म प्रेममा परेको छु

सपनाहरु

छोटो जीवनका लामा-लामा सपना
साना आँखामा ठूला-ठूला सपना
कहिले निद्रामा देखिने सपना
कहिले तन्द्रामा देखिने सपना ।

कहिले एक हुल सपना आउँछन्
जुलुस लिएर
र अबरुद्द पार्छन् विपनाका दैनिकीहरु
कहिले सपना आँधीबेहरी भएर आउँछ
र तहसनहस पार्छ बाँधेर राखेका धैर्यहरु
कहिले भीमकाय सपनाहरु
राक्षसझैं दाह्रा उद्याउँदै आउँछन्
त्रसित पार्छन् कलिला हाँसो र खुशीहरु ।

कुनै सपनाहरु अद्भुत हुन्छन्
विधवाको सुहागको प्रिय स्मृति जस्तो
कुनै सपनाहरु भयावह हुन्छन्
चिताको लास ऊफ्रेजस्तो
कहिले मायालुले जस्तै डोेहोर्याउँछन् सपनाले
कहिले मृत्युले जस्तै लखेट्छन सपनाले ।

कहिले आफ्नै सपनादेखि तर्सिएर
निदाउनै छोडिदिन्छ मान्छे
कहिले सपनाको नसामा तरङ्गिएर
एक्लै हाँस्ने र रुने गर्छ मान्छे
कहिले सपनाको बर्सादी ओडेर
जीवनको तुसारो भुल्न खोज्छ मान्छे
कहिले सपनाको बुइ चढेर
रहरका रङ्गिन आकाश चुम्न खोज्छ मान्छे
धर्ती टेक्दा झस्किएर
पहिलोचोटि रोएको यो मनुष्य
आफ्नै सपनासँग तर्सिएर
बारबार रुन्छ ।

त्यसैले लाग्छ,
सपना रोग हो- ओखती पनि हो
सपना शोक हो- प्राप्ती पनि हो
सपना भोक हो- तृप्ती पनि हो
सपना अन्त्य- श्रृष्टि पनि हो ।

र अझ
गहिरिएर सोच्दा लाग्छ,

सपना दृश्य हो- निर्देश पनि हो
सपना आशा हो- आदेश पनि हो
सपना तागत हो- ऊर्जा पनि हो
सपना जीवन हो- मुर्दा पनि हो ।

र फेरि जीवन बोल्छ,

सपना यात्रा हो- हिँडाइ पनि हो
सपना हाँसो हो -रुवाइ पनि हो
सपना बाटो हो- बिसाइ पनि हो
सपना भविष्य अनि भोगाइ पनि हो ।

Butterflies by Lily Greenwood

Butterflies by Lily Greenwood

म प्रेममा परेको छु

बग्दै गरेको खोला
टक्क अडिन्छ र झिम्क्याउँछ आँखा
र खित्किँदै सुसाउँदै बोल्छ
ल लैजाऊ मेरो गतिशीलता
पूर्णविराम नलागोस् तिम्रो प्रणयमा ।

ओइलाइसकेको फूलपनि मलाई देखेर
मुस्काउँछ एक क्षण र भन्छ-
ल लैजाऊ मेरो बाँकी कोमलता
र कठोरता नभेटियोस् तिम्रो प्यारमा ।

आकाशका ताराहरु
नजिक आएर नियाल्छन् मलाई
क्षितिजको पवनले नजिक आई सुसेल्छ मलाई
जब प्रेमिल भावमा गजलका काफिया भर्न खोज्छु
जून, त…ल झरेर बालिदिन्छिन् चाँदनी
जूनकिरी हातैमा आएर बस्छे र छरिदिन्छे
पानाभरि उज्यालो ।

आर्यघाटको लास मुस्कुराउँदै बोल्छ
लौ लैजाऊ मेरा बाँकी खुशी र सपनाहरु
इन्द्रेणीले थोरै रङ्ग सापटी दिँदै बोल्छिन्
लौ पोत र रङ्गिन बनाऊ तिम्रा प्रेमिल साथहरु
गुराँसले रातो रङ्ग दिँदै भन्छिन्
लौ लेऊ थोरै रङ्ग पोतिदेऊ प्रेयसीको गालाभरि
मयुरले मलाई मस्कदै भन्छे
लौ लैजाऊ थोरै मेरा प्वाँखहरु
सिउरिदेऊ तिम्री प्रेयसीको चुल्ठोभरि
कोइलीले नजकिँदै भनी
लौ लैजाऊ थोरै मेरो आवाज
र बोल कोकिल भई प्रियासँग
मधुर बनाऊ तिम्रो प्रेम-जिवन ।

यी सब-सबलाई थाहा छ
म प्रेममा परेको छु ।

प्रकृति भन्छिन्-
मलाई हिंसा मन पर्दैन
प्रेम गर्ने हिम्मत राख
म प्रेमको खिलाफ छैन !

Girl Under The Full Moon by Jay Lee

Girl Under The Full Moon by Jay Lee

समय बिन्दु

अकस्मात दोबाटोमा भेटिई ऊ
हाइ भन्न सकेँ
न फनक्क मोडिन सकेँ
न नजिक जान सकेँ
अनिमेष हेरिरहेँ
भरिलो सिउँदो
खिरिलो शरीेर
झुकेका नजर
सुकेका अधर ।

पहिलेझैं
न मुस्काई ऊ
न जिस्किई
न रन्किई
न फन्किई
न रिस देखाई
न घुर्की लगाई
तलाउझैं शान्त
घाइतेझैं क्लान्त
न आँखामा आँसु
न ओठमा हाँसो
छिः कति नसुहाएको
मौनताको श्रृंगार उसलाई !

म टोलाइरहेथेँ एकतमासको अकर्मण्यतामा
ऊ फटाफट मेरो नजिक आई
मेरो सर्टको गोजीबाट कलम निकाली
मेरो हत्केला चपक्क समातेर पसारी
र फटाफट लेखी…
“रहर थियो मेरो बिहेको कार्डमा
तिम्रो नाम लेख्ने
भाग्यमा रहेनछ
जन्ती लिएर त आउन सकेनौ
तर मलामी आएर
मेरो शोक पुस्तिकामा तिम्रो नाम चढाए है´ …”

कलम मेरो हातमा थमाएर
फटाफट ओझेल परी
मेरो जून अस्तायो
मेरो मन सुस्तायो..

मृगको पाठोजस्तै चुलबुले ऊ
चलिरहन पर्ने
बोलिरहन पर्ने
मस्किरहन पर्ने
खै त्यो ताजगी ?
खै त्यो चञ्चलता ?
खै त्यो देहलता ?

ए समय !
कति निष्ठुर तँ ?
ए मेरो भाग्यविधाता !
मिल्छ भने
मेरो भाग्यमा बचेखुचेको खुसी
तिनलाई नै दे
भै’गो, मेरा गुनासा जति फिर्ता लिन्छु सबै
अब रहलपहल रहरहरु
उनैलाई फिर्ता दे
तर…
तर बिन्ती गर्छु,
उनलाई पहिले जस्तै बनाइदे !

Dual Personality by Tetyana Andriyevska

Dual Personality by Tetyana Andriyevska

Facebook Comments

You may also like

error: Content is protected !!