होड

दुलहा-दुलही राती आफ्नो कोठामा थिए। भर्खरै बिहा भएका तिनीहरू प्रेममा उकुस-मुकुस थिए। दुलहा त जैले पनि दुलहीलाई सलक्क निलिहालूँजस्तै गर्थे । दुलहीचाहीं दुलहाको त्यस्तो पुरूषार्थमा दाँजा लाग्न नसके पनि दुलहालाई जैले पनि आँखैमा राखूँजस्तो गर्थिन्। भन्ने तात्पर्य के हो भने दुवैमा अघाध प्रेम थियो।

पद्मालाई जिस्क्याएर कुत्कुत्याको हुँदा सास्ती पाउने डरले पद्म बिछ्यौनाबाट कुदेर कोठाको कुनामा लुक्न पुग्न पनि पाएका थिएनन्, दुलहीले प्रहार गरेको तकियाको गोला तिनको टाउकोमा आएर खस्यो। त्यस्तो प्रहार माया गर्ने दुलहीले मात्र गर्न सकिन्छन, त्यस्तो हलुको रुवाजस्तो। त्यसरी जिस्किंदा जिस्किंदै तिनीहरू बडा गम्भीर विषयमा वादविवाद पनि गर्न थल्थे। मुख फुलाएर पिठिउँ पिठिउँ टाँसेर सुत्न बेर लाउँदैनथे। कुन प्रसङ्गबाट यो कुरा उठ्यो कुन्नि, तर बहस हुन लाग्यो बडो वेगले। पद्मले हाँसेर वेगलाई अचानक थमेर भने “सब स्वास्नीमानिस त्यस्तै हुन्, शक्तिहीन, हृदयको अस्थायी उमङ्गमा बगीबगी हिंड्ने। के तिमीलाई त्यसको प्रत्यक्ष प्रमाण दिऊँ?”

पद्माले भन्दै गइन् “एक-दुई जनालाई देखेर सारा जातिमाथि आक्षेप गर्न पाइँदैन। चरित्रको विषयमा तिन बडा बलिया हुन्छन्, एक-दुई पथभ्रष्टको कुरा बेग्लै हो।”

पद्मले बडो शन्त भएर भने “तिमीलाई मैले आक्षेप गरेको हो र? फेरि, स्वानीमानिस त्यस्ता भए भनेर तिनीहरूको अवहेलना मैले गरेकै होइन। म त तिनीहरुको यो स्त्रियोचित्र गुण भनिठान्छु। तिनीहरूको समाजमा स्थान नै किन छ? तिनीहरूको जिम्मेवारी के छ? लोग्नेमानिसको सुखको प्रप्तिमा सहायक हुनु। तिनीहरूको कर्तव्य हो निर्धो हुनु, चरित्रहीन हुनु, अरू शब्द नपाएर चरित्रहीन भनेको, नत्र चरित्रहीन भन्न त हुँदैन।”

पद्माको क्रोधको सीमा रहेन। उनले चिच्याएर भनिन् “ प्रमाण दिनुपर्छ, त्यसै मनमा जे आयो भन्न पाइँदैन। प्रमाण देऊ।”

दुलहाले भने “त्यसै त म अघिदेखि भनिरहेको छु नि। प्रमान दिना त म तयार छु।”

वादविवाद यहाँ आएर टुङ्गियो। दुलहाले प्रमाण दिने, अनि मात्र दुलहीले मन्ने, नत्र प्रमाण नदिएको खण्डमा दुलहाले दुलहीसँग स्वास्नीमानिहरूका विषयमा प्रकट गरेको विचारका निमित्त गोडामा परेर माफी मग्ने। लौ, दुवैले यो मिलापत्र रुचाए।”

दुलहीले भनिन् “लौ, जनकमञ्जरीलाई”

दुलहाले- “हुन्छ।”

दुहलाको शान्त र विश्वासपुर्ण उत्तर सुनेर दुलही अलिक आत्तिइन्। जनकमञ्जरी कुन्नि कस्ती छन्? छुट्टै लहसिन् भने? उनले भनिन् “जनकमञ्जरी होइन चनमतीलाई।” दुलहाले उस्तै निश्चल भावले भने “हुन्छ।”

पद्मालाई चनमतीमाथि पनि विश्वास भएन । उनले भनिन् फेरि- “नाइँ, चनमती अलिक नक्कली छ । उसमा मेरो भरोसा छैन, हरिमायालाई सके पो ।”

त्यसमा पनि दुलहीलाई विश्वास भएन र उनले भनिन्- “नाइँ, यत्रो ठूलो बाजीमा म लरतरो खेल खेल्दिनँ । हरिमाया कस्ती छ, कस्ती?”

पद्मले भने- “तिमी त बिस्तारै-बिस्तारै मेरै विचारमा पो आउन थाल्यौ । तिम्रा त्यतिका साथीहरूमध्ये एउटीमाथि पनि तिम्रो भरोसा छैन भने मैले स्वास्नीमानिस चरित्रका विषयमा बडा निर्दा हुन्छन् भनेर के बिराएँ ?”

पद्मा आफ्ना चिन्हाजानी स्वास्नीमानिसलाई सम्झन थालिन् । उनले झट्ट एउटी विधवीलाई सम्झीन्, हरिकृष्णकी विधवी पत्नीलाई । तिनले आफूले खोजेको स्त्री पाउनासाथ टप्प हत्केलाले दुलाहाको मुख थुनेर भनिन्- “चुप लाग, लौ त हरिकृष्णकी विधवीलाई भ्रष्ट पार त बुझूँ ।”

त्यसमा पनि दुलाहाले नाइँनास्ती केही गरेनन् । विधवीलाई चरित्रहीन प्रमाण गर्न सके दुलहाले जित्ने, दुलहीलाई दुलाहाको विचार मान्न कर लाग्ने , नत्र दुलहीले जित्ने र दुलहाले आफ्नो विचार मात्र छोड्ने होइन, दुलहीको पाउ परेर माफीसम्म माग्ने ।

दुलहीले एउटा शर्त थपिन्- “तर १५ दिनमै प्रमाण दिनु पर्छ, बुझ्यौ?”

अधीर भएर दुलहाले भने- “लौ, पन्ध्र दिनमा नै । तर तिमी नारिसाए नि, र मलाई ढोका दिने नभने। म अलिक स्वच्छन्द आचरण गर्छु यही १५ दिनका लागि । म मा शंका गर्न पाउँदिनौ नि ।”

पद्माले हुन्छ भनिन् ।

भोलि बिहान उठ्ता तिनीहरुका माझमा सानो पर्दा परेजस्तो थियो । दुलही नबोली उठीकन शरीरबाट यताउता सरेको लुगा मिलाउन थालिन् । दुलाहा पनि टाँगेको ऐनाको अघि उभिएर आङ तान्न थाले । दुलहीले उनीतिर हेरेर भनिन्- “कत्ति न राम्रो छु भनेर उठ्नासाथ ऐना हेरेको होइन ?”

पद्मले नक्कले भएर सोधे- “के म राम्रो छैन र ? तिमीलाई म मन पर्दिनँ र ?”

दुलहीले खुर्र तिनीनेर गैर टाँसिएरभनिन्- “मलाई त तिमी सबभन्दा राम्रो लाग्छु ।”

फेरि दुवैजना मिलेर खुब हाँसे ।

बेलुका फेरि सुत्ने बेलामा दुलहीले भनिन्- “एक दिन बित्यो नि, अब १४ दिन मात्रै बाँकी छ ।”

दुलहाले भने- “थाहा छ । ”

भोलि बिहान उठ्ता फेरि तिनीहरुको व्यवहार अफ्ठ्यारोजस्तो भयो । दुलही उठेर सोझै नुहाउन गइन् । दुलाहा एकछिन आलेटाले गरेर मुख-हात धोएर लुगा फेरेर बाहिर निस्के । फर्केर आएपछि दुलहीले छेडेर सोधिन्- “आज कहाँ नि, एकाबिहानै ?”

दुलहाले भने- “हरिकृष्णका घरमा गएको थिएँ।”

दुलहीले अचानक रुँलारुँलाजस्तो गरिन्- तर बडो बलपूर्वक आफ्नो आकृतिलाई बिग्रन नदिएर भनिन्- “ओहो, त्यसैले त त्यसरी गुण्ड्याइन पारेर गएका रहेछौ – फेरि एकाबिहानै ।”

“के गरूँ १४ दिनमा पनि १ दिन खोट्टियो । बाजी लाइहालेँ ।” दुलहीले केही भनिनन् र भान्सातिर लागिन् ।

राती कोठामा केही कुरा भएन । चुप्प लागेर दुवै सुते ।

तिनैताक पद्मा एकदिन हरिकृष्णकी विधवा पत्नीकहाँ गइन् । तिनलाई देख्नेबित्तिकै विधवीले स्वागत गरेर भनिन्- “ओहो, आज त कहाँबाट बाटो बिराएको? पटकक माया मार्या हो की ? देव र संगिनीहरु एकैचोटी विमुख भए ।”

तिनको उज्यालो मुख देखेर पद्मालाई ईर्ष्याले छोयो । झट्ट मनले तरका पनि गर्यो- “यस्ती उज्याली त यो कहिले पनि थिइन झन् विधवी भएपछी त श्री नै हराएको थियो । यो आज बल्दो तेज कहाँबाट? ” यो विधवाका पहिरनभित्रबाट उसै सुन्दरता र तेज बर्सलाजस्तो थियो । उनी टोल्हाएर उभिरहिन् । विधवाले तिनको हात समातेर भित्र लगेर भनिन्- “किन यस्तो अनौठोसँग मलाई हेरिरहिछौ ? म मा अब के बाँकी छ र ? बाँकी भए पनि आफ्ना त मरिहाले ।”

पद्माको मनले फेरि तर्कना गर्यो “यस्ती चन्चले त यो कहिले पनि थिइन, बडी सोझी होलीजस्ती थिई ।”

उनी घर फर्केर आइन् । खाने बेलामा दुलहालाई घोच्ने उद्योगले भनिन्- “त्यो विधवा त खुब राम्री छ हो की ? बत्ती बालेजस्ती छ होइन ?”

पदमले खाँदै भने- “अँ, निकै राम्री छ ।”

पद्म भुतुक्क भइन् । त्यसपछि तिनीहरुको वार्तालाप भएन ।
राती सुत्ने कोठामा पद्मा एक्कासि रिसाइन् “होइन, तकिया तिमीमात्रै सोहोरेर राख्ने कि मलाई पनि अलिकति टाउको अड्याउन दिने ? कि अर्को बिछ्यौना ला भनेको हो?”

दुलहाले छक्क परेर भने- “किन रिसाएकी? यतिको ठाउँ छँदै छ नि । छेउमा किन सुतेकी ? अल्लि यता सरे तकिया पुगिहाल्छ ।”
पद्माले भनिन्- “मलाई टाँसिएर सुत्न मन लाग्दैन ।”
“त्यसोभए तिमी नै तकिया हाल । मलाई चाहिँदिन ।” दुलहाले भने ।
दुलहीले पनि उता मुन्टो फर्काएर देब्रे हातको सिरान हालेर भनिन् “चाहिँदिन मलाई तकिया ।”

तकिया न दुलहाले हाले न दुलहीले । यिनीहरु दुवैको माझमा त्यसै चिसो भएर त्यो तेर्सिरह्यो ।

दिनहुँ पद्म विधवीकहाँ जान्थे । पद्मा पनि एक दुई दिन बिराएर त्यहाँ पुग्थिन् । एकदिन विधवीले भनिन् “पद्मा, तिमी आउँछ्यौ, मलाई कति खुशी लाग्छ । म कति एक्ली छु । कति शून्य मलाई लाग्दो हो तिमी कल्पना नै गर्न सक्तिनौ । तिमी आइदिँदा म एक छिनका निमित्त सुखी हुन्छु ।”

पद्माले भनिन् “दिदी फुर्सत भएपछि म त तुरुन्त आइहाल्छु नि, उहाँ नै मलाई एकछिन पनि छाड्नुहुन्न ।”
पद्माले त्यति भनेर आँखा निहुराइन् । “मायाले हो की ?” विधवीले सोधिन् ।
पद्माले शिर हल्लाएर ‘हो’ भनिन् ।
पद्माको कुममा हात राखेर विधवीले भनिन् – “लोग्नेमानिसको के ठेगान ? दुलहीलाई पनि माया गर्दै जान्छन्, अर्कालाईप्नि ताक्छन् । तिनीहरु त बडा नजाती पो हुन्छन् ।तर तिम्रा दुलहा त सुशील छन्, सज्जन छन् । त्यस्ता होइन होलान् ।”

पद्माको चिउँडोलाई उठाएर उनले फेरि भनिन्- “तिमी कति भाग्यमानी ।”

पद्माले झट्ट मौका पाएर भनिन् “दिदी, तपाईंले उहाँलाई चिन्नुभएको छैन । टाढा बाट देख्दा मात्र सुकिलो हुनुहुन्छ । यसो छाला कोट्टयाएर हेर्यो भने सबै पुरूष एकनास हुन्छन्, पशु-व्यभिचारी !”

विधवीले पद्माको मुख थुन्दै भनिन् “छीः छीः पद्मा, के भनेकी? आफ्नो पतिलाई त्यस्तो कुरा भन्नु हुन्छ? तिम्रा पति त असल छन्, रत्न छन्। ”

पद्मालाई रनन्न रिस उठ्यो । मनमनमा भनिन् “किन असल नहुनु। दुलही हुन आँटेक छौ, पतीता भ्रष्ट ।”

त्यसपछि तिनले विधवीकहाँ जान छाडिन् । घरमा त्यसै फुलेर बसिरहन्थिन् । दुलहा र दुलहीमा कुराकानि हुन छाड्यो। पद्मा अकारण रिसाउन थालिन् ।

चौध दिन भएपछि तिनको दशा दयनिय भयो । सारा देह आगो लागेको जस्तो भएर उनी छटपटाउन थालिन् । कोठा कोठा चहार्न थालिन् । कहिले भान्सा, कहिले भण्डार, कहिले सुत्ने कोठा, कहिले बैठक। तर तिनले कहीं शान्ति पाइनन् । तिनी दगुर्दै फेरि धेरै दिनमा विधवीकहाँ गइन् । विधवीले तिनी आएको उति रुचाएको जस्तो गरिनन् । कुरा पनि धेरै भएन ।

पद्मा हतोत्साह भएर घर फर्किन् । तिनले एक्कासि भयानक शून्य अनुभव गरिन् । सारा देहमा चिसो पस्यो । तिनी उभिन नसकेर ओछ्यानमा पछारिइन् र भक्कानो छोडेर रुन लागिन् । रुँदारुँदा तिनलाई अलिक शान्ति भयो । तिनी शिथिल भएर निदाइन् ।

पद्म आए । तिनले हल्लाएर उठाए “के कुटाइममा सुतेकी पद्मा ?”

पद्मा आँखा मिच्दै उठिन् । निर्धो भएको जस्तो त पद्मालाई लाग्यो तर चित्त शान्त थियो । उनमा जोश पनि थिएन, उमङ्ग पनि थिएन । एकदम शिथिल भएकी थिइन् ।

राती दुलहाले कोट्ट्याएर पद्मालाई भने “पद्मा, आज चौधौँ दिन हो ।”

पद्माले बिस्तारै भनिन् “थाहा छ । ” र उता फर्केर सुतेको जस्तो गरिन् । तर तिनका दुलहाले तिनको आङ हल्लेको थाहा पाएर उनलाई आफूपट्टी फर्काउने प्रयत्न गरेर भने “किन पद्मा, रोएकी? के भयो हँ?”

त्यति भन्नु के थियो पद्मा झन् तकियामा मुन्टो गाडेर घुँक्कघुँक्क रुन थालिन् ।

पद्म महान आश्चर्यमा परे । उनले सोधे “भन न प्राण के भयो । तिमी अचेल मसँग त्यसै रिसाउँछ्यौ, तिम्रो व्यवहार पनि अनौठो भएको छ । म त अन्योलमा परेको छु ।”

पद्माले रुँदैरुँदै भनिन् “तिमीले मेरो माया भए पो । म त तिम्रो को हुँ र ?”

पद्मले उनको पिठ्यूँ सुम्सुम्याउँदै भने, “पद्मा, तिमी किन यस्तो अमंगल वाक्य मुखमा ल्याउँछ्यौ ? तिमी त मेरो जीवनको प्रकाश, मेरो आशा, मेरो भरोसा हौ।”

पद्माले सुँक्क गरेर नाके बोलीमा भनिन् “त्यसो भए किन त्यो विधवासँग यसरी लहसिएको त ? किन त्यस्तालाई माया गर्न थालेको त ?”

पदमले हाँसेर भने “कस्ती लुच्ची, आफै भन्ने, आफै १५ दिनको म्याद दिने र आफै म देखि रिसाउने? मैले पही नै भनेको थिएँ नि म माथि शंका नगरे। ”
“पर्दैन त्यो विधवासित सम्बन्ध बढाउन ।”
“तर मेरो बाजी नि? जित्न आँटिसकेको छु ।”
“लौ, मैले हारेँ । बाजी तिमीले नै जित्यौ, मैले हारेँ, मलाई प्रमाण चाहिँदैन।”

पद्मले भने “त्यसो भए तिमी पनि स्त्रीजातीका सम्बन्धमा मैले जस्तो विचार प्रकट गरेँ, त्यसलाई समर्थन गर्छ्यौ?”
“गर्छु बाबा, गर्छु ।” पद्माले अधीर भएर भनिन् ।

“दोषी चश्मा” बाट साभार

Facebook Comments

You may also like

error: Content is protected !!