटु जोडिदिन्छ भनेर कसरी विश्वास गरौँ म? फेरि मागेर पनि माया पाइन्छ र? म प्रेम महसुस गर्छु, हरपल प्रेमको कल्पना गर्छु, प्रेम कतै न कतै अवश्य जीवित छ, म विश्वास गर्छु। आँखै अगाडि त मैले पनि कहाँ देखेकी छु र? म त केवल प्रतीक्षा गर्छु । 

प्रेमको अस्तित्वमामाथि शंका गर्ने वा विश्वास नगर्नेहरूको यो भिडमा सायद प्रेम गर्न लायक पनि कोही छैनन्, त्यसैले म प्रेम लेख्ने गर्छु। पोख्छु, मेरा सबै भावना छताछुल्ल गरी डायरीका पानामा। जब बादलहरू एक आपसमा लड्दै न्निरन्तर पानीको बर्सातको माध्यमबाट आकाश र धर्तीको मिलन गराउन खोज्छन् नि ? तब मपनि कुनै कविको कवितामा रम्न लाग्छु । लाग्छ म त्यही कविको कविता बनिदिऊँ, आकाशबाट बर्सिएको पानीजस्तै झरिदिऊँ, आफ्नै कलमका सहाराले डायरीभरि पोखिदिऊँ आफैलाई किनकि म धड्कन पढ्छु, सत्य देख्छु र शुभ हेर्छु । प्रेमको कुनै सिमाना हुँदैन भने महसुस मात्र किन? म स्वयं प्रेम लेख्छु, कल्पनामा उभिएरै सहि !

तिमी समयसँगै परिभाषा बदल्दै जानु तरपनि म आफ्नै विश्वास लेखिरहन्छु । फेरिपनि भन्छु, सुनन ! म हरपल प्रेम लेख्छु, लेखिरहन्छु।

Facebook Comments

You may also like

error: Content is protected !!